newsone

कुडाकर्कटको निकास माओवादी केन्द्र ?

newstwo कुडाकर्कटको निकास माओवादी केन्द्र ?

वद्रि चापागाईं

२५ भदौ, काठमाडौं । हाम्रो संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले आर्थिक अनियमिता, कीर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको, संगठनमा अनुशासनहीन र राजकतापूर्ण गतिविधि गरेको भन्दै निश्कासित गरेका राम बस्नेत, ठमानसिंह तामाङ माओवादी केन्द्रमा प्रवेश गर्न लागेको कुरालाई निकै महत्व दिएको देख्दा त्यो पार्टी विभिन्न पार्टीबाट लिएका कुडाकर्कडको निकास बन्दै त छैन् भन्ने प्रश्न उठेको छ । नत्र क्रान्तिकारी आदर्श, नैतिकता र आर्थिक, राजनैतिक अनुशासनका दृष्टिले मृत्युबरण गर्न पुगिसकेका, सिनो बनिसकेका ती पात्रहरुलाई माओवादी केन्द्रले यति धेरै उच्च महत्व दिनुपर्ने कारण थिएन । बस्नेत र तामाङ कानुनी रुपमा पनि ठगी धन्दामा जोडिएका पात्र हुन् । उनीहरुका कर्तुतहरुका बारेमा लेख्ने हो भने धेरै ठूलो कितावको ढड्डा बन्छ, यहाँ दिइएको एउटा उदाहरण नै काफी हुन्छ ।

पर्यटन मजदुरको केन्द्रीय समितिको नाममा टुरिज्म डेभलपमैण्ट बैंकमा खाता छ । मजदुरको लेवी र विभिन्न ब्यक्ति र संस्थाको नाममा दिएको सहयोग सो खातामा जम्मा हुन्छ । त्यो खाता सञ्चालनका लागि तीन जनाको हस्ताक्षर अनिवार्य छ । सो संस्थाका कोषाध्यक्ष लाक्पा शेर्पाको कीर्ते हस्ताक्षर गरी पटकपटक सो खाताबाट रकम लगी बस्नेत र तामाङले लाखौं रकम व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको प्रमाणित भएपछि शेर्पाले संगठन र पार्टीमा उजुरी दिनुभयो । 

संगठनले छानविन समिति बनायो । उनीहरु दुवै जना पार्टीको जिल्ला समितिमा रहेकाले पनि पार्टीले शारदा महतको नेतृत्वमा छानविन कमिटी बनायो । दुवै कमिटीले उनीहरुलाई दोषी भेट्टायो । 

उनीहरुको कर्तुत प्रमाणित भएपछि हाम्रो संगठनका अध्यक्ष ईश्वर तिमल्सिनाले उनीहरुलाई सच्याउन पटकपटक आग्रह गर्नुभएको हो । तत्कालीन नेवाः राज्यका इञ्चार्ज दिनेश शर्माले पनि सबै रकम पार्टीकरण गर्नुप¥यो र गल्ती सच्याएर काम गर्नुप¥यो भन्दै निर्देशन दिनुभएको हो । तर, उनीहरुले त्यसो गर्न मानेनन् । नमानेपछि उनीहरुको कीर्ते कामको विरोधमा लाक्पा शेर्पाले प्रहरीमा उजुरी दिनुभयो । उनीहरु अहिले कानुनी रुपमा फरारको सूचीमा रहेका छन् । 

‘माओवादी केन्द्र दक्षिणपन्थी सिनो’ भइसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भन्दै तिनीहरु लागे । खड्गबहादुर विश्वकर्मालाई पटकपटक भेटे । उनीहरुले गरेको आर्थिक अनियमितता थाहा पाएपछि उनीहरुलाई प्रवेश निषेध गरियो । त्यसपछि आफैंले दक्षिणपन्थी सिनो भनेर लत्याएको माओवादी केन्द्रमा प्रवेश गर्न गोडा उचालेका छन् र माओवादी केन्द्रले पनि उनीहरुलाई रातो कार्पेट बिछ्याएको अवस्था छ । 

माओवादी केन्द्रलाई अहिले गुण होइन संख्या चाहिएको छ । जो आउँछन् कुनै छ्यानविचार नगरी प्रवेश दिएको छ । यसले यो पार्टी व्यवस्थित संसद्वादी पार्टी पनि बन्ने छाँटकाँट छैन् । गलत कर्म गर्नेको राइँदाइँ रे पुराना त्यागी, इमान्दारहरुलाई निराशामा धकेल्दैछ । 

तिलक परियार वैकल्पिक केन्द्रीय सदस्य नपाएकै झोकमा किरणलाई छाडेर विप्लवको पार्टीमा लागे । उनले सल्लाहकारबाट वैकल्पिक केन्द्रीय सदस्य बन्न पार्टीम दवाव दिएका थिए । विप्लव पार्टीमा गएको केही महिनापछि तत्कालीन एमाओवादीले ठूलै पोस्ट दिने भनेपछि त्यहाँ प्रवेश गरे । किरणको पार्टीमा वैकल्पिक केन्द्रीय सदस्यमा निवेदन हालेका तिलक परियार माओवादी केन्द्रको स्थायी सदस्य छन् । मधेसवादी नेता रामेश्वर राय यादव, अनिस अन्सारीलाई कार्यालयमा नै राख्ने होला ? पासाङ शेर्पा, परशुराम तामाङ जस्ता जातिवादी नेताको स्थान पनि माथि नै होला ? 

माओवादी पार्टीहरु वलिदानको जग र रापमा निर्माण भएका हुन । चाहे माओवादी केन्द्र होस्, चाहे क्रान्तिकारी माओवादी होस्, चाहे नेकपा होस् । अहिले भ्रष्ट, जातिवादी, क्षेत्रवादीहरुको लागि स्वर्ग भएका छन् माओवादी पार्टी । त्यसमा पनि माओवादी केन्द्रमा यो पक्ष हावी बन्दै गएको छ । उत्पीडित वर्गको मुक्तिका लागि खडा भएको पार्टी र तिनका नेतृत्वमा किन यति छिट्टै स्खलन भएको होला ? नेपाली कांग्रेस र एमालेको भन्दा पनि विचारविहीन, आदर्शविहीन, निस्ठाविहीन हुने हो भने माओवादी नाम पनि फाले हुन्छ । कमसेकम बाबुराम भट्टराईले यो इमान्दारिता देखाएका छन् । 

माओवादी पार्टी र आन्दोलनलाई सच्याएर एकताबद्ध गर्ने हो भने माओवादी केन्द्र, क्रान्तिकारी माओवादी र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले नयाँ ढंगले समीक्षा गर्दै अगाडि बढ्नुपर्छ । विचार र आदर्श च्युत भएकाहरुलाई कतै स्थान दिनु हुँदैन । वलिदानको जगमा खडा भएका पार्टीहरुमा समाजमा विस्थापित भएका, ठगहरुलाई स्थान दिनु हुँदैन । कुडाकर्कडको निकास बन्न दिनु हुँदैन ।  (लेखक नेकपा (क्रान्तिकारी माओवादी) निकट मजदुर संगठनका नेता हुन । )
     
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive