newsone

प्रचण्डसँग अपेक्षा

newstwo प्रचण्डसँग अपेक्षा

सीता अधिकारी

२०५२ सालदेखि आजसम्म राजनीतिको केन्द्रमा छन् प्रचण्ड । उनी राजनीतिको आकर्षण त हुँदै हुन, बेलाबेलामा विरोधको तारो पनि बन्ने गर्छन । प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र अहिले सदनमा तेस्रो पार्टी बनेको छ, तर उनको आगामी भूमिका के हुन्छ भनेर राजनीतितिर चासो राख्ने सबैको आँखा उनैतिर फर्किएको छ । 

समकालीन राजनीतिमा मात्र होइन प्रचण्डले आफू पार्टीको नेतृत्वमा आएदेखि दूरगामी अर्थ राख्ने धेरै महत्वपूर्ण कार्य गरेका छन् । वाम ध्रुवीकरण, सशक्त संघर्ष, लोकतान्त्रिक शक्तिसँगको सहकार्य गर्दै अग्रगामी यात्रा तय गरेका छन् प्रचण्डले । प्रचण्डको नेतृत्वमा भएका विशेष राजनीतिक महत्वका घटनाको संक्षिप्त चर्चा यहाँ गरिएको छ । 

पहिलो वाम धु्रवीकरणको नेतृत्व

वाममोर्चा र नेपाली कांग्रेस मिलेर ०४६ सालमा एकदलीय तानाशाही पञ्चायती व्यवस्थाको विरोध र संवैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्था माग राखेर संयुक्त जनआन्दोलन गरिरहेको बेलामा प्रचण्डले गणतन्त्रको स्थापनाको नारा दिएर संघर्ष गर्न पहल गरे । संयुक्त राष्ट्रिय जनआन्दोलनको निर्माणको लागि नेतृत्व गरे । वाममोर्चा र कांग्रेसका संघर्षको कार्यक्रमलाई समर्थन गर्दै त्यस मोर्चाले स्वतन्त्र ढंगले संघर्ष चलायो । तत्कालीन मोटो मशाल, तत्कालीन पातलो मसाल, कम्युनिस्ट लीग र मालेमा संयुक्त राष्ट्रिय जनआन्दोलनमा सहभागी थिए । ०४६ साल चैत्र २४ को निर्णायक आन्दोलन यही संयुक्त राष्ट्रिय जनआन्दोलनको आव्हानमा भएको थियो । ०४६ सालको चैत्र २४ गतेको विशाल जनसागर गणतन्त्रको नारा लाउदै नारायणीहिटीतिर अघि बढ्न थालेपछि तत्कालीन राजा वीरेन्द्रले वाममोर्चा र नेपाली कांग्रेसको मागको विषयान्तर भयो भन्ने ठानेर केही नेतालाई बोलाएर संवैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्थाका लागि सम्झौता गरेका थिए । संयुक्त राष्ट्रिय जनआन्दोलनले त्यतिबेलै उक्त सम्झौताको विरोध गरेको थियो ।

०४६ सालमा संवैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्था स्थापना भएपछि राजनीति नयाँ परिवेशमा प्रवेश ग¥यो । त्यसपछि नयाँ वाम धु्रवीकरण शुरु भयो । तत्कालीन वाममोर्चामा सामेल भएका वरिस्ठ नेता निर्मल लामा नेतृत्वको चौमलाई पनि प्रचण्डले एकतामा सामेल गर्न सफल भए ।  

निर्मल लामाले नेतृत्व गरेको तत्कालीन चौथो महाधिवेशन, रुपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक संगठन र मोहनविक्रम सिंहले नेतृत्व गरेको मसालबाट विद्रोह गरेका बाबुराम भट्टराईसहितलाई समेटेर एकता केन्द्र निर्माणको नेतृत्व प्रचण्डले गरे । 

जनयुद्ध प्रारम्भ भएपछि निर्मल लामाको नेतृत्वमा रहेका नारायणकाजी श्रेष्ठसहितका नेताहरु पार्टीबाट अलग भए । जनयुद्ध स्थगन गरेर शान्ति प्रक्रियामा माओवादी आएपछि त्यो शक्ति, नेतृत्व फेरि एकीकरणमा जोडियो । नेकपा माओवादी एकीकृत माओवादी बन्यो । त्यसपछि एमाओवादीमा एकीकरण र टुटफुट भई नै रह्यो । पछिल्लो समय फेरि एकीकरणको शृंखला जोडिएको छ । 

जनयुद्धको प्रयोग

जनयुद्ध प्रारम्भ गर्नु पहिलेदेखि नै प्रचण्डको अगुवाइमा संसद्को उपयोग र ग्रामिण वर्गसंघर्ष सँगसँगै भयो । २०४८ सालबाट प्रारम्भ भएको नेपालको संघर्षको नयाँ मोडल २०५२ सालको जनयुद्धको प्रारम्भका लागि आधार थियो । 

संसारभरि क्रान्तिकारी आन्दोलन रक्षात्मक बनिरहेको बेला नेपालमा प्रचण्डको नेतृत्वमा २०५२ सालमा सशस्त्र संघर्ष प्रारम्भ भयो । त्यो बेलामा नयाँ जनवादी क्रान्ति स्थापना गर्ने उद्देश्यले सशस्त्र संघर्ष प्रारम्भ गर्दा धेरैले ‘कुहिनाले पहाड फोर्नु’ को रुपमा बुझे । त्यसअघि नै ग्रामीण वर्गसंघर्ष र संसद उपयोगलाई एकीकृत ढंगले सँगसँगै लिएर जाँदा धेरैले त्यतिबेलाको राजनीतिको पहेली बुझेका थिएनन् । त्यो नेपालको राजनीतिमा नवीन प्रयोग नै थियो । 
 जनयुद्धकालमा पनि नयाँनयाँ प्रयोग भएका छन् । राजनीति र फौजी क्रियाकलापलाई जोड्दै गएको अवस्था थियो । जनयुद्धकालमा पनि वार्ता, कूटनीति, राजनीति संघर्ष सँगसँगै चलाइएका थिए । फौजीभन्दा बढी राजनीतिक अभियान नै हावी थियो जनयुद्धकालमा । 

राजनीतिक परिस्थितिलाई छिट्टो पकड्ने र समयअनुसार अगाडि बढ्ने प्रचण्डको नेतृत्व कौशलताको कारणले नै नेपालको पछिल्लो राजनीति यहाँसम्म आएको हो । पार्टीभित्र यथास्थितिमा रमाउन चाहने र जनता, राजनीतिक परिवेश तयार नहुँदै वायाँतिर हठात् जानुपर्छ भन्ने मानसिकता बोकेका कतिपय सहयोद्धाका कारण माओवादी आन्दोलनमा टुटफुट, विभाजन आयो । आफू जाने यात्राका बारेमा सहयोद्धाहरुसँग यथेस्ट छलफल, घनिभूत अन्तरक्रिया नगर्नु प्रचण्डको पनि कमजोरी हुनसक्छ । यसबारेमा समीक्षा हुँदै जानेछ । जे जे कारणले होस्, माओवादी आन्दोलन पछिल्लो समय कमजोर बन्यो । फेरि माओवादी पार्टी, आन्दोलन प्रचण्डको नेतृत्वमा नयाँ ढंगले ध्रुवीकरण भइरहेको छ । फराकिलो सोंच र चिन्तन बनाएर यसलाई विस्तार गर्दै लैजान आवश्यक छ । नयाँ राजनीतिक परिवेशसँगै सामाजिक रुपान्तरणमा जाने हो भने माओवादीहरुबाट अब अलग समूह बनाउन आवश्यक छैन । नयाँ ढंगको वर्गसंघर्षमा जान नयाँ वाम ध्रुवीकरण, वैचारिक संघर्षका लागि पनि माओवादीहरुबीचको एकीकरणलाई विशेष प्राथमिकता दिनुपर्छ । 

लोकतान्त्रिक गणतन्त्र स्थापनाको नेतृत्व

२०६२ सालको कार्तिक महिनामा भएको चर्चित चुनवाङ बैठकबाटै प्रचण्डले दीर्घकालीन जनयुद्धको कार्यनीतिलाई ‘सिफ्ट’ गरे । चुनवाङ वैठकले ‘ढाडमा टेकेर टाउकोमा हिर्काउने’ कार्यनीति बनाए । जनयुद्धका आधारभूमिमा टेकेर शहरकेन्द्रित जनआन्दोलन उठान गर्ने फौजी र राजनीतिक कार्यक्रम तय गर्दै माओवादी आन्दोलन अगाडि बढ्यो । वीरेन्द्रको वंशनाश र ज्ञानेन्द्रको उदयलाई नरुचाएका जनताको मनोविज्ञानलाई पकड्दै प्रचण्डले नेपाली कांग्रेस र एमालेका नेताहरुसँग वार्ता र संवाद बढाउँदै लगे । ज्ञानेन्द्रले प्रतिनिधिसभा भंग गरी तानाशाही व्यवस्था लादेर संसदीय राजनीतिक दलहरुलाई सडकमा पु¥याइदिए । सात दल सडकमा उत्रिएर आन्दोलन शुरु ग¥यो । तर उनीहरुको सभा तथा जुलुशहरुमा मानिसको उपस्थिति शुन्य बन्दै गयो । 

त्यसपछिमात्र नेपाली कांग्रेस र एमालेले माओवादीसँग सहकार्यको लागि तयार भए । प्रतिनिधिसभाको पुनस्र्थापनाको माग राखेर आन्दोलन गरेका दलहरुलाई माओवादी नेतृत्व प्रचण्डले गणतन्त्रको स्थापना, संविधानसभाको निर्वाचनसम्म सहयात्रामा जान मन्जुर गराउँदै १२ बुँदे सम्झौता गरे । यो सम्झौता नेपालको इतिहासमा कोशेढुंगा सावित भयो । १२ बुँदे सम्झौतापछि भएका कार्यक्रमहरुमा जनताको उपस्थिति बाक्लिदै गयो । जनयुद्धको जगमा भएको ०६२÷६३ को १९ दिने आन्दोलनले राजतन्त्रलाई इतिहासको कुनामा थन्क्याउने काम ग¥यो । यसमा मुख्य भूमिका माओवादी पार्टी र त्यसको मुख्य नेतृत्व प्रचण्डकै पहलको कारण भएको थियो । 

नयाँ संविधान निर्माणको नेतृत्व

पहिलो संविधानसभाको विघटन र दोस्रो संविधानसभाको निर्वाचन भयो । दोस्रो संविधानसभामा माओवादी पार्टीभित्रको फुट, बहिस्कार आदिका कारण एमाओवादी तेस्रो पार्टी बन्यो । तेस्रो भए पनि प्रचण्डकै पहलमा संविधान निर्माण सम्भव भयो । 

भारतीय नाकाबन्दीको सामना केपी ओली एक्लैबाट भएको होइन । त्यसमा माओवादी नेतृत्व प्रचण्ड र नेपाली जनताको दह्रो साथ रहेको थियो । भूकम्पले थला परेको नेपालमाथि भारतको संस्थापन पक्षबाट भएको त्यो अमानवीय नाकाबन्दीबाट जनताको मनोबल उच्च राख्ने काममा ओली सँगसँगै प्रचण्डको पनि ठूलो भूमिका रह्यो । भारतीय पक्षले पछिसम्म संविधानको अश्वीकृत गरिरह्यो । केपी ओलीको नेतृत्वमा सरकार निर्माण भारतको चाहना विपरीत थियो । त्यो प्रचण्डको पहल र अडानका कारण सम्भव बन्यो । चीनसँगको राम्रो सम्बन्ध पनि मुख्यतः प्रचण्डकै कारणले सम्भव भयो । 

ओली प्रधानमन्त्री बनाउँदा माओवादी र एमालेका नेतृत्वहरुबीच भद्र सहमति भयो । तर त्यसलाई ओलीले उल्लंघन गरे । प्रचण्डले के बुझे भने ओलीको नेतृत्वमा सरकार बनिरहँदा तत्कालीन राजनीतिक गत्यावरोधको अन्त्य सम्भव छैन । यसपछि प्रचण्ड नेपाली कांग्रेससँग नजिकिन पुगे । त्यो केवल प्रधानमन्त्री लिनमात्र प्रचण्डले कांग्रेससँग हात बढाएका थिएनन् । ओलीमा हठ बढी थियो । प्रतिगामीसँग बढी विश्वास र हिमचिम थियो । प्रचण्डको सिद्धान्तमा दृढता र व्यवहारमा लचिलोपनाका कारण कांग्रेससँग सहकार्य भयो । यसै कारणले मात्र स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्भव भयो । कांग्रेससँग भएको सहमति अनुसार प्रचण्डले राजनैतिक नैतिकता प्रदर्शन गर्दै सहज सरकार हस्तान्तरण गरे । यो नेपालको राजनीतिक इतिहासमा नौलो परिघटना बन्न पुग्यो । यसअघि सहजै कसैले सहमतिको कार्यान्वयन गरेका थिएनन् ।   

स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गर्नको लागि प्रचण्डको पहल महत्वपूर्ण रहेको छ । संघीयता माओवादीको एजेण्डा थियो । यी तीन तहको निर्वाचन विना संघीयता कार्यान्वयनमा आउन सक्दैनथ्यो । 

ओलीमा अलि बढी अधिभूतवादी चिन्तन नै बढी छ । द्वन्द्ववादी तरिकाले उनले विषयलाई बुझ्दैनन्, कार्यान्वयन गर्दैनन् । पहिला उनी भारतपरस्त थिए । राष्ट्रघाती महाकाली सन्धि गर्ने कार्यका विशेष भूमिका खेलेका कारण ओलीप्रति नेपाली जनता सकारात्मक थिएनन् । तर, नाकाबन्दीको बेलामा उनले लिएको अडानका कारण ओलीले राष्ट्रवादीको छवि बनाए । त्यो प्रचण्डको साथ विना सम्भव थिएन ।

वाम तालमेल र एकताको पहल

अहिले प्रचण्डको नेतृत्वमा वाम ध्रुवीकरणको अपेक्षा गरिएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमार्फत् जनताबाट अनुमोदन भएको छ । केपी ओली एमाले पार्टीभित्रै पनि सर्वस्वीकार्य होइनन् । भिन्नमतलाई पेलेर जाने उनको चरित्रले पार्टीभित्रै समस्या छ उनको नेतृत्वको । यो निर्वाचनमा प्रचण्डको विशेष पहल नभएको भए एमालेमा त्यो छरपस्ट विवाद सतहमा आउँथ्यो । यसैले पनि एमालेमा पनि प्रचण्डको गतिशील, लचिलोपन, क्षमताको नेतृत्वका अपेक्षा गरेका छन् ।  

पछिल्लो समयमा नेपाली कांग्रेसलाई पनि सन्तुलन मिलाउने कार्य प्रचण्डले गरिरहेका छन् । 

राजनेताको अनुमोदन

प्रचण्ड अहिले एक पार्टीको मात्र नेता जस्ता छैनन् । व्यावहारिक रुपमा राजनेता  बनेका छन् । नेपाली कांग्रेसले प्रचण्डलाई नै प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ । निर्वाचनपूर्व र पछि पनि ओली र शेरबहादुर देउवाको बीचमा झण्डै सम्वादहीनता छ । 

चुनावमा हार्नु, जित्नु र सानो ठूलो हुनु स्वाभाविक हो । तर, एजेण्डा र नेतृत्व कौशुलता फरक कुरा हो । २०६४ सालको पहिलो निर्वाचनमा माओवादी पहिलो शक्ति बन्यो । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो । अहिले एमाले पहिलो शक्ति बनेको छ । तर, हरेक पटक प्रचण्ड नै निर्णायक बनेका छन् । गिरिजा कोइरालाको अवसानपछि देशको मुख्य नेतृत्वको भूमिकामा प्रचण्ड नै देखिन्छन । 
सुशासनको अपेक्षा

वाम पार्टीसँगै प्रचण्डको पहल र नेतृत्वमा सुशासनको अपेक्षा जनताले गरेका छन्। । पार्टी एकता र समृद्धि प्रचण्डको नेतृत्व र पहलमा हुने जनविश्वास छ । अब प्रचण्ड–ओलीको प्राथमिकता त्यसमै केन्द्रित हुनुपर्छ । 

०५२ सालदेखि प्रचण्ड राजनीतिको केन्द्रमा छन् । उनले अझै १० वर्ष वाम पार्टी, आन्दोलन र सरकारको नेतृत्व गर्ने विश्वास लिइएको छ । प्रचण्डको अगुवाइ/नेतृत्वमा स्वाधीन देश र समृद्ध जनता सम्भव छ १ दल, गुट भन्दा माथि उठेर प्रचण्डको अगुवाइमा अगाडि बढौं !
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive