newsone

कृषि क्षेत्रमा बाढीले ब्यापक क्षति 

newstwo कृषि क्षेत्रमा बाढीले ब्यापक क्षति 

विराटनगर । गत साउन २७ र २८ गतेको अविरल बर्षापछि आएको बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । 

मोरङ जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिएको छ, भने सात हजार ९५० परिवार प्रभावित भएका छन् । 

तीन सय १७ हेक्टरमा रु नौ करोड १३ लाख ६८ हजार मूल्यको तरकारीबाली र ३१३ हेक्टरमा निर्माण गरिएको माछा पोखरीमा बाढी पस्दा रु १६ करोड २६ लाख ६८ हजारको माछाको माउ र भुरा क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

एक सय १० हेक्टरमा रु एक करोड २७ लाख ६७ हजार मूल्यको जुटखेती, २४ हेक्टरमा रहेको केरा, कागती र मेवाखेती नष्ट हुँदा रु ७१ लाखको क्षति भएको छ । करिब दुई हजार किसानको घरमा पानी पस्दा सञ्चित गरी राखिएका रु एक करोडभन्दा बढीको ४९० मेट्रिक टन धान र गहुँ क्षति भएको छ । 

माउ र भुरा बाढीले बगाउँदा माछापालनमा समस्या कृषकहरु बताउँछन् । विराटनगरमा वर्षासँगै पाँच दिनसम्म विद्युत् सेवा अवरुद्ध हुँदा गणेश कोल्डस्टोरमा राखिएको एक हजार मेट्रिक टन आलुमा टुसा पलाएको र मेसिनमा समेत क्षति पुग्दा रु ५० लाख बराबरको नोक्सान भएको बताइएको छ । 

त्यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपालिकामा समेत बाढी आएर परवर सुकेका छन् ।  परवलखेती सुक्न थालेपछि अहिले कसरी घर परिवार चलाउने भने चिन्ताले किसानहरु पिरोलिरहेको बताउँछन् । सो क्षेत्रका सयौँ कृषकले लगाएको परबल खेतीमा बाढीको पानी जमेका कारण सुक्न थालेपछि स्थानीय कृषक चिन्तित भएका छन् । 

विसं २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन श्रीपुरजब्दी, हरिपुर, पश्चिमकुशहा गाविस पूर्ण प्रभावित र लौकही गाविस आंशिक प्रभावित भएको थियो ।

प्रभावित भएको क्षेत्रमा रहेका अधिकांश जग्गा बगरमा परिणत भएपछि स्थानीयले विकल्पको रुपमा परबलखेती गर्दै आएका छन् । तर त्यो परबलमा पनि बाढीको पानी जमेर सखाप बनाएपछि आफूहरुलाई घर परिवार चलाउन र केटाकेटीको स्याहारसुसार गर्न समस्या भएको स्थानीय दिलीपको भनाइ छ ।

कृषकहरुले एक बिगाहामा लगाएको परबलबाट एक वर्षमा रु तीन लाखसम्म आम्दानी गरेकोमा यसपटक त्यो आम्दानी गुम्ने निश्चित जस्तै भएको छ।

यता जिल्ला कृषि विकास कार्यालय, सुनसरीका अनुसार करिब १५ हेक्टर क्षेत्रफलमा लगाएको परबलखेती नष्ट हुँदा रु ७० लाख बराबरको क्षति भएको छ र यस आर्थिक वर्षमा अनुदान  दिइने बताइएको छ । 

किसानलाई राहत तथा क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने स्थानीय किसानहरुको माग रहेको छ।  


 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive