newsone

तिघ्रे कमाइको मौसम

newstwo तिघ्रे कमाइको मौसम

‘नुवाकोटमा भाइहरुको माग छ, तपाईसँगका केही भाइहरु मलाई दिनुन, राम्रै खर्च आउछ ।’ केही दिनअघि कफीसपमा दुई जनाबीच भएको वार्तालाप हो । एकले कुरा नसक्दै अर्कोले भन्यो, मसँग जोडिएका भाइहरु त दीपक दाइलाई सघाउन मनाङ पुगेका छन् । मसँग त केटाहरु नै छैनन्, अलि अलि राजनीतिसँग जोडिएपछि यस्तो बेला गाह्रो हुने रहेछ यार । निकै खाइलाग्दा दुई युवाहरुबीच भएको यो वार्तालाप सुनेकै दिन सिन्धुपाल्चोक १ का नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतको अन्तरवार्ता एक अनलाइनमा आयो । जसमा उनले भनेका थिए, मेरा भाइहरुको तिघ्रा ठूलो छ त के गरौं, घटाएर आइज भनौं ? व्यवसाय गरेका छन्, राम्रो कमाएका छन्, जिमखाना र डोजो चलाएर बसेका छन्, मेरा भाइहरु जे काम गर्न पनि तयार छन् । बामपन्थीहरुसँग भिड्न तयार भएर बसेका छन् । अर्थात अहिले अलिकति रकम खर्च गर्नसक्ने उम्मेदवारहरु तिघ्राको लागि रकम खर्च गरिरहेका छन् । 
निर्वाचनको मिति जतिजति नजिकिदैछ, त्यतित्यति बुथ कब्जा हुनसक्ने ठाउँ भनेर समाचार आउँदैछ भने गाउँगाउँमा खुलेका राम्रा होटलहरु चुल्ठे, मुन्द्रे र बलिया बाङ्गा युवाहरुले भरिएका छन् । गाडीदेखि बाइकहरु गाउँगाउँमा दौडिरहेका छन । गाउलेको लागि नयाँनयाँ युवाहरु उम्मेदवारको वरिपरि घुमिरहेका छन् । ती युवाहरु मतदाताले उम्मेदवारसँग हात मिलाउन खोज्दा पनि पीएसओ जसरी नै सचेत तवरले बसिरहेका हुन्छन् । लाग्छ, मतदातालाई उम्मेदवारले दश औंला जोडेर नमस्कार गर्दा मतदाताले लाठो लिएर खेद्ने भएकोले उम्मेदवारहरुले आफ्नो सुरक्षाको लागि युवाहरुलाई लिएर हिडिरहेका छन । उम्मेदवारहरुले जनतालाई सबै प्रकारको सेवा गर्छु भनेर मुखले भनिरहेका छन्, तर भर परिरहेका छन्, तिघ्रा भएका युवाहरुसँग ।

सबैले त नभनौं, धेरै उम्मेदवारहरुद्वारा मतदातालाई एकातिर मानवीय त्रास दिन खोजिएको छ भने अर्कोतिर अर्को पक्षलाई त्यस्तै गर्न उक्साउने काम भइरहेको छ । अझ निर्वाचन दुई चरणमा हुने भएपछि अहिले दोस्रो चरणमा निर्वाचन हुने स्थानका युवाहरु पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा देखिएका छन् । त्यसैगरी दोस्रो चरणमा निर्वाचन हुने स्थानमा पहिलो चरणमा निर्वाचन भएका स्थानका युवाहरु पुग्ने नै छन् । यतिखेर पार्टी कार्यकर्ताहरुभन्दा महत्व पाएका छन्, तिघ्रेहरुले । बढ्दो बेरोजगारी भए पनि ‘इजी मनी’ को बाटोमा लागेका युवाहरु यही महत्व र केही गाँठ पाउने लोभमा दुरुपयोग भइरहेका छन् । अहिले कुन उम्मेदवारले युवाहरुलाई गलत रुपले प्रयोग गरे भन्ने होइन, कसले प्रयोग गर्न सकेनन् भन्ने समाचार आउला जस्तै भएको छ । 

अस्थिर राजनीतिको फाइदा उठाउँदै मात्र होइन, सत्ताको खेल र पैसा मोहले नेताहरुले युवाहरुलाई गलत बाटोमा हिडाइरहेका छन् । सैद्धान्तिक रुपले कमजोर र पैसा मात्र देख्ने नेताहरुसँगै आफूलाई आदर्श र इमान्दार भन्ने नेताहरुले समेत यही बाटो समातेको देखिन्छ । यदि त्यस्तो नहुदो थियो भने देशभरका बलिया बाङ्गाहरु ठूला भनाउँदा नेताहरुको क्षेत्रमा पुग्ने थिएनन् । सानोतिनो नेताहरुको क्षेत्रमा खर्च गरेर युवाहरु लगिन्छ भने ठूला नेताहरुको क्षेत्रमा कुनै ठूलै गुण्डाले रकम तिरेर युवाहरुको भिड लगाइदिन्छ । विगतमा गरेको संरक्षण र ठेक्कापट्टामा गरेको सहयोगको बदला युवाहरुको परिचालन गरेर ऋण चुक्ता हुने काम हुँदैछ । ‘सानो नेताहरुको क्षेत्रमा पैसा लिएर जाने हो, ठूलोकोमा भबिष्यमा सहयोग गर्ने शर्त राखेर केही लाख खर्च गर्ने हो ।’ एक युवाले भने । अर्को रोचक कुरा त के छ भने कुनै स्थानमा एउटा पार्टीको उम्मेदवारलाई सहयोग गर्ने युवा अर्को क्षेत्रमा अर्को पार्टीलाई सहयोग गर्न पुग्छ । राजनीतिक कार्यकर्ता भनिएका युवाहरु समेत यसरी परिचालन भएको देखिन्छ । आफैमा हाँस उठ्छ, तर समाजको वास्तविकता यस्तै छ । 

बाहुबलीको पहिचान बनाएका उम्मेदवारलाई काउण्टर दिन राम्रै भनिएका उम्मेदवार समेत युवाको तिघ्रा खरीदमा जुटेका छन् । बाहुबलीको पहिचान बनाएका खुमबहादुर खड्का भ्रष्टाचारको मुद्दा लाग्दा पनि नेता हुनुको कारण पनि यही हो । खुमबहादुर जस्तै भनिएका चिरञ्जीवी वाग्ले कहाँ छन ? कसैलाई थाहा छैन । तर खुमबहादुरको जगजगी छ । कांग्रेसका उम्मेदवारहरुको माग पनि खुमबहादुर चाहियो भन्ने नै छ । अनि किन ठूला कुरा नगरुन खुमबहादुरका चेला मोहन बस्नेतले । बिकृत राजनीतिको परकाष्ठा नै हो, युवाहरुको दुरुपयोग । तर कराएर के हुन्छ ? कराउनुको केही अर्थ छैन । आखिर केहीले छोडेर सबैले यसै गरिरहेका छन् ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive