newsone

एनसिसी बैंकको डेढ अर्ब घोटाला काण्ड पर्दाफास

newstwo एनसिसी बैंकको डेढ अर्ब घोटाला काण्ड पर्दाफास

काठमाडौँ  ।  शुक्रबार सीआबीको अप्रेसनमा समातिएका तत्कालीन एपेक्स डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सहितका शाखा प्रमुखहरुले बिभिन्न स्थानमा कैयौं विगाहा जमिन आफै किनेर जग्गाको कित्ताकाट गरेर फर्जी व्यक्तिहरुलाई लालपूर्जा दिई ऋण प्रवाह गरेको भेटिएसँगै एनसिसि बैंकले मर्जर गरेको तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको कर्तुत पर्दाफास भएको छ । 

जग्गाको गलत मूल्याकंन गरेर १० देखि ३५ लाख रुपैयाँसम्म ऋण प्रवाह गरियो । आफैले मुल्याकंन गरेर ऋण प्रवाह गर्न सक्ने कार्य्विधि टेकेर उनीहरुले पदको चरम दुरुपयोग गरेको भेट्टिएको छ । इटहरी र नवलपरासीका विभिन्न स्थानमा भएका जग्गाको नाममा दिइएको ऋणी खोजी गर्दै जाँदा उनीहरुको ठेगाना अचम्मित पार्ने खालको पाईएको छ । ऋणिहरुको कुनै हैसियत नभएका मानिसहरुलाई नै बनाइएबाट  ब्यापक अनियमिति भएको देखिएको हो ।   
इटहरीको ४ विगाहा जमिनलाई कित्ताकाट गरेर गरिएको ऋणीको परिचय खोज्दै जाँदा ४ दिन अगाडि नागरिकता बनाएकी किशोरी भेटिएको र ऋण प्रवाह भएको ती युवती डान्सबारमा काम गर्ने देखिएबाट उनलाई समेत वाइपास गरेर उनकै नाममा ऋण प्रवाह भएको देखिएको छ । यस्तै नवलपरासीमा रहेको जग्गामा भएको ऋणीको परिचय खोज्दै जाँदा ठेगाना बाढी पिडित बस्ती भनेर देखाइएको छ ।

बैंकले कमशल धितो भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मूल्यांकन, कृतिम ऋणीहरु खडा गरेको पाइएको पाइन्छ । निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिक केन्द्रित गरेको पाइन्छ ।  ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गरेर अनियमित तरिकाले कर्जा प्रवाह गरेको देखिन्छ । मोटरबाटो नभएको भिरालो पाखोबारी, खेत वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको गरेको साथै धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको देखिन्छ । त्यसैगरी कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको भेटिएको छ । कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको भेटिएको छ । स्रोत अनुसार सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको भेटिएको छ । एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको देखिएको छ । सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा ब्यापक रुपमा दुरुपयोग गरेको देखिन्छ । तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकवाट कर्जा प्रवाह गर्दा अधिकांश धितो मूल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको देखिन्छ । 

यसरी ऋण प्रवाह गर्नेहरु सबै तत्कालिन एपेक्स डेभलपमेण्ट बैंकका जिम्मेवार अधिकारीहरु भएकोमा दुईमत छैन । यसमा केही ठूला जग्गा कारोबारीको पनि संलग्नता रहेको स्रोत बताउँछ । नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो, सीआईबीको टोलीले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका संचालक समितिका सदस्यसहित १३ जनालाई पक्राउ गरिसकेको छ भने थप अनुसन्धानको क्रममा रहेको बुझिएको छ ।

एनसीसी बैंकका संचालक समितिका सदस्य विष्णु धिताल, डिठ्ठाबहादुर तामाङ, दुर्गादत्त जोशीसहित १३ जनालाई बैंकको १ अर्ब ५६ करोड रुपैयाँ आर्थिक घोटाला गरेको आरोपमा पक्राउ गरिसकेको छ ।  पक्राउ पर्नेहरुमा मुख्य गरेर एनसीसी बैंकमा मर्ज भएका तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकबाट आएका सञ्चालक तथा कर्मचारीहरु छन् । चारवटा विकास बैंक मर्ज भएर एनसीसी बैंक बनेको थियो । त्यसमा एपेक्स, इन्फ्रस्ट्रक्चर, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंक एक आपसमा गाभिएर एपेक्स डेभलपमेन्ट बैंक बनेको हो । 

मर्ज प्रकृया सुरु भएपछि पनि एपेक्सले अनिमित रुपमा ऋण प्रवाह गरेको उजुरी पछि राष्ट्र बैंकले छानबिन सुरु गरेको थियो। एपेक्सले ऋण दिंदा धितो मुल्यांकन बढी गरेको, कालो सूचिमा रहेका ऋणीलाई समते ऋण दिएको लगायतका अनियमितता गरेको भेटिएको छ । 

पक्राउ गरिएका सबैलाई सीआईबीको कार्यालय महाराजगंजमा राखिएको छ । स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको अनुरोधमा नेपाल प्रहरीको सीआइबीले अनुशन्धान गरिरहेको थियो। अनुसन्धानकै क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । 

तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका संचालक समिति अध्यक्ष एवं हाल एनसीसी बैंकका संचालक समिति सदस्य विष्णु प्रसाद धिताल नेपाली कांग्रेसका जिल्ला स्तरका नेता हुन् । लमजुङ्ग दुधपोखरी गाउँपालिका वडा नं. २ का स्थानीय उनको पारिवारिक स्थिती सामान्य छ । अझैपनि उनका दाजुहरु कृषि ब्यवसायमा नै संलग्न छन् । उनी भने अर्बौको मालिक भइसकेका छन् । लमजुङ्ग जिल्लाको क्षेत्रिय सभापति भइसकेका र जिल्लामा धन दौलतको रवाफमा राजनीति गरेको भनेर आलोचित समेत हुने गरेका थिए । जिल्लाका कार्यक्रममा समेत काठमाडौंबाट भाडाका केटाहरु लिएर आफ्नो ठूलो पावर रहेको देखाउने गरेको उनी निकटष्थहरुले बताउँछन्  ।

उनले बैंकबाट ऋण लगानी गर्दा दोहोरो रुपमा कमिसन खाने गरेका थिए भनेर नजिककाले बताउँछन् । काठमाडौंमा उनको ब्यापारको नाममा एउटा ट्याम्पो ब्यवसायी हुन् । ट्याम्पो ब्यवसायवाट करोडौं कमाउन पक्कै सकिँदैन । उनले ब्यापक रुपमा आर्थिक अनियमिति गरेरै अर्बौंको मालिक बनेका नजिकबाट चिनेका मानिसहरु बताउँछन् । धिताल देखाउनकै लागि भनेपनि तात्कालिन पार्टी सभापनि शुशिल कोईरालाकोमा गईरहन्थे अनि सेल्फी खिचेर फेसबुकमा राख्न भ्याउँथे । अनि आफु सभापति निकटस्थ भनेर रवाफ देखाउन पछि पर्दैनथे । स्मरणिय कुरा के छ भने उनले आफ्नो बैंकमा जागिर लगाईदिने तथा अन्य ठाउँहरुमा नियुक्तिहरु भनसुन गर्दा समेत मोटो रकम कुम्ल्याउने गरेका थिए । 

यसअघि पनि कर्जा दुरुपयोगको कुरा नउठेको भने होइन । तर जव एपेक्सको खराव कर्जाको कुरा उठ्थ्यो त तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णु धिताल भने एपेक्ससँग मर्ज भएका इन्फ्रस्ट्रक्चर, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट लगायतका बैंकहरुको खराब कर्जाको कारणले हो आफूहरुले पर्वाह गरेको कर्जाले होइन भनेर उम्कँदै आएका थिए । तर यथार्थमा त्यस्तो होइन रहेछ । 

यसैबीच विभिन्न समयमा कर्जा दुरुपयोगबाट डेढ अर्ब रुपैयाँ भन्दा बढी घोटाला भएको घटना सार्वजनिक भएपछि एनसीसी बैंकले औपचारिक रुपमा आफ्नो बचाउ गरेको छ । बैंकले आफ्नो वित्तीय अवस्था अझै सबल र सक्षम रहेको पनि दाबी गर्दै दुरुपयोग भएको रकम बराबर यसअघि नै कर्जा जोखिम बहन गर्ने कोषमा राखिएकाले बैंकको वित्तीय अवस्थामा कुनै प्रतिकूल असर नपर्ने समेत जनाएको छ । 

घोटाला प्रकरण साविकको एपेक्स डेभलपमेन्ट बैंकले प्रवाह गरेको कर्जासँग मात्र सम्बन्धित रहेको पनि बैंकले स्पष्ट पारेको छ । सीआइबीको अनुसन्धानले एपेक्स डेभलपमेन्ट बैंकबाट प्रवाह भएको खराब कर्जा असुलीमा पनि थप मद्दत पुग्ने एनसीसीले जनाएको छ । एनसीसीले आफ्ना ग्राहक, निक्षपकर्ता तथा सेयरधनीलाई कुनै समस्या नहुने भएकाले ढुक्क रहन आग्रह गरेको छ ।  

पक्राउ परेका व्यक्तिहरु

  •  विष्णु प्रसाद धिताल, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको अध्यक्ष
  •  ईच्छा बहादुर गुरुङ, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको संचालक
  •   सुवर्ण राज भण्डारी, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको संचालक
  •   मधुवन लाल श्रेष्ठ, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको संचालक
  •   ऋषी राज भट्ट, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको निमित्त कार्यकारी अधिकृत
  •   दुर्गा दत्त जोशी, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको वरिष्ठ प्रबन्धक
  •   रामचन्द्र बसौला, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक
  •   बिकास श्रेष्ठ, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक
  •   सागर नेउपाने, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको लोकन्थली शाखा प्रमुख
  •   मान बहादुर राउत, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक
  •   विनित मणि उपाध्याय, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक
  •  मोहन खरेल, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको कर्जा अधिकृत
  •  सुदिप थापा, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक
     

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive