newsone

१९५० को सन्धिमा गृहकार्य खोई ?

newstwo १९५० को सन्धिमा गृहकार्य खोई ?

अञ्जली राई

नेपाल–भारत प्रभुत्व समूहको छैठौं वैठक भारतको इन्स्टिच्युट फर डिफेन्स एण्ड अनालाइसिस भवनमा पुस २६–२८ मा बस्यो । उक्त बैठकमा प्रमुख रुपले तीन निर्णयहरु भए । पहिलो नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि परिमार्जन गर्न भारत सहमत, दोस्रो, सातौं बैठकमा परिमार्जनका बुँदाबारे छलफल गर्न सहमत र तेस्रो, समूहको सुझाव ड्राफ्ट लेख्न कार्य शुरु गर्ने ।

नेपाल–भारतबीचको असमान सन्धिहरुबारे छलफल गरी दुबै देशका सरकारलाई सुझाव दिन केपी ओली सरकारले २०७२ फागुनमा प्रभुत्व समूह स्थापना गर्न स्वीकृत गरेको थियो । यो समूह गठन गर्न तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमण २०६८, ३–६ कार्तिकमा दुवै देशबीच सहमति भएको थियो ।

सन् १९५० को सन्धि पुनरावलोकन गर्न नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले आफ्नो भारत भ्रमणमा २०५१ सालमा नेपालको तर्फबाट पहिलोपल्ट औपचारिक रुपमा कुरा उठाएका थिए । त्यसपछिका वाम प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा यो विषयले एजेण्डा रुपमा प्रवेश पायो । प्रधानमन्त्रीको रुपमा प्रचण्डले २०६५ मा भारतको भ्रमण गर्दा उक्त सन्धि पुनरावलोकन, समायोजन र अद्यावधिक गर्ने दुवै देशले सहमति जनायो । 

प्रभुत्व समूहमा नेपाल र भारतबाट चार/चार जनाको प्रतिनिधित्व छ । नेपालको तर्फबाट डा. भेष बहादुर थापा, सूर्यनाथ उपाध्याय, निलाम्बर आचार्य र राजन भट्टराई छन् भने भारतको तर्फबाट भगतसिंह कोशिपारी, महेन्द्र पी लामा, वीसी उप्रेती र जयन्तप्रसाद छन् । 

नेपालतर्फका समूह संयोजक डा. भेषबहादुर थापा छन् भने भारततर्फको नेतृत्व वीसी उप्रेतीले गरेका छन् । नेपालतर्फका डा थापा मुर्धन्य कुटनीतिज्ञ हुन । उपाध्याय चाहिं जलस्रोत सम्बन्धी कानुनविज्ञ हुन र आचार्य नेपाल–भारत सम्बन्धका जानकार मानिन्छन् । त्यसैगरी भट्टराई चाहिं नेपाल भारत सम्बन्धका अध्येता हुन् । भारततर्फका कोशिपारी नेपाल सम्बन्धी जानकार राजनीतिज्ञ हुन । प्राध्यापक लामा नेपाल भारत व्यापार सम्बन्धी दख्खल राख्छन् । अहिले उनी हिम पर्वतीय क्षेत्र (नेपाल, भारत, चीन) का जनताको सम्बन्ध राम्रो हुनुपर्छ भन्नेमा पनि सक्रिय छन् । प्राध्यापक उप्रेतीको नेपाल–भारत सम्बन्धी पुस्तकहरु छन् । पूर्व राजदूत जयन्तप्रसाद नेपाल भारतको सम्बन्धबारे राम्रो जानकारी राख्ने कूटनीतिज्ञ हुन । 

प्रभुत्व समूहको पहिलो बैठक २०७३ असार काठमाडौंमा बस्यो । समूहको पहिलो बैठकमा सन १९५० सन्धि छलफलको लागि प्रवेश भयो । छैटौं बैठकमा चाहिं भारतीय पक्ष उक्त सन्धि पुनरावलोकन गर्न सकारात्मक भएको समाचार प्रेषित भएका छन् । तथापि पुनरावलोकन गर्न भारतले सहमति जनाइसकेको छैन । सकारात्मक हुनुलाई नै ठूलो उपलब्धि नेपाली पक्षले मानेको छ । सहमतिको चरण अझ धेरै छन् । 

छैटौं बैठकपछि समूहका संयोजक डा. भेषबहादुर थापाले सन् १९५० को सन्धि लगायत असमान सन्धि तथा सम्झौता परिमार्जन गर्न भारत सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । डा. थापाको भनाइमा दुई वटा महत्वपूर्ण कुरा छन्, असमान र परिमार्जन । नेपाल–भारतबीच असमान सन्धि भएकाले अब त्यसलाई परिमार्जन गर्न भारत सकारात्मक छ भन्ने थापाको भनाइबाट बुझ्न सकिन्छ । भारतले दुवै देशबीच असमान सन्धि तथा सम्झौता भएका छन् भनी स्वीकार गर्नु नै ठूलो उपलब्धि हो । यसको अर्काे सिधा अर्थ हो, नेपालका वामपन्थीहरुले सन् १९५० को सन्धि असमान छ भन्ने अहिले सत्य सावित भएको छ । 

सन् १९५० को सन्धिमा कुनकुन बुँदा असमान छन् भन्ने भनाइ नेपालका वामपन्थीहरुले पनि सूत्रबद्ध तरिकाले राख्न सकेका छैनन् । नेपाली कांग्रेसलाई भारतपरस्त देखाउनका लागि मात्र उनीहरुले सन १९५० को सन्धिलाई असमान भन्दै आएका हुन जस्तो देखिएको छ । यो बारेमा समूहको सातौं वैठक फागुन १२–१३ मा छलफल हुने भनिएको छ । त्यसैले पनि यो बारेमा व्यापक गृहकार्यको मात्र होइन छलफल र राष्ट्रिय सहमति पनि आवश्यक छ । व्यापक छलफलविना यस्तो दीर्घ महत्वको विषयमा अन्तर्राष्ट्रिय रुपमा सहमति नआउँदा विवाद बबण्डर हुनसक्छ । 

परराष्ट्र मन्त्रालय तथा प्रभुत्व समूहले यो बारेको आफ्नो धारणा सूत्रवद्ध रुपमा सार्वजनिक गर्नु नै पर्छ । त्यो भन्दा पनि हिजोदेखि नै यो सन्धि असमान छ भन्नेहरुले पनि परिमार्जनका बुँदाहरु प्रभुत्व समूहलाई सुझावको रुपमा नदिइ हुँदैन । सुझाव दिने यही नै उपयुक्त  समय हो । यो अवसरलाई उपयोग गर्न नसके पछि चिच्याउनु र सडकमा कराउनुको कुनै अर्थ छैन । 

माओवादीले २०५२ सालमा जनयुद्ध थाल्दा सन् १९५० को सन्धिलाई पनि एउटा प्रमुख आधार बनाएको थियो । अहिले माओवादी सत्तामा छ । जनयुद्ध रोकिएको पनि करिब १० वर्ष भइसक्यो । तर, माओवादीले सन् १९५० को कुन कुन बुँदा परिमार्जन गरिनुपर्छ भन्ने भनाइ सार्वजनिक गरेको छैन । राजनीतिक नारामा मात्र माओवादी सीमित छ । यो बारेमा माओवादी विदेश विभागले गृहकार्य नगर्नु भनेको दुर्भाग्यपूर्ण हो । माओवादी मात्र होइन एमाले पनि निस्क्रिय छ । यसो हुनु भनेको दुर्भाग्य हो ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive