newsone

राजा आउने भ्रममा दरबारियाहरु

newstwo राजा आउने भ्रममा दरबारियाहरु

एनके दाहाल

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह भारत गएर फर्केका छन् । राजनीतिक र वैचारिक हिसाबले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तराधिकारीको रुपमा परिचित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्नकै लागि ज्ञानेन्द्र भारत भ्रमण गएका थिए । भारत गएर फर्किएपछि ज्ञानेन्द्रले आफ्ना सहयोगीहरुसँग आफूले अन्तिम प्रयास गरेको र परिणाम सकारात्मक आउने आशा गरौं भन्ने गरेको जानकारी दिंदै उनी निकट सूत्रले भन्यो, ज्ञानेन्द्र पहिलेको भन्दा खुसी देखिन्छन् । उनी खुसी भएको भन्दै मण्डलेहरु अब राजा आउने भए भनेर हल्ला गर्न थालेका छन् । कतिले त यही माघ ७ गते नै ज्ञानेन्द्र नारायणहिटी छिर्ने भनेर प्रचार–प्रसार गर्न थालेका छन् । ज्ञानेन्द्र खुसी भए भनेर प्रचार– प्रसार गर्ने मण्डलेहरुले उनलाई भेटेका भने छैनन् । ज्ञानेन्द्रले भारतबाट फर्केपछि आफूनिकट ब्यक्तिबाहेक अरुलाई भेट गरेका छैनन् । बरु जानुअघि भने धेरैसँग भेटघाट गरेका थिए । योगी आदित्यनाथ मुख्यमन्त्री भएदेखि भेट गर्न मेहनत गरेका ज्ञानेन्द्रले भेट पाउनु र आफ्नो कुरा राख्नुलाई उपलब्धि मानेका भए बेग्लै कुरा हो, नत्र भने यो भेटघाटको उपलब्धि केही पनि नहुने भएकोले अहिलेको चर्चा परिचर्चा केही दिन भित्रैमा फुस्स बिलाउनेछ । तर मनको लड्डु घ्युसँग खाने मण्डलेहरुको कुनै कमी छैन । 
नेपालमा २०६५ सालमा गणतन्त्र स्थापनापछि पूर्वराजा ज्ञानेन्द्रले औपचारिक रूपमा भेटेका सबैभन्दा उच्च भारतीय अधिकारी आदित्यनाथ हुन् । आदित्यनाथले विगतमा लोकसभा सांसदका रूपमा पूर्वराजा ज्ञानेन्द्रसँग पटक–पटक भेटवार्ता गरेका थिए । उनीहरूबीच पछिल्लो भेट २०७३ कात्तिक पहिलो साता काठमाडौंमा भएको थियो । ४ देखि ६ कात्तिकसम्म काठमाडौंको वनकालीमा विश्व हिन्दू महासंघद्वारा आयोजित विराट् हिन्दू सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका थिए । कार्यक्रममा दुवैजना सँगै थिए भने आदित्यनाथले पूर्वराजासँग अलग्गै भेटवार्ता गरेका थिए । त्यसवेला शंकराचार्य वासुदेवानन्द र भाजपा नेता रघुनन्दन शर्मा पनि भेटवार्तामा साथै थिए । त्यसको एक वर्षअघि नवलपरासीको प्रतापपुरमा आयोजित कार्यक्रममा पनि पूर्वराजा ज्ञानेन्द्र र आदित्यनाथ सँगै थिए । दुवैले हिन्दू सम्मेलनलाई सम्बोधन गरेका थिए । मुख्यमन्त्री योगी आदित्यनाथ विश्व हिन्दू महासंघको उपाध्यक्षको रुपमा कार्यरत थिए भने पूर्व राजा ज्ञानेन्द्र संरक्षकको रुपमा । तर अहिले परिस्थिति बदलिएको छ । विगतमा आफूलाई निकै ठूलो र हिन्दूहरुको संरक्षकको रुपमा अरुलाई निर्देशन दिने ज्ञानेन्द्रले योगी आदित्यनाथसँग हारगुहार गरेका छन् । उनी मुख्यमन्त्री भएदेखि नै भेटेर मोदीलाई प्रभाव पार्न खोजेका ज्ञानेन्द्रले निकै मेहिनेतपछि मात्र यो भेटघाट गर्न पाएका हुन् । सरकारका एकजना मन्त्रीको भारतीय दूतावाससँगको गुहार, भ्रष्टाचार प्रमाणित खुमबहादुर खडकाको निरन्तर लबिङलगायतका कारण उनको भेट सफल भएको हो । 

पटक–पटक दिल्ली भ्रमणमा जाँदा पूर्वराजाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, महासचिव राम माधवसँग भेटवार्ता गरेको भनेर प्रचार–प्रसार गरिएको थियो । तर, ती सबै भेटवार्ता सार्वजनिक भएका थिएनन् । स्रोतका अनुसार भेटवार्ताको सुरुमा विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह पनि सहभागी थिए । ‘सुरुवातमा पूर्वराजासँग महासंघका अध्यक्ष सिंह, पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना तथा आदित्यनाथका सेक्रेटरी र उत्तरप्रदेश सरकारका उच्च अधिकारी सहभागी थिए । औपचारिकतापछि दुवैजनाका बीचमा ४५ मिनेट एक्लाएक्लै कुराकानी पनि भयो,’ भेटवार्ताबारे ज्ञानेन्द्र निकट सूत्रले भन्यो । आदित्यनाथ अहिले पनि विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष र सिंह अध्यक्ष नै छन् । महासंघको अन्तर्राष्ट्रिय समितिले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुनर्बहाली हुनुपर्ने माग गर्दै आएको छ । हरेक दिन आदित्यनाथलाई भेट्न सर्वसाधारणको भीड लाग्ने गरे पनि ज्ञानेन्द्र भारत गएपछि सर्वसाधारणसँगको भेटको कार्यक्रम रद्द भएको थियो । भेटलगत्तै मुख्यमन्त्री आदित्यनाथले तीनवटा तस्बिर सार्वजनिक गरेका थिए । उनको ट्विटमा उल्लेख छ, ‘आज लखनउस्थित सरकारी आवासमा नेपालका पूर्वराजा श्री ज्ञानेन्द्र वीरविक्रम शाहजीले भेट गर्नुभयो, उहाँलाई अंगवस्त्र र कुम्भको लोगो दिएँ ।’ एक वर्षपछि उत्तरप्रदेशको प्रयागमा कुम्भमेला आयोजना गर्न लागेका आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्रलाई निमन्त्रणासमेत दिएका छन् । 

स्थलमार्गमार्फत् भारत पुगेका ज्ञानेन्द्रको भेट आदित्यनाथसँग भेटको लागि नेपालस्थित भारतीय दूताबासले पनि पहल गरेको थियो । स्रोतका अनुसार भारतीय राजदूत मञ्जीबसिंह पुरी र पूर्वराजाबीच धुलिखेलमा मंसिर पहिलो साता भेट भएको थियो । ६ देखि ९ मंसिरसम्म द्वारिकाज रिसोर्टमा रहेका ज्ञानेन्द्रलाई भेट्न पुरी त्यहाँ पुगेका थिए । त्यतिखेरदेखि प्रयास गरेर अहिले भेट सफल भएको हो । धुलिखेलको प्रयास सफल हुने भएपछि पूर्वराजाको भारत भ्रमणबारे महासंघ अध्यक्ष भरतकेशर सिंहले पदाधिकारीसहित प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई भेटेर जानकारी गराएको दाबी गरिएको छ । देउवा र ओलीले पूर्वराजालाई ‘ग्रिन सिग्नल’ दिएको महासंघले समाचार लेखाइरहेको छ । ज्ञानेन्द्रसँग भेट गर्नुअघि मुख्यमन्त्री आदित्यनाथले अघिल्लो आइतबार भारतीय प्रधानमन्त्री मोदी तथा विदेश राज्यमन्त्री जनरल भिके सिंहसँग पूर्वराजासँग तय भएको भेटबारे छलफल गरेका थिए । छलफलमा उनको कुरा सुन्ने तर नेपालमा खासै केही गर्न सकिंदैन भन्ने सल्लाह भएको बताइएको छ । विगतमा योगी आदित्यनाथ नेपालमै आएर हाकाहाकी राजतन्त्र फर्काउन आह्वान गर्ने कट्टर हिन्दूवादी तथा राजावादी नेता भए पनि पदमा पुगेपछि औपचारिक रुपमा केही बोल्न सक्ने अवस्थामा छैनन् । ज्ञानेन्द्रले विगतकै जसरी उनको लविङ खोजे पनि पदीय दायित्वले त्यो गर्न सक्ने अवस्थामा छैनन्, आदित्यनाथ । नेपालको सीमा जोडिएको गोखरपुरस्थित गोखरनाथ मन्दिरका महन्त आदित्यनाथलाई चैतमा उत्तर प्रदेशका हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टीले उत्तरप्रदेश राज्यमा जितपछि सो पार्टीभित्र पनि कट्टरपन्थी धारका योगीलाई मुख्यमन्त्री बनाएको थियो । आदित्यनाथ महन्त रहेको गोरखपुरको गोरखनाथ मन्दिरसँग नेपालका चन्दननाथ (जुम्ला), शिद्ध रत्ननाथ (दाङ), थापाथली मन्दिर, मृगस्थलीको नाथ अखडासँग पुरानो साँस्कृतिक सम्बन्ध छ । यी मठमन्दिरमा कान चिरेर कुण्डल लगाउने ‘कनफट्टा जोगी’ महन्त हुन्छन् ।

भारतलाई हिन्दू राष्ट्र बनाउने अभियानमा रहेको राष्ट्रिय स्वयम्सेवक संघको राजनीतिक मोर्चा भारतीय जनता पार्टी (भाजपा)का केन्द्रमा शासन रहेको छ । भारतमा हिन्दूवादी संगठनको मुख्य उद्देश्य सके भारतलाई हिन्दू राष्ट्र बनाउने नसके अर्को कुनै स्थानमा हिन्दू बनाउने रहँदै आएको छ । उनीहरुले नेपालमा हिन्दू राष्ट्र कायम राख्न पटक–पटक दवाब दिंदै आए पनि सफल भएका छैनन् र सम्भवतः सफल पनि हुन सक्दैनन् । योगी आदित्यनाथसँगको भेटको क्रममा ज्ञानेन्द्रले राजतन्त्र फर्के पनि आफू राजा नभई १२ वर्षे नाति हृदयेन्द्रलाई सेरेमोनियल किङ बनाउन लागिपरेको र नाति भारतीय सन्तति भएकोसम्म भनेर लबिङ गरिरहेका छन् । उनले जे भने पनि आदित्यनाथ औपचारिक रुपमा केही पनि भन्न सक्दैनन् । उनी मोदीका उत्तराधिकारी भए पनि परराष्ट्र मामिलामा उल्लेख्य भूमिका खेल्न सक्ने पात्र होइनन् । फेरि भारतमा मोदी र साउथ ब्लकको आफैमा प्रतिस्पर्धा रहेको कुरा भारतीय सञ्चारमाध्यमले नै लेख्दै आएका छन् । आदित्यनाथसँगको भेटको लामो तयारी भए पनि भेट हुने कि नहुने भन्ने अन्यौल भएकै कारण ज्ञानेन्द्र नेपाली कांग्रेसका नेता खड्काको दाङ जिल्लामा रहेका गुरु गोरखनाथ र अम्बिकेश्वर मन्दिरको दर्शन गरेर फिर्ता भएका थिए । पूर्वराजा शाहले दाङको घोराहीस्थित चौघेरमा रहेको गुरु गोरखनाथ बाबाको मन्दिरमा पुगेर पूजा गर्नुमा ठूलो रहस्य छ । गोरखनाथ बाबाको मन्दिरबाट प्रत्येक वर्ष फागुनमा मूर्ति लिएर योगी आदित्यनाथ महन्थ रहेको उत्तरप्रदेशको तुलसीपुरस्थित मन्दिरमा जाने गरिन्छ । आदित्यनाथसँगको भेट गर्नकै लागि उनले त्यसो गरेको बताइएको छ । आदित्यनाथले ज्ञानेन्द्रसँग भेट गरेको विषय र भएको छलफलको बारेमा मोदीलाई जानकारी गराइसकेका छन् ।

अब के होला ?

आदित्यनाथ र ज्ञानेन्द्रको भेटपछि नै दरबारियाहरुले नेपालमा राजतन्त्र फर्कन्छ भन्ने हल्ला चलाएका हुन् । उनीहरुको दाबी छ, नेपालमा बामपन्थी गठबन्धनले सरकार बनाउने भएपछि भारतीय पक्षको बोलबाला कमजोर हुने कारण अहिल्यै केही होस् भन्ने चाहनामा प्रधानमन्त्री शेरबहादुर देउवा पनि छन् । विश्व हिन्दू महासंघका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले आफू हिन्दू राष्ट्र नराख्ने पक्षमा नरहे पनि परिस्थितिको अघि बाध्य भएको र हिन्दू राष्ट्र राख्न नसकेकै कारण नेपालबाट राजतन्त्र विदा भएको अभिब्यक्ति दिएका थिए । यही अभिब्यक्तिलाई लिएर दरबारियाहरुले राजतन्त्र फर्काउन देउवा पनि सकारात्मक रहेको ब्याख्या गरेका छन् । अर्कोतिर राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राजा ज्ञानेन्द्रसँग औपचारिक सम्बन्ध राख्न थालेपछि त्यसलाई पनि उनीहरुले देउवाको शैलीमा ब्याख्या गर्ने गरेका छन् । उनीहरुले विद्याको कूटनीतिक पहलले एमाले अध्यक्ष के.पी. ओली समेतलाई प्रभावमा पार्ने ब्याख्या गरिरहेका छन् । तर विद्या र के.पी. ज्ञानेन्द्रलाई औपचारिक सम्बन्धमा सीमित राखेर उनको गतिविधि नियन्त्रण गर्ने पक्षमा रहेको उनीहरुसँग निकट एक एमाले नेताले बताए । ‘ज्ञानेन्द्रलाई टाढा राख्दा र मानमनितो नगर्दा खेल्न सक्ने अवस्था छ, त्यसलाई नियन्त्रण गर्न कूटनीतिक चातुर्यता प्रस्तुत गरिएको मात्र हो । नेपालको राजनीतिको सबैभन्दा महत्वपूर्ण फ्याक्टर नेपाली सेना विद्या र के.पी.को पक्षमा भएकोले ज्ञानेन्द्रको पहलले केही गर्दैन’, उनले भने । उनी नेपाली सेना बामगठबन्धनको पक्षमा रहेको दाबी गर्छन् । 

ज्ञानेन्द्र आफैले नेपालमा राजतन्त्र फर्कन नसक्ने बुझेर नातिको पासा फाल्दैछन् । भारतीय छोरीको छोरा भनेर भारतीय पक्षसँग नातिलाई सेरेमोनियल किङ बनाऔं भनेर हारगुहार गरिरहेका ज्ञानेन्द्रले सहयोगीहरुको उत्साह मर्न नदिन मात्र राम्रो हुन्छ भन्ने गरेका हुन् । पृथ्वी जयन्तीमा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्ति विगतको कार्यशैलीको निरन्तरता मात्र हो । तर दरबारियाहरु भने हावामा रमाइरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कानून र नियमावलीको कुनै बुँदा पक्रेर सरकारको समयावधी लम्ब्याउन खोजिरहेका छन् । देउवाले प्रधानमन्त्रीको कुर्सीमा केही समय बस्न खोजेको प्रयासलाई पनि दरबारियाहरु राजा फर्काउने खेल भनेर ब्याख्या गर्न थाल्नु आफैमा लाजमर्दो छ । देउवा अहिले सबै नियुक्ति र सरुवा–बढुवा गरेर राज्यसंयन्त्रमा आफ्नो पकड राखिराख्न प्रयासरत छन् । देउवा प्रधानमन्त्री छोड्नु पर्ने र कुनै पनि नामको राजतन्त्र फर्कन नसक्नेमा ढुक्क छन् । तर अहिले सत्ताको स्वाद भने धित मर्ने गरी लिने पक्षमा छन् । 

बामगठबन्धन टुक्राउने खेल

प्रधानमन्त्री देउवाले सरकार छाड्न आलटाल गर्नु र भारतीय पक्षको सहयोगमा राजतन्त्र फर्कन्छ भनेर हौवा पिटाउनुको उद्देश्य राजतन्त्र फर्काउनु होइन, बामगठबन्धन टुटाउने खेल हो । ‘यो खेलमा भारतीय पक्ष र देउवा तथा नेपाली कांग्रेस एक ठाउँमा छन् । दरबारियाहरुलाई मोहोरा बनाइरहेका मात्र हुन्’, कांग्रेसकै एक नेताले भने । ज्ञानेन्द्रले पनि यस पटक प्रयास गर्दा सफल भएमा केही हुने नत्र भने नेपालमा गणतन्त्र सधैंको लागि संस्थागत हुने कारण दौडधुप गरिरहेका हुन् । स्थानीय सरकार बनिसकेको छ । निर्वाचन आयोग र सरकारका कारण ढिलाइ भए पनि प्रदेश सरकार र केन्द्रीय सरकार बन्दैछ । बामगठबन्धनको पूर्ण बहुमत रहेको कारण सरकार टुट्ने अवस्था पनि हुँदैन । यस्तो अवस्थामा भारतीय पक्षले पनि बामगठबन्धनलाई केही विषयमा भारतीय पक्षसँग झुकाउन चाहेको छ । केही दिन अघिदेखि चीनको इन्टरनेट सेवा नेपाल प्रवेश गरेपछि भारत अन्य विषयमा पनि साँच्चिकै आत्तिएको छ । त्यही भएर विभिन्न शक्तिकेन्द्र प्रयोग गरेर सरकार गठनमा अवरोध सिर्जना गर्न प्रयासरत छ । लोभीलाई पक्रेर पद माग्न लगाउनेदेखि सबै काम गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्तले आफ्नो व्यवस्थापन होस् भनेर प्रस्ताब राख्नुको कारण पनि त्यही हो । उनले लोभ गरेको थाहा पाएपछि पद माग्न उक्साइएको हो । 

जसले जे भने पनि र जति दौडधुप गरे पनि नेपालको राज्यसंयन्त्रमा गैरबामपन्थीको समेत उपस्थिति गराउन खेलहरु भइरहेका छन् । भारतीय पक्ष र कांग्रेसले संघीय समाजवादी फोरम समेतलाई मधेसको बामपन्थीको रुपमा ब्याख्या गर्ने गरेका छन् । भारतको आधिकारिक राजनीतिक प्रतिनिधित्व गर्ने शक्ति कांग्रेस र राष्ट्रिय जनता पार्टीको पहलमा सरकार गठन होस् भन्ने भारतीय र पश्चिमाहरुको चाहना छ । चीनबाहेक अन्य शक्ति बामगठबन्धनको पक्षमा छैनन् भन्दै समाचार स्रोतले भन्यो, सबै शक्ति एकै ठाउँ भएर बामगठबन्धन टुक्राउन खोजेका हुन् । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्ुष्पकमल दाहाल प्रचण्ड कसैको कुरा नसुनी बामगठबन्धन सफल बनाउन लागिपरेका छन् । ‘ओलीले प्रचण्डको बामगठबन्धप्रतिको प्रतिबद्धताको फाइदा लिएर केही पद आफू र आफ्नो टिममा सुरक्षित गर्न खोजेका हुन्, उनी पनि बामगठबन्धनलाई सफल बनाउन लागिपरेका छन्’, माओवादी केन्द्रका एक नेताको बुझाइ हो यो । पदीय हिसाबले केही बहस र छलफल भए पनि बामगठबन्धन असफल हुने सम्भावना छैन । तर ओली र एमालेले पेल्न खोजेमा भने फरक अवस्था आउन सक्छ । अहिले एमालेभित्रका एजेण्टहरुलाई उक्साएर पद जति एमालेले नै राख्न खोज्ने खेल चल्नुको कारणमा पनि विदेशीकै हात रहेको बताइन्छ । सरकार गठनको गर्मागर्मी बहस, देउवाले पद छोड्न नखोज्नु, बामगठबन्धन टुक्र्याउने खेल चल्नु जस्ता धेरै षडयन्त्रहरु भित्रभित्रै भए पनि नेपालमा राजतन्त्र भने फर्कने छैन । बरु सरकार फरक हुन सक्ला तर हिन्दू राष्ट्र र राजतन्त्र कुनै हालतमा फर्कदैन भन्छन्, कांग्रेसकै नेताहरु । पूर्वराजा ज्ञानेन्द्रको दौडधुप र राजतन्त्र फर्काउन गरिएको पहल पनि केही महिनापछि समाचार समेत बन्न नसक्ने अवस्थामा पुग्दैछ, राजतन्त्र फर्कने त धेरै टाढाको कुरा भयो । विगतमा राष्ट्रप्रमुख रहेको र राजाको बंश भएको कारण ज्ञानेन्द्र केही समय आत्मरतिमा रमाउलान्, तर राजतन्त्र फर्काउने सपना सपनामै सीमित रहनेछ र दरबारियाहरुको राजतन्त्र फर्कन्छ भन्ने भ्रम पनि विस्तारै तोडिंदै जानेछ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive