newsone

अन्तर्राष्ट्रिय वायुसेवाको ट्राञ्जिट बन्ला त नेपाल ?

newstwo अन्तर्राष्ट्रिय वायुसेवाको ट्राञ्जिट बन्ला त नेपाल ?

अमेरिकाबाट नेपाल वायु सेवा निगमको जहाजमा नेपाल जान पाए कस्तो हुन्थ्यो ? अमेरिकालगायत धेरै देशमा बसोबास गर्ने नेपालीको मनमा आउने प्रश्न हो यो । आफ्नै देशको जहाज, यात्राभर आफ्नै भाषाशैली, आफ्नै गीत–संगीत, आफ्नै पाराका खानेकुरा जुनसुकै नेपाली नागरिकलाई यो भन्दा अरु यात्राभर खुसीको कुरा के होला ? नेपाल वायु सेवा निगमले यस्ता खालका योजना त बनाउने गर्छ तर व्यवस्थापन निकै कमजोर छ । त्यसैले आमनागरिकको सहजै उत्तर आउँछ त्यो दिन आउला र ? आफ्नै देशको जहाज, आफ्नै भाषा र भेषमा रहेका एयर होस्टेजको स्वागतको परिकल्पना कहिल्यै व्यवहारमा आउन सक्दैन भन्नेतिर धेरैको मन जान्छ । नेपालसँगै उडान थालेका विश्वका धेरै जहाज कम्पनीले संसारभर उडान भर्नसक्ने र आर्थिक हिसाबमा धेरै प्रगति गरिसक्दा नेपाल वायुसेवा निगम भने जहाजविहीन बन्दै गएको छ । पछिल्लो समय केही अन्तर्राष्ट्रिय उडान र आन्तरिक उडानमा गति लिए पनि निकै नै कमजोर व्यवस्थापनका कारण नेपाल वायु सेवा निगम अप्ठ्यारो अवस्थामा पुगेको छ । 

नेपालमा अहिले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र सञ्चालनमा छ । काठमाडौंबाहेक लुम्बिनी, पोखरा र बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा चले पनि कामले गति लिन सकेको छैन । चर्चामा रहेकामध्ये लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको काम भने अहिले धमाधम भइरहेको छ । चिनियाँ कम्पनीले विवादका कारण केही महिना काम रोके पनि अहिले विमानस्थल निर्माणको काम गरिरहेको छ । अबको केही वर्षमा विमानस्थल सञ्चालनमा आउने दावी सरकारी अधिकारीहरुले गरिरहेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण–प्रक्रिया पनि प्रारम्भ गरिएको छ । नेपाल वायु सेवा निगमले ठूला जहाज ल्याउनका लागि पनि प्रक्रिया अगाडि सारेको छ । नेपाली कामदार जाने मुलुकमा पहिलो चरणमा उडान भर्ने निगमको योजना रहेको छ । निगमले अहिले मलेसियाको क्वालालम्पुर, भारतको कोलकाता, बेंगलोर, मुम्बई र नयाँ दिल्ली, थाइल्याण्डको बैंकक, कतारको दोहा, हङकङमा उडान भरिरहेको छ । आन्तरिकतर्फ नेपालका विभिन्न ३२ स्थानमा नेपाल वायु सेवा निगमले उडान भरिरहेको छ । 

अष्टे«लियामा नेपाललाई ट्राञ्जिट बनाउने विषयमा कुराकानी

अष्टे«लिया सरकारले एसियाको ट्राञ्जिट प्वाइन्टको रुपमा विकास गर्न नेपाल सरकारलाई राखेको प्रस्ताव तत्कालीन सरकारले अस्वीकार गरेको थियो । त्यतिमात्र होइन, युरोपियन देश जर्मनीले पनि नेपाललाई एसियाको लागि प्वाइन्ट गराउने प्रस्ताव राखेको थियो । नेपालले भौतिक पूर्वाधार र कमिसनका पछि लागेर यस्ता अवसर छाडेको थियो । तर पछिल्लो समय अष्टे«लियाबाट नेपालमा उडान गर्ने विषयमा फेरि छलफल शुरु भएको छ । यसमा दीर्घकालीन ट्राञ्जिटको कुरा समेत उल्लेख छ । त्यसका लागि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको पहलमा प्रत्यक्ष हवाई सेवाको विषयमा अध्ययन गर्ने सहमति भएको छ । नेपाली राजदूत शेर्पाले अष्ट्रेलियाका परराष्ट्रमन्त्री जुली विशपसँग यस विषयमा कुराकानी गरेकी हुन् । नेपाली राजदूत शेर्पाले अष्ट्रेलियाको संसद भवनमा रहेको जुलीको कार्यकक्षमा पुगेर यस विषयमा कुराकानी गरेको बताएकी छन् । शेर्पाले अष्ट्रेलियामा नेपाली नागरिकको संख्या बढ्दो क्रममा रहेकाले आवागमन सहज बनाउन पहल गरेकी छन् । अष्टे«लियन मन्त्री जुलीले यस विषयमा पर्यटन तथा यातायात मन्त्रालयसँग प्रत्यक्ष हवाई सम्बन्धका विषयमा अध्ययन गर्न निर्देशन दिने बताएकी छन् । उनले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा समेत व्यक्त गरेकी छिन् । 

नेपाल वायुसेवा निगम र थाई एयरवेजले एकै समयमा हवाइ सेवा शुरुवात गरेका थिए ।  स्थापनाको छोटो समयमा थाई एयरवेज संसारमै सफल कम्पनीको रुपमा देखिएको छ । थाई एयरवेजले बोइङ्गको संख्या झण्डै ९० पु¥याउँदा नेपाल वायुसेवा निगम इतिहास जोगाउन संघर्ष गरिरहेको छ । सन् १९९० मा आन्तरिक सेवामा १९ वटा साना जहाज र २ वटा बोइङको माध्यमबाट प्रतिस्पर्धी सेवा दिएको निगम अहिले थला पर्ने अवस्थामा पुगेको छ । ९० को वर्ष निगमको उपलब्धिपूर्ण वर्ष रह्यो । ९७ जना कर्मचारीबाट सेवा शुरु गरेको निगममा ९० को वर्ष २५ सय पुगेका थिए । तर, त्यसपछि ओरालो लाग्ने क्रम दिनप्रतिदिन बढ्दो छ ।

आन्तरिक र बाह्य उडानका लागि जहाजको संख्या बढाउन नेपाल वायु सेवा निगमले संघर्ष गरिरहेको छ । नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो । जुलाई सन् १९५८ मा शाही नेपाल वायु सेवा निगमका रुपमा स्थापना भएको यस कम्पनीलाई गणतन्त्रपछि भने नेपाल वायु सेवा निगम भनेर नामाकरण गरिएको छ । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको काठमाडौंमा प्रधान कार्यालय छ । सन् २०१५ मा बोइंग ७५७ किनेर विभिन्न सात अन्तर्राष्ट्रिय गन्तव्यमा यसले उडान शुरु गरेको हो । पहिले भने धेरै देशमा नेपाल वायुसेवा निगमको उडान हुने गरेको थियो । पछिल्ला केही वर्षमा निगमले आफूलाई पहिलेको तुलनामा सुधार गर्दै गएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानमा निगमले सुधार गरे पनि व्यवस्थापनमा देखिएको परम्परागत शैलीले निगमलाई माथि लैजान सकेको छैन । आवश्यक भन्दा धेरै कर्मचारी भए पनि कर्मचारी अनुसारको प्रगति हुन सकेको छैन । 

नेपाल वायु सेवा निगमले किन उठाउन सकेन आफूलाई ?

नेपाल वायु सेवा निगमले सा“घुरिंदै गएको सेवा क्षेत्र, घट्दै गएको विमान संख्या र अस्तव्यस्त व्यवस्थापनका बीचमा आन्तरिक उडानमा आफूलाई विस्तार गर्दै गएको छ । तर चुस्तदुरुस्त व्यवस्थापनको समस्याले गर्दा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम इतिहास गुमाउने क्रममा छ भन्दा फरक पर्दैन । निगमले पटक–पटक जहाज खरिद प्रक्रिया अघि बढाए पनि जहाज खरिद गर्न भने सफल भएको छैन । शुरुका दिनमा राम्रै नाफामा गएको निगमलाई राजनीतिज्ञ र विभागीय मन्त्रीहरुले आफ्नो नातेदार र कार्यकर्ताको स्वार्थको लागि प्रयोग गरेपछि अहिले निगम अर्बौ ऋण बोक्न बाध्य छ । जहाज खरिद गर्दा कमिसन खाने, ल्याएका जहाज सस्तोमा बेचेर कमिसन खाने, जहाज नभएर भाडामा ल्याउँदा समेत कमिसन खाने र जहाज बिनाकारण फिर्ता पठाउने त्यसबाट समेत कमिसन खाने निगमको नेतृत्वमा बसिरहेका छन् । त्यसमाथि कहिले नक्कली नियुक्ति प्रकरण त कहिले विमानमा मुसा आतंक ! कहिले फ्लाई वे किट गायव त कहिले पांग्रा नै गायव ! यसरी हरेकतिरबाट मौलाएको विकृतिले निगमलाई न मरीजाने न गरीखाने अवस्थामा पु¥याएको छ । 

राजनीतिक हस्तक्षेपका कारण धुजाधुजा बनेको निगमभित्र टिकटका लागि अर्को आतंक हुने गरेको छ । सिट भए पनि टिकट नदिने, कहिलेकहिं सिट क्षमताभन्दा धेरै व्यक्तिको टिकट काट्ने र होटलमा लगेर राख्ने । समयसमयमा राजनीतिक पार्टीहरुको मुख्यालयभन्दा बढी चर्चा पाउने गरेको यो संस्था राजनीतिक छिनाझम्टीका कारण उकासिन पाएको छैन । राजनीतिक इच्छाशक्ति अहिले पनि भागशान्ति जिन्दावादमै केन्द्रित भएका कारण सुधारको आशा र अपेक्षा पनि कम हु“दै गएको छ । लामो दूरीका ओशाका, पेरिस, फ्रयांकफर्टसहित डेढदर्जन बढी अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने निगम अहिले नजिकका गन्तव्यमा मात्र सीमित छ । पहिलेपहिले विदेशी कम्पनीहरुले नेपालको वायु सेवा कम्पनी जस्तो हुने भनेर नेपाल वायुसेवा कम्पनीको प्रसंसा गर्ने गर्थे तर विस्तारै संसारमै नराम्रो व्यवस्थापनमा नेपाल वायु सेवा निगम दरिएको छ । सन् १९९५ मा सरकारले निजी कम्पनीलाई जहाज चलाउन खुल्ला गरेपछि थुप्रै निजी कम्पनी नेपाली आकाशमा देखिए । यस प्रतिस्पर्धामा निगम सधैं एक कदम पछाडि नै रह्यो । अन्तर्राष्ट्रिय उडान पनि घाटामा चलेको छ । 

नेपाल वायु सेवा निगममा विभिन्न पटक भिन्नभिन्न खालका काण्ड लागेका छन् । काण्डकाण्डले निगमलाई बदनामी बनायो । धमिजाकाण्ड, जेटभाकाण्ड, चाइना साउथ वेष्टकाण्ड, लाउडा काण्डले नेपाल वायु सेवा निगमलाई माटोमै ढलायो । जहाजको अभाव पूर्ति गर्ने निहु“मा यस्ता अनेकौं काण्ड मच्चिए । यी काण्डबाट प्राप्त करोडौं रकम बराबरको सम्पत्ति व्यक्तिको निजी खातामा जम्मा भयो । अनि निगम टाट पल्टिने स्थितिमा पुग्यो । असुरक्षित उडान, लथालिंगे व्यवस्थापनका कारण निगमको बद्नामी पनि बढ्दै गएको छ । आन्तरिक उडानमा त तोकिएको समयमा जहाज उड्यो भने त्यसलाई आठौं आश्चर्य मान्दा फरक पर्दैन । आन्तरिक उडानमा नागरिक लाइन बसेर टिकट पाउँदैनन् तर सिट खालीखाली जहाज उडने गरिन्छ । यस्तो अवस्थामा नेपालमा अन्तर्राष्ट्रिय स्तरको ट्राञ्जिट सम्भव होला ? तर बिहानीले नै दिनको संकेत गर्छ भनेझै नेपाल वायु सेवा निगम घाटामै भए पनि सुधारोन्मुख छ । आएका सबै योजना कार्यान्वयन गर्ने अवस्थामा सुधारको अपेक्षा गलत हुन सक्दैन ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive