newsone

नेपाल–भारतको बैठकमा के भयो ? दुई प्रमको प्रतिबद्धता यस्तो छ

newstwo नेपाल–भारतको बैठकमा के भयो ? दुई प्रमको प्रतिबद्धता यस्तो छ

काठमाडौँ । गहिरो आत्मीय सम्बन्ध र समझदारीका आधारमा शताब्दीयौँदेखि सुदृढ रहेको नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ आयाम थपिएको छ । 

इतिहासको कालखण्डमा झेलिएका आरोह अवरोहलाई इतिहासकै गर्तमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ नेपालको एक दशकको यात्रामा कूटनीतिक फाँटमा नयाँ आयाम थपिनुको कारण बनेको छ– नेपाल र भारतबीच भएको उच्चस्तरीय वार्ता, छलफल र भेटघाट । 


एक महिनाको अन्तरालमा जननिर्वाचित नेपाल र भारतका कार्यकारी सरकार प्रमुखहरुको नयाँदिल्ली र काठमाडौँमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीबीचको द्विपक्षीय शिखर बैठकलाई उपलब्धिका रुपमा चित्रण गर्दा अतिशयोक्ति हुँदैन । 

भारतवर्षको विशाल लोकतन्त्र भारतका कार्यकारी सरकार प्रमुखको दुईदिने राजकीय भ्रमणले आपसी हार्दिकता प्रवद्र्धन गर्न मद्दतमात्र पुगेको छैन दुई देशका जनताका समस्या समाधानमा सघाउन र समृद्धिका सपना साकार पार्न पनि मार्ग प्रशस्त गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा भएको उहाँका भारतीय समकक्षी मोदीको राजकीय भ्रमणका क्रममा हार्दिकता एवं सौहाद्र्रपूर्ण वातावरणमा भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा भारत–नेपाल सम्बन्धका सबै पक्षमा विहङ्गम परिचर्चा हुनु निश्चय नै नेपालका निम्ति सकारात्मक एवं सुखद पक्ष हो । 

प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा दुवै देशका प्रधानमन्त्रीले गत महिना प्रधानमन्त्री ओलीबाट भएको भारतको राजकीय भ्रमणले सम्बन्धलाई नयाँ दिशा प्रदान गर्नाका साथै त्यस बखत भएका समझदारी सम्झौतालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नेमा प्रतिबद्धता व्यक्त हुनुलाई उपलब्धि मान्नुपर्छ । 

भ्रमणपछि सरकारले जारी गरेको १६ बुँदे संयुक्त वक्तव्यमा पनि नेपाल–भारत सम्बन्ध नयाँ युगतर्फ अग्रसर भएको चित्रण गरेको छ । कृषि क्षेत्रको विकासमा साझेदारी, रेलमार्गबाट सम्पर्क विस्तार, जलमार्गको विकास, एकीकृत भन्सार जाँच चौकीजस्ता पूर्वाधार निर्माणका क्षेत्रमा भारतबाट सहयोग जारी रहने सहमति भएको छ । 

बहुआयामिक नेपाल–भारत सम्बन्धलाई विभिन्न तह र आयामको समीक्षा गर्दै जस्तासुकै समस्या पनि सहकार्यका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको छ । असमझदारी तथा आशंका हटेको सन्देश प्रधानमन्त्री मोदीको भ्रमणले प्रवाह गरेको छ । 

भारतको सहयोगमा विगतदेखि नेपालमा जारी विविध क्षेत्रका विकास सहयोगका आयोजनाको निरन्तरता, आर्थिक सामाजिक विकासमा सहकार्यलाई जारी राख्ने, समानता, आपसी विश्वास, सम्मान र पारस्परिक लाभमा आधारित भएर दुई देशबीचको सम्बन्धलाई अघि बढाइने सहमति पनि भएको छ । 

नेपाल र भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्न दुई देशबीच गठन भएका दुई पक्षीय संयन्त्रका परराष्ट्रमन्त्रीस्तरीय र अन्य बैठकहरु नियमित रुपमा आयोजना गर्नुपर्नेमा दुवै प्रधानमन्त्रीले जोड दिँदै नेपालमा सञ्चालित सहयोगका विकास परियोजना कार्यान्वयनलाई तीव्रगतिमा कार्यान्वयन गर्नुपर्नेमा सहमति जनाउनुभएको छ । 

नेपाल र भारतबीचका व्यापार र आर्थिक सम्बन्ध, भारतसँगको विशाल व्यापार घाटा घटाउनेबारे प्रधानमन्त्री ओलीले गर्नुभएको गम्भीर वार्ता, त्यसलाई घटाउन व्यक्त चासो र प्रधानमन्त्री मोदीको सकारात्मक प्रत्युत्तरलाई रचनात्मक मान्नुपर्छ । 

नेपाल–भारत व्यापार तथा पारवहन, गैरकानूनी व्यापार नियन्त्रणलगायत विषयमा हालै भएका छलफल र अन्तरसरकारी समितिको बैठकमा भएका समीक्षा, नेपाल–भारत व्यापार सम्झौताको बृहत् मूल्यांकन, नेपाली उत्पादनलाई भारतीय बजारसम्म पहुँच दिन तथा दुईपक्षीय व्यापारलाई समग्ररुपमा विस्तार र सहजीकरण गर्न पारवहन व्यापारमा भारतले सघाउने दुई पक्षीय सहमति भएको छ । 

आर्थिक वृद्धिलाई गति दिन जल, जमिन र हवाई सम्पर्क विस्तार गर्न थप कदम चाल्न दुवै प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुका साथै जनता–जनताबीचको मैत्रीपूर्ण गतिशील सम्बन्ध विस्तारमा जोड दिँदै दुवै देशका प्रधानमन्त्रीले नागरिक उड्डयनको क्षेत्रमा भारतीय आकाशमा नेपालको पहुँच बढाउने लगायत प्राविधिक छलफलसमेत गरेर सम्पर्क विस्तार र सम्बन्ध प्रगाढ पार्ने दृढता व्यक्त गर्नुभएको छ । दुवै देशका अधिकारीले यसबारेमा शीघ्र छलफलसमेत गर्ने भएका छन् । 

पारस्परिक लाभका निम्ति जलसंशाधनको क्षेत्रमा सहयोग अभिवृद्धि गर्नेमा पुनःप्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीद्वयले नदी नियन्त्रणसम्बन्धी तालीम, बाढी नियन्त्रण, डुबान, सिँचाइका विषयलाई पनि अघि बढाउने दृढता व्यक्त गर्नुभएको छ । 

डुबान र बाढी समस्या समाधान गर्न गठन भएको संयुक्त समितिले सम्पादन गरेका कामप्रति सन्तुष्टि व्यक्त गर्दै उक्त समितिलाई दिगो र उपयुक्त समाधान पत्ता लगाउन उहाँहरुले निर्देशन दिनुभएको छ । 

नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको दुवै प्रधानमन्त्रीबाट शिलान्यास भएकामा प्रसन्नता व्यक्त गर्दै उहाँहरुले विद्युत् उत्पादन तथा दुई देशबीचको व्यापार अभिवृद्धिमा जोड दिँदै जलविद्युत्का क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न हालै भएको संयुक्त सञ्चालक समितिको बैठकको परिणामको उहाँहरुले स्वागत गर्नुभएको छ ।  

दुईपक्षीय विद्युत् व्यापार सम्झौताअनुरुप विद्युत् विकास गर्न पनि दुवै देशका प्रधानमन्त्री सहमत हुनुभएको छ । 

नेपाल बसाइका क्रममा प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नाका साथै काठमाडौँ र जनकपुरमा उहाँको अभिनन्दन भएको विषयले सांस्कृतिक, धार्मिक समानता र एकताको भावनालाई अभिवृद्धि गरेको छ। 


दुई देशका जनताबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले दुई देशका प्रधानमन्त्रीले सीताको जन्मस्थल जनकपुर र अयोध्या तथा रामायणसित सम्बन्धित अन्य स्थल जोड्ने नेपाल–भारत रामायण परिपथको शुभारम्भ गर्नाका साथै अयोध्याका लागि छुटेको बसलाई झण्डा फहराएर बिदाइ गर्नुले जनस्तरको सम्बन्धलाई अझ बढाउन मद्दत पुगेको छ । 

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) र बंगलादेश, भुटान, भारत र नेपाल सम्मिलित उपक्षेत्रीय संगठन (बिबिआइएन) जस्ता क्षेत्रीय र उपक्षेत्रीय संगठनहरुको महत्वमा जोड दिँदै ती संस्थाले निर्धारण गरेका अर्थपूर्ण सहयोगका क्षेत्रहरु पहिल्याउन सहमति हुनुलाई पनि उपलब्धिका रुपमा मान्नैपर्छ । 

नेपाल–भारत सम्बन्ध र साझेदारीलाई प्रधानमन्त्री मोदीको तेस्रो भ्रमणले थप गति दिँदै नयाँ आयाम प्रदान गरेकामा दुवै प्रधानमन्त्रीले स्वीकार गर्नुभएको छ भने न्यानो आतिथ्य र हार्दिकता प्रदान गरेकामा प्रधानमन्त्री ओलीप्रति भारतका प्रधानमन्त्रीले आभार प्रकट गर्नुभएको छ । साथै, उहाँले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका निम्ति आमन्त्रण गर्नुभएको र श्री ओलीले त्यसलाई स्वीकार गर्नुभएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण कूटनीतिक माध्यमबाट निर्धारण गरिने छ । 

प्रधानमन्त्री मोदीले अखण्ड, समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुले विगतका तिक्तता मेटिएका मान्न सकिन्छ तथापि पञ्चेश्वरजस्ता विशाल परियोजनाको नियति अरुण तेस्रोले झेल्नु नपरोस् भन्ने अपेक्षा आम नेपालीले गरेका छन् । 

राजनेताका रुपमा उहाँले दिनुभएका सबै समारोहका ओजपूर्ण अभिव्यक्ति व्यवहारमा अनुवाद हुने विश्वास पनि नेपालीले गरेको छन् भने आफ्नो सरकारले भारतमा विकासका लागि ‘सबका साथ सबका विकास’ को नारा अघि सारेको र नेपालमा पनि प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सार्नुभएको उल्लेख गर्दै उहाँले दुवै नारा एकअर्काका परिपूरक भएको टिप्पणी गर्नुलाई नयाँ आयामतर्फ नेपाल–भारत सम्बन्धलाई डो¥याएको भन्न सकिन्छ । 

नेपाल र भारतबीचको सम्बन्ध सरकारभन्दा माथि रहेको चर्चा गर्नु, नयाँ संविधानलाई ‘जानकारी’मा मात्र लिएको भारतले त्यही संविधानअनुरुप तीन तहका निर्वाचन सफलरुपमा सम्पन्न भएको, तीनवटै तहमा बनेका सरकारलाई नेपालको इतिहासमा यो काल स्वर्णीम अक्षरले लेखिनेछ भन्नु संविधानप्रति भारतको असन्तुष्टिको अब अन्त्य भएको मान्नुपर्छ । रासस

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive