newsone

चीनविरुद्ध उचाल्यो भारतले भुटान 

newstwo चीनविरुद्ध उचाल्यो भारतले भुटान 

लक्ष्मण पन्त

नयाँ दिल्ली । संसारका सबै मुलुकहरुमा सरकारहरुले  विकास र समृद्धिको मापन सकल राष्ट्रिय उत्पादन (जी.एन.पी.) का आधारमा तय गर्दछन् । तर भुटान मात्र संसारको यस्तो मुलुक हो जसले आफ्नो विकास र समृद्धिको आधार सकल राष्ट्रिय खुशी (जी.एन.एच.) लाई बनाएको छ ।  

त्यसैकारण यो देश कहिलेकाहिं विश्वमा चर्चामा आउने गर्दछ । भारतकै भिन्न प्रकारको उपनिवेशका रुपमा रहेको त्यही देश भुटानका लागि सकल घरेलु खुशी यतिखेर सर्वाधिक दुःखको घडीमा बदलिएको छ । भुटान चीनलाई पनि चिढाउन सक्ने स्थितिमा छैन, भारतसित निहुँ खोज्ने स्थितिमा त झनै छैन । सर्वाधिक दुःखको कारण बनेको छ– चीन र भुटानको सीमामा पर्ने डोकलाम क्षेत्र ।

एकातिर चीनले विवादित सीमा क्षेत्रमा यथास्थिति राखिराख्न दुबै मुलुकबीच भएको भनिएको सम्झौता विपरीत सडक निर्माण आरम्भ गरेकोमा भुटानलाई चिन्तित तुल्याएको छ भने अर्कोतिर भारतका तर्फबाट पर्ने दवाब थेग्न उसलाई गा¥हो भइरहेको छ । स्मरणहोस् कि भुटानको सुरक्षा र वैदेशिक मामिला भारतको नियन्त्रणमा रहेको छ ।

डोकलाममा सडक निर्माणबाट चिनियाँ सेना चुम्बी उपत्यका हुँदै भारतको सिलगढी करिडोरसम्म पुग्न सक्ने भारत सरकारको धारणा छ । सिलगढी करिडोरलाई चिकन नेक पनि भनिन्छ । भारतको उत्तरपूर्वका सातवटा राज्यहरुमा  प्रवेश गर्ने यो एकमात्र नाका हो ।

भारतीय सैन्य रणनीतिकारहरुको बुझाइमा चीन पूर्वमा भुटान र पश्चिममा सिक्किमसित जोडिएको खुँडा आकार भएको तिब्बतको चुम्बी उपत्यकामार्फत् भारतको रणनीतिक महत्वको क्षेत्रमा खुँडा प्रहार (सैन्य आक्रमण) गर्न चाहन्छ । यसै कारण भारतले भुटानकै सार्वभौमसत्ताको मूल्यमा विवादित क्षेत्रमा सडक निर्माण रोक्न सैन्यशक्तिको प्रयोग गरेको छ ।

समाचारहरुमा जनाइएअनुसार अहिले त्यहाँ चिनियाँ जनमुक्ति सेनाले सडक निर्माण कार्य रोकेको छ । झडपमा चिनियाँ सेनाले त्यहाँ रहेका केही भारतीय सैन्य पोस्टहरुलाई क्षतिग्रस्त बनाइदिएको छ । सार्वजनिक भएको भिडियोमा चिनियाँ र भारतीय सेनाबीच ठेलमठेल भएका दृश्यहरु सार्वजनिक गरिएका छन् ।

चीनले तिब्बत मानसरोबर यात्रामा जाने भारतीय तिर्थालुलाई फिर्ता पठाइदिएको छ । उसले भारतीय सेना चिनियाँ भुभागबाट फिर्ता नजाँदासम्म मानसरोवर यात्राको अनुमति नदिने जनाएको छ । स्थिति क्रमशः सैन्य मुठभेडतर्फ अगाडि बढिरहेको देखा पर्दछ ।

डोकलमलाई चीनमा डोङलाङ भनिन्छ । त्यस क्षेत्रमाथि चीनले आफ्नो भूभाग भएको दावी गरेको छ । भुटानमा त्यो भूभाग डोकलामको नामले जानिन्छ, जसमाथि भुटानले आफ्नो  दावी गरेको छ । भारतमा त्यस विवादित भूखण्डलाई डोकला भनेर चिनिन्छ ।

एउटा क्षेत्र तीन प्रकारका नाम ! यसैबाट मात्र पनि सो क्षेत्र अत्यन्त विवादास्पद रहेको छ भन्ने देखिन्छ । चीनले बेलायत र तिब्बतबीच १८९० मा भएको सम्झौता अनुसार डोकालाम क्षेत्र चीनको भूभाग भएको दावी गरेको छ । उसको यो पनि आपत्ति रहेको छ कि डोकलम क्षेत्रको विवाद लामो समयदेखि कायम रहेको चीन र भुटानबीचको सीमा विवाद हो छ ।

दुई देशबीचको सीमा विवादमा तेस्रो पक्ष अर्थात् भारतले हस्तक्षेप गर्नु  घोर आपत्तिजनक रहेको चीनको जिकिर छ । भुटानको दावीअनुसार पनि डोकलम क्षेत्र चीन र भुटानको सीमामा रहेको विवादित क्षेत्र हो । यो क्षेत्र  भुटान र चीनबीचको सीमामा रहेता पनि भारतको सिक्किम प्रान्तको चीनसित जोडिएको नाथुला र वरवरको भूभागको निकट रहेको छ ।

विगतमा भएका चीन भुटान सीमा वार्तामा दुवै पक्षबीच सो क्षेत्रको विवाद नटुंगिदासम्म यथास्थिति राखिने लिखित सम्झौता भएको भुटानको कथन छ । चीनले गत महिना मध्य जूनबाट त्यहाँ सडक निर्माण गर्न आरम्भ गरेर वार्तामा भएको उक्त सम्झौता तोडेको भुटानले चीनमाथि आरोप लगाएको छ ।

यस सम्बन्धमा भुटानले चीन सरकारलाई नयाँ दिल्लीस्थित चिनियाँ राजदूतमार्फत् विरोधपत्र बुझाएको थियो । भुटानको यो पनि कथन छ कि चीनले १८९० को जुन सम्झौताको हवाला दिने गरेको छ, त्यो बेलायत र भारतका बीचमा भएको सम्झौता हो, बेलायत र तिब्बतबीच भएको सम्झौता होइन ।

चीनले गत जूनको मध्यतिर डोकलाममा त्यहाँबाट १५।२० किलोमीटरको दूरीमा रहेको चीनको यार्दोङ शहरसित जोड्ने सडक निर्माण गर्न थालेपछि भारतीय सेनाले निर्माण स्थलमै पुगेर चिनियाँ सैनिकहरुलाई त्यहाँबाट पछि हट्न दबाब दिएको थियो । भुटानमा भारतका एक ब्रिगेड सेनाहरु तैनाथ छन् ।

ती सैनिकहरु मुख्यतः भुटानको चीनसित जोडिएको सीमामा तैनाथ रहेका छन् जहाँ भुटानी सैनिकहरुले भारतीय सैनिकहरुलाई सघाउँछन् । त्यसो त भुटान एउटा सार्वभौमसत्तासम्पन्न संयुक्त राष्ट्रसंघको सदस्य देश हो । भुटानको चीनसित कूटनीतिक सम्बन्ध छैन ।

२००७ मा भारत र भुटानबीच भएको सम्झौता अनुसार भुटानको वैदेशिक र सुरक्षा मामिलाहरु भारतीय सहयोगमा सञ्चालित हुन्छन् । चीनले  दुवै मुलुकबीचको विवादलाई बल्झाउने नियतका साथ भारतले निहुँ खोजेको आरोप  भारतमाथि लगाएको छ । भारतीय सैनिकहरु चिनियाँ भूभागमा प्रवेश गरेको आरोप समेत चीनले भारतमाथि लगाएको छ ।

डोकलम प्रकरणका कारण तिब्बतको मानसरोवर यात्रामा जाने तिर्थालुहरुको प्रवेशमा चीनले रोक लगाएको छ । डोकलममा झडपको स्थिति निर्माण भैसकेपछि भारतीय सेनाध्यक्ष जनरल विपिन रावत तत्कालै सिक्किमको भ्रमणमा गई त्यहाँको सुरक्षा अवस्थाको जानकारी लिएका छन् । यसबीच भारतीय र चिनियाँ सञ्चार माध्यममा चर्को प्रचारयुद्ध शुरु भएको छ ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले भारतमाथि भुटानको उत्पीडन गरेको, उसलाई चीन र अन्य कुनै पनि संयुक्त राष्ट्रसंघका स्थायी सदस्यहरुसित कूटनीतिक सम्बन्ध कायम गर्न रोकेर भुटानको कूटनीतिक स्वतन्त्रता अवरुद्ध पारेको, क्षेत्रीय प्रभुता लादेको आरोप लगाएको छ ।

चीनले भारतको सिक्किममा विलयलाई २००३ मा मान्यता दिएता पनि अब यसबारे पुनर्विचार गर्नु पर्ने सल्लाहसमेत ग्लोबल टाइम्सले दिएको छ । दुवै पक्षबीच चर्को तनावका बीच चीनियाँ जनमुक्ति सेनाले भारतलाई युद्धोन्माद नफैलाउन चेतावनी दिंदै भनेको थियो भारतले इतिहासबाट पाठ सिकेर युद्धोन्मादी  वक्तव्य दिन बन्द गर्नु पर्दछ ।

स्मरणीय छ कि भारतीय सेनाध्यक्षले डोकलाम घटनाका विषयमा बोल्दै भारत आफ्नो घरेलु युद्ध (अर्थात् काश्मीर) का अतिरिक्त पाकिस्तान र चीनका विरुद्ध लड्न सक्षम रहेको बयान दिएका थिए ।  चिनियाँ जनमुक्ति सेनाको वक्तव्यको जवाफमा भारतीय रक्षामन्त्री अरुण जेटलीले वर्तमान भारत १९६२ को भारत नभएको वक्तव्य दिएका थिए । स्मरणीय छ कि १९६२ को भारत चीन युद्धमा भारतको पराजय भएको थियो ।

यो युद्धको कारण पनि दुबै देशबीचको सीमा विवाद नै रहेको थियो ।  अरुण जेटलीको वक्तव्य केही हदसम्म ठीक रहेको भन्दै चीनले तत्काल प्रतिक्रिया जनाएको थियो । चीनको कथन थियो कि १९६२ को भारत भन्दा आजको भारत भिन्न रहेको जेटलीको भनाई गलत होइन तर आजको चीन पनि भारत जस्तै १९६२ को चीन होइन ।

दुबै शक्ति राष्ट्रका उपरोक्त वक्तव्यहरुले डोकलम प्रकरण दुवै मुलुकबीच युद्धको कारण बन्दै त छैन भन्ने चिन्ता विभिन्न क्षेत्रहरुबाट व्यक्त हुन थालेको छ । यी पंक्तिहरु लेख्दासम्म दुवैपक्ष आफ्नो अडानबाट पछि हट्न तयार देखिएका छैनन् । वाक युद्ध जारी छ । 

भारत र भुटानबीच २००७ मा सम्पन्न शान्ति र मैत्री सन्धिमा भुटानको वैदेशिक र सुरक्षा मामिला भारतको सहयोगमा सञ्चालन हुने उल्लेख गरिएको छ । यो सन्धिलाई हेर्दा र भुटानमाथि जसरी भारतको नियन्त्रण कायम रहिआएको छ त्यसबाट भुटान भारतकै भिन्न उपनिवेशकारुपमा रहेको देखा पर्दछ ।

भुटानका सुरक्षा, विदेशनीति, अर्थतन्त्र सबै भारतमाथि निर्भर छ । भुटानबाट तेस्रो मुलुकसित भारतको बाटो भएर मात्र सम्पर्क हुन सक्तछ । भुटानको यो स्थितिबाट भारतले चीनको भय  देखाएर लाभ लिन खोजेको छ । भुटानका एकजना कानून व्यवसायी शांगेले भारतले अनावश्यक रुपमा दुई मुलुकबीचको विवादमा भुटानलाई उक्साएको आरोप लगाएका छन् ।

उनले भुटान र चीनबीच पहिले पनि सीमा विवाद हुने गरेको र ती दुइपक्षीय वार्ताबाट समाधान हुने गरेको बताउंदै वर्तमान विवाद चीन र भुटानबीचको मात्र समस्या रहेको बताएका छन् । यसबीच डोकलाममा भारतीय संलग्नताको मुद्दामा अर्को एउटा आयाम थपिन पुगेको छ ।

ग्लोबल टाइम्सले आफ्नो एउटा लेख मार्फत् चिनिया सरकारलाई अपील गरेको छ कि यदि भारतले त्रिदेशीय सीमा क्षेत्रको चिनिया भूभागबाट सेना नहटाए सिक्किमलाई दिंदै आएको मान्यतामा चीनले पुनर्विचार गर्दै सिक्किमको स्वतन्त्रताका पक्षमा लाग्नु पर्दछ ।

पर्यवेक्षकहरुले अखवारको उक्त टिप्पणीलाई भारतमाथिको दबाबको रुपमा व्याख्या गरेका छन् । सिक्किमका मुख्यमन्त्रीले सिक्किम चीन भारतबीचको लडाई एकातिर र अर्कोतिर पश्चिम बंगालको विभेदकारी नीतिका कारण चर्किएको गोर्खाल्याण्ड आन्दोलनका बीचमा पिल्सिनु परेको एउटा गम्भीर वक्तव्य दिएका छन् ।  

यसैबीच एउटा नया घटनामा तिब्बतको धर्मशालामा रहेको निर्वासित सरकारका प्रधानमन्त्रीले लद्दाखको पांगोंग तालमा निर्वासित तिब्बती सरकारको झण्डा फहराएका छन् । चिनिया सञ्चार माध्यमले यस घटनाप्रति प्रतिक्रिया जनाउंदै  भनेको छ कि भारतले तिब्बत या दलाई लामाको कार्ड प्रयोग गरेर समस्याको समाधान हुने छैन । 

डोकलाम प्रकरणले विगत दुई तीन सातादेखि भारत र चीनका सञ्चारमाध्यमहरुमा प्रमुखता पाएको छ । तर भुटान भने यस मामिलामा लगभग मौन देखिन्छ । त्यहांका अखवारहरुका अनलाइन संस्करणहरुमा कहीं कतै डोकलामबारे चर्चा भएको मैले पाउन सकिन ।

हिन्दुस्तान टाइम अखवारका एकजना प्रतिनिधिले पनि डोकलामबारे दुबै मुलुकमा यतिविधि होहल्ला भइरहंदा भुटानका अखवारहरुमा त्यसको खासै चर्चा नभएको बताएका छन् । भारत र चीन दुवैतर्फबाट एकअर्काप्रति लक्षित वाकयुद्धको परिणति कस्तो होला, यसै भन्न सकिन्न ।  

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive