newsone

जैविक विषादी: महत्व र प्रयोग  

newstwo जैविक विषादी: महत्व र प्रयोग  

दुर्गेश कुमार यादव

मानव सभ्यताको सुरुवात र कृषिसँगै बालीनालीमा लाग्ने रोगकिरा एक मुख्य समस्याको रुपमा देखिंदै आएको छ । त्यस समयमा वातावरणको अनुकुलता, मित्रजीवको उपस्थिति र सामान्य नियन्त्रणको बिधि अपनाउँदा रोग किरा नियन्त्रण हुने गर्दथ्यो । बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तन र खेतियोग्य जमिनलाई अन्य प्रयोजनको लागि उपयोग बढ्दै जाँदा नेपाली किसानलाई पनि नेपालको खाद्य सुरक्षा बनाइराख्न आधुनिक कृषितर्फ लाग्न पर्यो । यसरी आधुनिकीकरणमा जाँदा किसानहरुले रासायनिक विषादीको प्रयोग गर्न थाले । अझ नेपालको अवस्थामा हेर्ने हो भने अधिकतम किसानहरुले विषादीको बारेमा र रोग किराको पूर्ण जानकारी र प्राविधिकको सल्लाह नलिएरै विषादी प्रयोग गरेको पाइन्छ । यसरी रासायनिक विषादीको अनुचित प्रयोगले मानब तथा जनावरको स्वास्थ्यमा प्रतिकुल असर सँगै, हावा तथा माटो प्रदुषण, जैबिक बिबिधताको नासजस्ता समास्या देखिँदै आएका छन् । 

यसरी रासायनिक बिषादीको उचित विकल्प नहुँदा किसानहरुले यसको प्रयोग गर्ने गरेको पाइन्छ । तर बिभिन्न अध्ययन र अनुसन्धानले हाम्रै वरपर रहेका विभिन्न वनस्पतिमा पनि किटनासक गुणहरू रहेको कुरा जानकारी भइसकेको छ । त्यस्ता वनस्पतिको प्रयोग मानब स्वास्थ्य र वाताबरणीय दृष्टीले सुरक्षित छन् । तर यस्ता बिरुवामा रहेको किटनासक गुणलाई कसरी प्रयोगमा ल्याउने भन्ने विषय महत्वपूर्ण हुन्छ । निम गाउँघरमा सजिलै पाइने किटनासक गुण भएको बिरूवा हो । निमलाई बालीमा देखिनेसँगै भन्डारणमा देखिने किरा नियन्त्रणमा प्रयोग गर्न सकिन्छ । निमको फलबाट लाही, धानको पात खाने किरा, बन्दाको गवारो, खपटे कीरा, पात वेरुवा, फल छेँड्ने किरा, धानको गवारो आदि धेरै प्रकारका किराहरु मार्न वा हटाउन सकिन्छ । निमको गेडाबाट तयार गरिने विषादी अति राम्रो हुन्छ । तापनि कहिलेकाँही गेडा नपाएमा निमको पातलाई पनि बिषादीको रुपमा प्रयोग गर्न सकिन्छ । निमको दाना र पातमा रहेको बिषादीको गुण कसरी प्रयोगमा ल्याउने भन्ने कुरा महत्वपूर्ण रहन्छ । निमको बिउको बोक्रो हटाएर दिउल मात्र जम्मा गर्ने र तिनलाई जाँतो वा ग्राइन्डरमा पिंधेर मसिनो धुलो बनाई प्रयोग गर्न सकिन्छ । निमको दिउल वा गेडाको धुलोलाई एउटा पातलो कपडामा पोको पारी १२ देखि २४ घण्टासम्म र पानीमा ढड्याउने र सो ढाडिएको पोकोलाई पानीमा राम्ररी निचोर्ने । यसरी आएको झोलमा साबुन २.० ग्राम धुलो मिसाएर राम्ररी चलाउने । अब यसलाई बोटबिरुवामा किटनाशक पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी १ किलोग्राम निमको पातलाई एउटा भाँडोमा राखेर करीब ३ देखि ५ लिटर जति पानी मिसाउने र पातको हरियो रंग पानीमा नआउन्जेलसम्म पकाउंँदै गर्ने र सेलाएपछि पातलाई हटाउने र झोललाई बिषको रुपमा प्रयोग गर्न सकिन्छ ।

निमको हरियो पातलाई पानीमा मिसाई ३–५ दिनसम्म कुहाउने र यसबाट बन्ने झोल निकाली बालीमा छर्कन े। यसबाट हानीकारक किरा फट्याँग्राहरुबाट बालीनालीलाई बचाउन सकिन्छ । निम वा पात २ किलो, लसुन २ किलो, सयपत्री २ किलो, खुर्सानी २ किलो मिलाएर कुटेर बनेको बनस्पतिहरुको लेदोमा आलसको तेल २ लिटर मिसाइन्छ । तेल मिसाइसकेपछि बिषादी मलम जस्तो बन्दछ । यो बिषादीले कफिको गवारोलाई नियन्त्रण गरेको पाइएको छ ।

निमको दिउल वा बिउको धुलोले उपचार गरेको खण्डमा सन्चित अनाजलाई भण्डारमा लाग्ने बिभिन्न किराहरुबाट जोगाउन सकिन्छ । मकै, धान, गहुँ, जौ, जुनेलो आदि अनाजमा निमको दिउलको धुलो १–२ प्रतिशत (तौलका हिसाबले) मिसाएर भण्डार गरिएको खण्डमा तिनलाई धानको घुन, खप्रा खपटे र राइजोपर्था खपटेबाट २७०–३८० दिनसम्म सुरक्षित राख्न सकिन्छ । दलहनका बिउहरु जस्तै चना, मुंग, बोडी आदिलाई उक्त बमोजिम उपचार गर्दा भने दलहनको खपटेलाई नियन्त्रण गर्न सकिन्छ ।

सुर्ति र साबुन मिसाएको झोललाई पनि विषादीको रुपमा प्रयोग गर्न सकिन्छ । सुर्तिको सुकेका पात या डाँठ जम्मा गरि १ किलोग्रामलाई ५.१० लिटर पानीमा २४ घण्टासम्म ढड्याउने, त्यसपछि सो मिश्रणलाई एउटा पातलो कपडामा छान्ने, त्यसरी बनेको सुर्ती पानीमा एक मुठी साबुनको धुलो मिसाएर राम्ररी घोल्ने । यसपछि यो घोललाई स्प्रेयरले किरा लागेको बालीमा तुरुन्तै छर्नाले लाही, उफ्रने खपटे, थ्रिप्स, फेँद काट्ने किरा आदि नियन्त्रण हुन्छ । तर यो झोल छरिएको बालीको उपजलाई ४ दिनसम्म खान हुन्न । शंखेकिरा र चिप्लेकिराको नियन्त्रणको लागि सूर्तिको डाँठको धुलो छर्नाले चिप्ले किराले हिँडडुल गर्न कम गर्छ र छालाको रंग परिवर्तन गर्दै शरीरमा चिस्यान कम भई ५ मिनेट भित्रैमा मर्दछ । 

हाम्रै खेतबारीमा सहजै पाइने अँसुरोलाई पनि जैविक विषादीको रुपमा प्रयोग गर्न सकिन्छ । खेत वारी जोत्दा अँसुरोको पात मिसाएर जोतेमा माटो भित्र बसी आक्रमण गर्ने रोग, किरा नियन्त्रण हुन्छ । त्यसैगरी अँसुरोका हरिया पातलाई दगल्च्याएर वा मसिनो गरी पिंधेर पानीमा ३ देखि ५ दिनसम्म (दिउँसो घाममा समेत राखी) राखेर प्राप्त भएको गाढा रसमा अरु पानी मिसाएर त्यसलाई २५–७५ प्रतिशतसम्मको गाढा बनाई सो रसले उपचार गरेमा बन्दाकोभीमा लाग्ने किराहरु जस्तैः बन्दाको पुतली, भटमासको झुसिल्किरो, सुर्तीको पात खाने लाभ्रे र पीठमा इँटको आकार भएको पुतलीको नियन्त्रण भएको पाइएको छ । 

मसलाको रुपमा प्रयोग हुने पिरो खुर्सानिलाई पनि जैविक विषादीको रुपमा प्रयोग गर्ने गरिएको छ ।  पिरो खुर्सानीको पिसेको धुलो लाहीकिरा नियन्त्रण गर्न निकै प्रभावकारी देखिएको छ । ५०.१०० ग्राम खुर्सानिलाई १ लिटर पानीमा राखी १० मिनेटसम्म उमाल्ने र त्यसलाई सेलाउने । यसरी वनाइएको झोललाई ९० प्रतिशत लाही नियन्त्रण भएको पाइएको छ । १०० ग्राम पिरो खुर्सानीको धुलोमा १ लिटर पानी मिसाई रातभरी भिजाउने र भोलिपल्ट तरकारी बालीमा छर्कनाले लाही किरा नियन्त्रण हुन्छ । त्यसैगरी माटोमा रहेर हानी गर्ने रातो कमिला नियन्त्रण गर्न  पनि पीरो खुर्सानीको प्रयोग गर्न साकिन्छ । 

गाउँघरमा पहिले देखि नै बालीनालीको रोगकिरा नियन्त्रण तथा मलको रुपमा खरानीको प्रयोग हुंदै आएको छ । खरानीको धुलो खासगरी तरकारी बालीमा छर्कनाले लाही, खुर्सानीको पुतली, काँक्रा फर्सीको खपटे, लाही किरा, पात खन्ने किरा, फँेद काट्ने र औंसा तथा ढुसी नियन्त्रणमा प्रभावकारी हुन्छ ।  चिप्लेकिरा, शंखे किरा पनि शरीरमा खरानीको धुलो टाँसिएर घस्रन सक्दैनन् र क्षति कम हुन्छ । चालेर मसिनो बनाएको खरानी छर्नाले नर्सरीमा लाग्ने बेर्ना कुहिने रोगलाई रोकथाम गर्दछ । यसले रातो कमिला र लाहीलाई केही हदसम्म व्यवस्थापन गरेको पाइन्छ । मेवाको ताजा पातको टुक्रालाई पानीमा मिसाई त्यसमा २ चम्चा मट्टितेल र केहि सावुन मिसाई बनाईएको मिश्रणलाई प्रयोग गर्दा फड्के, लाही किरा, कफीको डढुवा र पाउडरी मिल्ड्यु (धुले ढुसी) रोग  नियन्त्रण गर्न सकिन्छ ।

हलेदो आधा किलोग्रामलाई मसिनो गरेर काट्ने र १ लिटर पानीमा रातभरी भिजाएर राख्ने । त्यसलाई राम्ररी छानेर ३.४ लिटर पानीमा मिसाई तरकारी बालीमा प्रयोग गर्दा ईंटबुट्टे पुतलीको नियन्त्रण भएको पाइएको छ । गोलभेँडा, खुर्सानी, भण्टाको ओइलाउने रोग कम गर्न १०० ग्राम टिम्मुरलाई १ लिटर पानीमा राखी उमालेर ५ लिटर पानी थपी बनेको झोलमा बिरुवाको जरालाई १ घण्टा भिजाई सार्नाले ओइलाउने रोग कम हुन्छ ।

गाईको दुध र पानी बरावर भाग मिसाएर प्रत्येक २ दिनको अन्तरालमा पात, डाँठ सबै भाग भिज्ने गरी स्प्रे गर्दा केराउ, टमाटर, खुर्सानी, जुकुनी, लहरे तरकारी र गहुँमा लाग्ने सेतो धुले ढुसी नियन्त्रण गर्न सकिन्छ । एक लिटर गाईको दुधमा २ लिटर पानी थपी छर्कनाले काँक्रो, फर्सी, करेला, गोलभेंडा, खुर्सानी, आलु आदिको भाईरस रोग नियन्त्रण हुन्छ । सयपत्री फूलले कतिपय किरालाई प्रतिकार गर्दछ । अतः अन्य बालीसंग मिसाएर यसलाई लगाउनाले पनि सो बालीहरुमा कतिपय किरा र जुकाहरु कम लाग्दछन् । यसका पात र बोटहरु बाली बिरुवाका वरिपरि फिंजाइदिनाले पनि कतिपय किराहरु भाग्दछन् । यसका फूल र पातहरु (१ भाग फूल र पातमा १० भाग पानी) लाई कुटेर पानीमा ढड्याई प्राप्त भएको रस बोटबिरुवामा छर्कनाले लाही, पतेरोजस्तो चुसेर खाने किरा नियन्त्रण  हुन्छ । हरेक १० लाइन गोलभेँडा पछि १ लाइन पहेंलो रंगको सयपत्रीको फुल लगाएमा गोलभेँडामा लाग्ने  गभारो किरा पहेंलो फूलमा आकर्षित भई जम्मा हुने हुंँदा हातले टिपेर वा विषादी प्रयोग गरेर मार्न सकिन्छ ।

जैविक बिबिधताको दृष्टिकोणबाट धनी नेपालमा धेरै किसिमका बनस्पति तथा जडीवुटीहरुमा जीवनाशक गुणहरु पाइन्छ । यस्ता बनस्पतिहरु कृषकहरुले परापूर्व काल देखि बालीनालीमा लाग्ने शत्रुजीवहरु (रोग, किरा, झारपात आदि) व्यवस्थापनमा प्रयोग गर्दै आईरहेका छन् । यस्ता बनस्पतिहरुको बाली संरक्षणमा सदुपयोग गर्न सके त्यसै खेर गईरहेका वनस्पतिहरुको उपयोग हुन गई जैविक बिबिधता संरक्षणको क्षेत्रमा समेत योगदान पुग्ने देखिन्छ । साथै बढ्दो रासायनिक पदार्थहरुको प्रयोगबाट हाल पर्यावरणमा भैरहेको नकारात्मक प्रभावलाई न्युनिकरण गरि दिगो कृषि विकासमा सहयोग पु¥याउन सकिन्छ । (लेखक कृषिका विद्यार्थी हुन्)


 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive