newsone

पार्टीहरु पाटी हुँदै प्रा.लि.मा परिणत

newstwo पार्टीहरु पाटी हुँदै प्रा.लि.मा परिणत

एकके दाहाल

कुनै पनि राजनीतिक पार्टीको शक्ति आँकलन उसको पार्टी सदस्यताबाट हुन्छ । ‘मास बेस्ड’ पार्टी नै भए पनि नेता–कार्यकर्ताहरुको छनौट विधि पार्टी सदस्यता नै हो । मासबाट नेता छान्ने प्रचलन नेपालमा विकास हुनै सकेको छैन । नेपालमा आफूलाई तथाकथित स्वतन्त्र देखाउने ब्यक्तिहरुले पनि कुनै न कुनै पार्टीको सदस्यता गोजीमा बोकेकै हुन्छन् । एकादुई नहोलान्, त्यो बेग्लै कुरा हो । अझ कम्युनिष्ट पार्टीको सदस्यता लिनको लागि त एउटा विधि र परीक्षण हुन्छ । पार्टीले दिएको निश्चित जिम्मेवारी पूरा गरेपछि मात्र सदस्यता दिने गरिन्थ्यो । कम्युनिष्ट नेताहरुका अनुसार कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्न साँच्चिकै मेहनत गर्नुपर्छ । तर अब त्यो कुरा कथनीमा सीमित रह्यो, करनीमा होइन ।

२०६३ को परिवर्तनपछि पार्टी सदस्यता सर्वसुलभ भयो । कम्युनिष्ट पार्टीको सदस्य मात्र होइन, केन्द्रीय सदस्य अझ त्योभन्दा माथि पुग्न पनि कुनै विधि–प्रक्रिया लागू भएन । नेताहरुले चाहेमा जसले पनि कम्युनिष्ट पार्टीको उच्च नेता हुन पाए । जुन पार्टी छोडेर आए र गए पनि पदको खाँचो भएन । सयबाट हजारमा पु¥याइयो, समितिहरु । कांग्रेस त पार्टी होइन, पाटी (चौतारो) थियो तर त्यसमा कम्युनिष्ट पार्टी पनि थपियो । कम्युनिष्ट पार्टीहरु एकादुईलाई छोडेर बन्ने हो भने धेरै पार्टी होइन, पाटीजस्तै बने । जो आए पनि आराम गर्ने ठाउँ जस्तै बने पार्टीहरु । 

२०६३ को आन्दोलनपछि जमिन्दार र सामन्त वर्गका नेताहरुले मधेसकेन्द्रित पार्टी खोले । ती पार्टी स्थापना हुँदा नै पाटी होइन, प्रा.लि. बने । प्रा.लि.को मालिकले जे चाह्यो, त्यही निर्णय ग¥यो । थोरै भोट पाएको अवस्थामा श्रीमती, प्रेमिका, सम्धि सम्धिनीलाई पद दिइयो । संविधानसभा र संसदमा त्यस्ताले कुनै मन्तव्य दिएनन् । कुनै भूमिका खेलेनन् । मात्र श्रीमान र प्रेमीलाई खुसी पारे । मधेसकेन्द्रित दल र साना दलहरु पाटी पनि भएनन्, प्रा.लि.मा सीमित रहे । ठूला भनिएका दलहरु पाटी थिए । तर अब ती पनि प्रा.लि. भए । निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको लिष्ट हेर्दा थाहा हुन्छ, राजनीतिक दलहरुले होइन, राजनीति प्रा.लि.हरुले समानुपातिक सूची बुझाएका छन् । कुनै योगदान दिएको होस् कि नहोस् श्रीमती, साली, ज्वाइँ, आफन्त नातागोतालाई समानुपातिकमा समावेश गर्न कुनै लाज मानेन्, प्रमुख दलका नेताहरुले ।

यस्तो काम कसले ग¥यो होइन, कसले गरेन भन्ने कुरा भने समाचार बन्ने अवस्था छ । पार्टी, पार्टीपछि गुट, गुटमा पनि हनुमान र हनुमानमा पनि आफन्तलाई जिम्मेवारी दिनु हुँदैन भन्ने नेताहरु भेटिएनन् । राजनीतिक दलहरुको यो लज्जास्पद हर्कतले अब नेपालमा राजनीतिक पार्टीहरु होइन, राजनीतिक प्रा.लि.हरु मात्र क्रियासिल छन् । सक्ने र आँट गर्नेलाई प्रत्यक्षमा नै दिने नसक्ने र आँट नगर्ने आफन्तलाई समानुपातिकमार्फत् पद दिने घीनलाग्दो धन्दा फस्टाएको छ– नेपालको राजनीतिमा, अझ कम्युनिष्ट पार्टीहरुमा ।

सामान्यतया समानुपातिक प्रणााली राज्यको पदमा पुग्न नसक्ने ब्यक्ति या समुदायको लागि भनेर सुरु गरिएको हो । देशभर पुग्नुपर्ने नेता भए समानुपातिकमा बसेर पार्टी गतिविधि सञ्चालन गर्नुलाई पनि अन्यथा मान्न सकिन्न । तर राजनीतिक प्रा.लि.हरुले समानुपातिकमै राखेर पटक–पटक अबसर दिई पेन्सन पकाउने अवस्था सिर्जना गर्दैछन् । पटकपटक मन्त्री र सभामुख भएको ब्यक्तिसमेत समानुपातिकमा बस्न कुनै लाज मान्दैनन् ।

अलि प्रभावशाली नेता छ भने श्रीमान या श्रीमती एक जना समानुपातिकमा बसेर एक जना प्रत्यक्ष निर्वाचनमा भाग लिंदैछन् । जिते दुवै सांसद, हारे एकजनाको पद त सुरक्षित छँदैछ ! अझ गठबन्धन, तालमेल र विलय खेती फस्टाएपछि जीतको दम्भले पद जति प्रा.लि. प्रमुख या शेयरहोल्डरको आफन्तमा सीमित हुँदैछन् । समानुपातिक प्रणाली जुन उद्देश्यको लागि सुरु भएको थियो, त्यसको दुरुपयोग मात्र होइन, धज्जी उडाउने काम भयो, राजनीतिक प्रा.लि.हरुबाट । पार्टीबाट पाटी हुँदै प्रा.लि. बनाएको अहिलेको राजनीति कहिले प्रा.लि.बाट पाटी हँदै पार्टीमा फर्केला ? त्यसो हुन नसकेमा राजनीति ब्यापार व्यवसायभन्दा फस्टाएको खेतीमात्र हुने निश्चित छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive