newsone

गंगामाया र केसीको सासमा बाँचेको कांग्रेस

newstwo गंगामाया र केसीको सासमा बाँचेको कांग्रेस

दीपक मैनाली

यतिबेला नेपाली कांग्रेस संसद, सडक र सम्बाद सबैतिर गंगामाया अधिकारी र गोविन्द के.सी.को नाममा राजनीति गरिरहेको छ । यस्तो प्रतित हुन्छ कि वीपीले प्रतिपादन गरेको कांग्रेसको लोकतान्त्रिक समाजवाद गंगामाया अधिकारी र डा. गोविन्द के.सी.को सासमा मात्रै अडिएको छ । त्यस्तो नहोस्, तर कदाचित् गंगामाया र डा. के.सी.को जीवन तलमाथि भयो भने कांग्रेसको भविष्य पनि उनीहरुको जीवनसँगै तलमाथि पर्नेछ । यतिबेला कांग्रेसको समाजवाद गंगामाया र डा. के.सी.को साससँग अडिएको छ । त्यसैले कांग्रेसलाई यतिबेला सबैभन्दा बढी छटपटि छ भने गंगामाया र डा. के.सी.को विषयमा छ ।

डा. के.सी.को अनसन

डा. के.सी. नेपाल सरकारका जागिरे हुन् । विदा लिएर वा नलिएरै अनसन बस्दा पनि उनको जागिर पाकिरहेकै हुन्छ । सरकारको जागिर खाएर सरकारविरुद्ध अनशन बस्ने अधिकार यदि संसारमा कसैलाई छ भने डा. गोविन्द के.सी.लाई मात्र छ । कांग्रेसको नजरमा यो कुन ‘तन्त्र’ हो ? आमजनता जान्न चाहन्छन् । सम्भवतः डा. के.सी. अहिले चौधौं पटक अनसन बसिरहेका छन् । कांग्रेस सरकारमा भएका बेलाबाहेक उनी प्रत्येक वर्ष विद्यार्थी भर्ना हुने समयमा अनसन बसिरहेकै हुन्छन् ।

असल मान्छे हुनका लागि असल नैतिक गुण पनि हुनुपर्छ भन्ने सामाजिक मान्यता छ । व्यक्तिगत हिसावमा डा. के.सी. असल मान्छे नै होलान् । तर सरकारी जागिर खाएर सरकारले यो खराव काम ग¥यो भनेर आमरण अनसन बस्ने जस्तो उच्च नैतिक र आत्मोत्सर्गको बाटो उनका लागि कति उपयुक्त होला ? डा. के.सी. र उनका अनुयायीहरुले यो विषयमा सोचून् । डा. के.सी. जस्तो असल स्वभावका व्यक्तिलाई कसैको स्वार्थको भारी बोकाएर मृत्युको मुखतिर धकेल्ने दुश्प्रयास भइरहेको हो कि भन्ने भान यतिबेला हुन्छ ।

नेपालमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका विकृति आमसरोकार र चासो विषय हो । डा. के.सी. स्वास्थ्य क्षेत्रका विज्ञ भएको हुनाले र उनी सरकारी जागिरे समेत भएको हुनाले उनको अनुभव यो क्षेत्रको सुधारका लागि उपयुक्त हुन सक्छ । तर सरकारको जागिर खाने एउटा कर्मचारी अथवा एउटा व्यक्तिले आत्मोत्सर्गको बाटो रोजेर न स्वास्थ्य क्षेत्रमा देखिएका विसङ्गति सुधार गर्न सम्भव छ न त परिवर्तन गर्न नै । अहिले न डा. के.सी.हठले स्वास्थ्य शिक्षाका क्षेत्रमा सुधार सम्भव छ न सरकारी अडानले । सामान्यतः साउनदेखि असोजसम्म विभिन्न स्वास्थ्य शिक्षण संस्थाले स्वास्थ्य शिक्षामा विद्यार्थी भर्नाका लागि छनौट गर्ने गर्दछन् । यो बेला देशभित्र अध्ययनका लागि छनौट हुन नसके विद्यार्थीहरु विदेश पलायन हुनु स्वाभाविक हो । यस्तो संवेदनशील समयमै डा. के.सी. अनसन बस्ने गरेका छन् । जसका कारण विद्यार्थी र अभिभावक अन्यौलको मारमा पर्ने गरेको बताइन्छ । यस्तो संवेदनशील समयमा स्वास्थ्य शिक्षामा असर पर्ने गरेर अनसन बसेर डा. के.सी.ले कसलाई फाइदा पु¥याइरहेका छन् ? स्वास्थ्य शिक्षाका क्षेत्रमा सरोकार राख्नेहरु डा. के.सी. कुनै कुनै रुपमा कसैको डिजाइनमा फसेको सुनाउँछन् ।

स्वास्थ्य क्षेत्र सुकारको मुद्दा कुनै एक दलको मात्रै होइन । यस्तो संवेदनशील विषयमा देशका सबै पक्ष सहमतिको विन्दुमा पुग्न जरुरी छ । विषयलाई उछालेर राजनीतिक रङ्ग दिने कोसिस कांग्रेसले यतिबेला नगर्नु उसैका लागि हितकर होला । डा. के.सी.लाई उछालेर, अनसन बसालेर तत्कालका लागि कांग्रेसले एउटा मुद्दा त बनाउन सक्ला तर यसले न डा. के.सी.लाई, न कांग्रेसलाई, न त देशलाई नै फाइदा हुनेछ ।

राजनीतिक नियुक्ति बदर

देउवा सरकारले गरेका कतिपय राजनीतिक नियुक्ति ओली सरकारले बदर गर्ने निर्णय गरेको विषयलाई कांग्रेसले विरोध गरेको छ । प्रतिपक्षको बेञ्चमा बस्नुको धर्म पूरा गर्न कांग्रेसले यसो गरेको हो भने त्यसलाई स्वागत गर्दै राम्रो होला । तर कांग्रेस जस्तो प्रजातन्त्रका लागि लडेको दलले यस्ता विषयलाई नै राजनीतिक मुद्दा बनाउने ढङ्गले कोकोहोलो मच्चाउनु कदाचित उपयुक्त र सुहाउने विषय होइन । जुन नियुक्तिको अगाडि ‘राजनीतिक नियुक्ति’ को उपमा जोडिएको छ, त्यसलाई राजनीतिक रुपमा नै लिंदा कांग्रेसलाई सास फेर्न सजिलो होला । राजनीतिक नियुक्ति भनेको दैनिक कार्यसञ्चालनलाई आवश्यक सहयोग पुगोस् भन्नका खातिर सरकारले गर्ने नियुक्ति हो । ज–जसलाई देउवा सरकारले नियुक्त गरेको थियो, तत्कालीन सरकारको कार्यसञ्चालनमा सहयोग पु¥याउने हेतु थियो होला । ज–जसलाई नियुक्ति दिइएको थियो, त्यो स्थायी जागिर थिएन । सामान्यतः जुन सरकारले नियुक्ति दिलाएको हो, त्यो सरकार परिवर्तन भएपछि त्यस्ता नियुक्ति लिनेहरु नैतिक रुपमा हट्नुपर्छ । हामीकहाँ नैतिकताको विकास नभएरै होला यस्ता विषय अदालतसम्म पुग्ने गरेका छन् । लोकतान्त्रिक पद्धतिको कुरा गरेर नथाक्ने कांग्रेसले गरेका नियुक्तिको भारी अर्को सरकारले बोकिरहनु पर्छ भन्ने जरुरी छैन । खाईपाई आएको सुविधा छोड्न सजिलो नहोला । तर राजनीतिक नियुक्ति खारेजीको विषयलाई लिएर दुःख मनाउ नगर्नु नै कांग्रेसजनका लागि सही बाटो होला ।

उपकुलपतिको भ्रमण रद्द

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले सरकारले विदेश भ्रमणमा रोक लगाइदिएपछि एउटा अन्र्तार्वामा भनेछन्, ‘मैले ज्ञानेन्द्रविरुद्ध जे गरेको थिएँ, ओलीविरुद्ध पनि त्यही गर्नेछु, यदि कांग्रेसले साथ दियो भने ।’ कोइरालाको भनाइले स्पष्ट पार्छ कि कांग्रेस भएपछि वा कांग्रेसले साथ दिएपछि भने जे गर्न पनि छुट पाइन्छ । कोइराला अहिले एउटा विश्वविद्यालयको कुलपति जस्तो गरिमामय पदमा रहेका छन् । उनको विदेश भ्रमण रद्द हुनुका पछाडि वास्तविक कारण के थियो त्यो आमचासोको विषय थियो । उनले आफू कांग्रेस भएकाले कसैले केही बोल्ने नहुने धम्कीको भाषा प्रयोग गरेका छन् । उपकुलपतिजस्तो गरिमामय पदमा रहेका व्यक्तिले कुनै राजनीतिक पार्टीको आडमा आफ्नो दम्भ देखाउने प्रयत्न गर्नु कदापि शोभनीय होइन । उनको विदेश भ्रमण रोकिनुमा विभागीय मन्त्रीसँग टकराव भएको देखिन्छ । प्रधानमन्त्री के.पी. ओलीलाई यस विषयमा विवादमा तान्ने वातावरण विभागीय मन्त्रीले बन्न दिन हुनेथिएन ।

निष्कर्षमा

प्रधानमन्त्री के.पी. ओली अहिलेको सरकारका सारथी हुन् । मन्त्रीहरु रथ तान्ने ‘घोडा’ अर्थात् सहयोगी हुन्, जनता त्यो रथका यात्री । रथ तान्ने घोडा स्वस्थ र सारथीको भाषा बुझ्ने भएनन् भने त्यो रथ गन्तव्यसम्म पुग्न सक्दैन । सारथी असफल हुन्छन्, यात्रीले दुःख पाउँछन् । सरकारका मन्त्रीमध्ये केही मन्त्री असाध्यै अलोकप्रिय र सुशासनविरोधी देखिएका छन् । स्वास्थ्य सेवा विधेयक, एसईई परीक्षा फल प्रकाशनमा देखिएको समस्या, शैक्षिक क्षेत्रमा बढ्दै गएको अराजकताका कारण विभागीय मन्त्री अहिले सर्वत्र आलोचित बन्दै गएका छन् । त्यसतर्फ गम्भीर र चनाखो हुन जरुरी छ । यातायातको सेण्डिकेट तोडिएको तथा सम्झौताअनुसार समयमै कार्यसम्पन्न गर्न नसक्ने ठेक(ठग)दारलाई कार्वाही हुनेभएपछि खुशी भएका सर्वसाधारण अहिले निराश बनेका छन् । सुशासन र समृद्धिको नारामा अघि बढ्ने भनेको सरकारका सारथीले आफ्ना सहयोगी मन्त्रीहरुले गन्तव्यसम्म यात्रुलाई पु¥याउन सारथीको आदेश पालना गरेका छन् कि छैनन् ? सारथीको हातमा रहेको लगामले ‘घोडा’ –मन्त्री)हरुलाई कता मोडिन सङ्केत गरेको हो भन्ने जिज्ञासा आमयात्रीमा रहेको छ । 

अहिले विपक्षीको आक्रमणको सबैभन्दा तारो प्रधानमन्त्री बनेका छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ प्रधानमन्त्री ओलीको नारा हो । विपक्षीले यही नारालाई व्यवहारमा लागू हुन नदिन प्रधानमन्त्री ओलीमाथि आक्रमण गर्नु उपयुक्त हुन्न । आफ्नो सुरक्षित भविष्यका लागि पनि यस्ता खुद्रा विषयलाई उठाएर कांग्रेसले विरोधका लागि विरोध गर्नु उचित हुन्न । समयबद्ध साप्ताहिकबाट
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive