newsone

अलविदा पाख्रिन दाइ ! हामी सधैं सम्झिरहनेछौं

newstwo अलविदा पाख्रिन दाइ ! हामी सधैं सम्झिरहनेछौं

ईश्वरचन्द्र ज्ञवाली

क.खुसीराम पाख्रिनले (जन्म ः २००९ कार्तिक ९) यही कार्तिक ५ गते ६५ वर्षको अल्पायुमै एकाएक हृदयाघातका कारण कार्यक्रमको मञ्चमै रगत छादेर मृत्युवरण गरे । एउटा शोक सभाको संवेदनामा पाख्रिनको मृत्यु अर्को वेदनापूर्ण घटना बनेर आइपुग्यो । ‘सागर तर्ने यात्रीहरु खुट्टा काम्नु हुन्न’ भन्ने उद्घोषको पछिल्लो चरण पार गरेर उनले संशोधनवादी र विचलनवादी प्रवृत्तिको विरोध गर्दै लक्ष्यसम्म पुग्न आह्वान गरे । जसबाट उनले आफ्नो स्मृतिलाई युगौंसम्म जीवन्त राख्ने जमर्को गरेका छन् । उनको भौतिक शरीर ढले तापनि चेतना र स्मृतिको, आस्था अठोटको शरीर ढलेको छैन । प्रकाश दाहाल, जो आफूभन्दा ३० वर्ष कान्छा थिए, उनीप्रति श्रद्धाञ्जलीका शब्द र अन्तिम विदाइका पीडा पोख्दै गर्दा उनी आफै अन्तिम विदाइ लिन पुगे । अलविदा पाख्रिन दाइ !, अलविदा जनवादी सांगीतिक यात्राका एक धरोहर !

पाख्रिन सर्जक, गायक र चिन्तक तीनै हुन् । पाख्रिन कलाकार, अभियन्ता, कलाको नेतृत्वकर्ता तीनै हुन् । ‘मालेमावादको सौन्दर्यधारालाई समातेर पाख्रिनले प्रगतिवादी कला सौन्दर्यको समृद्धीकरणमा वस्तुतः एउटा अविस्मरणीय देन दिएका छन् ।’(पाख्रिनका गीतहरु.... संस्कृति र सौन्दर्य ः ईश्वरचन्द्र ज्ञवाली पृ.१३३) । मैले हिंजो गरेको यो मूल्याङ्कन आज पनि सही नै लाग्छ । किनकि पाख्रिनका रचनाको भाव र शिल्प यही हो । सांच्चै पाख्रिन गीतहरुमा एउटा प्रण हो, एउटा दृढता, अविच्छिन्न, अविश्रान्त प्रतिवद्धता हो । (उही पृ.१३३) । पाख्रिन जीवनवृत्त, प्रवृत्ति र  संघर्ष  भन्ने लेखमा मैले लेखेको छु–‘खुसीराम पाख्रिनको व्यक्ति जीवन र पारिवारिक जीवन दुबै राजनैतिक जीवन हो । उनी बर्ग संघर्षद्वारासमाज रुपान्तरणकारी उथलपुथल पैदा गर्ने क्रान्तिका गायक हुन् ।’(उही पृष्ठ १८९,२०६४) मेरो यो मुल्याङ्कन आजपनि सहीनै लाग्छ ।गीतसंगीतका माध्यमबाट, सिर्जनाका माध्यमबाट क्रान्तिलाई ठोस योगदान दिनु मात्र हैन, क्रान्तिमा सामेल भएर जनचेतनालाई माथि उठाउनु र मुक्तिको सन्देश प्रवाह गर्नु पाख्रिनको प्राप्ति हो । २०३७ सालबाट चौम, मशाल, एकताकेन्द्र, एकीकृत माओवादी हुंदै अन्तमा एमालेसंग विलय हुन लागेको माओवादी केन्द्रका संगठित केन्द्रीय सल्लाहकार उनको राजनैतिक यात्रा हो यो । यसले उनको निष्ठा र समर्पणको द्वैतभावलाई पुष्टि गर्छ । विचार व्यवहारको तालमेललाई पनि संकेत गर्छ । समग्र परिवार नै राजनीतिमा लागेर एउटा छोराको वलिदानसमेत दिएका पाख्रिन सहिद पिता अनि यातना, जेलनेलका भुक्तभोगी पात्र पनि हुन् । उनले सर्वहारा वर्गको मुक्ति र नयाँजनवादी युगको आमन्त्रणलाई गीतको अन्तर्य बनाएका छन् ।

आफ्ना गीतमा पूर्ण मुक्तिको कामना र वीचबाटो मै अलपत्र पारिएको क्रान्तिको रातो झण्डालाई फेरि उठाउने वाचा गीतहरुमा गर्दै गर्दा आज उनको मृत्यु भएको छ । यही हामीलाई उनले दिएको प्रेरणा हो । विचलनवाद, संशोधनवाद, सुधारवाद, प्रतिक्रान्ति विरुद्ध उनले दिएको अन्तिम चेतावनी शब्द पनि हुन उनका गीत । अविरल क्रान्तिकारी धाराको पक्षमा उभिएका पाख्रिन अन्तिम क्षणमा भने संंसदीय व्यवस्थाको चुनावी सभाका साथै सहयात्रीको शोकसभालाई गीतका माध्यमबाट सम्वोधन गर्दै गर्दा ढले । उनको अन्तिम चरणको प्रस्थानविन्दु के संसदीय व्यवस्था नै थियो ? यसको उत्तर अब भौतिक रुपमा उनले दिने छैनन् तर उनका रचनाको मूल प्रवृत्ति भने सुधारवाद, संशोधनवाद, प्रतिक्रान्ति र विचलनका विरुद्ध छ भन्ने कुरा उनका गीत र अन्य रचनाहरुले नै भन्छन् । पाख्रिन कलासर्जक मात्र हैनन् संस्कृति र सौन्दर्य चिन्तक पनि हुन्। उनका थुप्रै रचना, आलेख यी विषयमा लेखिएका छन् । पद्य र गद्य , लय र भाका, लेखन र गायन उनको सिर्जनात्मक यात्रा हो । यसैकारण उनले सांस्कृतिक परिवार निर्माण गरेर देश–विदेश, पहाड–तराइमा सांस्कृतिक अभियान चलाए । यसक्रममा उनले सात सयवटा कार्यक्रम प्रस्तुत गरेको कुरा मसंग भनेका थिए । पाख्रिन जीवनवृत्त, प्रवृत्ति र संघर्ष भन्ने लेखमा मैले यसप्रति संकेत गरिसकेको छु । पाख्रिन दाइ आस्था र निष्ठा, विचार र समर्पण पनि हुन् । उनी आन्दोलनप्रति सधै समर्पित भइरहे । उनले सधै पार्टीभित्र क्रान्तिकारी धाराको नै पक्षपोषण गरे र अन्तमा भने परिस्थितिले उनलाई संसदीय व्यवस्थाको प्रचार प्रसारतिर डोरायो । उनी अनेजसां महासंघ, जनकलाकार संघ, इच्छुक सांंस्कृतिक प्रतिष्ठान आदि संस्थाका नेतृत्वकर्ता बने र पछि संसदीय व्यवस्थामा सभासद् पनि भए । फेरि पनि उनले सागर तर्न खुट्टा कमाउन नहुने उद्घोष र देशप्रतिको अगाध मायांलाई व्यक्त गरेका छन् ।

विस्तारवादबाट देशको मुक्ति, नवउपनिवेशबाट पूर्ण स्वाधीन बन्ने चाहना, अनि सामन्तवाद, दलाल पुंजीवादबाट पूर्ण मुक्ति एवम् सर्वहारावर्गको राज्यसत्ता प्राप्तिको चाहना उनमा मरेको भने कतै पाइन्न । चाहे उनी संसदीय अभ्यासमा किन नहोऊन् । त्यसैले उनी कला साहित्यमा समाजवादी यथार्थवादका पक्षधर हुन् । उनमा आशावाद छ । आलोचना छ । विद्यमान यथार्थबाट मुक्तिको चाह छ । वर्गयुद्ध र जनयुद्धको अवगाहनका सााथै वर्ग, जाति, क्षेत्र र लिङ्गको समग्र मुक्ति र स्वतन्त्रता प्राप्तिको उद्देश्य स्पष्ट परिलक्षित छ ।

सांच्चै उनी दृढता, समर्पण, निष्ठा र विचारका यात्री हुन् । त्यसैले उनी युद्धमा प्रत्यक्ष सहभागी र सहयोगी भए । पाख्रिनदाइले गीत, कविता, लेख, गीतिचिन्तन र सौन्दर्य चिन्तनका रचना दिएर गए । उनका तीनवटा कृति पुस्तकाकारमा र एक एल्बममा छन् । अरु धेरै फुटकर रचना भने छरिएर रहेका छन् ।आंशुका भाकाहरु, रक्तक्रान्तिका गीतहरु, एल्बम जस्ता कृतिहरु छन् भने कलम, उद्बोधन, नयांयथार्थ, वेदना, जनादेश र जनदिशा आदि पत्रिकामा छापिएका चिन्तनपरक लेख उनका वैचारिक आलेख हुन् । यसले उनलाई सर्जक, अभियन्ता, नेता, चिन्तक, विचारक पनि रहेको देखाउंछ । जे भएपनि पाख्रिन जनवादी कलाधाराका एक मूर्धन्य धरोहर हुन् र उनका गीत कालजयी छन् । उनीगीत लेख्थे, त्यसमा लय भर्थे, संगीत निर्माण गर्थे र गाउंथे पनि र जीवन व्यवहारमा पनि प्रयोग गर्थे । 

उनका रचनाको खास खास प्रवृत्तिले उनको सुससंगठित पहिचान दिन्छ । उनी सर्वहारावर्गको मुक्ति चाहन्छन् । उनको आफ्नो वर्गप्रति पे्रम र लगाव छ । उनी श्रम र श्रमिकप्रति सम्मान गर्छन् र तिनका घटनालाई प्रस्तुत गर्छन् । उनी समाजको शोषण, विभेद, अन्यायको विरोध गर्छन् भने समाज र व्यवस्थाका विसंगतिमाथि प्रहार गर्छन् । गरिबका दुःख, दर्द, पीडा, समस्या र उनले भोगेका कठिनाइ एवम् उनीमाथि भएका शोषण र भेदभावको खुलेर चित्रण गर्छन् तर समाजमा विद्यमान विसंगतिमाथि प्रहार गर्छन् । जनयुद्धको त्याग, वलिदान, शौर्य, साहसको गाथालाई गीतले समेटेका छन् भने गाउंघरमा गरिबहरुले भोग्ने जीवन व्यथालाई यथार्थ चित्रण गर्दे त्यसबाट मुक्तहुने विचार प्रस्तुत गर्छन् । नारीमाथिका भेदभाव, शोषण, अपमान, यौनहिंसाको विरोध र नारी समानताको पक्ष पोषण गर्छन् । देशपे्रम, राष्ट्रियता र स्वाभिमान उनका गीतको कथ्य हुन्छ । साम्राज्यवाद र विस्तारवादका विरुद्ध संघर्षको आह्वान पनि हुन्छ । उनी अविरल, अथक, अविश्राम क्रान्तिको यात्रालाई अन्तसम्म जारी राख्न र सुन्दर समाज निर्माण गर्न आह्वान गर्छन् । यिनै उनका मुख्य प्रवृत्ति हुन् । यसबाहेक अरु धेरै प्रवृत्ति पनि सहायक रुपमा देख्न सकिन्छ । यसले उनको कलासाहित्यको प्रवृत्ति समाजवादी यथार्थवादी नै रहेको पुष्टि हुन्छ ।

वर्तमानसम्म आइपुग्दा पाख्रिनले संसदीय अभ्यासबाट पनि समाजवादमा पुग्न सकिन्छ कि ?भन्ने बाटो रोजे । नेपालमा जनवादी क्रान्ति पूरा भएको छैन । देश दलाल पुंजीपति र नोकरशाह वर्गको चंगुलमा फंसेको छ । पुरानो सामन्त वर्ग नयां दलाल वर्गको रुपमा अभिव्यक्त भइरहेछ र सत्ता तिनैको हातमा छ । सरकार फेरिए पनि सामन्तशाही सारतत्व फेरिएको छैन । भारतीय विस्तारवाद झन् बढी प्रभावशाली बनेर हरेक क्षेत्र र विषयमा सूक्ष्म हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेछ । पार्टीहरु त्यसैको खेलौना वा कठपुतली पारिएका छन् । मुलुक समृद्ध र आत्मनिर्भर छैन । झन्झन् गरिब र परजीवी वा परनिर्भर बन्न पुगेको छ । जनताले सुख हैन दुःख पाएका छन् र देश भ्रष्टाचारको दलदलमा भासिंदै गएको छ । देश टुक्र्याउने खेल जारी छ र देशको सार्वभौमिकतानै खतरामा छ। विस्तारवादको चाकरी गरेर सत्तामा जाने र देशको कुनै न कुनै अंश दिल्लीधाममा चढाएर फर्किके प्रवृत्ति अझै बढेको छ । न सामन्तवाद समाप्त भयो न स्वाधीनता माथिको अतिक्रमण। यस स्थितिमा संसदीय अभ्यासबाट समाजवादको सपना निरर्थक प्रयास मात्र हुन्छ ।

संसदबादको बोकाले समाजवादको पाठी पाउन सम्भव छैन । संसारमा कहिं संसदीय व्यवस्थाबाट समाजवाद आएको इतिहास छैन र यस्तो भएको छैन । मुलुकमा ३–३ पटक असफल साबित संसदवादलाई पुनस्र्थापित गरेर त्यसैमा सामेल भई सबथोक यही हो अब राजनैतिक क्रान्ति पूरा भयो आर्थिक क्रान्ति मात्र गर्नुपर्छ भन्नु विचार निष्ठामा विचलन हो । के क्रान्ति कहिल्यै समाप्त हुन्छ ? के फेरि विद्रोह अब हुंदैन ? के अब नयां युगको चेतनाले नयां अभियन्ता र इतिहास नायक जन्माउने छैन ? यस्ता तिलस्मी कथा बुनेर जनताको दिमाग भुट्नु इतिहासमाथि गद्दारी हो भन्ने लाग्छ । क्रान्ति सम्भव छ । क्रान्ति फेरि पनि हुन्छ । नेपालमा फेरि अर्को क्रान्ति जरुरत हुन्छ भन्ने यथार्थ बुझ्नु पर्छ । पाख्रिनले आफ्ना अधिकांश रचनामा यसैको अभिव्यक्ति दिएका छन् । 

अन्तमा मृत्युका क्षणमा पनि जसरी राजनीतिको सक्रियता र संलग्नतालाई पाख्रिनले छोडेनन् र लागिरहे यो प्रतिबद्धता वा निष्ठाको उदाहरण हो । अरुलाई समवेदना र सम्वेदना पोख्ता पोख्तै जसरी आफूनै सम्वेदना र समवेदनाका विषय बनेयसले उनलाई सम्झाइरहनेछ । पाख्रिन दाइको मृत्यु एउटा सक्रिय मृत्यु हो । अलविदा पाख्रिन दाइ † हामी तपाइको विचार र योगदानको मूल्यलाई कदर गरिरहनेछौं । पाख्रिन जनवादी आन्दोलनमा सदा स्मरणीय भइरहनेछन् । अस्तु ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive