newsone

एनआरएनए यूरोप बैठक : पशुपतिको यात्रा सिद्राको व्यापार

newstwo एनआरएनए यूरोप बैठक : पशुपतिको यात्रा सिद्राको व्यापार

गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन तथा महाधिवेशनको तयारी तीब्र गतिमा अगाडि बढेको छ । जुलाईको अन्तिममा जर्मनीको फ्रयाङ्फर्डमा एनआरएनएको दशौं यूरोपेली क्षेत्रीय बैठक तथा आठौं महिला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यूरोपमा नेपाली एकता, समृद्ध नेपालको आवश्यकता भन्ने नाराका साथ शुरु हुने सम्मेलन गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी विश्व सम्मेलन तथा महाधिवेशनमा केन्द्रित हुने भएको छ । तर, औपचारिक एजेण्डा भने अन्य नै तय गरिएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको भवन निर्माण, नीतिगत छलफल लगायतका विषयमा बैठक केन्द्रित गर्ने तयारी गरिएको छ । संघको यूरोप क्षेत्रीय संयोजक कुल आचार्यले भवन निर्माणका लागि दुई करोड भन्दा बढी रुपैयाँ संकलन हुने बताएका छन् । यूरोपका हरेक एनसीसीले अहिले रकम उठाउन लागि रहेका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा हुने बैठकमा यूरोप क्षेत्रमा योगदान दिएका तीन जनालाई सम्मान गर्ने तयारी समेत भएको छ । वैठकमा भाग लिन संसारभरका एनआरएनए नेताहरु जर्मनी पुग्नेछन् । यूरोपका हरेक एनसीसीको सहभागिता हुने बैठक तथा महिला सम्मेलनमा क्षेत्रीय तथा केन्द्रीय नेताहरुको सहभागिता हुनेछन् । नेपालबाट पनि विभिन्नका व्यक्तिहरु कार्यक्रममा सहभागी हुने तयारी छ । कार्यक्रममा यूरोप क्षेत्रमा रहेका नेपाली मिसन प्रमुख तथा राजदूतहरुलाई समेत निमन्त्रणा गरिएको छ । अहिले एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोस्यारा र एनआरएनएका यूरोप संयोजक आचार्यले धमाधम अतिथिहरुलाई निमन्त्रणा दिइरहेका छन् । एनआरएनएको दशौं यूरोपेली क्षेत्रीय बैठक तथा आठौं महिला सम्मेलनका लागि हरेक एनसीसीले आवश्यक तयारी समेत पूरा गरेका छन् ।

नेपालबाट जर्मनी पुग्ने अतिथिलाई निमन्त्रणा दिन पनि शुरु गरिएको छ । एनआरएनएका युवा उपसंयोजक लोकराज शर्माले उपप्रधानमन्त्री एवम् परराष्टमन्त्री महरालाई जर्मनीको वैठकको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेका छन् । शुक्रवार परराष्ट्र मन्त्रालयमा भेटेर शर्माले महरालाई निमन्त्रणा पत्र बुझाएका हुन । महराले आफू कार्यक्रममा सहभागी हुने प्रतिवद्धता समेत जनाएका छन् । महराले यूरोप भ्रमणका क्रममा यूरोपमा रहेका नेपालीका समस्या, सरकारले गर्नुपर्ने कामका विषयमा यूरोपमा रहेका विभिन्न देशमा रहेका नेपाली राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने तयारी गरेको उनका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिएका छन् ।

चुनावी चर्चामा को को छन ?

एनआरएनएको दशौं यूरोपेली क्षेत्रीय बैठक तथा आठौं महिला सम्मेलनका अन्य तयारी पनि तीब्रताका साथ चलिरहेको छ । अतिथिहरुलाई बस्ने होटेलको जिम्मेवारी संघकी महिला संयोजक सपिला राजभण्डारीले लिएकी छन । सम्मान कार्यक्रमको तयारीमा यूरोप उपसंयोजक दावा शेर्पा खटिएका छन । कार्यक्रममा एनआरएनएको भवन निर्माणका लागि सहयोग गर्ने सबैलाई  सम्मान गर्ने कार्यक्रम राखिनेछ । यूरोप क्षेत्रमा रहेका नेपाली कलाकारलाई जुलाई २७ तारिखमै जर्मनी बोलाइएको छ । जुलाईको अन्तिममा हुने कार्यक्रममा सांस्कृतिक कार्यक्रम आयोजना गरिने एनआरएनए यूरोपले जनाएको छ । महिला सम्मेलन र युवा सम्मेलनका लागि पनि एक दिन छुटइएकाले महिला संयोजक भण्डारी, उपसंयोजक रजनी प्रधान, युवा उपसंयोजक लोकराज शर्माले छुट्टै तयारी गरेका छन् । 

एनआरएनएको दशौं यूरोपेली क्षेत्रीय बैठक तथा आठौं महिला सम्मेलनका लागि अध्यक्ष शेष घले, उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्त, महासचिव डाक्टर बद्री केसी, सचिव अर्जुनकुमार श्रेष्ठ, संघका संरक्षक एवं संस्थापक उपेन्द्र महतो, जीवा लामिछाने विभिन्न समितिका संयोजक लगायत गैरआवासीय नेपाली संघका नेताहरु सहभागी हुनेछन् । नेपालबाट विभिन्न व्यवसायमा संलग्न व्यक्ति, नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपालीसंघ एनआरएनएको काठमाडौं कार्यालयका प्रतिनिधि र केही पत्रकार  समेत कार्यक्रममा सहभागी हुने तयारी छ । संघको चुनावी दौडधुप लाग्न थालेकाले यसपटक जर्मनीमा धेरै पुग्ने अवस्था देखिएको छ । आफ्नो पक्षमा समाचार लेखाउनका लागि भए पनि धेरै एनआरएनए नेताहरुले आआफू निकट पत्रकारलाई जर्मनी लैजाने तयारी गरेका छन । 

एजेण्डामा भन्दा बढी चुनावमा केन्द्रित हुने 

पशुपतिको यात्रा सिद्राको व्यापार भने जस्तै एनआरएनएको दशौं यूरोपेली क्षेत्रीय बैठक तथा आठौं महिला सम्मेलन नीतिमा भन्दा नेतृत्वमा केन्द्रित हुने भएको छ । चुनावी चर्चा औपचारिक नभए पनि अनौपचारिक रुपमा उम्मेदवारी घोषणासम्मको कार्यक्रम हुनसक्ने एनआरएनए नेताहरुले बताएका छन । पछिल्लो समय गैरआवासीय नेपाली संघ एनआरएनएका नेताहरु नीतिगत प्रष्टता भन्दा पनि नेतृत्वको दौडमा होमिएका छन । आउँदो विश्व सम्मेलन तथा महाधिवेशनमा पनि आगामी दिनमा अपनाउनु पर्ने नीतिगत पक्ष भन्दा पनि नेतृत्व कसलाई ल्याउने भन्नेमा केन्द्रित हुने भएको छ । यसमा नवनेताहरुको भन्दा बढी भूमिका पूर्व अध्यक्ष लगायत संस्थापकहरुकै देखिएको छ । खासगरी पूर्व अध्यक्षहरु नै दुई खेमामा विभाजन भएर नयाँ नेतृत्वका लागि पहल गरिरहेका छन । 

फ्रेङ्कफटमा हुने बैठक र सम्मेलन पनि आगामी नेतृत्व चयनका विषयमा छलफलमा केन्द्रित हुने भएको छ । यसलाई सबैले उपयुक्त मौसमका रुपमा प्रचार गर्ने देखिएको छ । अध्यक्षका आकांक्षी वर्तमान उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्त झण्डै एक वर्षदेखि चुनावी अभियानमा जुटेका छन । यूरोप बैठकमा पनि पन्त र भट्टले चुनावी अभियानको रुपमा भरपुर फाइदा लिने अवस्था देखिएको छ । दुवै जनाले एक चरण संसारका विभिन्न देशको भ्रमण गरिसकेका छन् । जर्मनीमा व्यवसाय संचालन गरेर स्थापित भएका पन्तकै जोडबलमा यो बैठक जर्मनीमा आयोजना गरिएको स्रोतले जनाएको छ । जापानमा व्यवसाय गरेका भट्टले पनि यो बैठकलाई चुनावी अभियानका रुपमा अगाडि बढाउने छन् । 

उपाध्यक्षद्वय भट्ट र पन्तले चुनावी अभियानसँगै आआफ्नो प्यानलको पूर्ण तयारी पनि जर्मनी बैठकपछि तयार गर्ने स्रोतको दावी छ । दुवैजनाको जोड वर्तमान अध्यक्ष शेष घले, पूर्व अध्यक्षहरु र वर्तमान कार्यसमितिमा रहेकाहरुलाई आफू तर्फ केन्द्रित गर्नेमा रहेको छ । त्यसो त अहिलेको कार्यसमितिका महासचिव डाक्टर बद्री केसी, सचिव अर्जुनकुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी लगायत पनि चुनावी प्रचारमै छन् । दुई उपाध्यक्षमा वर्तमान महासचिव डाक्टर बद्री केसी, महिला फोरमकी संयोजक सपिला राजभण्डारी, अमेरिकाबाट खगेन्द्र जिसी, सोनम लामाले इच्छा व्यक्त गर्न थालेका छन् । त्यस्तै महासचिवमा वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठ, रञ्जु थापा वाग्ले, यूरोप क्षेत्रीय संयोजक कुल आचार्य लगायत आकांक्षी रहेका छन् । 

एनआरएनएको आगामी नेतृत्वमा आउनका लागि वर्तमान अध्यक्ष शेष घलेले समर्थन गर्नुपर्ने अवस्था देखिएको छ । घलेले समर्थन गर्ने व्यक्तिलाई अध्यक्ष बन्न सजिलो भएको एनआरएनएका नेताहरु बताउँछन । पूर्व अध्यक्ष मध्य संस्थापक अध्यक्ष उपेन्द्र महतो भट्टको पक्षमा देखिएका छन् भने जीवा लामिछाने पन्तसँग नजिक छन् । महतो, लामिछाने र घले आउँदो नेतृत्वका विषयमा अहिलेसम्म बोल्न चाहेका छैनन् । उनीहरुले सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । तर, निर्णायक चाहिं घले नै हुनेछन् । अहिलेको कार्यविभाजनमा पन्तसहित बहुसंख्यक पदाधिकारी घलेविरुद्ध गए पनि भट्टले उनलाई साथ दिएका थिए । त्यसैले पनि घलेले भट्टलाई साथ दिने अवस्था आउनसक्छ । घले आफै निर्णायक बन्ने भन्दा पनि पत्नी जमुना गुरुङ्ग हावी हुने गरेकी छन् । 

पछिल्लो समय गैरआवासीय नेपाली संघ एनआरएनए स्थापना गर्दा यसका सीमित उद्देश्य थिए । विदेशमा बस्ने नेपालीले स्वदेशमा लगानी गर्न पाउने, नागरिकता दिनुपर्ने, एनआरएनए कार्ड हुनुपर्ने लगायतका विषय लगभग टुंगोमा पुगिसकेका छन् । तर, अहिले एनआरएनएको मुख्य काम के हो भनेर सोधियो भने धेरै नेता जवाफ विहीन हुनेछन् । स्थापनादेखि नै राजनीतिक अधिकारसहितको नागरिक प्राप्तिको कुरा गर्ने एनआरएनएले त्यसलाई छाड्यो । नयाँ संविधानले धेरै विषयलाई प्रष्ट पारिसकेको छ । एनआरएनएभित्र अबको नीतिगत प्राथमिकता के हो भन्नेमा बहस हुनु आवश्यक थियो । यसतर्फ भने एनआरएनए नेता कसैले पनि चासो दिएको देखिदैंन । यस्तो अवस्थामा यूरोप बैठक पशुपतिको जात्रा सिद्राको व्यापार हुने निश्चित रहेको छ । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive