newsone

सतिले सरापेको कि ओलीले !

newstwo सतिले सरापेको कि ओलीले !

हुन त हाम्रो देशलाई सतिले सरापेको भनिन्छ । आफूलाई अप्ठ्यारो प¥यो भने देशलाई दोष दिएर मान्छेहरु उम्किन्छन् । यो मान्छेहरुको कुरा भयो । ठाड्कानेले गर्न खोज्या कुरा चाहिं मान्छेहरुको होइन, मान्छेको हो ।

मान्छे पनि त्यस्ता मान्छे जो यो देशको हर्ताकर्ता भए र हालिमुहाली चलाए । पाठकहरुले बुझिसक्नु भयो होला । तपाईँहरु पनि कम्ताको बाठो हुनुहुन्न । जुँघा नहल्लिंदै कुरा बुझिसक्नु हुन्छ । तपाईँहरुले बुझिसक्नु भो भनेर ठाड्काने चुप लागेर बस्दैन । लाग्या कुरा नभनी यल्लाई निद्रा लाग्दैन ।

सति र मान्छेहरुको कुरा माथि नै भइसक्यो । बाँकी रह्यो मान्छेको कुरो । ती मान्छे नेपालका प्रधानमन्त्री भइसकेका हुन् जसले जनताको घरमा चुलो बल्न नसकेको बेलामा घर–घरमा ग्यास–पाइप–लाइन बिछ्याइदिन्छु भनेर भनेका थिए । उनले आफू गृहमन्त्री भएको बेला उबेलामै नेपालको टनकपुर नदी भारतलाई बेच्ने सम्झौता गरेपछि नेपालले स्याटलाइटबाट विजुली युरोप–अमेरिका बेच्छ पनि भनेका थिए । 

उनैले आफू प्रधानमन्त्री भएको बेला अर्को कुरा पनि भनेका थिए– नेपालमा पानी जहाज हुइँक्याउने । भन्न त उनले यस्ता अरु पनि धेरै कुरा भनेका छन् । त्यही भएर भर्खरै भएको स्थानीय चुनावमा उनको पार्टीले सबैभन्दा बढी सिटमा जीत हासिल गरेको छ । अरु पार्टीले यस्ता विकासका कुरा गरेनन् । जनताले हराइदिए । यसमा पनि ठाड्कानेलाई कुनै टाउको दुख्या छैन । जनतालाई विकास चाहिएको हो । जसले विकास गर्छु भन्यो त्यसैलाई जिताइदिए ।

यो मूर्ख ठाड्कानेले चाहिं ती नेताको कुरो पत्याउन सकेन । तर यसले नपत्याएर के हुन्छ ? तात्तो न छारो ! ओलीले टनकपुर सन्धि गरेपछि भनेका थिए– नेपाल झिलिमिली भएर विजुली बढी हुन्छ । अनि त्यो विजुली काँ’ पोको पारेर राख्नु । हामी डलर लिएर युरोप अम्रिकालाई बेच्छौं । त्यतिखेर भर्खर जुँघाको रेखी बस्न थालेको यो ठाड्कानेले कुरा बुझेन अथवा बुझेर पनि पत्याएन । नभन्दै उनले त्यसो भनेपछि नै नेपालमा लोडसेडिङ शुरु भयो । अझ उनी प्रधानमन्त्री भएपछि त लोडसेडिङ दैनिक १८÷२२ घण्टासम्म पुग्यो ।

ओलीले घरघरमा ग्यास–पाइप–लाइन विछ्याउने कुरा जब गरे– जनताले एक सय रुपैयाँ लिटर पर्ने पेट्रोललाई एक हजार रुपैयाँ तिरेर किने । १४ सय रुपैयाँ हाराहारी पर्ने एक सिलिण्डर ग्यासलाई १०÷१५ हजारसम्म तिर्नुप¥यो । संयोग पनि कस्तो तिनै ओलीले नेपालमा पानी जहाज कुदाउने इच्छा व्यक्त गरेको केही समयभित्रै नेपालको राजधानीका सडकहरु समुद्र जस्ता हुन थालेका छन् र यहाँ गुड्ने गाडीहरु पानीजहाज जस्ता । पानी जहाज त पानीमाथि तैरियर चल्छ क्यारे ! तर हाम्रा गाडीहरु पानीमा डुब्छन् । 

नडुबून् पनि किन ? इच्छा छ प्रभुको पानी जहाज कुदाउने !  हुँदाहुँदा समुद्रमय भएको सडकमा स्कुले केटाकेटी डुबेर मर्ने ! हे प्रभु ! ओलीज्यू ! अब तपाईँले यस्तो कुरा नगरे बरु वित्थामा जनताले थप दुःख पाउँथेनन् कि ? यहाँले जे भन्यो त्यो भइहाल्ने । त्यो भएपछि जनताले जीवन गुमाउनु पर्ने, थप सास्ती ब्यहोर्नुपर्ने ! ठाड्कानेलाई त यस्तो लाग्न थाल्या’छ कि पहिला सतिको सराप लागेर विग्रिएको हाम्रो देश अहिले कतै ओलीको सरापले यस्तो हुँदै गा’ त होइन ?
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive