newsone

आज धान दिवस

newstwo आज धान दिवस


१५ असार, काठमाडौं । आज असार १५ अर्थात् धान दिवस हो। देशभर धान रोपेर असार १५ मनाइँदैछ ।

कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन यो दिवस मनाइँदै आएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष यो दिवस सरकारी तहबाट नै मनाउने गरिएको छ ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

यसवर्ष सरकारले काठमाडौंको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ । ‘धान उत्पादनमा वृद्धिस् राष्ट्रको समृद्धि’ दिवसको नारा छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

धान दिवसको दिन धानरोप्ने मात्र नभएर दहि चिउरा खाजा खाने प्रचलन पनि रहेको छ । आज देशैभर मानो खाएर मुरी उब्जाउने भनेर चलिआएको परंपरा अनुसार नै कृषकहरु धान रोप्न दिनभर सक्रिय हुन्छन् । पुरानो चलन अनुसार असार १५ गते सबैभन्दा लामो दिन हुने मान्यता पनि रहेकोले कतै कतै दुई पटक खाजा खाने चलन पनि रहेको छ । 

 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive