newsone

भागबण्डाको राजनीतिलाई देउवाले तोडे

newstwo भागबण्डाको राजनीतिलाई देउवाले तोडे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय  पदाधिकारी मनोनयनमा मात्रै होइन केन्द्रीय सदस्य मनोनयनमा पनि करिब करिव एकलौटी गरेका छन् । पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्दा अल्पमत पक्षलाई पनि समेट्ने कांग्रेसको परम्परा थियो । तर, यसपटक देउवाले त्यो परम्परा तोडेका छन् । 

 पञ्चायतकाल यता कांग्रेसका छ वटा महाधिवेशन सम्पन्न भइसकेका छन् । २०४८ सालमा झापामा सम्पन्न महाधिवेशनमा कृष्णप्रसाद भट्टराई निर्विरोध सभापति बनेका थिए । त्यसपछि केन्द्रीय सदस्य मनोनयन गर्दा उनले ५० प्रतिशत आफूले र ५० प्रतिशत गिरिजाप्रसाद कोइरालाको सिफारिसलाई आधार बनाएका थिए । 

२०५३ सालमा काठमाडौंमा सम्पन्न महाधिबेशनमा गिरिजाप्रसाद कोइराला र चिरन्जीवी वाग्लेबीच चुनाव भयो । भारी मतान्तरले कोइरालाले चुनाव जिते । चुनाव जितेपछि उनले वाग्लेलाई सहयोग गर्ने बासु रिसाल र तारानाथ भाटलाई महामन्त्री मनोनित गरे । केन्द्रीय सदस्यमा पनि वाग्लेलाई भोट दिने करिव ४० प्रतिशत समेटिए । 

२०५७ सालमा पोखरामा सम्पन्न महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भयो । कोइरालाले भारी मतान्तरले चुनाव जिते । तर, केन्द्रीय सदस्य मनोनित गर्दा कोइरालाले देउवालाई भोट दिनेहरुलाई पनि उल्लेख्य स्थान दिए । २०५९ सालमा पार्टी फुटेपछि ११ औं महाधिबेशन अलग–अलग भयो । १२ औं महाधिबेशनसम्म आइपुग्दा पार्टी एक भयो । १२ औं महाधिबेशनमा सुशील कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भयो । झिनो मतले कोइरालाले चुनाव जिते । चुनाव जितेपछि कोइरालाले देउवालाई सहयोग गर्नेहरुलाई उल्लेख्य रुपमा समेटे । 
सहमहामन्त्री र ४० प्रतिशत केन्द्रीय सदस्यको मनोनयत कोइरालाले देउवाको  सिफारिसमा गरे ।

 १३ औं महाधिबेशनमा देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भयो । झिनो मतान्तरले देउवाले चुनाव जिते तर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्दा देउवाले पुरानो परम्परा चटक्कै विर्से । उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष गरी चार जना पदाधिकारी मनोनयन गर्दा देउवाले पौडेल पक्षलाई पूरै निषेध गरिदिए भने २० जना केन्द्रीय सदस्य मनोनयन गर्दा  पनि देउवाले पौडेल पक्षलाई करिव करिव निस्तेज गरिदिए । 


कांग्रेसको केन्द्रिय समिति ८५ सदस्यीय हुन्छ । जसमध्ये ६४ जना महाधिबेशनद्वारा निर्वाचित हुन्छन् भने २१ जना सभापतिद्वारा मनोनयन हुन्छन् । महाधिबेशन सम्पन्न भएको दुई महिनाभित्र केन्द्रीय सदस्य मनोनयन प्रक्रिया टुंग्याइसक्नु पर्ने विधानमा उल्लेख भए पनि सभापति देउवाले विभिन्न चरणमा मनोनयन प्रक्रिया जारी राखेका छन् । गत बिहीवार तीन जनाको मनोनयनपछि कांग्रेस केन्द्रीय कार्य समितिका मनोनित सदस्यको संख्या २० पुगेको छ । अब दलित कोटाबाट एक जना मनोनयन हुन बाँकी छ । विगतको परम्परा हेर्ने हो भने २० जना मनोनयन गर्दा पौडेल पक्षले ४० प्रतिशत अर्थात आठ जना पाउनु पर्ने थियो । तर दुई जना मात्रै पाएको छ । त्यसमध्ये एक जना रामचन्द्र पौडेल स्वयं हुन भने अर्का दिलबहादुर घर्ती हुन् । पौडेललाई त केन्द्रीय सदस्य मनोनयन नगर्नुको बिकल्प थिएन । घर्तीको मनोनयन पनि महामन्त्री डा. शशांक कोइरालाले रोइकराइ गराएका हुन् । घर्ती नाताले महामन्त्री कोइरालाका भिनाजु पर्छन् । 
 २० जना केन्द्रीय सदस्य मनोनयन गर्दा देउवाले महाधिबेशनमा ४५ प्रतिशत मत प्राप्त गरेको पौडेल पक्षलाई निस्तेज गरे पनि ७ प्रतिशत मत प्राप्त गरेको सिटौला पक्षलाई भने उल्लेख्य रुपमा समेटेका छन् । २० जनामध्ये सिटौला पक्षबाट कृष्णप्रसाद सिटौला, गगन थापा, उमाकान्त चौधरी, श्याम घिमिरे, केशवकुमार बुढाथोकी र शिव हुमागाईं गरी छ जना परेका छन् । बाँकी १२ जना देउवाले आफ्नै पक्षलाई मनोनित गरेका हुन । गत महाधिबेशनमा सिटौला उम्मेदवार नबनेको भए देउवाले चुनाव जित्ने अवस्था थिएन । त्यसैले उनले सिटौला पक्षलाई उल्लेख्य ठाउँ दिएर पौडेल पक्षलाई निस्तेज गरेका हुन । 

 एक जना मनोनित हुन बाँकी र खुमबहादुर खड्काको निधन भएपछि कांग्रेस केन्द्रीय समिति ८३ सदस्यीय छ । सकभर एउटा जिल्लाबाट कम्तीमा एक जना केन्द्रीय सदस्य हुने विगतको परम्परा थियो । तर,  कांग्रेसको केन्द्रीय समितिमा करिव आधा जिल्लाको प्रतिनिधित्व छैन कुनै जिल्लाबाट भने आधा दर्जन भन्दा बढी परेका छन् । उदाहरणका लागि ताप्लेजुङ,  संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, भक्तपुर, ललितपुर, रसुवा, चितवन, धादिङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पश्चिम, रुकुम पूर्व, प्युठान, रोल्पा, दैलेख, जाजरकोट, सल्यान, डोल्पा, मुगु,  जुम्ला, कालिकोट, अछाम, बझाङ, बैतडी गरी करिव ३५ जिल्लाको प्रतिनिधित्व हुन सकेको छैन । काठमाडौं जिल्लाबाट प्रकाशमान सिंह, नवीन्द्रराज जोशी, अम्बिका बस्नेत निर्वाचित भएका थिए । त्यसमाथि गगन थापा, ध्यानगोबिन्द रञ्जित र नरहरि आचार्य गरी तीन जना मनोनित गरी देउवाले छ जना पु¥याए तर ललितपुर र भक्तपुरबाट पनि केन्द्रीय समितिमा कम्तीमा एक/एक जनाको प्रतिनिधित्व होस् भन्ने उनले ठानेनन् । समयबद्ध साप्ताहिकबाट  
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive