newsone

“राष्ट्र” र “वाद”

newstwo “राष्ट्र” र “वाद”

प्रकाश शर्मा

‘राष्ट्र’ र ‘वाद’ यी दुई शब्द मिलेर राष्ट्रवाद बनेको हो । नेपालमा राष्ट्र शब्दको अर्थ निश्चित भौगोलिक इकाईको अर्थमा लिइन्छ अर्थात् देश वा राज्य । मेची–कालीबीचको भू–भाग नै नेपाल राष्ट्र हो भन्ने परिभाषा गरिन्छ । वादको अर्थ नेपाल राज्य अर्थात् देशले लिने विचारको रुपमा । राष्ट्रवादको अर्थ चाहिं नेपालको यही भौगोलिक भू–भागको सुरक्षा गर्ने विचार हो । नेपालको सन्दर्भमा राष्ट्रवादको अर्थ देशलाई बाहिरी तवरमा सुरक्षित गर्नु भन्ने नै बहु–प्रचारित छ । देशको साँध–सिमाना सुरक्षा गर्नु नै राष्ट्रवादको अर्थ हो । यही परम्परागत राष्ट्रवादको परिभाषाले राष्ट्रवादलाई अर्थहीन बनाएको छ । विगतमा नेपाल देश वा राज्यको निश्चित भौगोलिक साँध–सिमाना अङ्कित इकाई नै राष्ट्र भयो ।

सामन्तवादी राज्य व्यवस्थाका विरुद्धमा पुँजीवादीहरुले विद्रोह गर्दा राज्य वा देशलाई राष्ट्र बनेको अर्थमा लिनु अस्वाभाविक थिएन । किन कि राष्ट्र (समुदाय)ले गरेको विद्रोहले आमसमुदायको नयाँ व्यवस्था स्थापना गरेको थियो । तर, त्यसयता भएका राज्य निर्माणको सन्दर्भ भने राजनैतिक विद्रोहद्वारा भन्दा पनि कुनै एक समूहले शस्त्रको सहयोगमा राज्यको निर्माण गर्न थाले र त्यसैलाई राष्ट्र निर्माणको नाम दिइयो । राष्ट्रको परिभाषा यहींदेखि अनर्थ भयो । समाज–विज्ञानका अनुसार मानव समाजको विकास गण, कविला, जाति र राष्ट्रको रुपमा क्रमागत हुन्छ । मानव समाज यसरी विकास भएको कुरा ओझेलमा प¥यो । कुनै पनि मानव समुदायको विकासक्रम गण, कविला, जाति हुँदै राष्ट्र बनेको शाश्वत सत्य हो । तर, यहाँ राष्ट्र शब्द चाहिं देश वा राज्य बन्न पुग्यो । लामो समयसम्म युरोपमा राष्ट्र–राज्य (नेशन स्टेट) को नाम दिइयो । यो नाम भने ठीकै लाग्छ राष्ट्रले बनाएको राज्यको अर्थमा । युरोपका राष्ट्र (समुदाय)ले युरोपका राज्य निर्माण गरेकोले त्यहाँ र राष्ट्र–राज्य (नेसन स्टेट) भनियो ।

यस विषयमा राजनैतिक विश्लेषक प्रदीप गिरीले सटीक व्याख्या गर्दै आएका छन् । उनले भनेका छन्, ‘युरोपियन सभ्यताको चिहानमा राष्ट्रवादको जन्म भएको हो ।’ वास्तवमै राष्ट्रवादको जन्म यस्तै सभ्यताको चिहानबाटै जन्मिएको हो । युरोपको परम्परागत सभ्यतालाई चिहानमा पु¥याएपछि नै राष्ट्रवाद आयो । यो विषयमा प्रशस्त छलफल गर्न सकिन्छ । उनले कुन कालखण्डको सभ्यताको विषयलाई लिए, त्यो यकिन छैन । तर पछिल्लो युरोपियन सभ्यतालाई खारेज गरेपछि नै आधुनिक युरोपमा राष्ट्रवाद आयो । जसले युरोपलाई राष्ट्रवादका नाममा विश्वभर उपनिवेश बनाउन सजिलो भयो । अमूर्त राष्ट्रवादले देशभित्र जनतालाई भुलाएर विश्वभर साम्राज्य फैलाउन झनै सहज भयो । युरोपको राष्ट्रवादका विरुद्ध संसारभरका जनतालाई उठ्न सयौं वर्ष लाग्यो । दोस्रो विश्व युद्धसँगै युरोपियन राष्ट्रवादको अन्त्य हुने क्रम सुरु भयो । हिटलरको राष्ट्रवाद, मुसोलिनीको राष्ट्रवाद, विस्मार्कको राष्ट्रवाद यसका ज्वलन्त उदाहरण हुन् । बेलायती राष्ट्रवादले झण्डै पूरै संसारलाई उपनिवेश बनायो । यी राष्ट्रवादको अन्त्य कसरी भयो ? विश्व राजनैतिक रङ्गमञ्च जानकार छ । युरोपियन राष्ट्रवादको उप–उत्पादन चाहिं यहुदी राष्ट्रवाद अर्थात् यहुदीवाद हो । जुन राष्ट्रवादले प्यालेष्टेनी जनताको अधिकारमा आजसम्म धावा बोलेको छ ।

नेपाली राष्ट्रवादको नखरा:

नेपालमा कथित राष्ट्रवादको उत्तेजना पञ्चायतले ल्याएको हो । यसको विकास प्रजातन्त्रको विरोधमा भएको थियो । तर, नेपाली राष्ट्रवादको उद्गम आजभन्दा करिव अढाई सय वर्ष अगाडि नै भएको थियो । यो कुरालाइ पुष्टि गर्न पनि गिरीको भनाइ नै यहाँ सान्दर्भिक हुन्छ । उनले भनेका छन्, ‘गोर्खाली राष्ट्रिय राज्यको नाम नेवार र मैथली सभ्यताको थिचोमिचोमा कण्ठ थिचेर भएको हो ।’ 

जतिबेला नेपालमा चर्को राष्ट्रवाद थियो अर्थात् पञ्चायती राष्ट्रवाद वा चलनचल्तीको भाषामा महेन्द्रीय राष्ट्रवाद त्यतिखेर चलनचल्तीको भाषामा प्रजातन्त्र थिएन । राष्ट्रवाद शाब्दिक अर्थमा जनवाद नै हुन्छ । राष्ट्र भनेको कुनै समुदाय गण, कविला र जातिको रुपमा विकसित हुँदै विभिन्न जातीय इकाई एक अर्कामा मिलेपछि राष्ट्रमा विकसित हुने हो । तर, यहाँ राष्ट्रवादलाई देशवाद वा राज्यवादको अर्थमा भ्रष्टीकरण गरियो । यहाँ बुझ्नु पर्ने कुरा के छ भने देश वा राज्यको कुनै वाद हुँदैन । यो त केवल आधुनिक राज्य वा देशको अन्तर्राष्ट्रिय चिनारीको भौगोलिक इकाइ हो । जसरी आधुनिक राजनैतिक विज्ञानमा देश या राज्यको कुनै धर्म हुँदैन भनिन्छ त्यसरी नै देश वा राज्यको वाद हुँदैन । यसअर्थमा राष्ट्रवाद खोक्रो वाद हो । राज्य वा देशलाई सञ्चालन गर्ने वाद जनवाद वा यस्तै अरु विचार–दर्शनले गरेका हुन्छन् ।

युरोपको राष्ट्रवादको प्रतिक्रियास्वरुप १९ औं शदीमा साम्यवादीहरुले अन्तर्राष्ट्रवादको नारा दिए । यो नारा किन ठीक छ भने यो नाराले कुनै भौगोलिक इकाईको राज्य वा देशलाई मात्र समग्रमा स्वीकार्दैनन् । यसले संसारभरका समुदायको मुक्ति र भलाइलाई सम्बोधन गर्दछ । कुनै राज्य वा देशको भौगोलिक इकाईको सुरक्षार्थ मात्र यसले वाद, विचार प्रस्ताव गर्दैन । यसैले सर्वप्रथम साम्यवादीहरुले अन्तर्राष्ट्रिय गीत गाउँछन् । कुनै साम्यवादीले राष्ट्रिय गीत बनाएको वा गाएको सुनिन्छ ?

राष्ट्रवादको यात्रा अन्धराष्ट्रवादमा पतन ः

राष्ट्रवाद उत्कर्षमा पुगेर पतन भएपछि त्यसलाई अन्धराष्ट्रवाद भनिन्छ । आफू बसेको कुनै भौगोलिक इकाई, त्यहाँ बस्ने समुदाय मात्र सर्वश्रेष्ठ ठान्नु अन्धराष्ट्रवादी धारणा हो । त्यसैले वृटिश इष्ट इण्डिया कम्पनीले कलकत्ताको भिक्टोरिया दरबारको पेटीअगाडि कुकुर र इण्डियनहरुलाई हिंड्नसम्म अनुमति नदिएको प्रसङ्ग यहाँ जोड्नु उपयुक्त हुन्छ । बेलायतको साम्राज्यमा सूर्य कहिल्यै अस्ताउँदैन, वेलायतीहरु सर्वश्रेष्ठ भन्ने जुन धारणा विकसित गरियो– त्यो अन्धराष्ट्रवादी धारणा थियो । यसरी बेलायतसहित पूरै युरोपको राष्ट्रवाद अन्धराष्ट्रवादमा पतन भयो । त्यही अन्धराष्ट्रवादी धारणाले युरोपलाई युरोपमै खुम्च्याउन बाध्य बनायो कालान्तरमा ।

नेपाली राष्ट्रवादको बाङ्मय ः

नेपालमा राष्ट्रवादको तुरुप चलेको धेरै भएको छैन । पञ्चायतले उत्कर्षमा पु¥याउन खोजिरहेको बेला सीमित जनवाद (यसलाई प्रजातन्त्रको पुनस्र्थापना र पछिल्लो पटक लोकतान्त्रिक गणतन्त्र ०६३)को स्थापना नेपालमा भयो । पञ्चायतको तीस वर्षे कार्यकालमा राष्ट्रवादको आकार फैलिन नपाउँदै ढलेको थियो । अहिले त्यही राष्ट्रवाद बिउँतेको छ । परम्परागत शक्ति खासगरी राजतन्त्र पक्षधर शक्तिले यस्तो राष्ट्रवादलाई अगाडि ल्याउन चाहेको थियो । ऊसँग त्यस्तो तागत भने भएन । राप्रपालगायतका शक्ति केन्द्रहरुको बुतामा सम्भव नहुनु अनौठो पनि होइन । तर, करिव अढाई सय वर्षदेखि विभिन्न रुप, आकार–प्रकारमा विचरण गर्दै आएको कथित राष्ट्रवादको प्रभाव नेपाली समाजमा जबर्जस्त थियो । जनवादलाई तह लगाउने कथित यो सिद्धान्त मात्रै कामयावी हुने हुनाले र त्यसको मताकारलाई आफूतर्फ सोझ्याउने हिसावले नेकपा एमालेलगायतका केही दलले यो तुरुपलाई टपक्कै टिपेका छन् । उनीहरुले देशभक्तिको कुरा उठाउँदैनन् । देशभक्तिको कुरा केही मूर्त हुन्छ । यसैले मूर्त कुरा उठाउनु तिनको निम्ति श्रेयष्कर छैन । राष्ट्रवाद नेपाली समाजमा गुरुमन्त्रको रुपमा लोकप्रिय छ । यो तुरुपलाई मलजल मधेस आन्दोलन र पछिल्लो पटक भारतको अघोषित नाकावन्दीले सिंचाइ गर्ने काम गरेको छ । मधेस आन्दोलनलाई पूरै राष्ट्रवादविरोधी कित्ताको रुपमा प्रचारित गरियो । नेकपा एमालेको साँगठानिक आधारका कारण उसलाई यो तुरुप सञ्जीवनीसमेत भएको छ । एकातिर मधेसमा एमालेको खस्कँदो जनाधारलाई भर्पाइ गर्न यो सूत्र उसका लागि सिद्धान्त भयो । ढुङ्गा खोज्दा देउता मिलेजस्तो ।

माथि भनिएजस्तै राष्ट्रवादका यी अनुयायीहरुले आफ्नो पहाडी भू–भागलाई उन्नत र आफ्नो जातिलाई सर्वश्रेष्ठको रुपमा प्रस्तुत गर्दै आएका छन् । मधेसीहरुलाई नश्लीयरुपमा घटिया र पराइ देशसँग मिलेको अर्थमा आरोप लगाउने गर्छन् । यस्ता अभिव्यक्ति दिएर कथित राष्ट्रवादको भूलभुलैयामा वर्षौदेखि परेका सर्वसाधारणको तन, मन, खिचेका छन् । केही समय अगाडि भएको स्थानीय तहको निर्वाचनमा एमालेले यो सिद्धान्तकै कारण अनुमान गरेभन्दा बढी सफलता प्राप्त ग¥यो । तेस्रो चरणको मधेसी बहुल क्षेत्र प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा समेत उसले बहुमत सिद्ध ग¥यो भने वा सम्मानित मत ल्यायो भने यो कथित सिद्धान्तको तेजोबध हुन बाँकी रहेको अर्थमा बुझ्न सकिन्छ । प्रदेश र संघको निर्वाचन त हुन बाँकी नै छ । हुन त मतादेश र जनादेश फरक हुन्छ भनिन्छ । तैपनि केही चीज त मतादेशमा पनि बाँकी रहेको हुन्छ नि जनादेश ।

नेपालका कथित राष्ट्रवादका अनुयायीहरुको विगत भने उनीहरुकै भाषामा राष्ट्रघाती छ । भारतका शाषक वर्गसँग भएका कतिपय असमान सन्धिहरुको विरोधमा चूँ नबोल्ने तर प्राविधिक मुद्दाहरुलाई उछाल कुद गरी रातारात राष्ट्रवादी भएको ढिंडौरा पिटेका छन् । महाकालीलगायतका असमान सन्धिसर्पनको मसी नसुक्दै रातारात उनीहरु राष्ट्रवादका प्रतीक बनेका छन् । राष्ट्रवादको पतन अन्धराष्ट्रवादमा पुगेर टुङ्गिन्छ । यो समय भने परिपक्क भइनसकेको अवस्था हो । रबर छन्दको यस्तो सिद्धान्तको अन्त्य नभएसम्म अन्तर्राष्ट्रवादी मुक्ति असम्भव नै हुन्छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive