newsone

‘महर्जन विजनेश एसोसियट्स’ नियम संगत, विरोध गर्नु औचित्यहिन–कामनपा

newstwo ‘महर्जन विजनेश एसोसियट्स’ नियम संगत, विरोध गर्नु औचित्यहिन–कामनपा

काठमाडौं, माघ १५ गते । ललितपुरबाट ६० वर्षअघि इन्द्रचोकमा आएर कपडा बेचेर कमाएको तीनपुस्तै सम्पत्ति र सबै अचल सम्पत्तिलाई दाउमा राखेर विजनेश कम्प्लेक्स बनाउन हामी तीन दाजुभाई लाग्यांै, तर हाम्रो सम्पत्तिमाथि अरु कसैको आँखा परेपछि कसरी सोझो मनले सहन सक्छ ?
आइतबार इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै सञ्चालक कृष्णलाल महर्जनले करिब ५० वर्षअघि बुबाले उक्त भवन खरिद गर्न नपाएको हामी बच्चाबेलादेखि सुनाइरहनुहुन्थ्यो, त्यही भएर करिब एकअर्बमा उक्त भवन खरिद गरेर साढे दुई अर्बमा निर्माण गर्ने लक्ष्य रहेको बताउँदै उक्त वेदना पोख्नुभएको हो ।
हाम्रो निजी सम्पत्तिको विषयमा विश्व सम्पदा क्षेत्रको कुरा निकालेर केही युवाहरुले विभिन्न खालको मानसिक तनाव दिइरहेकाले वास्तविकता जनतासमक्ष पुगोस् भनेर पहिलो पटक पत्रकार सम्मेलन गरेको बताउँदै संचालक महर्जनले दुखेसो पोख्दै भन्नुभयो, ‘दिनदिनै काम नपाएका युवाहरुको एक समूहले हाम्रो भवन वरपर भवन निर्माण गतिविधिको विरोध मात्र होइन, युनेस्को प्रतिनिधिको पुत्लादहन समेत गरे, हाम्र्रै निजी भवनमै विरोधस्वरुप ब्यानर राखे ।’
सञ्चालक महर्जनले पूरानो भवन भत्काएर पुनः निर्माण गर्दा साविककै उचाईमा जान पाउने प्रावधान पूरातत्व विभागकै रहेकाले पनि ५३.३ फिट अग्लो भवन निर्माण हुन सक्ने भए पनि हामीले सम्पदाकै लागि चारतल्ला मात्र स्विकृति लिएको स्पष्ट पार्नुभयो ।
‘भूकम्प प्रतिरोधी बनाउनको लागि दुईफिटको बिम राख्नैपर्ने भएकाले केही हाइट बढेकाले तीन तल्लासम्म ३१ फिट भएको छ । आधिकारिक निकायको कुनै रोक्का पत्र पनि आएको छैन, तर बाहिर रोक्का भइरहेको भनेर हल्ला भइरहेको रहेछ । बिल्डर्सले तीनतल्लाको फिनिसिङ गरिरहेको छ ।’ उहाँले भन्नुभयो, ‘युनेस्कोले पनि भवन निर्माणको विषयमा विश्व सम्पदा क्षेत्रभित्र नपर्ने जानकारी सबै पक्षलाई दिइसके पनि विरोधका कुराहरु बाहिर आइरहेको छ । हामीले पत्रकार सम्मेलन विरोध भएर होइन कि यस विरोधले हाम्रो मानसिक तनाब बढाइदिएको र लाचार जस्तै बनाइदिएकाले गर्न वाध्य भएको हो, सत्य तत्य बाहिर आउनुपर्छ ।
भवन निर्माणसँगै अहिलेको जमाना सार्वजनिक नाट्यश्वर देवता (नासः द्यः)को १५ लाख रुपियाँमा जिर्णाेद्वार गर्ने हामी सम्पदीप्रेमी कि हाम्रो निजी भवनमाथि गिद्धेदृष्टि लगाएर विरोध गर्ने सम्पदाप्रेमी भन्ने विषयमा सत्य तथ्य सञ्चारगृहबाट बाहिर आउने सञ्चालक महर्जनले विश्वास लिनुभयो ।
यसैबीच, उक्त भवनले विश्व सम्पदा क्षेत्रलाई नकारात्मक प्रभाव पार्न सक्ने भन्दै केहीले विरोध गरेपछि काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पूरातत्व विभागकै स्विकृतिमा नक्सा पाससहित भूमिगत तल्ला निर्माण भएकाले विरोध गर्नु औचित्य नभएको बताउनुभयो ।
‘अहिलेसम्म महर्जन विजनेश एसोसियट्सको भवन ३१ फिट भइसकेको छ, धर्मपथ र दरबार स्क्वायरको बाटोमा अझैं चारफिट बनाउन पाउँछ, भित्रतिर चारतल्लासहित ४२ फिटसम्म जान पाउँछ, ब्यवहारिक रुपमा अरु घरहरु पनि यस्तै हो ।’
ब्यापारिक र आवासीय भवनको क्षेत्रफल दुईहजार वर्गफिटभन्दा माथि रहे भूमिगत तल्ला राख्नैपर्ने नगर विकासको नियम रहेकाले करिब ६ हजार २ सय ६५ वर्गफिटमा भवन निर्माण भएकाले सोही अनुसारले  थप भूमिगत तल्लाको स्विकृत भएको उहाँले स्पष्ट पार्नुभयो । 
भूमिगत तल्लाबाट भएर दरबार क्षेत्रमा सुरुङ खनेर बहुमूल्य सम्पत्तीहरु चोरी हुुनसक्ने भन्ने प्रश्नमा दुईफिटको सेयरवालसहित भूमिगत ढलान भएकाले सुरुङ खनेर चोरी हुन्छ कि भन्नु ‘आकास खस्छ कि’ भन्नु जस्तै भएको उहाँले बताउनुभयो ।
यसैबीच, पूरातत्व विभागको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले पूरातत्व महत्वको दरबार नजिक निर्माण हुँदै गरेको भवन चारतल्ला बनाउँदा ४५ फिट हुने भएकाले आफूहरुको ध्यानाकर्षण भएको बताउनुभयो ।
‘‘३५ फिटसहित चारतल्ला बनाउँदा तीनचार फिट तलमाथि भए बेवास्ता गर्न सकिन्थ्यो, तर भवन सम्पदा क्षेत्रको बफर जोनमा थप भूमिगत तल्लासहित निर्माण भएकोले उचाई र भूमिगत तल्लाबारे बाहिर मिडियामा आएको हो, भूमिगत तल्ला पनि निर्माण गर्ने र चार तल्लाको स्विकृत छ भन्दै ४५ फिटसम्मको घर बनाउन पाईंदैन’’ प्रमुख अरुणा नकर्मी बताउनुहुन्छ ।
तर पूरातत्व विभागद्वारा तयार पारिएको हनुमानढोका संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माण सम्बन्धी मापदण्ड, २०६४ अनुसार ‘‘परम्परागत शैलीमा पुराना घरहरुको उचाईं ३५ फिट भन्दा माथि रहेछ भने त्यस्ता घरहरुको पुनःनिर्माण साविककै उचाईलाई कायम राखी पुनःनिर्माण गर्न अनुमति दिइनेछ,’’ उल्लेख भएकाले सोही अनुसार जान पाउनुपर्ने माग सम्बद्ध पक्षसँग सञ्चालक कृष्णलाल महर्जनले गर्नुभयो । 
‘‘करिब २० आनामा निर्माणाधिन भवनको भूमिगत तल्लामा दुईफिटको सेयरवाल र दुई फिटको बिम अनिवार्य रुपमा राखिएको छ, अन्य भवनहरु ४, ६ र ८ तल्लासम्म बन्दा किन कसैको ध्यान जाँदैन ?’’ सञ्चालक महर्जनले सम्बद्ध पक्षसँग प्रश्न गर्नुभयो । 
भवनभित्र कुमारीको मन्दिर छैन, निजी घरको खोपीमा रहेको कुमारीको आकृतिलाई मन्दिर रहेको भनेर गलत प्रचार नगर्न विरोधमा उत्रेको समूहको ध्यानाकर्षण गर्नुभयो । -उपेश महर्जन

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive