newsone

सीमा मिच्ने षड्यन्त्रमा भारत

newstwo सीमा मिच्ने षड्यन्त्रमा भारत

वीरगञ्ज । नेपाल र भारतको सीमा क्षेत्रमा विवाद देखिनु कुनै नौलो कुरा होइन । बर्षौ अघिदेखि भारतले नेपालको भू–भाग हडप्दै आएको छ । सीमा क्षेत्रका जनतामाथि कुटपिट गर्ने, लगाएको बाली नष्ट गर्ने लगायतका घटना पटक–पटक हुँदै आएको छ । भारतले सीमाको पिल्लर मर्मतसम्भारको नाममा पनि नेपाली भू–भाग हडप्ने गरेको छ । केही दिनअघि मात्र यहाँ त्यस्तै गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँ क्षेत्रमा मात्रै १२ जना भन्दा बढीको नम्बरीसहित झण्डै ५० विगाहा जमिन मिचिएको छ । स्थानीय जनताको नम्बरी जग्गामा पिल्लर गाड्ने काम गरिएको छ । पिल्लर गाड्नुपर्ने स्थान भने भारततिर पारिएको छ । मुख्य पिलर नम्बर ३९१ र ३९२ रहेको उक्त क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ पारिएको छ । स्थानीयका अनुसार पिलर नम्बर ३९२ को ६, ७ र ८ तथा २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा खेलकुद मैदानसहित नेपालको भाग भारतमा पर्न गएको छ । पिलर मर्मतसम्भारमा खटिएको नेपाली टोलीले स्थानीयको गुनासो नसुनेपछि स्थानीय जनताले प्रशासन नै गुहार्नु परेको थियो ।

वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासी पिलर गाड्न थालेपछि स्थानीय रवीन्द्र महतो कोइरी र वीरगञ्ज महानगरपालिका–१ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय पर्सामा रोक्का गरीपाऊँ भनी गत पुस ३० गते निवेदन दिएपछि पिलर मर्मतसम्भारको नाममा नेपाली भू–भाग भारतमा पार्ने षडयन्त्र अहिले पनि जारी रहेको तथ्य उजागर भएको हो । वडा कार्यालयले सीमास्तम्भ गाड्ने क्रममा नेपालको जग्गा तथा व्यक्तिगत नम्बरी जग्गामा समेत पिलर गाडिएकाले पिल्लर नं ३९१ सुन्दरपुर र ३९२ भकुवा ब्रम्हदेखि रामजानकी मन्दिरसम्मको नयाँ पिलर निर्माण कार्य तत्काल रोक्का गरी नेपालको भू–भाग छुट्याएर पिलर गाड्ने व्यवस्था मिलाउन भनेको थियो । नेपाली भू–भाग भारतमा पारिएको तथ्य बाहिर आएपछि अहिले काम रोकिएको छ । तर जनताले ध्यान नदिने हो भने जुनसुकै बेला पनि नेपाली भू–भागलाई भारतीय बनाउने सम्भावना छ । 

नेपाल र भारतबीच उच्चस्तरीय सहमति गरी सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको काम दुवैतर्फ भइरहेको छ । नेपालतर्फ सर्वे विभागको टोलीले काम गरिरहेको छ भने भारतमा एसएसबीले काम गरिरहेको छ । नेपाली टोली एसएसबीको अघि कमजोर देखिने गरेको छ । त्यही कारण स्थानीय जनताको जमीन भारतमा र पिलर गाड्ने स्थानमा पर्न थालेको हो । सीमा क्षेत्रमा यस्ता विवाद देखिनु सामान्य भए पनि भारतीय जनताको गुनासो नआउनु तर सधैं नेपालको सीमा मिचिनुले पनि भारतीय शासकको हेपाहा प्रवृत्तिको उजागर गर्दछ । नेपालका दर्जनौं स्थानमा भारतले सीमा मिचेको छ ।

अहिले पिलर मर्मत, सम्भार र निर्माणको क्रममा त्यसलाई वैधानिकता दिने षडयन्त्र पनि भइरहेको बताइन्छ । पिलर मर्मतको काम सुरु हुने वित्तिकै नेपाली जमिन भारतीय बनाउन खोजेपछि सीमा क्षेत्रका जनता आक्रोसित देखिन्छन् । उनीहरु एसएसबीबाट सधैं पाएको पीडा त सामान्य नै हो भन्दै नेपाली टोली नै एसएसबीको सामु झुकेपछि आक्रोसित देखिएका हुन् । पिलर र सीमा क्षेत्रको काम गर्दा सीमा क्षेत्रका जनता मात्रै होइन, सबै नै सचेत हुनुपर्ने आवश्यकता देखिएको छ । 

काम धमाधम हुने 

बीरगञ्जको जस्तो समस्या आउन नदिने गरी काम गर्ने अधिकारीहरु बताउँछन् । अर्थात् सीमा क्षेत्रको व्यवस्थापनको काम भने अघि बढ्नेछ । उनीहरुका अनुसार नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भ रहनेछन् । यीमध्ये करिब ६ हजार ६ सय ३ सीमा स्तम्भ दुवै देशको सहमतिमा निर्माण गरिसकिएको छ । बाँकी दुई वर्षमा सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सन् १८१६ को सुगौली सन्धि, सोही वर्षको पूरक सन्धि, सन् १८६० र १८७५ लगायतका सन्धि–सम्झौताका आधारमा नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा निर्धारण गरिएको छ । 

संयुक्त प्राविधिक टोलीले कालापानी र सुस्ताबाहेकको क्षेत्रको नक्सा तयारलगायतका काम गरिसकेको छ । सीमा नक्साका आधारमा सम्पूर्ण सिमानाको निरीक्षण गरी सीमा स्तम्भको स्थिति विवरण तयार, भत्केबिग्रेका सीमा स्तम्भको मर्मतसम्भार, हराएका सीमारेखा स्तम्भहरुको पुनस्र्थापना र दसगजामा भएको अतिक्रमणको लगत तयार पारेको थियो । सो काम सम्पन्न भएपछि निर्माण कार्य सुरु भएको हो र केही ठाउँमा निर्माण सम्पन्न समेत भइसकेको छ । निर्माण सम्पन्न भएका स्थानमा खासै विवाद नदेखिए पनि हाल निर्माण भइरहेको र भविष्यमा निर्माण हुने स्थानमा भने विवाद हुने निश्चित छ । भारतले पेल्ने र नेपाली पक्ष पनि त्यसैमा साथ दिने प्रवृत्तिको अन्त्य नभएसम्म विवाद बढ्ने विषयमा कुनै शंका छैन । 

सीमा स्तम्भ र पिलर निर्माण गर्दा नेपाली भू–भाग मिचिन नदिन सीमा क्षेत्रका जनता एकजुट हुन थालेका छन् । बिरगञ्जमा भएको पनि त्यही हो । स्थानीय जनता सचेत नहुने हो भने भारतले पेलेर नै काम गर्ने देखिएको छ । भारतको कार्यशैलीको कारण नेपाली भू–भाग भारतमा पर्ने त्रास छ, सीमा क्षेत्रमा । नेपाल र भारतबीच वर्षौदेखि रहँदै आएको सीमा विवाद टुंग्याउन आवश्यक छ । तर नेपाली जनताको जमीनलाई भारतमा पारेर विवाद टुंग्याउने या सीमा ब्यवस्थित हुन भने सक्दैन । अर्कोतिर नेपाल भारतको उच्चस्तरीय र प्राविधिक टोलीले समेत कालापानी र सुस्ताको बारेमा कुनै निर्णय गर्न सकेको छैन । कालापानी र सुस्ताको बारेमा खासै छलफल नै हुने गरेको छैन ।

भारतले त्यस क्षेत्रमा मिचेको जमीन छोड्न तयार नहुने हो भने नेपाल र भारतबीचको सीमा समस्या हल हुँदैन । कर्मचारीहरु नेपाल र भारतको सीमाको विषयमा राजनीतिक नेतृत्वले नै टुंग्याउनु पर्ने भनेर अनौपचारिक जानकारी दिन्छन् । तर राजनीतिक नेतृत्वले यस्ता विषयमा छलफल गरेको पाइँदैन । भारतीय पक्ष कर्मचारीस्तरबाट टुंग्याएर भारतीय पक्षको हात माथि पार्ने र नेपाली भूमिलाई भारतीय बनाउने षडयन्त्रमा छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive