newsone

निषेधले द्वन्द्व निम्त्याउँछ

newstwo निषेधले द्वन्द्व निम्त्याउँछ

सीता अधिकारी

नेपालमा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि प्रतिनिधिसभाको पहिलो निर्वाचन भएको छ । प्रदेशसभाको निर्वाचन त नेपालमा पहिलो पटक सम्पन्न भएको छ । नेपालको निर्वाचनलाई विश्वभरिबाट विशेष चासोका साथ हेरिएको थियो ।  

खासगरी निर्वाचनपछि राजनीतिक उतारचढाव र संक्रमणकालबाट देश मुक्त हुन्छ कि हुँदैन रु यसले अन्तर्राष्ट्रिय खासगरी छिमेकीसँगको सन्तुलन मिलाउन सक्छ कि सक्दैन रु नयाँ शिराबाट देशमा द्वन्द्व देखापर्छ कि समृद्धि र स्थायित्व हुँदै देश अगाडि बढ्छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा हेरिएको चुरो कुरो यो छ । 

धेरै नै जटिलता पार गर्दै निर्वाचन सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन केही महिना अगाडि भएको थियो । प्रदेश र संघको निर्वाचन एकैपटक गरेर आर्थिक खर्च पनि कम भएको छ । अब देश पूर्ण रुपमा संघीयतामा प्रवेश गरेको छ । सात प्रदेशले  मुख्यमन्त्रीसहित देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । वास्तवमा यो प्रगतिशील कदम हो । नेपालमा लोकतान्त्रिक प्रयोग सफल भएको छ । स्थिर सरकार, स्वाधीन, समृद्ध राष्ट्र बन्ने दिशामा जाने गरी जनताले अभिमत जाहेर गरेका छन् । 

२२ वर्षअघि नेपालमा अग्रगामी मुद्धा उठाएर माओवादीले जनयुद्ध प्रारम्भ गरेको थियो । २०४६ सालमा वहुदलीय संसदीय व्यवस्था त अपनाइयो तर त्यसले जनताको हित गर्न नसकेकैले जनयुद्ध गर्नु परेको थियो । गणतन्त्र, समानुपातिक, समावेशीसहितका मुद्धा मुख्यतः जनयुद्धका कारण स्थापित भएका छन् । सबै राजनीतिक शक्ति, प्रवृत्तिका साथै उत्पीडित वर्ग र समुदायलाई शासन सत्तामा पु¥याउने माओवादीका नीति र कार्यक्रम अहिले देशकै बनेको छ । जनयुद्धको महत्व र औचित्य सावित भइसकेकाले यसको बारेमा प्रश्न उठाउनु प्रतिगमनलाई पूजा गर्नु हुनेछ ।  

०४६ साल यता दुई दर्जनभन्दा बढी सरकार बने । राजाले बीचमा बलपूर्वक शासनसत्ता पनि लिए । माओवादी जनयुद्धको बल र जगमा जनआन्दोलनको पृष्ठभूमि निर्माण भयो र जनआन्दोलनले सफलता प्राप्त ग¥यो । सबै दल मिलेर गणतन्त्रको यात्रा तय भयो । नेपालमा अढाई सय बर्षदेखि शासन गर्दै आएको राजतन्त्रलाई विदाइ गरियो र संविधानसभाबाट नेपालमा संविधान जारी भयो । 

संविधानको कार्यान्वयनको लागि तीन वटा निर्वाचनले ग्यारेण्टी गरेको छ । नेपाली जनताले करिव ७० वर्षदेखि संघर्ष गर्दै आएको जनताले संविधान बनाउने मागको सम्बोधन भयो । अब संविधानको कार्यान्वयनको निश्चितता हुनु धेरै सुखद कुरा हो । अब नेपालमा आर्थिक समृद्धिमा जोड दिनुपर्छ । परिवर्तनकारी वाम शक्तिलाई जनताले मत दिएर ठूलो आशा जगाएका छन् । यो धेरै महत्वपूर्ण कुरा हो । यसले स्थायित्व र समृद्धिको ढोका खोल्नेछ । 

नेपाल जस्तो सानो देशमा धेरै राजनीतिक शक्ति क्रियाशील थिए । यी पनि राजनीतिक अस्थिरताका कारक थिए । यो निर्वाचनपछि त्यो पनि घटेको छ । थ्रेस होल्डले राम्रो गरेको छ । पाँच वटा राजनीतिक दलमात्र राष्ट्रिय पार्टी बनेका छन् । समानुपातिक र पहिलो हुने निर्वाचनबाट सदन बनेको छ । यसले मुलतः देशको मुख्य प्रवृत्तिको समुचित प्रतिनिधित्व गरेको छ । एकाध सांसद्हरुले वार्गेनिङ गरेर स्वार्थ लुट्ने अवस्थाको लगभग अन्त्य भएको छ ।      

वामपन्थीलाई ठूलो अवसर

पूर्वानुमान वमोजिम नै वाम गठबन्धनले भारी वहुमत ल्याएको छ । स्थानीय तहको निर्वाचनले नै यसको संकेत देखाइसकेको थियो । एमाले र माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा एक्लाएक्लै लड्दा क्रमशः पहिलो र तेस्रो बनेका थिए । 

यसपटक दोस्रो दल नेपाली कांग्रेसलाई पनि खबरदारी गर्ने गरी मत प्राप्त भएको छ । नेकाले पनि लोकतान्त्रिक गठबन्धन बनाएकै थियो तर त्यसको प्रभाव निर्वाचनमा खासै परेन ।  धेरै वर्ष शासनसत्तामा रहेको कांग्रेस प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्नुपर्छ भन्ने सन्देश मिलेको छ । उसले वहुमत प्राप्त गठबन्धनलाई जनता र राष्ट्रको पक्षमा काम गर्ने वातावरण बनाउनु पर्छ र सहयोगी भूमिका खेल्नुपर्छ । यो पटक निर्वाचनमा कांग्रेसलाई धक्का त लागेको छ, उसलाई सच्याएर जानका लागि अवसर पनि मिलेको छ । कांग्रेसले खेल्ने भूमिकाले नै उसको भविस्य निर्धारण हुनेछ । 

निषेध गरिनु हुन्न 

निर्वाचनको परिणाम सकिए लगत्तै राष्ट्रिय सभा निर्माणको प्रक्रियाका लागि नयाँ बहस सुरु भएको छ । निर्वाचनपूर्व नै टुंगो लगाउनु पर्ने यति महत्वपूर्ण विषयलाई यतिवेला विवाद गरिदैंछ । नेपाली कांग्रेस र एमालेले अहिले अनावश्यक किचलो गर्नुभन्दा पनि मध्यमार्गी बाटो अपनाउनु नै सही हुन्छ । राष्ट्रियसभालाई प्रतिपक्षीविहीन वा नेपाली कांग्रेसलाई निषेध गरी बनाउनु वेठीक हुन्छ । 

एमालेको प्रवृत्ति के देखिन्छ भने निषेध गरेरै जानुपर्छ भन्ने छ । राष्ट्रियसभामा पहिलो हुनेबाट निर्वाचन गर्ने कुरा राम्रो होइन । समानुपातिक, एकल संक्रमणीय आधारमा गर्नुपर्छ । सबै पक्षको राष्ट्रिय सभा हुनुपर्छ । कांग्रेसलाई निषेध गर्ने भन्दा कतिपय वैदेशिक शक्तिलाई पनि निषेध गर्नुपर्छ भन्ने कुरा आउँछ । 

यतिवेला सबैलाई निषेध गरेर जाने कुरा गर्नु हुँदैन । सबैभन्दा ठूलो हुने दलले सन्तुलनकारी भूमिका खेलेर अभिभावकत्व देखाउन सक्नुपर्छ । कसैलाई पनि अतिवादमा जान दिनुहुन्न । 

कांग्रेसलाई निषेध गर्ने हो भने उपलब्धि उल्टिने खतरा नै हुन्छ । पहिलो हुने प्रणालीमा जाँदा कांग्रेस बढारिन्छ । फेरि सरकार अघि कि राष्ट्रियसभापछि सरकार भन्ने बहस भइरहेको छ । यो त प्राविधिक विषय हो । यस्ता विषयमा कांग्रेसले पनि हलो अड्काउनु हुँदैन । आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेसले जनमतको सम्मान गर्न किन हिच्किचाउने ? 

शेरबहादुर देउवा सरकारले प्रदेश प्रमुख बनाउनका लागि एकलौटी पहल गरिरहेको छ । निर्वाचनबाट वामपन्थीको पक्षमा म्याण्डेट आइसकेपछि कांग्रेसले एकलौटी गर्न खोजिरहेको देखिएको छ । कांग्रेसले पछिल्लो समयमा नियुक्ति, सरुवा गर्दै राजनीतिक गत्यावरोध, टकराव ल्याउन खोजिरहेको स्पष्ट छनक दिइरहेको छ । 

नेताका पछाडि शक्ति केन्द्र

कांग्रेसमा देउवालाई उचालेर नै शक्ति केन्द्र खेल्ने हो । एमालेमा केपी शर्मालाई केन्द्रमा राखेर नै शक्तिकेन्द्र खेल्ने हो । ओलीको अति निकट, देउवाको अति निकटबाट नै शक्ति केन्द्र आउँछ । अनावश्यक अतिवादमा मुलुकलाई लग्दा द्वन्द्वको नयाँ ढंगले विजारोपण हुन्छ । 

अहिलेको वर्गसंघर्षको केन्द्र भनेको स्वाधीनताको पक्ष र राष्ट्रिय आत्मसमर्पणवाद नै हो । यी दुईबीचको टकरावले मुलुकलाई अस्थिरतातिर नै लैजान्छ । सरकार, सदन र सडकको संघर्षको केन्द्रविन्दु भनेको नै राष्ट्रिय स्वाधीनताको पक्ष र विपक्षको संघर्ष हो । आत्मनिर्भर अर्थतन्त्र कि औपनिबेशिकता कायम गर्ने भन्ने नै हो । 

ओलीले र उनको पक्षमा उठाइने अति राष्ट्रवाद र देउवा र उनको पक्षबाट अपनाइने आत्मसमर्पणवादले अन्ततः राष्ट्रिय स्वाधीनतालाई कमजोर नै बनाउँछ । जनतामा विभाजन ल्याउने कुराले राष्ट्रलाई कमजोर बनाउँछ । मुद्धालाई विषयान्तर गरेर द्वन्द्वको खेती चलिरहन्छ । 

अब त्यस्तो निरर्थक बहसका पछि नलागी देशमा स्थायित्व र समृद्धिका लागि जानुपर्छ । दलहरुको टकराव बढाइदिंदा कटुता बढ्छ अनि संघर्ष चर्किन्छ भन्ने सोंचका साथ आएका सबै बहसहरुलाई जिम्मेवार भएर प्रस्तुत हुँदै अगाडि बढ्नु नै बाम गठबन्धनको चलाखी हुनेछ । जनमतको कदर हुन्छ । वामले जितेको भनेको कांग्रेसले हारेको होइन । उसलाई पनि विश्वासमा लिएर जानुपर्छ भन्ने जनमत छ । कांग्रेसले पनि सर्वस्व नै गयो जसरी सरकारमा पुग्न र टिकिरहनका लागि मरिहत्ते गर्नु भएन ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive