newsone

राजनीतिमा निरन्तर क्रियाशील हितमान शाक्य

newstwo राजनीतिमा निरन्तर क्रियाशील हितमान शाक्य

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता हितमान शाक्य काठमाडौं १० बाट निर्वाचनमा उठेकाले ह्वात्तैमा चर्चामा छन् । २०६४ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जितेको क्षेत्र हो यो । माओवादी पार्टीमा आएको टुटफुटका कारण प्रचण्डलाई २०७० मा प्रतिस्पर्धामा जितेका राजन केसी प्रतिस्पर्धी भएकाले हितमानलाई जित्न कठिन हुने विपक्षीहरुले बताउने गरेका छन् । 

राजन केसीले त्यस समयमा निर्वाचन जितेको भन्दा पनि प्रचण्डले निर्वाचन हारेका थिए । निर्वाचन जितेर पनि काठमाडौं १० को विकास र समृद्धिमा केसीले खासै केही गरेका छैनन् । वाम गठबन्धनको बलियो उपस्थिति तथा उम्मेदवार हितमान शाक्यको राजनीतिमा निरन्तरको क्रियाशीलता, परिपक्व, बौद्धिक र स्वच्छ छवि भएकाले यसपटक राजन केसी पराजीत हुने अधिकांश कीर्तिपुरवासी बताउँछन । चार दशकदेखि निरन्तर राजनीतिमा लागेका हितमान पनि आफूले निर्वाचन जित्नेमा ढुक्क छन् । 

वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागितासहित राजनीतिमा प्रवेश गरेका हितमान शाक्य वि.सं. २०३६ सालको स्ववियू निर्वाचनमा महेन्द्र बहुमुखी क्याम्पस, बाग्लुङमा सहसचिवमा विजयी भएका हुन् । वि.सं.२०४० सालमा अ.ने.रा.स्व.वि.यु. को जिल्ला अध्यक्ष तथा उपकेन्द्रीय सदस्य भएका शाक्य वि.सं.२०४२ सालमा अ.ने.रा.स्व.वि.यु. को केन्द्रीय सदस्य भए ।

वि.सं.२०४२ सालमै विद्यार्थी आन्दोलनको क्रममा बाग्लुङमा यातनासहित हिरासतमा रहेका उनी वि.सं.२०४५ सालमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको स्ववियू निर्वाचनमा सचिवमा विजयी भएका थिए । वि.सं.२०४६ सालको पञ्चायती विरोधी आन्दोलनको क्रममा निर्मम यातनासहित भरतपुरमा जेलजीवन गुजारेका थिए । वि.सं.२०४८ सालमा अ.ने.रा.स्व.वि.यु. (क्रान्तिकारी) को शाक्य केन्द्रीय अध्यक्ष बने ।

वि.सं.२०४९ सालमा नेकपा (एकता केन्द्र) को वागमती क्षेत्रीय ब्यूरो सदस्य, वि.सं.२०५० सालमा संयुक्त जनमोर्चा, नेपालको केन्द्रीय कोषाध्यक्ष, वि.सं.२०५१ सालमा नेकपा (माओवादी)को काठमाडौं जिल्ला पार्टीको जिल्ला सचिव,वि.सं.२०५२ साल फागुन १ गतेदेखि १० वर्ष भूमिगत राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।

वि.सं.२०५४ सालमा नेकपा (माओवादी)को केन्द्रीय समितिको सदस्य, वि.सं.२०५४ सालमा नेकपा (माओवादी) को धौलागिरी लुम्बिनी उपक्षेत्रीय ब्यूरोको इञ्चार्ज,    वि.सं. २०५७ सालमा नेकपा (माओवादी) को पोलिट्ब्यूरो सदस्य, वि.सं.२०५७ सालमै नेकपा (माओवादी)को जनकपुर सगरमाथाको क्षेत्रीय ब्यूरो इञ्चार्ज, वि.सं.२०६० सालमा नेकपा (माओवादी) को मेची कोशी क्षेत्रीय ब्यूरोको इञ्चार्ज तथा जनमुक्ति सेना, नेपालको फष्ट डिभिजनको राजनीतिक कमिसार र वि.सं.२०६३ सालमा नेकपा (माओवादी) को नेवाः राज्य समितिको इञ्चार्ज भएका थिए । वि.सं.२०६३ सालमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय अध्यक्षसमेत भएका थिए ।

वि.सं. २०६४ सालको संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र–६ बाट सभासद विजयी भएका उनी हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय सदस्य तथा ३ नं प्रदेशको इञ्चार्ज छन् । निर्वाचनमा केन्द्रित रहेर शाक्यसँग गरिएको संक्षिप्त कुराकानी : 

हिजो जितेको काठमाडौं क्षेत्र नम्बर ६ छोडेर यहाँ किन आउनुभयो ?
– हो, वि.सं. २०६४ सालमा काठमाडौं क्षेत्र नम्बर ६ बाट संविधानसभाको सभासदमा जितेको हँु । वि.सं. २०७० सालको दोश्रो संविधानसभामा सहभागी रहन सकिनँ । त्यो कार्यकाल मेरो लागि ‘ग्यापिङ’ भयो । र, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएपछि हाम्रो पार्टीले प्रतिनिधिसभाको लागि तीन वटा क्षेत्र पाएको छ । काठमाडांै क्षेत्र नम्बर ६ मा पार्टीका सहयोद्धा झक्कुप्रसाद सुवेदीलाई र क्षेत्र नम्बर १० मा मलाई उम्मेदवार बनाउने पार्टीको निर्णय मात्र होइन स्थानीय बासिन्दाको मागलाई हेरेर यहाँ मलाई पठाइएको छ । काठमार्डांै क्षेत्र नम्बर १० नेवार बाहुल्य बस्ती भएको र मेरो स्थायी बसोबास पनि यही कीर्तिपुरको पश्चिम दिशास्थित विष्णुदेवी बखु क्षेत्रमा रहेकाले पार्टीको निर्णय अनुसार उम्मेदवार बनेको हुँ ।

स्थानीय नेता–कार्यकर्ताहरुको विकास अवरुद्ध पार्न खोजिएको आरोप लागेको छ नि तपाईंमाथि ?
– स्थानीय नेताहरुको भाग खोस्ने गरी पार्टीले मलाई उम्मेदवार बनाएको होइन । म यही बसोबास गर्ने स्थानीय बासिन्दा हुँ । म बाग्लुङमा जन्मे पनि मेरो पुख्र्याैली थातथलो यही वागमती उपत्यका (स्वनिगः) नै हो । मेरो पुर्खाहरु आफ्नो थातथलोबाट विस्थापित हुँदै बाग्लुङमा पुगे पनि अहिले म मेरो मातृभूमि खोज्दै यस क्षेत्रमा आएको हुँ । वि.सं. २०४५ सालदेखि निरन्तर रुपमा मैले यही क्षेत्रमा रहेर विद्यार्थी राजनीतिदेखि भूमिगतकालका अधिकांश जीवन बिताएको छु । मेरा लागि यस क्षेत्रका हरेक कुनाकाप्चाहरु पानी पँधेराजस्तै समान छ । यस क्षेत्रमा पार्टीका उपल्ला तहका नेताहरु आएकाले स्थानीय नेतृत्व नजन्मने भन्ने गुनासो सही नै हो । तर, वामपन्थी गठबन्धनका कारणले अहिले मेरो उम्मेदवारी परे पनि आउँदो दिनहरुमा स्थानीय सक्षम नेताहरुले नै यो अवसर पाउछँन् । आउने दिनहरुमा स्थानीय नेता जन्माउनको लागि मेरो पद र जिम्मेवारीबाट पूरापूर सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्छु ।

पार्टी अध्यक्ष पराजीत क्षेत्रमा तपार्इं ‘फलामको च्युरा चपाउन’ किन आएको भन्ने स्थानीय विपक्षीको भनाइबारे के भन्नुहुन्छ ? 
– वि.सं. २०६४ सालको चुनावमा हाम्रो नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यहाँका न्यायप्रेमी जनताले विजयी बनाएको हो । तर, वि.सं. २०७० सालमा उहाँले जित्नु नसक्नुको मूल कारण हामी एकताबद्ध नभएकाले हो । यस्तै वि.सं २०५६ सालमा पनि नेकपा (एमाले) र नेकपा (माले) विभाजित हुँदा पनि वामपन्थी उम्मेदवार पराजित हुनु पुगेको कटु यथार्थ हामी सामु छ । एकताबद्ध पार्टी विभाजित हुँदा जनता, कार्यकर्ताहरु निराश बन्ने हुँदो रहेछ । जसको परिणामले उहाँ पराजित हुनुभयो । अहिले त्यस्तो स्थिति छैन । ठूलठूला विभाजित माओवादी घटकहरु एकताबद्ध भएका छन् । त्यसमा पनि नेपालका ठूला वामपन्थी घटकहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकताको संघारमा छ । पार्टी एकताको उद्देश्यसहित यी दुई पार्टीबीच चुनावी तालमेल भएको हो । वाम उर्वरभूमिको रुपमा रहेको काठमाडांै क्षेत्र नम्बर १० का जनता यो वाम तालमेलपछि ठूलै उत्साह र जाँगरका साथ उठेका छन् । यो जागरणका कारणले जनताले निश्चित रुपमा वाम तालमेलको पक्षमा मतदान गर्नेछ भन्ने मैले देखेको छु । शान्ति र समृद्धि, सामाजिक न्याय, स्थिर सरकारको मूल एजेन्डा लिएर आएको यो गठबन्धनको पक्षमा मैले ठूलै जनउभार आउने परिदृश्य देखेको छु । कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरी नगरपालिका समावेश भएको यस क्षेत्रका साझा उम्मेदवार प्रतिनिधिसभाको लागि गोलाकारभित्रको हँसिया र हथौडा चिन्हमा मलाई, प्रदेशसभा ‘क’ को लागि गोलाकारभित्रको हँसिया र हथौडामा दिलिप महर्जनलाई र प्रदेशसभा ‘ख’को लागि सूर्य चिन्हमा रमा आलेमगरलाई मतदान गरी अत्याधिक रुपमा विजयी गराउनु हुनेछ भन्ने आशा लिएको छु । विभाजित भएको बेलामा त्यसो भए पनि अहिले त्यस्तो स्थिति छैन ।

दुई दिशामा रहेको कम्युनिष्ट पार्टीबीच साँच्चीकै एकता हुन्छ ? 
– लामो समयसम्म नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा रह्यो । यो कम्युनिष्ट आन्दोलनको नकारात्मक विरासत हो । यही कारणले गर्दा प्रतिगमनकारी अवसरवादी र यथास्थितिवादीहरुले अवसर प्राप्त ग¥यो । स्थानीय तहको निर्वाचनको जनमतलाई विश्लेषण गर्दा कम्युनिष्टहरु एकताबद्ध हुँदा देशमा स्थिर र समृद्धिको सम्भावना बलियो, विभाजित हँुदा प्रतिगमनकारीहरु र यथास्थितिवादीहरु हावी हुने चित्र देखापर्छ । यो स्थितिको विश्लेषणसहित दुई पार्टीका शिर्षस्थ नेताहरुको दिमागमा पार्टी एकताको आवश्यकताबोध भयो । र, पार्टी एकता संयोजन समितिद्वारा निर्वाचन लगत्तै पार्टी एकता सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हेर्दा अचानक र आश्चर्यचकित पार्ने गठबन्धन बनेको जस्तो देखिए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा दुई पार्टीबीच समान धारणा बनेकाले पार्टी एकता सम्भव भएको हो । यो कुनै एकले अर्काेलाई उपयोग गर्ने र सरकारमा जाने सत्तालिप्साको चेतनामा बनेको गठबन्धन होइन । विचार र राजनीतिकै आधारमा पार्टी एकता गर्ने उद्देश्य छ । माथिल्लो तहबाट हुँदै तलसम्म पार्टी एकताको समायोजन प्रक्रिया हुन्छ । त्यसैले माथिल्लो स्तरमा एकता हुने र स्थानीय तहमा नहुने भन्ने हुँदैन । फुटेको माटोका भाँडा जोडिने स्थिति त हुँदैन तर दुई बलिया फलामहरु वेल्डिङ ग¥यो भने पहिलाको भन्दा पक्कै पनि मजबुत, बलियो र टिकाउ हुन्छ । यसमा कुनै शंका लिनुपर्ने आवश्यकता छैन ।

पहिला माओवादी आन्दोलनमा रहेका र अहिले अर्कै माओवादी पार्टीमा लागेका केही उम्मेदवारहरुकै कारणले के तपाईंलाई असहज हुँदैन ?
– विचार र सिद्धान्त भन्दा पनि ब्यक्तिगत असन्तुष्टि र संकीर्णताले कसैलाई पनि भलो गर्दैन । त्यसमा पनि उहाँहरुको त्यति सा¥हो जनाधार छैन । कार्यकर्ताहरु पनि त्यति छैन । त्यसैले यो निर्वाचनमा उहाँहरुका कारणले न्यायप्रेमी जनताहरु दिग्भ्रमित र अन्योल हुनुपर्ने कुनै आवश्यकता छैन । उहाँहरुका उपस्थितिले त्यति ठूलो अप्ठ्यारो पर्ने मैले देखेको छैन । उहाँहरुलाई मेरो आग्रह र अनुरोध छ, कम्युनिष्ट एकताको महान प्रक्रियामा आप्mना आग्रह र संकीर्णतालाई परित्याग गरी पार्टी एकताको अभियानमा समाहित हुन हार्दिकताका साथ आग्रह गर्दछु । क्षणिक आवेग र कुण्ठाले कसैको पनि भलो हुँदैन भन्ने कुरा हामी आफैंले पनि सिकिसकेका छौं । 

थप केही भन्नु छ कि ?
– काठमाडांै क्षेत्र नम्बर १० का जनतालाई जागृत गराउनको लागि ठूलो योगदान पु¥याएको अनुभूति गरेको छु । यो निर्वाचनको प्रक्रियामा पनि त्यही किसिमले जनतालाई जागृत र उत्साह पैदा गर्न अह्म भूमिका निर्वाह हुनेछ भन्ने विश्वास लिएको छु । 
ससाना अन्तरविरोध र समस्या जरुर छन् तर सामाजिक परिवर्तनका लागि रणनीतिक अभियानमा हामी सबै जुटौं ! निर्वाचन त्यो अभियानको लागि महत्वपूर्ण खुड्किलो अवश्य हो तर यतिमै हाम्रो यात्रा रोकिदैंन । हाम्रो लक्ष्य पूरा हुँदैन । काठमाडौं–१० का जनता, राजनीतिक दलका कार्यकर्ता, नागरिक समाजका अगुवासँग मिलेर म निरन्तर लागिरहनेछु ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive