newsone

जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारत सरकारले सहयोग  गर्ने :

newstwo जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारत सरकारले सहयोग  गर्ने :

हरि अधिकारी 
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ मा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारत सरकारले सहयोग गर्ने निश्चित भएसँगै स्थानीय जनता उत्साहित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नै भारतले उपचार केन्द्रलाई सहयोग गर्ने घोषणा भएको हो ।

भारतले यो सहित सहयोगको १० क्षेत्र समेत पहिचान गरेको छ । नेपाल र भारतको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तनहुँमा जीपी कोईराला नेशनल सेन्टर फर रेस्पिरेटरी डिजिजेज स्थापना गर्ने घोषणा भएसँगै केन्द्रलाई सहयोग हुने निश्चित भएको हो ।

दक्षिण एसियाकै उत्कृष्ट श्वास प्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले नै केही वर्ष अघि पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा झरौटामा ७ सय रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ । सोही जग्गामा राष्ट्रियस्तरको उपचार केन्द्र र शिक्षण अस्पताल समेत सञ्चालन गरिने लक्ष्य लिइएको छ । 

स्थानीय स्तरवाट सञ्चालित सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व गत साउनवाट जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनवाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा दिन थालिएको छ । 

अस्पतालमा हाल ४ जना डाक्टर, ३ जना अमिन, ५ जना अहेव, २ जना ल्याव  टेक्निसियन, एकजना रेडियोलोजिस्टले २४ सै घण्टा सेवा दिँदै आएका छन् । अस्पतालको आकस्मिक सेवा सहित बहिरंग सेवा, स्त्रीरोग, सवारी दुर्घटना, नाक कान घाँटी, पेट सम्बन्धी उपचार, हाड जोर्नी सेवा, ईसिजी, ल्याव एक्सरे, भिडियो एक्सरे, सुत्केरी सेवा लगायतका सेवाहरु संचालन भएको छ । 

अस्पतामा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे नगरपालिका, रिसिङ गाउँपालिका सहित पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता समेत सेवा लिन आउने गरेका छन् । हाल २० शैयाको अस्पतालमा सवारी दुर्घटनामा घाइतेको अलावा झाडा पखला, सिजनल रुघाखोकी, टाइफाईड, ज्वरो, ग्याष्ट्रिक, पेट सम्बन्धी र हाडजोर्नीका विरामीहरु भने नियमिन आउने गरेका छन् । 

सुरुमा जग्गा सम्बन्धी केही विवाद रहेपनि हाल उक्त विवाद अदालतवाट किनारा लागिसकेकोले अव अस्पताल बन्न कुनै समस्या छैन । अस्पताल निर्माण कार्य जतिसक्दो छिटो सुरु गरिनुपर्ने स्थानीयको माग रहेको छ । 

भारत सरकारको सहयोग पछि स्थानीय सुविधासम्पन्न अस्पताल बन्ने र विरामी पर्दा धेरै रकम खर्च गरेर पोखरा काठमाडौं लगायतका अस्पतालमा जानु नपर्नेमा स्थानीयहरु ढुक्क रहेका छन् ।

(अनुगमन गरि तयार पारिएको)
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive