newsone

रामेछापको छत्याउने खोलामा आएको भीषण बाढीले बगाउँदा दुईको मृत्यु, तीन जना वेपत्ता, ९ जना घाइते

newstwo रामेछापको छत्याउने खोलामा आएको भीषण बाढीले बगाउँदा दुईको मृत्यु, तीन जना वेपत्ता, ९ जना घाइते


    ८ घर बाढीले बगायो, दर्जनौ घरहरु उच्च जोखिममा

रामेछापको लिखु गाउँपालिका ६ स्थित छत्याउने खोलामा आएको भीषण बाढी पहिरोले बगाउँदा २ जनाको मुत्यु हुनुका साथै ४ जना वेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । 

शनिवार रातिबाट लगातार परेको अविरल वर्षाका कारण आइतबार विहान करिव २ बजेतिर आएको बाढी पहिरोले बगाउँदा स्थानीय ४५ वर्षीय बाशुदेव कार्की र ७५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । खत्रीको शव घटनास्थलबाट करिव ३ किलोमिटर तल तामाकोसी किनारा हलेदीमा भेटिएको थियो भने कार्कीको शव घटनास्थल नजिकै भेटिएको थियो ।

प्रजिअ खत्रीका अनुसार खोलाले बगाउँदा तीन जना वेपत्ता भएको पुष्टि हुन आएको छ । वेपत्ता हुनेहरुमा वर्ष ४० का अशोक तामाङ्, उनकी ११ वर्षीया छोरी मनिला तामाङ र ५५ वर्षकी सुमनकुमारी खत्री रहेका छन् ।

वेपत्ता हुनेको संख्या बढ्नसक्ने प्रजिअ खत्रीले बताए । ‘रातको मसय भएकाले कतिजना वेपत्ता भए भन्ने एकिन हुन सकेको छैन् । धेरै मान्छेहरु सम्पर्क बाहिर छन् । बाढीले क्षति पु¥याएकै स्थानमा सडक निर्माणका लागि ११ जनाभन्दा बढी मजदुरहरु खोला किनारामा टहरा बनाएर बसेका थिए । उनीहरुको अवस्थाबारे केही जानकारी नआएको स्थानीयले बताएका छन्,’ उनले जानकारी दिए । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, प्रशासन, स्थानीय जनप्रतिनिधि र स्थानीयको सक्रियतामा उद्धार तथा वेपत्ताहरुको खोजी कार्य भइरहे पनि उनिहरु अव जीवित्तै भेटिने सम्भावना कम हुँदै गएको बताइएको छ ।

बढीले बगाएकामध्ये ९ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकाहरु सबै घाइते छन् । जानकारीअनुसार ४७ वर्षीया सुन्तली खत्री, कुमार खत्री, भगवती खत्री, राधा खत्री, बालिका प्रमिशा खत्री लगायत घाइते भएका छन् । घाइतेमध्ये सुन्तली खत्रीको अवस्था गम्भीर रहेको छ । उनलाई जमिनमुनिबाट खनेर निकालिएको बताइएको छ । 

मृत्यु हुने, वेपत्ता हुने र घाइते हुने प्राय एकै घरका परिवारका रहेको स्थानीयले बताएका छन् । ‘गम्भीर घाइले सुन्तली खत्री लगायतलाई ९ जना घाइतेलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत् उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुलाई दुई वटा नेपाली सेनाको हेलिकप्टरमार्फत रेस्क्यु गरिएको छ । रेस्क्यु गरिएका सबैलाई गृहमन्त्रालयले त्रिभुवन एयरपोर्टबाट वीर अस्पतालस्थित ट्रमा सेन्टर लगीएको छ,’ प्रजिअ खत्रीले थपे । घाइते सबैको गृहमन्त्रालयले उपचार गर्ने व्यवस्था मिलाएको प्रजिअ खत्रीले बताए ।

बाढीले वेपत्ता सुमनकुमारी खत्रीलगायतको घर तथा माछा पोखरी बगाएको छ । प्रारम्भिक रिपोर्ट अनुसार ६ घर र दुई वटा टहरा बाढीले बगाएको छ । ती घर तथा टहराहरुमा कति मान्छे थिए भन्ने एकिन भएको छैन् । बाढीका कारण खिम्ती बजारस्थित खहरे पुलबाट बस्तीतर्फ बाढी पस्दा पूरै बस्ती जोखिममा छ । 

लगातारको भारी वर्षाका कारण शनिवार मध्यरातदेखि खिम्ती, छत्याउने, खानीखोलामा ठूलो बाढी आएको थियो । ‘बाढीले आइतबार करिव २/३ बजेतिरै बस्ती नै बगाए पनि उद्धारमा कठिनाई भएको थियो । छत्याउनेमा आएको बाढीले मन्थली–खिम्ती–फर्पु सडकको पक्की पुल बगाएको छ । यस्तै खानीखोलामा आएको बाढीले कज्वे बगाउँदा मन्थली– दोलखा सडक पनि अवरुद्ध भएको छ,’ प्रजिअ खत्रीले भने । पुल र कज्वेमा क्षति भएपछि रामेछाप उत्तरका प्राय भेगहरुमा सडक अबरुद्ध भएका छन् । पुल र कज्वेमा क्षति पुगेपछि दोलखाको चरिकोट, जिरी तथा रामेछापको फर्पु, नमाडी बेताली, सोलुखुम्बु र ओखलढुङ्गा लगायतमा पहाडी क्षेत्रबाट मन्थली हुँदै सिन्धुलीको विपी राजमार्गबाट तराई र राजधानी आवत जावत गर्ने हजारौं सवारी साधनहरु अलपत्र परेका छन् । 

लिखु गाउँपालिका ६ खिम्तीका वडाध्यक्ष शिव न्यौपानेका अनुसार खिम्ती बजार रामेछाप, ओखलढुङ्गा र दोलखाको लागि महत्वपूर्ण बजार हो । यो पुरानो बजार भएका कारण प्राय व्यापार ब्यवसाय गरेर खोला किनारमा बस्ती बसालेर बस्दै आएका छन् । ‘तर, आज चार वर्षअघिको खिम्ती खोलाको विनास विर्सन नपाउँदै अर्को ठूलो क्षति भएको छ । स्थानीयले ठूलो विपत्ति बेहोर्नु परेको छ,’न्यौपानेले भने ।

उक्त क्षेत्रमा करीब चार वर्षअघि यसैगरी खिम्ती नदीमा आएको बाढी पस्दा ८ जनाको ज्यान जानुका साथै दर्जनौै घरहरु बगाएको थियो ।
गोकुलगंगा गाउँपालिकाको फर्पु र लिखु गाउँपालिकाको खिम्तीलाई छुट्याउँदै आएको छत्याउने खोलाले किनाराको बस्तीको नाम निसाना नै नरहने गरी बगाएको उनको भनाइ छ । बाढीले खिम्ती बजारस्थित साँघुटारका सबै सडकमा क्षति पुगेको छ ।

‘बाढीले बगाएकाहरुमध्ये केहीले विहान ३÷४ बजेसम्म बचाउबचाउ भनिरहेका थिए, प्रतक्षदर्शी समेत रहेका न्यौपानेले भने, ‘हामीले सकेसम्म उद्धार गरेऔं । रातको समय र भीषण बाढी भएका कारण सोचे जस्तो उद्धार गर्न कठिनाइ भयो ।’ न्यौपानेका अनुसार कतिपयले रातभर रुखमा झुण्डिएर ज्यान बचाएका छन् । फर्पुको सिरानबाट आउँने छत्याउने खोलाले फर्पु क्षेत्रमा पनि ठूलो क्षति गरेको भन्ने खवर आए पनि एकिन हुन सकेको छैन् । 

बाढी पहिरोले मानवीय र भौतिक क्षतिको एकिन हुन नसके पनि घाइतेको उपचार, मृतक र वेपत्ता परिवारका लागि खाद्यान्न तथा राहतको लागि जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसी आवश्यक पहल गरिएको प्रजिअ खत्रीले जनाए । घटनापछि खिम्ती बजार शोकमा डुवेको छ । प्रायः एकै परिवारका मान्छेहरु बाढीमा परेका कारण स्थानीय आँशुमा डुवेका छन् । 

तस्विर:  अप्रील अधिकारीको फेसवुकबाट ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive