newsone

वीरगञ्जलाई गन्तब्यको शहर बनाउँछु : मेयर सरावगी

newstwo वीरगञ्जलाई गन्तब्यको शहर बनाउँछु : मेयर सरावगी

गत असोज २ गते सम्पन्न तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा देशको प्रमुख आर्थिक नगरी वीरगञ्ज महानगरपालिकाको मेयरमा उद्योग वाणिज्य संघ वीरगंजका पूर्व अध्यक्ष विजय कुमार सरावगी निर्वाचित भए । वीरगञ्जको विकासलाई मुख्य राजनीतिक एजेण्डा बनाएर चुनावी मैदानबाट विजय प्राप्त गरेका वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीसँग गरिएको संक्षिप्त कुराकानी ।

एउटा उद्योगीको रुपमा सामाजिक क्षेत्रमा सक्रिय रहनु भएको तपाईँ पहिलो पटक जनप्रतिनिधिको जिम्मेवारी पाउनु भएको छ, कस्तो महसुस गरिरहनु भएको छ ?
– निर्वाचित भएर सपथ ग्रहण गरिसके त्यसपछि मलाई अलिकति उत्तरदायित्व महसुस भयो । २० बर्षदेखि जनतामा विकासको जुन भोक थियो जनताले जुन आशा गरेका छन्, त्यो आशा पूरा गर्नका लागि मलाई दिनरात खटेर काम गर्नुछ । किनभने जुन स्रोत–साधनहरु छन् अहिले महानगरमा त्यसले जनताले लिएका आशा पूरा गर्न सक्ने अवस्था छैन । भएका जनशक्ति र स्रोतहरुबाट द्रूत गतिमा विकास हुन सक्दैन । आधुनिक प्रविधि र जनशक्तिहरुको आवश्यकता छ । आधुनिक प्रविधिहरुको प्रयोग गर्नुपर्छ । त्यो उत्तरदायित्वले गर्दा अलिकति म चिन्तित छु । तर म यसलाई चुनौतिको रुपमा लिएर धेरै परामर्शदाताहरुसँग बुझदैछु । यो प्रारम्भिक चरणमा मैले जिम्मेवारी बोध गरेर अगाडि बढेको छु । मलाई लाग्छ म गर्न सक्छु र त्यही तयारी गर्दैछु । 

हिजोको दिनमा तपाई सेवाग्राहीको रुपमा हुनुहुन्थ्यो भने आज सेवा दिने ठाउँमा हुनुहुन्छ, हिजो तपार्इंले भोगेका समस्यालाई अब तपाईंले कसरी सम्बोधन गर्नुहुन्छ ?
– म सेवाग्राही हुँदासम्म नगरपालिकाको सेवा लिने विषयमा जुन समस्या झेलेको छु । त्यो मलाई थाहा छ । आमनागरिकको हैसियतमा मलाई पनि थाहा छ कि महानगरपालिकामा गएर के–के अप्ठ्यारा र दुःख झेल्नुपर्छ भन्ने । ती अप्ठ्याराहरु धेरै कारणले छन् । त्यो कर्मचारीहरुलाई मात्रै दोष दिएर पनि हुँदैन । स्रोत र साधनको पनि कुरा आउँछ । यी सबै कुराहरुको मलाई जानकारी भएको हुँदा सपथग्रहण गरिसकेपछि पनि एउटा सेवाग्राही नै हो । त्यही भएर मेयर भएपछि झन् सजिलो हुन्छ कि जस्तो लाग्छ किनभने मैले जुन अपेक्षा र आकाङ्क्षा राखेको छु, सेवाग्राहीले के–के खोज्छन् भन्ने मानोविज्ञान मैले बुझेको हुनेछु । त्यसले पनि मलाई मेयर भएर काम गर्न सहज नै हुन्छ ।

पछिल्लो पटक गाउँलाई समेत समेटेर महानगर बनाइएको छ यसलाई वीरगञ्जका नागरिकले अपेक्षा गरेजस्तो महानगर बनाउन तपाईंको योजना कस्तो छ ?
– महानगरको प्रथामिकतामा नीतिगत स्तरमा एउटा घोषणा पहिले नै गरेको छु । बालिका शिक्षा पहिलो प्राथामिकता नै हो । बालिकाहरुलाई जुन भेदभाव गरिन्छ– सरकारी स्कुलमा मात्रै पढाउने, छोरालाई मात्रै बोर्डिङ स्कुलमा पठाउने गरिएको छ । त्यसको अन्त्यका लागि सबै सरकारी–सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमको पढाइलाई अनिवार्य गर्ने भन्ने प्रस्ताव गरेको छु । त्यो बोर्डका सदस्यहरुले पनि सकारात्मक देखिन्छन् । दोस्रो वीरगञ्जमा बालश्रम धेरै देखिएको छ । बालश्रम अन्त्य गरी बालमैत्री महानगरको विकास गर्ने निर्णय गरेको छु । तेस्रो निर्णय वीरगञ्ज महानगरपालिकालाई फोहोर व्यवस्थापन दू्रत गतिमा गर्न लागेको छु । चौथोमा जति पनि जनतालाई सकस भएको छ महानगरभित्र सडकको दूरावस्था सुधार गर्न खाल्डाखुल्डीलाई अल्पकालीन रुपमा पुर्न लगाउँछु । यो मेरो प्रतिबद्धता हो । किनभने बाटोमा आवतजावत गर्न समेत धेरै समस्या हुने गरेको छ । दैनिक जीवनमा सरल ढंगबाट जीवनयापन गर्न जे–जे आवश्यकता छ । तीन महिनाभित्र वाचा गरेको छु जनतासँग त्यो बाचा पूरा गर्नेछु । मलाई लाग्छ त्यो गर्न सक्छु । तर एउटा अवरोध के देखेको छु भने २ महिनापछि फेरि प्रदेश र केन्द्रको निर्वाचन पनि आउँदैछ । त्यता पनि मैले समय दिनुपर्ने हुन्छ । राजनीतिक रुपमा पनि मैले सक्रियता देखाउनुपर्ने भएकोले पनि अलिकति अवरोध होला मलाई आशा छ । मैले समय व्यवस्थापन गरेर महानगरको विकासलाई अगाडि बढाउँछु । मलाई विश्वास छ म गर्न सक्छु । 

ग्रामीण क्षेत्रका जनताले महानगरपालिकामा भएको अनुभूति गर्न सक्ने अवस्था त अहिले पनि छैन, उनीहरुले करको भार मात्र थपिने हो कि भन्ने चिन्ता गरिएको छ नि ?
– वीरगञ्ज महानगरपालिकाको पूरै संरचना हेर्ने हो भने ७० प्रतिशत भूभाग ग्रामीण क्षेत्र रहेका छन् । वीरगञ्जको पुरानो संरचना पनि ग्रामीणस्तरकै छ । लक्ष्मणुवा, भेडियाही, पिपरा, नगवा, इनर्वा, सिर्सिया, अलौलगायतका स्थान पनि नगर भन्ने अवस्थाका छैनन् । गाउँ जस्तै छन् । ७० प्रतिशत भूभागलाई जोड्न सहज छैन । त्यसलाई सानो–सानो शहरको रुपमा अर्थात् सेटलाइट सिटीको रुपमा विकास गर्छु । हरेक सेटलाइट सिटीलाई आत्मनिर्भरताका लागि एउटा व्यवसायमा संलग्न गराउने योजना छ । जुन जहाँको जमिन जे को लागि उपयुक्त हुन्छ त्यसलाई एउटा सेटलाइट सिटी एउटा उत्पादनको रुपमा लागू गर्ने योजना छ । सेटलाइट सिटीमा व्यवसाय र उत्पादनलाई प्रमुख प्राथमिकता दिनेछु । गाईपालन, भैंसीपालन, माछापालन, व्यावसायिक बालिनालीलगायतका क्षेत्रको उत्पादनमा जोड दिन्छु । उनीहरुलाई जे अवश्यकता छ त्यो प्राथमिकतामा राखेर उपलब्ध गराउनेछु । अहिले ग्रामीण क्षेत्रको रुपमा रहेको महानगरवासीलाई पहिलो प्राथमिकतामा देखेको खाने पानी अभाव छ । खानेपानी आपूर्ति कसरी गर्ने ? अहिले नै ओभरहेड ट्याँकी बनाउन सम्भव त छैन । पहिले खाने पानीका लागि सांसदहरुले चापाकल वितरण गरेका थिए । ती सबै आफ्ना नेता–कार्यकर्ताहरुलाई मात्रै बाडिएको छ । अहिले मैले तत्काल २५ जनाको उपभोक्ता समूह गठन गरी दुई हजारसम्मको पानीका लागि (ट्युबवेल)  चापाकल उपलब्ध गराउने योजना छ । निर्वाचन प्रचार– प्रसारका बेला मैले घरदैलो गर्ने क्रममा जुन देखेको छु । शहरसँग जोड्ने सडक सञ्जालको आवश्यकता, कच्ची सडकमा ग्राभेल हाल्ने, सडकको स्तरोन्नति, विद्युत आपूर्तिको अव्यवस्थालाई व्यवस्थित गर्नुपर्ने छ । त्यो गर्नेछु । 

वीरगञ्जको फोहोर ब्यवस्थापन हुन नसक्नु र ट्राफिक समस्या पनि हल हुन नसक्दा बाहिरबाट आउने आगन्तुहरुले वीरगञ्जका बारेमा नकारात्मक प्रचार गरेको पाइन्छ यसलाई कसरी सम्बोधन गर्ने योजना छ त ?
– फोहोरमैला व्यवस्थापनका लागि नेपालमा मैले बुझ्दा नगरपालिका र नागरिक मिलेर गरेको व्यवस्थापन राम्रो देखेको छु । मलाई भरतपुरको फोहोरमैला व्यवस्थापन गर्ने मोडेल एकदमै राम्रो लागेको छ । फोहोरमैला व्यवस्थापनमा म अत्यन्त चिन्तित छु । म निर्बाचित भएपछि बसेको वीरगञ्ज महानगरपालिकाको पहिलो बैठकमा पनि फोहोर व्यवस्थापनका लागि काम गर्न भनेको छु । मैले औपचारिक र अनौपचारिक रुपमा पनि कर्मचारीहरुलाई भनेको छु– फोहोर व्यवस्थापन छिटो मिलाउनुस् भनेर । कर्मचारीहरुले महानगरपालिकाका लागि आवश्यक जनशक्ति अभाव रहेको बताएका छन् । नगरपालिकाको आवश्यकताअनुसार पनि कर्मचारी नभएको अवस्थामा उपमहानगरपालिका हुँदै अहिले महानगरपालिकासमेत भइसकेकोले जनशक्ति नै कम भएको भनेका छन् । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने वा करारमा नियुक्ति गर्ने विषयमा पनि प्रक्रिया थाल्ने, स्रोत–साधनहरुको पनि व्यवस्था गर्ने, कमसेकम प्रत्येक वडामा एउटा ट््याक्टर पु¥याउने योजना छ । 

ट्राफिक व्यवस्थापनका लागि भने अनुशासन नै मुख्य हो । अनुशासन पालनाका लागि कडाइ गर्न ट्राफिक प्रहरीसँग र स्थानीय प्रशासनसँग बसेर केही कुरा लागू गर्नुपर्ने आवश्यकता छ। अर्को सडकहरु थप गर्नुपर्ने छ । पूर्वी क्षेत्रमा सडक छ । तर, नगरको पश्चिम क्षेत्रमा सडक कम छ । सिर्सियाकोरिडरको पनि कुरा गरेको छु । अनुशासनको अभावमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको हो । ट्राफिक नियम र लाइट प्रयोग गरेर अनुशासनमा कडाइ गर्नुपर्छ । फोहोर र ट्राफिक व्यवस्थापनका लागि चेतनाको पनि अभाव देखिएकोले चेतना बढाउने कार्यक्रमहरु पनि सँगसँगै लैजानेछु ।

महानगरको विकासका लागि यहाँ क्रियाशिल सवै राजनीतिक दललाई कसरी हातेमालो गरेर लैजानु हुन्छ ?
– पहिलो कुरा महानगरको विकासका लागि राजनीतिक दलहरुको सहयोगी भूमिका हुनुपर्छ । मलाई के लाग्छ भने जतिबेला हामी चुनाव लडिरहेका थियौं, हामी कुनै न कुनै दल विशेषबाट उम्मेदवार बनेका थियौं । तर, चुनावपछि हामी दलविशेष भन्दा माथि उठ्नुपर्छ । किनभने सबै दल विकासका लागि लडेका थिए । सबै दलको आकाङ्क्षा छ कि जसरी पनि विकास होस् । अब विकासको गतिमा कुनै पनि दलले अवरोध सिर्जना गर्छ भने जनताले हेरिरहेका छन् । यो स्थानीय सरकार हो । जनता आशा लिएर बसेका छन् । कसले कस्तो काम गर्छ भनेर सतर्क छन् । यो कुरा सबै दलले बुझेका छन् । मलाई यति विश्वास छ कि जसले विजय हासिल गर्न सकेनन् उनीहरुले पनि विकासका काममा सहयोग गर्छन् । यदि कसैले अब महानगरको विकासमा सहयोग गरेन भने भोलिका दिनमा पनि चुनाव हुन्छ । जति अहिले जनताले माया गरेका छन्, त्यो पनि गर्न छाड्छन् ।

मैले जुन अठोट लिएको छु, त्यो सबैलाई थाहा छ । मैले महानगरबाट पाउने सेवा–सुविधा नलिने घोषणा पनि गरेको छु । मैले किन नलिने घोषणा गरेको हो भने त्यो पैसा समाजको लागि र विकासको लागि लगाउनु छ । मैले यति त्याग गरेको छु भने वीरगञ्जको हितका लागि अन्य राजनीतिक दलहरुले पनि त्यो कुरा बुझेर सहयोग गर्छन् । 

सामाजिक क्षेत्रको विकासका लागि महानगरमा कस्तो समस्या र चुनौति देख्नुभएको छ ?
– हाम्रो समाजको विकासमा देखिएको चुनौति अहिलेसम्म बुझन सकेको छैन । म शिक्षाबाटै शुरु गर्छु । अभिभावकहरुले छोराछोरीलाई विद्यालय पठाइदिन्छन् । तर बच्चाले के पढ्दैछ ? कसरी पढ्दैछ भनेर उनीहरु वास्ता गर्दैनन् । आफ्ना बालबच्चाले पाइरहेको शिक्षा कति गुणस्तरीय छ भनेर समेत ख्याल गर्दैनन् । यसले गर्दा हाम्रो समाजमा बालविवाह, कुरीति, महिला हिंसा, बालश्रम, कम उमेरमा विवाह गरिदिएर महिलाहरुलाई विकृतितर्फ जान बाध्य बनाइएको छ । यी सबै कुरा सामाजिक चेतनाको रुपमा सामाजिक परिचालकहरुलाई अधिकतम परिचालन गरेर उनीहरुमार्फत् जनचेतना जगाउन आवश्यक छ । विशेष गरी महिलाशिक्षामा बढी जोड दिएको छु । किनभने महिलाले दुईवटा घर हेर्छन्– एउटा माइती घर अर्को आफ्नो घर । त्यसैले उनीहरु शिक्षित हुनुपर्छ । बृद्धबृद्धाका लागि स्वास्थ्य सेवा कार्ड र पौष्टिक आहारको व्यवस्थाका लागि योजना बनाएको छु । सबैले पाँच हजार, दश हजार भत्ता दिने भनेका छन् । त्यसको दुरुपयोग भएको छ । नगद रकम खर्च गर्नुभन्दा कसरी बृद्धबृद्धाहरुको स्वास्थ्य र पौष्टिक खाना प्राप्त गरी आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण बनाउने छु । महिलाहरुका लागि कुनै न कुनै रोजगारीको सिर्जना गर्नेछु । 

सामाजिक क्षेत्रको विकृति राज्यको ऐन र कानुनले समेत हटाउन सकेको छैन । तपाईं स्थानीय सरकारको मात्रै निर्णायक तहमा बस्ने व्यक्तिको हैसियतले कसरी हटाउन सम्भव होला ?
– नेपाल सरकारका जति पनि ऐन–कानुन आए या जुन उसका जिम्मेवार पक्षहरु जसले जिम्मा लिए तिनीहरुले खालि खान पूर्ति गरेका छन् । सयमा पाँच प्रतिशत मात्रै काम भएको छ । ९५ प्रतिशत काम कागजमा मात्रै सीमित भए । कसैले पनि आज सामाजिक परीक्षण गरेको छैन । खर्च धेरै भयो उपलब्धि देखिएन । समाजको विकासको हिसाबले फाइदा भयो कि भएन भनेर परीक्षण गरिएन । अब हामी स्थानीय सरकारले काम गर्नुपर्ने छ । मैले शुरुमा पनि भने सामाजिक परिचालकमार्फत् घरघरमा गएर चेतना जगाउने, उसको व्यवहार, आचरणलगायतका कुराहरु छन् ती सबै सामाजिक परिचालकमार्फत् व्यक्तित्व विकास गरी राजनीतिक र सामाजिक सवलीकरण गर्ने काम हुनेछ । जति पनि गैरसरकारी संस्थाहरु छन्, ९० प्रतिशतले ठगेर खाएका छन् । विदेशीका डलर लिएका छन् । आएको रकम आधा तलबमा खर्च गरेका छन्, आधा कागजमा मात्रै देखाएर खाएका छन् । ती सम्पूर्ण संस्थाहरुलाई एकद्वार प्रणालीबाट महानगरपालिकामार्फत् मात्रै काम गर्न दिन्छौं । यदि कसैले सीधै काम गर्न खोज्यो भने त्यसरी काम गर्न दिंदैनौं । त्यसपछि मात्रै पैसा आएको लगानी सही ठाउँमा जान्छ र विकास पनि हुन्छ । 

देशको प्रमुख आर्थिक नगरीको रुपमा लिइन्छ वीरगञ्जलाई । यसको आर्थिक र औद्योगिक विकासका लागि तपाईंसँग ठोस कार्ययोजना के छ ?
– म वीरगञ्जको आर्थिक क्षेत्रबाटै आएको व्यक्ति हुँ । ०६२÷०६३ मा वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष पनि भएँ । तीन पटक उद्योग वाणिज्य महासंघमा पनि रहेर काम गर्ने अवसर पाएँ । व्यापार समितिको संयोजक पनि भएँ । त्यो समयमा मैले धेरै सुझाव सरकारलाई दिएको थिएँ । यहाँको आर्थिक सवलता कसरी बढाउने ? हामी के चाहिरहेका छौं भनेर थाहा छ । अरु नेताहरुलाई जस्तो गा¥हो छैन । म उद्योग वाणिज्य संघलाई साझेदार बनाउँदैछु । जहाँ–जहाँ आर्थिक क्षेत्रसम्बन्धी कुरा हुन्छ, त्यहाँ साझेदार बनाएर लैजाने योजना छ । अर्को म वीरगञ्जलाई गन्तव्यको वीरगञ्ज बनाउने योजनामा छु । वीरगञ्जलाई उद्योग व्यवसायको केन्द्र बनाउने र यहाँको औद्योगिक विकास गरी वैदेशिक लगानी आउने वातावरण बनाएर दोहोरो अंकमा उद्योगको विकास गराउने योजना छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जनको हव तथा रोजगारीको हवको पनि विकास गर्नेछु । वीरगञ्ज ट्रान्सपोर्टको नगरी हो । हरेक क्षेत्रबाट नेपालभरिको सामान वीरगञ्ज ल्याएर ढुवानी गर्दा सबैभन्दा बढी फाइदा हुन्छ । तर व्यवस्थित छैन । सुविधासम्पन्न गोदामहरुको पनि अभाव छ । यसलाई गोदामको सहरको रुपमा पनि विकास गर्नुपर्ने छ ।

वीरगञ्जलाई मैले गन्तव्यको शहर बनाउने पनि भनेको छु । जुन दिन गन्तव्य वीरगन्ज हुन्छ, त्योदिन सबैले वीरगञ्जलाई हेर्न थाल्छन् । जब वीरगञ्जमा लगानी गर्दा फाइदा हुन्छ भन्ने लाग्छ अनि लगानी आउन थाल्छ । त्यसपछि स्वतः रोजगारी पनि सिर्जना हुन्छ । वीरगञ्जमा लगानी गर्दा फाइदा छ भन्ने लगानीकर्ताहरुलाई विश्वस्त पार्ने काम हुन्छ । भोलिको दिनमा रोजगारीका लागि युवाहरु विदेशमा होइन, वीरगञ्जतिर आउने वातावरण बन्न सक्छ । यसो गर्दा हाम्रो देशबाट ‘मनि’ र ‘व्रेन’को जुन ‘ड्रेन’ भइरहेको छ, त्यसलाई रोक्न सकिन्छ । वीरगञ्ज आर्थिक रुपमा सवल र समृृद्ध हुने आधार पनि यही हो ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive