newsone

राप्रपाको निर्वाचन समीक्षा

newstwo राप्रपाको निर्वाचन समीक्षा

काठमाडौं । कमल थापाले नेतृत्व गरेको राप्रपाले निर्वाचनको समीक्षा गरेछ । निर्वाचनमा राप्रपाको पराजय हुनुको आठ कारण निकालेछ । यी आठ कारण हेर्दा लाग्छ राप्रपा अब कहिल्यै राप्रपाको नाममा उदाउने छैन । दक्षिणपन्थी विचार शृङ्खलाको तेजोबध हुनाको कारण राप्रपाको भाषामा उसको समीक्षाका कारण यस्तो छ—  

पहिलो कारण, बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन नहुनु । राप्रपाले प्राथमिकताकासाथ उठाएको यो पहिलो कारण सुन्दै अनौठो छ । पहिलो त राप्रपा आफैमा कति लोकतान्त्रिक पार्टी हो, उसले नै ठम्याउन सकेको छैन् ।  राजतन्त्रको निरंकुशता, एक धार्मिक सापेक्षताको पक्षधर, संघीयता विरोधी दलले लोकतन्त्रवादी हँु भन्न नै सुहाउँदैन । 

दोस्रो ऐतिहासिक जनान्दोलनको जनादेशलाइ लत्याउन हर प्रयास गर्न लिप्त पार्टीलाइ लोकतान्त्रिक जामा पहि¥याउनाले उसको परम्परागत मतदाताले समर्थन गरेनन् । राप्रपा अब पुरानै मार्कामा फर्किएन भने यो भन्दा नराम्रो हार ब्यहोर्ने निश्चित छ । यसर्थ राप्रपाले हारको कारण निकालेको बुँदा ठीक उल्टो छ ।

दोस्रो कारण, लिखित रुपमा भएको सम्झौता अनुरुप नेपाली कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारितापूर्ण सहकार्य नहुनु । यो रोइलोको पनि कुनै अर्थ छैन् । एउटा राष्ट्रिय पार्टीले फुट्दाफुट्दा चोइटै चोइटा भएको पार्टीलाइ सिट दिनुको कुनै अर्थ थिएन÷छैन । राप्रपाले आफ्नो हैसियत  अनुसार सिट मागेको भए सायद कांग्रेसले पालना गर्दथ्यो । कांग्रेस डिप्रेसनमा परेको बेला के तालमेलको तमसुकमा इमान्दार नहुनु आफैमा अनौठो होइन । फेरि यो रोइलो यतिखेर गाउने पनि होइन । राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले जस्तो उतिबेला गठबन्धन तोड्न सक्नु पर्दथ्यो । चिचीको पनि पापाको पनि लोभ गरेपछि हुने यस्तै हो । त्यो लिखितै सहमति भए पनि राप्रपालाई सिट दिए पनि कांग्रेसी गणको संस्थागत हुने कुरो भएन । रह्यो कुरो स्थानीय तहमा इमान्दारितपूर्ण सहकार्यको कुरा । यो कुरामा कुनै दम नै छैन । कांग्रेस संगठनको अनुशासन पद्धति र कार्यकर्तामा आधारित पार्टी नै होइन । कांग्रेसी मतदाता नेताले थोपरेको कांग्रेस उम्मेदवारलाई नै हराउन उद्धत रहन्छन भने अन्य पार्टीबाट आएका पर्यटक उम्मेदवारका लागि इमान्दारिता देखाउने अनुशासनमा बस्नु उनीहरुको जिम्मेवारीभित्र पर्दैन । कांग्रेस भनेकै भीडको पार्टी हो । भीडले एकरुपतामा निर्णय गर्न सक्तैन । आखिर भयो त्यस्तै ।

तेस्रो कारण, राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अत्यन्त न्यून स्थानमा मात्र उम्मेदरवारी दिनु र अधिकांश क्षेत्रहरुमा राप्रपाको प्रत्यक्षतर्फ उम्मेदवार नहुनु ।

यो अर्को हास्यास्पद तर्क हो । गठबन्धन गरेपछि न्यून स्थानमा मात्र उम्मेदवार हुनु अनौठो होइन । बरु गठबन्धन नै नगरेको भए समानुपातिकमा भोट बटुल्न स्वाभाविक हुन्थ्यो । गठबन्धन नै गलत थियो भनेको भए स्वाभाविक लाग्थ्यो । राप्रपाको टिकट लिन को आउँथ्यो र धेरै स्थानमा उम्मेद्वार उठाउन सक्थ्यो ? आफ्नो धन खर्चेर राप्रपालाई अगाडि बढाउन कसैले जाँगर चलाउँदैनथ्यो । आखिर भयो पनि त्यस्तै । 

चौथो कारण, संबिधान संशोधनबारे राप्रपाको स्पष्ट अडान र धारणा नरहनु । राप्रपा र नेपालको संविधानको साइनो नै छैन । साइनो नै नभएको संविधानमा संशोधन खोज्नुको अर्थ पनि थिएन । नेपालको वर्तमान संविधान संशोधन गरेर राप्रपाले चाहेको जस्तो व्यवस्था आउने पनि होइन । राप्रपाले चाहेको जस्तो व्यवस्था ल्याउन संविधानको खारेजीसम्म पुग्नुपर्छ । जुन कुरा आजको सन्दर्भमा असम्भव हो । नेपालको संविधानमार्फत् दक्षिणायण दिशा जाने बाटो बन्द भइसकेको छ । यो संविधान उत्तरायण दिशा ग्रहण गर्ला, अन्य दिशा तय गर्न सक्तैन ।

अतः संविधान संशोधनमा राप्रपाको स्पष्ट धारणाको पनि अर्थ छैन । संविधान संशोधनमा राप्रपाको धारणाको कारणबाट उसको मत संकलनमा ह्रास आएको कुरा बेतुकको तर्क हो । राप्रपा गणलाई संविधान संशोधन कागलाइ बेल पाक्यो सरह हो ।

पाँचौ कारण, सरकारमा राप्रपाको सहभागिताका सम्बन्धमा जनतामा रहेको भ्रमको निराकरण हुन नसक्नु तथा कार्यकर्ताहरुमा पार्टी सरकारमा रहेको अनुभूति नहुनु ।

राप्रपाले सरकारमा जान खेलेको भूमिका राजनैतिक नैतिकतामा थिएन । जुनसुकै अनैतिक हर्कत गरेर भए पनि सरकारमा जाने उसको सिद्धान्त नै बनेको थियो । यसर्थ राप्रपाले सरकारमा सहभागिता देखाएको सत्यतथ्य उज्गार गर्ने हो भने राप्रपाप्रतिको धारणा उसकै निम्ति प्रत्युत्पादक बन्ने थियो । जनतामा कुनै भ्रम थिएन । राप्रपाको सरकारमा सहभागिताबारेमा । राप्रपाको सत्तालोलुपता बुझ्ने मामिलामा जनतामा कुनै भ्रम थिएन । आजको दुनियाँमा जनतालाई भ्रममा राखेर सत्ता चलाउने मनसाय राख्नु नै बिडम्बना हो ।

कार्यकर्तामा पार्टी सरकारमा रहनुको अनुभूति नहुनु पनि अनौठो होइन । विगतमा आफ्नै पार्टीको सरकारमा आफै सरकारको प्रतिनिधि भएर सरकार ढाल्ने मुसा प्रवृत्ति भएकाहरुको सांस्कृतिक रुपान्तरण नभएकाहरुबाट कार्यकर्ता कसरी आश्वस्त हुन सक्छन् ? निर्दलीय र व्यक्तिवादी सोंचको संस्कृति बोकेका राप्रपाका नेताबाट कार्यकर्ता पंक्तिलाई आश्वस्त बनाउन नसक्नु अन्यथा होइन ।

छैटौं कारण, साधन स्रोतको अभाव रहनु । साधन स्रोतको अभाव यस्तो निर्वाचन पद्धतिमा हुनु स्वाभाविक हो । निर्वाचन यति खर्चिलो छ कि सानातिना पार्टीहरुले धान्न गाह्रो नै हुन्छ । तर, राप्रपाको हकमा यो कुरा कति लागू हुन्छ ? साधन स्रोतकै लागि घरीघरी सरकारमा जाँदा पनि जोगाड भएन भन्नु आफैंमा उदेक लाग्दो विषय हो । साधन स्रोतकै जोगाडमा भएभरका नेताहरु मालदार मन्त्रालयमा पुग्दा, विभिन्न आयोजनामा तर मार्दा पनि भएन भन्नु आफैंमा आश्चर्य हो । यस्तो ढोंंगी विचार कसले पत्याउने कुन्नी ?

सातौं कारण, कमजोर संगठनका कारण जनमतलाई भोटमा रुपान्तरण गर्न नसक्नु । राप्रपाको जनमत खस्केको दुई दशक वितिसकेको छ । रहलपहल जनमत भनेको पनि पश्चगामी छ । जनमत नै नभएपछि संगठन कमजोर हुन्छ । राप्रपाको बाह्रमासे फुटले उसको बाँकी जनमत पनि तितरवितर भइसकेको छ । यस्तोमा जनमतको कुरा गरेर आश्वस्त बनाउन खोज्नु पिसावको न्यानो मात्र हो । राप्रपाको पश्चगामी जनमतलाई कांग्रेस पार्टीले सम्बोधन गर्ने देखिएपछि उसको जनमत झनै खस्कियो ।

पहिलो संविधानसभाको बलात् विघटनपछि आएको नेपाली राजनीतिको नैरास्यतापछि राप्रपाले दोस्रो संविधानसभामा केही प्राविधिक सफलता पाएको अर्थमा उसले आफू मोटाएको सम्झेको थियो । रुगा (रुख–गाई), सूगा (सूर्य –गाई) को नारा दिएर अघोषित गठबन्धनमार्फत् पाएको सफलतालाई उसले जनमत ठानेको थियो । तर, त्यो एक प्रकारको राष्ट्रिय पार्टीहरुको असफलतासँग गाँसिएको नकारात्मक पक्ष मात्र थियो । दोस्रो संविधानसभामा राप्रपाले खेलेको भूमिकाले यो नकारात्मक जनमत पनि उसको पक्षधरताबाट भागिसकेको थियो ।

आठौं कारण, सिद्धान्तप्रति पार्टी नेतृत्व प्रतिवद्ध नरहेको भ्रम जनतामा पर्नु । राप्रपाको सिद्धान्त परम्परागत निरंकुश शासन व्यवस्था, हिन्दू धर्मतन्त्रात्मक राजतन्त्रको पक्षपोषण गर्नुमा छ । एक धार्मिक एकात्मक राज्य, राजतन्त्रको उन्मुलन भइसकेको आजको अवस्थामा त्यही सिद्धान्तलाई बोक्नु भनेको मरेको विरालो काखीमा च्यापेर ठिमीको उकालो लाग्नु जस्तै हो । यस्तो सिद्धान्त बोकेकाले नै राप्रपाको पतन भएको हो । यस्तो मरिसकेको सिद्धान्तलाई व्युँताउने प्रयासमा लाग्नु नै बेकार थियो । यो सिद्धान्तप्रति पनि राप्रपा प्रतिवद्ध थियो भन्ने भ्रम निवारण भइसकेको थियो । यिनै सडेगलेको मुद्धाको सहारामा सत्ताको चास्नी चाख्ने कर्म गरेकाले नै पश्चगामी जनमतले उनीहरुलाई छोडिदिएको हो । राप्रपाले हारको यो कारण चाहिं बस्तुवादी ढंगले प्रस्तुत गरेका छन् ।

अन्त्यमा, राप्रपा अब अस्ताउँदो घाम भइसकेको छ । राप्रपाका अरु जति पनि घटक छन् तिनको पनि हालत त्यही हो । यी घटकबीच पुनः एकीकरण भए पनि त्यसको उपादेयता सिद्धिसकेको छ । शनैशनै यो पार्टीको पतन हुँदैछ । प्रजापरिषद जस्तो यसको अधोगमन भएको होइन । प्रजापरिषदले इतिहासको कालखण्डमा गरेको भूमिका स्मरणयोग्य नै छ । तर, राप्रपाको भूमिका कुनै सूरतमा पनि इतिहासमा स्मरणयोग्य रहदैंन । यो त भूतपूर्व पञ्चहरुको क्लब मात्रै थियो । यस्तो क्लबको आयु लामो समयसम्म जाँदैन थियो । अहिले त्यही भएको हो । नेपाली राजनीतिमा यसको नकारात्मक भूमिका रहदंै आयो । यसको पतन पनि नकारात्मक नै हुनेछ । राप्रपा नेपाली राष्ट्रिय राजनीतिको नकारात्मक उत्पादन हो, यसको न भुतो न भविष्यति ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive