newsone

यस्तो छ नयाँ सौर्यमण्डल

newstwo यस्तो छ नयाँ सौर्यमण्डल

ज्ञानमित्र

तीन महिना अगाडि अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले पत्रकार सम्मेलन गरी हामो ज्ञात सौर्यमंडल भन्दा बाहिर अर्को एउटा सौर्यमंडल पत्ता लगाएको घोषणा गर्यो । नासाका अनुसार यो पत्ता लागेको नयाँ सौर्यमंडल झन्डैझन्डै हाम्रो सौर्यमंडलकै प्रारुपमा छ । यस सौर्यमंडलको नाम ट्रैपिष्ट सौर्यमंडल राखिएको छ।

यसको मातृतारा ट्रैप्पिस्ट–१ हो हाम्रो सूर्यजस्तै। हामी बसोबास गर्ने ‘मिल्की वे’ नामक आकाशगंगाको एउटा अर्को सदस्य सूर्य अथवा तारा। सूर्यबाट टैप्पिस्ट–१ को दूरी ३९.५ प्रकाश वर्ष रहेको छ। आकारमा सूर्यभन्दा निकै सानो अथवा हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह ‘जुपिटर’ भन्दा अलिक ठूलो छ। यसको खोज सन् १९९९ मा भएको थियो।

सन् २०१५ मा बेल्जियमको ‘युनिभर्सिटी अफ लेज’ का अनुसन्धानकर्ता माइकल गिलोनले चिलीको ला सिला आब्जरभ्याट्रीमा शोध गर्दै यसको परिक्रमा गर्ने पृथ्वी जस्तै तीनओटा ग्रह पत्ता लगाए। यस खोजलाई नासाको सन् २००३ मा प्रक्षेपण गरिएको स्पित्जर स्पेस टेलिस्कोप र चिलीकै केरो प्यारनाल पर्वत श्रृङ्खलाको २ हजार ६ यस ३५ मिटर उचाइमा रहेको ‘भेरी लार्ज टेलिस्कोप’ ले अगाडि बढाए। आफ्नो निष्कर्षलाई २२ फेब्रुअरी २०१७ का दिन नासाले पत्रकार सम्मेलन गरी घोषणा गर्यो।

आधुनिक विज्ञानले पहिलोपल्ट  हाम्रो सौर्यमण्डल बाहिर अर्को सौर्यमण्डल रहेको पत्ता लगायो।

ट्रैप्पिस्ट–१ ताराको परिक्रमा गर्ने ग्रहको संख्या बढेर सात हुन पुग्यो। हाम्रो ज्ञात सौर्यमण्डलको हाराहारीजस्तै।

यसबाट विज्ञान जगतमा कौतुहल र खलबली मच्चिनु स्वभाविक नै थियो। संसारभरिका पत्रपत्रिकाले यस खबरलाई प्रमुखताका साथ छापे। टैप्पिस्ट–१ का सातैओटा ग्रहलाई आ–आफ्नो कक्षको परिक्रमाको अवधि बढोत्तरीका आधारमा बी.सी.डी.ई. एफ.जी.एच. नामाकरण गरियो। यो एउटा ठूलो उपलब्धि यस अर्थमा छ, मानवताको इतिहासमा हाम्रो सूर्य र उसको सौर्यमण्डल बाहेक कुनै अर्को सूर्य (टैप्पिस्ट–१) र सौर्य मण्डलबारे ज्ञात हुन आएको यो पहिलो अवसर हो।

अनुसन्धानकर्ता गिलोनका अनुसार यो तारा सानो र चिसो छ । यसले यो जनाउँछ कि यी सात ओटै ग्रहको तापमान समशीतोष्ण हुन सक्छ । अर्को अर्थमा त्यहाँ पानी द्रव रुपमा पाउने सम्भावना बलियो हुन्छ। वैज्ञानिकहरुको सर्वाधिक चासोको विषय के बन्न गएको छ भने  यी मध्ये कुनैको सतहमा जीवन पनि विद्यमान हुन सक्छ।

ट्रैप्पिस्ट–१ सानो र कम प्रकाशित तारा हो । तारा जति बढी प्रकाशित हुन्छ, टेलिस्कोपबाट उसको अध्ययन गर्न त्यति नै जटिल हुन्छ । यस नयाँ खोजको बारेमा वैज्ञानिकहरु उत्साही हुनुको अर्को कारण यो पनि छ- यी झण्डै पृथ्वीका आकारका हारहारीमा छन् र यी मध्येका तीनओटा ग्रह पारम्परिक आवासीय क्षेत्र ( गोल्डीलक अथवा ह्याभिटेवल जोन) मा छन् । जसले गर्दा यहाँको सतहमा पर्याप्त वायुमण्डलीय दवावका कारण पानी पाइने सम्भावना झनै प्रगाढ हुन्छ।

गिलोन भन्छन्, यी सबै ग्रह एक अर्काका नजिकमा छन्, साथै आफ्नो तारासँग पनि यिनको दुरी बढी छैन । यस तारा र ग्रहहरुको स्थिति बृहस्पति ग्रह र उसका आफ्ना चन्द्रमासँग मिल्दोजुल्दो छ । ग्रहको ज्ञात, द्रव्यमान अनुसार यी ग्रहको सतह ठोस चट्टानबाट बनेको छ। ट्रैप्पिस्ट–१ शीतल वामन तारा  (अल्ट्राकुल ड्राफ)हो । सूर्यको तुलनामा यसको ‘मास’ ८ प्रतिशत र रैडियस ११ प्रतिशत मात्र छ । २ हजार ५ सय पचास केल्विन तापमान र जम्माजम्मी ५० करोड वर्ष आयु रहेको अनुमान गरिएको छ । यसको तुलनामा हाम्रो सूर्यको आयु ४.६ अरव वर्ष र तापमान ५ हजार ७ सय केल्विन छ ।

वैज्ञानिकहरुका अनुसार यो तारा अहिले आफ्नो शैशवावस्थामा छ। यसले यति बिस्तारै हाइड्रोजन दहन गर्छ कि आउने १०,००,००,००,००,००,००,००,००,००० वर्षभन्दा पनि बढी समयका लागि हाइड्रोजन पर्याप्त हुन्छ ।

संक्षेपमा यसरी बुझ्न सकिन्छ- यसको आयु हाम्रो सूर्यभन्दा ७ सय गुना बढी छ। अहिले यसका वरिपरि जीवन नभए पनि आउने समयमा यहाँ जीवन विकसित हुने पूरापूर संभावना छ । यो तारा चिसो भए पनि ग्रहहरु नजिक भएका कारण ग्रहको सतहको तापमान पृथ्वी सदृश्य नै छ । हाम्रो सौर्यमंडलमा सूर्यबाट बुध ग्रह जति दूरीमा छ ट्रैपिष्टका सबै ग्रहको दूरी यसकै हाराहारीमा छ ।

ट्रैपिष्टको एउटा ग्रहबाट अर्को ग्रहको आकार पृथ्वीबाट देखिने चन्द्रमा जतिकै हुन्छ । तर सबै ग्रहमा प्रकाशको कमी र इन्फरेड विकिरणले गर्दा विजुअल्टी भने पृथ्वीमा हुने सूर्यास्त झैं हुन्छ।

यी ग्रहको खोजी संक्रमण विधि (ट्रान्जिट फोटोमैट्री)बाट भएको हो । यो विधि अप्रत्यक्ष विधि अन्तरगत आउँछ। जब कुनै ग्रह आफ्नो मातृताराको अगाडिबाट ट्रान्जिट/संक्रमण/ग्रहण गर्छ, तब उसले मातृताराको प्रकाशलाई सानो रुपमा छेकी दिन्छ। प्रकाशमा आएको यो कमीले वैज्ञानिकहरुलाई ग्रहको उपस्थिति रहेको ज्ञात हुन्छ, ग्रहको आकार बारे पनि थाहा हुन्छ।

पत्ता लागेका सातओटा ग्रहमध्ये पाँचओटा बी.सी.ई.एफ र जी आकारमा पृथ्वी जत्रै छन्। डी. र एच. मंगल ग्रहभन्दा ठूला एवं पृथ्वीभन्दा साना छन्। यी सबै ग्रहमा वर्ष भने पृथ्वीको तुलनामा अत्यन्त छोटो हुन्छ। सबैभन्दा नजिकको ग्रहमा हाम्रो डेढ दिनको एक वर्ष हुन्छ भने अन्यमा बढीमा १२.३ दिनको एक वर्ष हुन्छ।

के पृथ्वीका मानिस यी ग्रहहरुसम्म पुग्न सक्छन्?

३ सय ७८ ट्रिलियन किमि टाढा रहेका यी ग्रहसम्म पुग्न अहिले सम्मको सबैभन्दा बेगले गतिमा उड्ने भोयागर यान (६२१४० किमी/घण्टा) लाई ७,०९,५६० वर्ष लाग्नेछ। हाम्रो सूर्यबाट उत्सर्जित प्रकाशलाई पृथ्वीसम्म आउन ८ मिनेट १८ सेकेण्ड लागे झैं ट्रैप्पिस्ट–१ बाट उत्सर्जित प्रकाशलाई पृथ्वीसम्म आउन ३९.५ वर्ष लाग्छ ।

भविष्यमा विज्ञानले वार्महोलको खोजी गरेपछि मात्रै यी ग्रहसम्मको यात्रा संभव होला।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive