newsone

तीन नम्बर प्रदेशको अब्बल मन्थली बचत सहकारी

newstwo तीन नम्बर प्रदेशको अब्बल मन्थली बचत सहकारी

जिल्ला सदरमुकाम मन्थलीलाई केन्द्रित गरी २० वर्षअगाडि स्थानीय गैरसरकारी संस्था तामाकोशी सेवा समितिका ११ जना कार्यकर्ताले स्थापना गरेको मन्थली बचत तथा ऋण सहकारी संस्था प्रदेश ३ नम्बरकै अव्वल संस्था हुन सफल भएको छ । संस्थाले राष्ट्रिय सहकारी महासंघबाट यस बर्षको प्रदेश ३ को उत्कृष्ट सहकारी संस्थाहरुलाई उपलब्ध गराउने राष्ट्रिय स्तरको पुरस्कार समेत प्राप्त गरेको छ । मन्थली बचत तथा ऋण सहकारी संस्था ३ नम्बर प्रदेशका १६ हजार सहकारी संस्थामध्येबाट उत्कृष्ट सहकारी संस्थाका रुपमा विश्व सहकारी दिवसका दिन पुरस्कृत भएको हो ।

विश्व सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले काठमाडौंको हिमालयन होटलमा आयोजित एक कार्यक्रममा संस्थालाई पुरस्कृत गरेको छ । वित्तीय कारोबारका अतिरिक्त विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको यो संस्था हाल अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा सञ्चालनका लागि प्रक्रियामा रहेको छ । रामेछाप जिल्लाका दुइटा नगरपालिका र एउटा गाउँपालिकाका २४ वटा वडामा कार्यक्षेत्र बनाएर क्रियाशील संस्थाको हालको सदस्य संख्या १२ हजार रहेको संस्थाका सचिव गोविन्दप्रसाद घिमिरेले बताए ।

आफ्ना सदस्यहरुलाई उचित ब्याज दरमा ऋण लगानी गरी आर्थिक सङ्कट टार्न तथा विभिन्न सामुदायिक विकास र सबलीकरणका काम गर्ने उद्देश्यका साथ २०५४ सालमा स्थापित संस्थाको हालको पुँजी ७० करोड रहेको छ ।  संस्थाले सदस्यहरुलाई स्वास्थ्य सेवा दिनुका साथै बैकिङ कारोबारसमेत गर्ने गरेको छ । संस्थाले बाल बचत, मासिक बचत, दैनिक बचत, ऐच्छिक बचत, आबधिक बचत जस्ता बचत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

२० बर्ष अगाडि स्थापना भएको सहकारी संस्था जिल्लाकै अगुवा सहकारी संस्था हो । संस्थाले बेलाबेलामा स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, सार्वजनिक शौचालय निर्माण, दुर्घटना बीमा, स्वास्थ्य सेवा, सदस्य मृत्यु भएमा २० हजार किरिया खर्च, एम्बुलेन्स सञ्चालन, सहकारी तालिम तथा भ्रमणलगायतका सामाजिक कामहरु पनि गर्दै आएको संस्थाका कोषाध्यक्ष सुरेश श्रेष्ठले बताए ।

आफ्ना सदस्यहरुलाई उचित ब्याज दरमा ऋण लगानी गरी आर्थिक सङ्कट टार्न तथा विभिन्न सामुदायिक विकास र सबलीकरणका काम गर्ने उद्देश्यका साथ स्थापित संस्थाले हालसम्म पाँच हजार जनालाई ऋण प्रवाह गरेको छ । वरिष्ठ समाजसेवी स्व. जगदीश घिमिरेको संरक्षकत्वमा हुर्केको संस्थाले विशेषगरी रामेछापको सदरमुकाम मन्थली बजार र आसपासका क्षेत्रका सदस्यहरुको आर्थिक सबलीकरणका लागि ठूलो टेवा पु¥याएको संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदीले बताए । जगदीश घिमिरेको प्रोत्साहन र तामाकोशी सेवा समितिका ११ जना कार्यकर्ताको सक्रियतामा २० बर्ष अगाडि स्थापना भएको संस्था आज नेपालकै अग्रणी सहकारी संस्थाका रुपमा स्थापित भएको छ । संस्था हाल अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड पाउनका लागि प्रक्रियामा रहेको छ ।

संस्थाले यसका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा आवेदन गरेर प्रक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डमध्ये विशेषगरी एसियाली मापदण्डमा प्रवेश गर्नका लागि संस्थाले कार्य सुरु गरेको छ ।

उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वोत्तम छनौट भन्ने मान्यताका आधारमा संस्थाले यसको मापदण्ड पूरा गर्नका लागि कार्य सुरु गरेको संस्थाले जनाएको छ । यसका लागि संस्था वित्तीय दृष्टिकोणमा सुरक्षित तथा स्वस्थ, सदस्यहरुको दृष्टिकोणमा गुणस्तरीय सेवा तथा उत्पादनद्वारा सदस्य सन्तुष्ट, सिकाइ र बृद्धिको दृष्टिकोणमा जानेबुझेका र सक्रिय सञ्चालक, योग्य तथा सन्तुष्ट कर्मचारी, आन्तरिक व्यावसायिक दृष्टिकोणमा सञ्चालनमा कुशलता र प्रतिस्पर्धी स्थान हुनुपर्ने संस्थाले जनाएको छ ।

रामेछाप जिल्लाबाट मन्थली वचत तथा ऋण सहकारी संस्था पहिलो संस्थाका रुपमा अन्तर्राष्ट्रिय मापदण्डमा प्रवेश गर्न लागेको हो । अन्तर्राष्ट्रिय मापदण्डमा प्रवेश गर्नका लागि विभिन्न ८६ वटा सूचकहरु पूरा गर्नुपर्ने नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघले जनाएको छ । जिल्लाको मात्र नभएर ३ नम्बर प्रदेशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा रहेको मन्थली वचत तथा ऋण सहकारी संस्था यस अगाडि पनि विभिन्न सरकारी तथा सहकारीका छाता संस्थाहरुबाट पुरस्कृत तथा सम्मानितसमेत भइसकेको छ । संस्थाले हाल दैनिक ५० लाखको कारोबार गरिरहेको जनाइएको छ ।           
   
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive