newsone

एकतामा सहमति, संगठनमा असन्तुलन

newstwo एकतामा सहमति, संगठनमा असन्तुलन

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टीका कार्यालय सदस्य झलनाथ खनालले पार्टीमा आफूमाथि अन्याय भएको बताउँदै आएका छन् । तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकता घोषणा हुँदा चीनमा रहेका खनालले उताबाट फर्कने क्रममा सो कुरा बताएका थिए । त्यसपछि पार्टीका प्रत्येक बैठकमा समेत खनालले बरियताको प्रश्नलाई उठाउन छाडेका छैनन् । यस विषयमा पटक–पटक सार्वजनिक कार्यक्रमहरुमा समेत खनालले लगातार प्रश्न उठाउँदै र असहमति राख्दै आएका छन् । जेठ १९ गते पछिल्लो चीन भ्रमणबाट फर्कंदै गर्दा पनि खनालले बरियतामा आफूलाई तल पारेर अन्याय गरिएको गुनासो गरे । कम्युनिस्ट एकताका लागि आफूले सुरुदेखि नै संघर्ष गर्दै आए पनि पछिल्लो एकताका क्रममा आफूमाथि अन्याय गरिएको बताउँदै अन्यायविरुद्धमा पार्टीभित्र आफूले भिन्न मत राखेको र न्यायका लागि पार्टीभित्रै लडाइँ जारी राख्ने समेत खनालले दोहो¥याए ।

तत्कालीन एमालेका उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, अमृत कुमार बोहोरा, भीम रावल तथा महासचिव ईश्वर पोखरेलले पनि एकतापछि बनेको नेकपामा आफ्नो भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । अष्टलक्ष्मी शाक्यले महिला प्रतिनिधित्व सुनिश्चित नगरिएको भनेर असन्तुष्टि पोखेकी छिन् भने भीम रावलले मूल्याङ्कन पद्धति र मापदण्डप्रति असन्तुष्टि जनाएका हुन् । अमृत कुमार बोहोराले आफ्नो असन्तुष्टि पार्टीमा लिखित रुपमै दर्ज गराएका छन् । तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको पद दिएर थुमथुम्याइएको बताइन्छ ।

दुई सय जना केन्द्रीय सदस्यबारे त्यति विवाद नभए पनि तत्कालीन एमालेभित्र ४१ जना केन्द्रीय सदस्य छनौटको विषयलाई लिएर व्यापक असन्तुष्टि रहेको बताइन्छ । ४१ जना केन्द्रीय सदस्यमध्ये केहीको विषयलाई लिएर असन्तुष्टि बढी भएको बताइन्छ । कतिपय धेरै ‘सिनियर’लाई पाखा लगाएर ‘जुनियर’ लाई केन्द्रीय सदस्य बनाएको आरोप असन्तुष्ट पक्षले लगाएको छ । झलनाथ खनाललाई साथ दिंदै आएकै कारण बारा एमालेका इमान्दार र पुराना कार्यकर्ता पुरुषोत्तम पौडेललाई पाखा लगाइएकोमा झनै असन्तुष्टि बढेको बताइन्छ ।

एकता प्रक्रियाप्रति यस्तै असन्तुष्टि रहेको समाचार तत्कालीन एमाले त्यसमा पनि पार्टी अध्यक्ष केपी शर्मा निकट मानिने निकै पुरानो र स्थापित दृष्टि साप्ताहिकमार्फत् पनि सार्वजनिक भएको छ । जेठ ८ गते प्रकाशित सो साप्ताहिकमा मुख्य शीर्षक नै एकताप्रति व्यापक असन्तुष्टि रहेको समाचार प्रकाशित भएको छ । सो पत्रिकामा प्रकाशित समाचारमा भागबण्डामा एकता मिलाइएको भनिएको छ । समाचारमा भनिएको छ, ‘... सुरुमा केन्द्रीय समितिको नाम अध्यक्ष ओलीले स्थायी समितिसँग छलफल गरेर टुङ्ग्याउने भनिए पनि अन्त्यमा ओली र माधव नेपाल मिलेर भागबण्डा गरेपछि त्यसको चर्को आलोचना भएको छ । केन्द्रीय सदस्यको मनोनयनमा लामो समयदेखि पार्टीको काम गरेका, योग्य, क्षमतावानलाई भन्दा बढी गुटलाई प्रश्रय दिएको आरोप छ ।’

एकतापछिको असन्तुष्टि तत्कालीन माओवादी केन्द्रभित्रबाट पनि पोखिएको छ । अमिक शेरचनले आफूलाई आमन्त्रित स्थायी समिति सदस्य बनाइएकोमा चरम असन्तुष्टि व्यक्त गरेको समाचार वाहिर आएको छ । तत्कालीन माओवादी केन्द्रका सचिवालय सदस्य डोरप्रसाद उपाध्याय (निर्मल) ले पनि सामाजिक सञ्चालमार्फत् आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् । उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘भर्खर उडान भरेको जेट विमानका २०० यात्रुमध्ये लगभग ६५ प्रतिशत यात्रु ६५ मा र ७३ मा जोडिएका विशेष कम्पनीका यात्रुहरू परेछन् । पुरानो कम्पनीका कामदार भने कम्पनी मालिक आफैले ध्यान नदिंदा र आफ्नै स–साना पेटी ठेकेदारहरूका कारण जमिनमा छुट्न पुगेछन् । यो गल्तीले विमानमा कुनै खराबी आउँछ कि आउँदैन त्यो भने हेर्न बाँकी छ । जमिनको के कुरा ककपिटमा पनि त्यस्तै रडाको पो छ त !’

नेपाल कम्युनिस्ट पार्टीको गठनसँगै सार्वजनिक रुपमा पोखिएका यी प्रतिनिधि असन्तुष्टि मात्र हुन् । सतहमा नदेखिएका असन्तुष्टिहरु त कति छन् कति ! तर यस्ता विवादहरु प्रायः पार्टीलाई बलियो कसरी बनाउने भन्दा पनि आफूलाई भूमिका नदिइएकोमा बढी पोखिएका छन् । पार्टीभित्रका विवादहरु यसरी सार्वजनिक भइरहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, ‘नवगठित पार्टीको केन्द्रीय कमिटीमा मलाई आलोचना गर्ने धेरै साथीहरु केन्द्रीय सदस्य भएका छन् । मलाई समर्थन गर्ने धेरै छैनन्’ भन्ने अभिव्यक्ति सार्वजनिक रुपमा नै दिए ।

तत्कालीन माओवादीका पोलिटब्युरोमा रहेका ८७ सदस्यले पार्टी अध्यक्ष प्रचण्डसमक्ष आफ्नो असन्तुष्टि लिखित रुपमै राखेका छन् । उनीहरुले संयुक्त रुपमा अध्यक्ष प्रचण्डलाई बुझाएको पत्रमा भनिएको छ, ‘दुई पार्टीबीचको एकता प्रक्रियामा तत्कालीन माओवादी केन्द्रका तर्फबाट केन्द्रीय समिति सदस्यहरू छनौट गर्दाको विधि र प्रक्रियाप्रति हाम्रो गम्भीर असहमति रहेको कुरा दर्ज गर्छौं । महिला, दलित, मधेसी, मुस्लिम, आदिवासी, जनजाति, मजदुर, सहिद तथा बेपत्ता परिवार एवम् घाइते तथा अपाङ्ग योद्धाहरूको समुचित प्रतिनिधित्व नगराइएको, जिल्लागत सन्तुलन नमिलाइएको, पूर्णकालीन, सक्रिय र निरन्तर खट्ने श्रेष्ठ कमरेडहरूलाई छुटाइएकाले हाम्रो गम्भीर असहमति रहेको छ ।’

तत्कालीन माओवादीभित्र चार हजार केन्द्रीय र झण्डै पाँच सय पोलिटव्युरो सदस्य रहेका थिए । ५ सय को संख्यामा रहेका पोलिटब्युरो सदस्यमध्ये धेरै एकतापछिको केन्द्रीय समितिमा अटाउन सकेका छैनन् तर चार हजार केन्द्रीय सदस्यमध्येका केही एकतापछि बनेको पार्टीको केन्द्रीय समिति सदस्य बन्ने भाग्यमानी ठहरिएका छन् । तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्यबाट केन्द्रीय सदस्य हुनेमा सिन्धुपाल्चोकका शरद दुलाल, रामप्रसाद सापकोटा ‘दीपशिखा’, राजन दाहाल, निर्मल बराल लगायत रहेको भन्दै सामाजिक सञ्जालमा चर्काे विरोध भएको छ । तत्कालीन माओवादीभित्र पनि एकता प्रक्रियाका क्रममा योग्यता, क्षमता, पार्टी र आन्दोलनमा गरिएको योगदानलाई नेतृत्वले कदर गर्न नसकेको भन्दै असन्तुष्टि व्याप्त छ । श्रीप्रसाद जवेगु, मिक्सो, मुकेश, बाबुराम गौतम, मोहन खड्कालाई नल्याएर केन्द्रीय सदस्यमात्र रहेका निर्मल बराललाई केन्द्रीय सदस्य बनाइएको भन्दै प्रदेश एकमा त संगठित विरोध नै छ । 

तीन नम्बर प्रदेशमा पनि देवेन्द्र श्रेष्ठ ‘दिवाकर’, लालध्वज तामाङ, वसन्त माझी, मदन तामाङ, धावा लामा, रुकु चौलागाईं, विशाल खड्का,अडिग, दीनानाथ गौतम लगायतलाई नबनाएकोमा पनि धेरै नै असन्तुस्टि रहेको देखिएको छ ।   
४५ जना स्थायी सदस्य बनाएकोमा तत्कालीन माओवादी केन्द्रबाट स्थायी कमिटीमा १९ सदस्य बनाइएका छन् । त्यसमा पनि हितमान शाक्य जस्ता  क्रियाशील र वरिस्ठलाई नबनाएर उनीभन्दा धेरै कनिस्ठ र कम सक्रियलाई स्थायी सदस्य बनाइएको भन्दै नेतृत्वको आलोचना भएको छ । उनी माओवादी आन्दोलनमा निरन्तर इमान्दारीपूर्वक क्रियाशील नेवार समुदायबाट आएको निर्विकल्प नेतृत्व भएकाले पनि उनलाई पछाडि पार्दा एउटा समुदायलाई नै तत्कालीन माओवादी नेतृत्वले उपेक्षा गरेको भन्दै काठमाडौंमा चर्चा भइरहेको छ । काठमाडौं उपत्यकाबाट विकास भएको र जनयुद्धका क्रममा तीन परिवारका सदस्य गुमाएका र प्राविधिक र राजनीतिक क्षमतामा अब्बल मानिएका देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ लाई केन्द्रीय सदस्य नबनाइएकोमा पनि चर्काे आलोचना भएको छ । 

केन्द्रीय समितिमा जस्तै यसमा पनि सन्तुलन नमिलेको धेरैले टिप्पणी गरेका छन् । विगतका गुट, उपगुट, क्षेत्रवाद, जातिवादको छायाँ नयाँ केन्द्रीय समिति र स्थायी समितिमा पनि परेको चर्चा सामाजिक सञ्जालमा परेको छ । यसैले यो गठन प्रक्रियासँगै विवाद भएको छ । 

जेहोस्, ठूला कम्युनिस्ट पार्टीहरुबीच एकता भएको छ । नयाँ राजनीतिक प्रक्रिया सुरु भएको छ । पूर्व समूह र पूर्व गुटको छायाँलाई भन्दा पनि अजेण्डा र सापेक्ष सत्यका आधारमा अगाडि बढ्न पहल भयो भने नेपालमा स्थायित्व र समृद्धिको यात्रा अगाडि बढ्छ । राजनीति गर्ने भनेकै लाभको पदमा पुग्नका लागि कमिटीको भ¥याङ चढ्ने, राजनीतिलाई जनसेवा, राष्ट्रसेवा होइन कमाउने व्यवसाय हो भन्ने पछिल्लो समयको विचलित मान्यतालाई नयाँ कम्युनिस्ट पार्टीले उल्ट्याउने हो भने अहिले जे जे कारणले केन्द्र, स्थायी र कार्यालयमा पुगे पनि खासै फरक पर्दैन, कार्यविभाजनको रुपमा मात्र मानिनेछ । पद भन्दा पनि त्याग, निस्ठा र आदर्श स्थापित हुन्छ । पदको भ¥याङ चढेर लाभ लिने होइन, समाजको पक्षमा कर्म गरिरहने मान्छे नै राम्रो हो भन्ने कुरा पछि पनि स्थापित हुन्छ ।  समयबद्ध साप्ताहिकबाट      


 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive