newsone

क्रान्तिकारी माओवादीको विश्लेषणमा माओवादी केन्द्र पनि प्रतिध्रुवमा

newstwo क्रान्तिकारी माओवादीको विश्लेषणमा माओवादी केन्द्र पनि प्रतिध्रुवमा

नेपालमा राजनीतिक दलहरुको इतिहास धेरै लामो छैन । राणाशासनको अन्तिम समयदेखि यहाँ राजनीतिक पार्टीहरुको गठनको प्रक्रिया सुरु भएको हो । राजनीतिक पार्टीहरुको वर्गीकरण र विश्लेषण वर्गीय, विचारधारात्मक र राजनीतिक मान्यताका आधारमा गर्नु पर्दछ । कतिपय रानीतिक पार्टीहरु आफ्ना मान्यतामा सापेक्ष रुपमा स्थिर र कतिपय परिवर्तित हुँदै आएका छन् । अहिले नोपलमा धेरै राजनीतिक पार्टीहरु छन् र तिनलाई मूलतः यसरी वर्गीकृत गरी प्रस्तुत गर्न सकिन्छ ः

सर्वहारा वर्गको प्रतिनिधि पार्टी

नेपालमा सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी २००६ सालमा गठित नेपाल कम्युनिष्ट पार्टी हो । त्यो अहिले विभिन्न समूहहरुमा विभाजित छ र कयौं समूह वर्गीय, विचारधारात्मक तथा राजनीतिक रुपमा विचलित हुँदै तथा आफ्ना क्रान्तिकारी अडान छाड्दै गएका छन् ।

हाम्रो देशमा नेपाली सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) रहेको छ । यसले आफ्नो पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादलाई मान्दछ । यसले सामान्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा दलाल एवम् नोकरशाही पुँजीवादको निरन्तर विरोध गर्दै आएको छ । यो नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादमा जाने महान् ऐतिहासिक अभियानमा संलग्न छ । यसले सबैखाले संशोधनवाद र मुख्यतः दक्षिणपन्थी संसोधनवादका विरुद्ध निरन्तर विचारधारात्मक संघर्ष चलाउँदै आएको छ । 

विभिन्न वाम राजनीतिक समूह 

आज नेपालमा विभिन्न वाम राजनीतिक समूह क्रियाशील रहिआएका छन् । यीमध्ये मुख्यतः नेकपा विप्लव समूह, नेकपा कट्टेल समूह र नेमकिपा हुन् । विप्लव समूहले माक्र्सवाद–लेनिनवाद–माओवाद र राजनीतिक कार्यक्रमका रुपमा नयाँ जनवाद–समाजवादलाई मानेको बताउँछ । यो समूह नयाँ जनवादी तथा समाजवादी क्रान्तिका बेग्लाबेग्लै अस्पष्ट तथा सारसंग्रहवादी रहेको देखिन्छ । एकीकृत जनक्रान्ति भनेको के हो त्यो पनि शब्दाडम्बरयुक्त, अस्पष्ट र भ्रामक रहेको छ । यसले साम्राज्यवादलाई उत्तर साम्राज्यवाद बताएर साम्राज्यवाद समाप्त भएको टुंगोमा पुगको छ र यस प्रश्नमा उत्तर–माक्र्सवादसित साइनो जोडेको छ । यसले सत्ता साझेदारीको सिद्धान्त स्वीकार गर्दै आएको छ ।

यो समूह रुपमा वाम देखिए पनि सारमा दक्षिणपन्थी विचलनमा फस्न पुगेको छ । कट्टेल समूहले माक्र्सवाद–लेनिनवाद तथा माओ विचार र नयाँ जनवादलाई स्वीकार गरेको बताउँछ । क्रान्तिका विभिन्न पक्षबारे यसको स्पष्ट धारणा देखिंदैन । यी दुवै समूहलाई क्रान्तिको पक्षमा आकर्षित गर्नका लागि आवश्यक पहल अघि बढाउने र आवश्यकता अनुसार कार्यगत एकता गर्नेबारे ध्यान दिनु पर्दछ । नेमकिपाले माक्र्सवाद लेनिनवाद र माओ विचार मानेको र नयाँ जनवादी नभई समाजवादी क्रान्तिको बाटो पकडेको कुरा बताउँदै आएको छ । यो एकातिर देशको राष्ट्रिय स्वाधीनताको पक्षमा सकरात्मक रहेको देखिन्छ भने अर्कोतिर संसदवादबाट उम्कन सकेको छैन । यी तीनवटै समूहसित क्रान्तिको पक्षमा आवश्यक वार्ता तथा सम्वाद चलाउँदै जानु पर्दछ । 

दक्षिणपन्थी संशोधनवादी समूह 

नेपालमा दक्षिणपन्थी संशोधनवादी शक्ति लामो समयदेखि अस्तित्वमा रहिआएको छ । यसअन्र्तगत मुख्यतः नेकपा (मसाल) र नेकपा (माले) पर्दछन् । नेकपा (मसाल) ले माक्र्सवाद–लेनिनवाद तथा माओ विचार र नयाँ जनवाद मानेको कुरा बताउँछ । वर्तमान संविधानलाई यसले ठूलै उपलब्धि ठान्दछ र त्यसलाई स्थापित गर्नुपर्ने कुरामा जोड दिन्छ । यसले रणनीतिमा नयाँ जनवादी क्रान्ति र कार्यनीतिमा लोकतान्त्रिक गणतन्त्रको बाटोलाई अवलम्बन गर्दछ । यो बल प्रयोगको मान्यताबारे अस्पष्ट छ । यस समूह गम्भीर प्रकारको दक्षिणपन्थी संशोधनवादी भाषामा फस्तै गएको छ र यसले मिलेराँवादी ढंगले मन्त्रिपरिषद्मा सामेल भई प्रतिक्रियावादी राज्यसत्तालाई सघाउँदै आएको छ । 

नेकपा(माले) ले माक्र्सवाद–लेनिनवाद तथा माओ विचार र नयाँ जनवाद मानेको बताउँदै आएको छ । यो वर्गसंघर्ष तथा क्रान्तिप्रति अत्यन्त अस्पष्ट रहिआएको छ । यो एकातिर पुनरुत्थानवादप्रति नरम बन्दै गएको देखिन्छ भने अर्कोतिर यसले संसदवादी तथा मिलेरावादी बाटो पकडेको छ । 

तसर्थ, एकातिर यी दुवै समूहमा विद्यमान गलत प्रवृत्तिको विरोध गर्नुपर्दछ र अर्कोतिर यी समूहलाई आन्दोलनको पक्षमा ल्याउन वार्तासंवाद पनि गर्दै जानु पर्दछ । 

प्रतिध्रुवीय शक्तिहरु 

पहिले लामो समयदेखि राजनीतिक रुपमा संघर्ष गर्दै आए पनि र वर्गीय रुपमा केही हदसम्म पृथक रहेका कतिपय पार्टीहरु यतिबेला बर्गीय तथा राजनीतिक रुपमा एउटै ठाउँमा खडा भएका छन् । नेपालमा तिनलाई पुनरुत्थानवादी, प्रतिक्रियावादी तथा यथास्थितिवादी शक्तिका रुपमा बुझ्नु पर्दछ । त्यस प्रकारका शक्तिअन्तर्गत मुख्यतः राप्रपा, नेका, एमाले, नयाँ शक्ति र माके पर्दछन् । यी पाँचवटै पार्टीहरुको विकासको पृष्ठभूमि फरक–फरक छ ।

नेका २००७ साल अघि नै बनिसकेको पार्टी हो । यो पहिले संवैधानिक राजतन्त्र तथा संसदीय बहुदलीय प्रणाली र पछि प्रजातान्त्रिक समाजवादको मान्यतामा आधारित थियो । अहिले यसले गणतन्त्र स्वीकारेको छ । राप्रपा संसदीय बहुदलीय ब्यवस्थाको पुनःस्थापना भएयता बनेको पार्टी हो । त्यो विभिन्न समूहमा विभाजित रहिआएकोमा अहिले एकताबद्ध हुन पुगको छ । कुनै बेला गणतन्त्रको पक्षमा देखिए पनि त्यसले पुनः राजतन्त्र तथा हिन्दु धर्मको पक्षपोषण गर्न थालेको छ ।

एमाले २०२८ सालको झापा विद्रोहका बीचबाट माले हुँदै आएको पार्टी हो । यो विभाजित नेपाल कम्युनिष्ट पार्टीका केही घटक मिलेर बनेको हो । यसले एकातिर माक्र्सवाद–लेनिनवादलाई मानेको अभिनय गर्दछ भने अर्कोतिर बहुदलवाद तथा बहुदलीय जनवाद मान्दछ । यसले माओविचार तथा नयाँ जनवादलाई उहिल्यै परित्याग गरिसकेको छ । 

नवसंशोधनवादी समूहको एउटा हिस्साले नयाँ शक्ति पार्टी नेपाल गठन गरेको छ । यसले माक्र्सवाद–लेनिनवाद–माओवादको खुलै रुपमा परित्याग गरेको छ । यसले लोकतान्त्रिक गणतन्त्र र संसदीय ब्यवस्थालाई अन्तिम उद्देश्य तथा आदर्श मानेर चल्दछ । यसले एकातिर वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवाद र अर्कोतिर उदारीकरण र खुला बजार अर्थतन्त्रको बाटो पक्डेको छ । अन्ततः यसको प्रतिक्रियावादीकरण भएको छ ।

नवसंशोधनवादी समूहको अर्को हिस्सा नेकपा (माके) को रुपमा परिचित रहिआएको छ । यसले एकातिर माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेको अभिनय गर्दछ भने अर्कोतिर राजनीतिक रुपमा प्रतिगामी संविधान र वर्गीय रुपमा वर्तमान दलाल एवम् नोकरशाही पुँजीपति तथा सामान्त वर्गीय प्रतिक्रियावादी राज्यसत्तालाई स्वीकार गर्दछ । यसले नेपालमा जनवादी क्रान्ति पूरा भएको कुरा बताउँदै समाजवादलाई न्यूनतम कार्यक्रम मान्ने बहाना गर्न पुगेको छ । यसले साम्राज्यवाद तथा विस्तारवादसित आत्मसमर्पण गर्दै तथा भूमण्डलीकृत साम्राज्यवादद्वारा अगाडि ल्याएको उदारीकरण तथा खुला बजार अर्थतन्त्रको मान्यतालाई स्वीकार्दै आएको छ । यसको पनि प्र्रतिक्रियावादीकरण भएको छ । 

यी पाँचवटै पार्टीले दलाल एवम् नोकरशाही पुँजीपति तथा सामन्तवर्गीय राज्यसत्ता, प्रतिगामी संविधान, साम्राज्यवादी भूमण्डलीयकरण, उदारीकरण र निजीकरणलाई स्वीकार गर्दछन् । यी सबै साम्राज्यवाद/विस्तारवादद्वारा निर्देशित था परिचालित रहेका छन् । यिनका बीचमा रुप र मात्रामा केही अन्तर भए पनि, सार र गुणमा यिनले दालल, नोकरशाही पुँजीपति तथा सामन्तवर्गको प्रतिनिधित्व गर्दछन् । 

हामीले एकातिर यस प्रकारका राजनीतिक दलहरुको विरोध तथा भण्डाफोर गर्नु पर्दछ भने अर्कोतिर क्रान्ति तथा आन्दोलनको प्रक्रियामा उनीहरुको बीचको अन्तरविरोधलाई उपयोग गर्नु पर्दछ । 

क्षेत्रीय तथा जातीय दलहरु ः

नेपालमा केही क्षेत्रीयतावादी तथा जातीयतावादी दलहरु विकसित हुँदै आएका छन् । यीमध्ये कतिपय दलहरु आपसमा मिली राजपा गठन गरेका छन् । यो भारतीय विस्तारवादद्वारा निर्देशित र परिचालित छ । देशको राष्ट्रिय स्वाधीनताप्रति यसको नकारात्मक धारणा छ । यसले दलाल, नोकरशाही पुँजीपति तथा सामन्तवर्गको प्रतिनिधित्व गर्दछ । यो प्रतिध्रुवीय कित्तामा पर्दछ । साथै नेपालमा केही यस्ता दलहरु पनि छन्, जुन जातीयता तथा क्षेत्रीयतालाई मूल नारा बनाए पनि केही हदसम्म प्रगतिशील कुरा पनि गर्दछन् । परन्तु अन्ततः ती विस्तारवादकै दलालीमा संलग्न हुँदै आएका छन् । यस अतिरिक्त कतिपय क्षेत्रीय तथा जातीय शक्ति सिद्धान्ततः अस्पष्ट, ढुलमुल तथा अवसरवादी समेत रहेका छन् । यी निम्नपुँजीवादी तथा जनपक्षीय रहेका देखिन्छन् । 

उक्त दलहरुबारे उनीहरुको राजनीतिक स्थिति, दृष्टिकोण, नीति तथा धारणामाथि आवश्यक ध्यान दिंदै उपर्युक्त नीति लिनु पर्दछ । कतिपय प्रगतिशील शक्तिहरुसँग भने आन्दोलनको पक्षमा वार्ता–सम्वादको प्रक्रिया अवलम्बन गर्नु पर्दछ ।

राष्ट्रिय सम्मेलनको छलफलका लागि नेकपा (क्रान्तिकारी माओवादी)को आन्तरिक केन्द्रीय प्रकाशन विभागद्वारा प्रकाशित राजनीतिक दस्तावेजबाट
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive