newsone

औषधि उत्पादनलाई प्राथमिकता दिइनेछ: डा. बंशदीप खरेल

newstwo औषधि उत्पादनलाई प्राथमिकता दिइनेछ: डा. बंशदीप खरेल

सिंहदरबार बैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. बंशदीप खरेलले संस्था जीएमपीको तयारीमा गइरहेकाले हाल उत्पादन भइरहेका अत्यावश्यक औषधिहरुको निर्माणलाई नै निरन्तरता दिने बताएका छन् । 

पत्रकारहरुसँग कुराकानी गर्दै प्रबन्ध निर्देशक खरेलले गुणस्तरीय आयुर्वेदिक औषधिहरुकै उत्पादन गरेर संस्था टिकेकोले सोही कामलाई प्राथमिकताका साथ अगाडि बढाउने जिकिर समेत गरे । खरेलले अगाडि भने, “अबको एक वर्षमा कुशल औषधि निर्माण संहिता जीएमपीमा जाने नै हो । त्यो भनेर हाल उत्पादन भइरहेका औषधिलाई रोक्ने वा कामलाई अवरुद्ध गर्ने होइन । बैद्यखानाबाट उत्पादित औषधिहरु यति धेरै लोकप्रिय छन् कि हामीले तिनको उत्पादनलाई रोक्यौं भने प्रतिस्पर्धी बजारमा अरुले नै ठाउँ लिनेछन् । त्यस्तो अवस्थामा दिनमा निजी उद्योगहरुसँग प्रतिस्पर्धा गर्न झनै गाह्रो हुनेछ ।“

सरकारले अत्यावश्यक भन्दै आएका २० भन्दा बढी औषधिहरुको आपूर्ति व्यवस्थापनलाई समेत संस्थाले गम्भीर रुपमा लिएर काम गर्ने गरेको समेत खरेलको दाबी छ । उनले भने, “आयुर्वेद विभागले सिलाजित, च्यवनप्रास, अभिपत्तिकर चूर्णलगायतका २० भन्दा बढी औषधिलाई अत्यावश्यक भन्दै समितिबाट खरिद गर्ने गरेको छ । विगतमा संस्थाले उसले भने जति दिन नसकेकै हो । त्यसमा व्यवस्थापनको कमीकमजोरी रह्यो । आगामी दिनमा त्यो कमजोरी दोहोरिने छैन । तर, त्यसका लागि पनि विभागले समयमै टेण्डर खुलाइदिनुपर्छ । टेण्डरका लागि हामीलाई पर्याप्त समयको आवश्यकता हुन्छ ।“

बैद्यखानालाई जिएमपीमा लैजाने तयारीका बारेमा आफू स्पष्ट भएको दाबी गर्दै खरेलले एक तहको काम समेत पूरा भइसकेको बताए । जीएमपीलाई पूर्णता दिन बिभिन्न फेजहरुको पार गर्नुपर्ने हुन्छ । जीएमपीमा जाँदा शास्त्रीय विधिलाई पनि असर गर्नु भएन । संस्थामा दक्ष जनशक्तिको कमी पक्कै छ । जीएमपीमा गएपछि त्यसको अभाव होला नै । यद्यपि आधुनिक मेडिसिनमा भनेजस्तो जीएमपी आयुर्वेद क्षेत्रमा सम्भव छैन । जीएमपी भनेको शुद्धीकरण पनि हो । त्यो आत्मादेखि ज्ञान र सीपमा समेत आवश्यक पर्दछ । पछिल्लो समय केही निजी उद्योगहरुले जीएमपीका बारेमा अनावश्यक प्रोपोगाण्डा पनि गरिरहेका छन् । त्यो कति आवश्यक हो र हामी कुन तहमा जीएमपीलाई अवलम्बन गर्नसक्छौं, त्यसका बारेमा पनि आवश्यक गृहकार्य भइरहेको छ ।’’

संस्थालाई चलायमान बनाउँदै थप व्यवसायिक बनाउन आफूले हदैसम्मको भूमिका खेल्ने समेत खरेलले बताए । गुणस्तरीयताका सवालमा पनि आफूले सम्झौता नगर्ने र आगामी दिनमा आवश्यक पर्ने दक्ष कर्मचारीहरुको व्यवस्थापनका लागि संस्थाले पूर्व तयारीहरु गरिरहेको उनको कथन छ । गुणस्तरीय औषधि उत्पादन गरेर जनताको सेवा गर्ने मुख्य उद्देश्य भएको भन्दै खरेलले त्यसमै आफ्नो पूरा टिम लागिरहेको बताए ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive