newsone

जीर्णोद्धारको पर्खाइमा ऐतिहासिक सिन्धुलीगढी

newstwo जीर्णोद्धारको पर्खाइमा ऐतिहासिक सिन्धुलीगढी

गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्री नयाँ अभियानमा लागेका छन् । उनले ऐतिहासिक सिन्धुली गढी जिर्णाेद्वार एवम् पुननिर्माण परियोजनाका लागि एनआरएनलाई घच्घच्याएका छन् । यसका लागि उनले अध्ययन गर्ने जिम्मेवारी पाएका छन् । यसको प्रस्ताव तयार गर्दैछन् । 

विदेशमा बसेका नेपालीहरुलाई नेपाल फर्कदा दीर्घकालीन रुपमा आर्थिक राहत होस् भनेर हजारे अभियान सञ्चालन गरेर प्रवासी नेपालीबीचमा निकै लोकप्रिय भएका डीबीको यो ऐतिहासिक कार्यको रणनीतिक महत्व रहेकोमा द्विविधा छैन । 
किन डीबीले यस्तो ऐतिहासिक कार्य रोजे त ? यसमा उनले के लाभ देखे ?

उनी भन्छन, ‘म सिन्धुली जिल्लामा जन्मिएको/हुर्किएको हुँ । हामीले सानामा देख्दाको सिन्धुली गढी अहिले भग्नावशेषमा बदलिदैं गएको छ । आधुनिक नेपालको इतिहास निर्माणको चरणमा तत्कालीन विश्व महाशक्ति बेलायतको इष्ट इण्डिया कम्पनीका विरुद्ध नेपाली फौजले जितेको त्यो ऐतिहासिक किल्ला भग्नावशेषमा बदलिएको देख्दा पीडाबोध भएकाले म आफू आबद्ध भएको संस्थामा यो प्रस्ताव गरेको हुँ । जसको संयोजन, पहलबाट सम्भव छ । यसले नेपालको साहसको अन्तर्राष्ट्रीकरण गर्नमा मद्धत हुने विश्वास लिएर म लागेको हुँ ।’

यसको ऐतिहासिकताका बारेमा त अस्पष्ट छैन । तर, तपाईंले यसमा सक्रियता देखाउनुभएकोमा धन्यवाद । यो कार्य सम्भव होला ? 
– यसमा हाम्रोमात्र प्रयासले सम्भव छैन् । विश्व विजयी बनिरहेको अंग्रेज फौजलाई नेपाली सेनाले जनताको सहयोगमा गरेको छापामार युद्धकौशलता प्रयोग गरेर विजय हासिल गरेको इतिहास चानचुने होइन । नेपालको सेनाको अगुवाइमा बेलायती सेनालाई हराई राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्तालाई बचाउनु धेरै ठूलो गौरव हो । गौरवपूर्ण इतिहास भएको सिन्धुलीगढी जीर्णमात्र नभएर यस परिसरमा रहेका पुरातात्विक महत्वका वहुमूल्य सामानहरु हराइसकेका छन् । अब विस्तारै ठाउँ नै हराउने र प्राकृतिक जस्तो बनेको किल्ला भत्कने खतरा छ । यसलाई सबै मिलेर यहाँभन्दा बढी विग्रन दिनु भएन । सबैले इमान्दारितापूर्वक पहल लिंदा सम्भव छ । 

सिन्धुली गढीको संरक्षणका नाममा सरकारी र गैरसरकारी निकायबाट धेरै रकम संकलन गर्ने र आफ्नो स्वार्थ साध्ने गर्दै आएको पाइन्छ । यो पनि त्यस्तै परियोजना हो कि ?
– अरुले के गरे त्यसमा धेरै मलाई थाहा छैन । यसमा म सरोकार पनि राख्दिन । यो परियोजनालाई अगाडि बढाउनुमा व्यक्तिगत कुनै स्वार्थ हाम्रो छैन । नेपालको गौरवपूर्ण इतिहासलाई अन्तर्राष्ट्रीयकरण गर्नु, स्वाधीनताको प्रतिक मानिएको गढीको सम्मान गर्नु, पर्यटन बढाउनु हाम्रो उद्देश्य छ । 

यो कामलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?     
– म फेरि दाहो¥याउँछु, यो हाम्रो मात्र प्रयासले सम्भव छैन् । यसमा राज्यको निकाय, जनता जोडिनैपर्छ । हामीले त संयोजनमात्र गर्न खोजेका हौं । 
हामीले यसलाई तीन चरणमा काम गर्ने सोंचेका छौं । यसै अनुसार प्रस्ताव गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । 
पहिलो चरणमा भग्नावशेषको रुपमा रहेको आधिकारिक सिन्धुलीगढी परिसरको पहिचान गर्ने । ती स्थानहरुको स्पष्टता, ऐतिहासिकता एवम् तथ्याङ्कहरुको अनुसन्धानद्वारा पुष्टि गर्ने । 
अर्काे, आधिकारिक सिन्धुलीगढी परिसरको पहिचान गरिसकेपछि जीर्णोद्वार पूरा नहुञ्जेलसम्मका लागि त्यस क्षेत्रलाई तत्काल निषेधित क्षेत्र घोषणा गरी नेपाली सेनाको एक टुकडी नियमित तैनाथ गराउन पहल गर्ने । 
तेस्रो, स्थानीयवासीहरुसँग भएका एवम् हुनसक्ने पुरातात्विक महत्वका सामानहरुको संकलन एवम् सम्भार गर्ने । 
द्वितीय चरणमा अध्ययन–अनुसन्धानबाट फेला पारिएका ऐतिहासिक वस्तुहरुलाई तीसँग सम्बन्धित नेपाल सरकारको मन्त्रालय, इतिहासविद, नेपाली सेना आदिसँग समन्वय गरी जुन जस्तो हालतमा स्थापित हुनुपर्ने हो सोही बमोजिम प्रतिस्थापन गर्ने । 
दोस्रो, हाल विद्यमान रहेको गढी दरबारको भग्नावशेषलाई जीर्णोद्वार गरी व्यवस्थित ऐतिहासिक एवम् पुरातात्विक चीजहरुका संग्रहालयका रुपमा विकास गर्ने । 
तेस्रो,  विभिन्न ऐतिहासिक दस्तावेजहरुमा उल्लेखित तर हाल हराइसकेका सामानहरुका तत्कालीन अवस्थाकै रुपमा प्रतिमुर्तिहरु तयार पारी स्थापना गर्ने । 
चौथो, ऐतिहासिक तथ्यहरुको शीलापत्र एवम् ताम्रपत्र स्थापना गर्ने । 
पाँचौ, सिन्धुलीगढीको लडाईंमा नेपाली फौजको नेतृत्व गर्ने शिकारी वंशु गुरुङ्ग तथा तत्कालीन समयमा उक्त स्थान वरपर बसोबास गर्ने सम्पूर्ण तमाम सर्वसाधारण एवम् तिनले देखाएका बहादुरीपूर्ण सहभागिता एवम् अङ्ग्रेजी फौजका कमाण्डर कप्तान किनलक दुबैको शालिक स्थापना गर्ने । 
छैटौं, इतिहासमा उल्लेखित घटनाहरुका आधारमा लडाईंका झाँकीहरु दर्शिने गरी प्रतिमुर्तिहरु निर्माण गरी ती स्थानहरुमा स्थापना गर्ने । 
तेस्रो चरणको पहिलो, नेपाल राज्य एकीकरण जस्तो ऐतिहासिक कार्यको आधिकारिकता एवम् त्यसको रक्षाका लागि एउटा ऐतिहासिक पर्यटकीय स्थलका रुपमा यस क्षेत्रलाई स्थापना गर्ने । 
दोस्रो, यस स्थलको महत्व एवम् तत्कालीन विश्व महाशक्ति बेलायतसँग छापामार युद्ध लडी आफ्नो सार्वभौमिकता, स्वाधीनता एवम् राष्ट्रिय एकता जोगाउन सक्ने नेपालको सैन्य साहसको गाथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार–प्रसार गर्ने । 
तेस्रो, यस क्षेत्रलाई समग्रमा सामाजिक एवं सांस्कतिक धरोहरकै रुपमा पनि स्थापना गर्न स्थानीयवासीहरुसँग विविध प्रकारले सहकार्य गर्ने । 
चौथो, अठारौं—उन्नाईसौँ शताब्दीमा नेपालको युद्ध तकनिकी एवम् युद्ध कौशलका नेपाली विशिष्टताबारे अध्ययन गर्न सकिने स्थलको रुपमा विस्तारित गर्ने । 
पाँचौ, जिर्णोद्वार गरी तयार पारिएको यस गढी परिसरलाई नियमित संरक्षण एवम् सम्बद्र्धनका खातिर सिन्धुलीगढी संरक्षण प्रतिस्ठान या कुनै अर्को नामको राजकीय महत्वको निकायको रुप प्रदान गर्ने । 
छैटौं, समग्र पर्यावरण एवम् अर्ध–उष्णप्रदेशीय हावापानीमा रहने जीवजन्तु तथा वन पैदावारबारे अध्ययन भ्रमण, शैक्षिक भ्रमणहरुको महत्वपूर्ण गन्तब्यको रुपमा स्थापना गर्ने ।
सातौं, जीर्णोद्वार पूरा भइसकेपछि सार्वजनिक अवलोकनका लागि खुला गर्ने र समग्र गढी परिसरको संरक्षण एवम् सम्भार ब्यवस्थापनाका निमित्त लाग्न जाने ब्ययभार अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरुबाट प्रतिब्यक्ति निश्चित रकम संकलन गर्ने ब्यवस्था गरी नियमित आम्दानीको श्रोत सिर्जना गर्ने । 

यति धेरै राम्रो योजना सोंच्नुभएको रहेछ । यसका लागि धेरै ठूलो रकमको व्यवस्था पनि गर्नुपर्छ । त्यसको बारेमा के योजना बनाउनु भएको छ ?
– मैले पहिले नै भनिसकें कि यो हाम्रो मात्र पहलले निर्माण र संरक्षण सम्भव छैन् । हामीले आर्थिक संकलनका साथै संयोजन गर्ने हो । सिन्धुलीगढी जीर्णोद्वार एवम् पुननिर्माणका लागि सम्भावित श्रोतहरु एवम् दाताहरु तथा सरोकारवाला संघसंस्थाहरु नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्थानीय विकास मन्त्रालय, राष्ट्रिय अभिलेखालय, त्रिभुवन विश्वविद्यालय, इतिहास विभाग, नेपाल पर्यटन बोर्ड, होटेल महासंघ नेपाल, पर्यटन महासंघ नेपाल, टुरिष्ट गाइड महासंघ नेपाल, संयुक्त राष्ट्रसंघका सांस्कतिक क्षेत्रबारे सरोकार राख्ने निकायहरु,  ऐतिहासिक धरोहरहरुको संरक्षण एवं सम्भारका लागि विश्वभर काम गरिरहेका संघसंस्थाहरु हुनसक्छन । 
यति राम्रो अवधारणा प्रस्तुत गर्नुभएकोमा धन्यवाद ।  
यो तपाईं हामी सबैको पहलमा गरिने ऐतिहासिक काम हो । यसमा सम्पूर्ण नेपाली जनतालाई नै प्रत्यक्ष/अप्रत्यक्ष सहभागी गराउन आवश्यक छ । हाम्रो पुस्ताले यो काम सम्पन्न नगर्ने हो भने अर्काे पुस्ताले सिन्धुली गढीको गौरवपूर्ण गाथामात्र पढ्नेछ । त्यो ठाउँ जीर्णाेद्धार गर्ने अवस्थामा समेत रहने छैन ।  
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive