newsone

भरतपुरलाई देशकै नमूना महानगर बनाउने लक्ष्य : रेणुु दाहाल

newstwo भरतपुरलाई देशकै नमूना महानगर बनाउने लक्ष्य : रेणुु दाहाल

भरतपुर महानगरको मेयरमा निर्वाचित रेणु दाहालले आफ्नो कार्यकालको करिब दुई महिना पूरा गर्दैछिन् । उनी महानगरपालिकाहरुमा देशकै पहिलो महिला मेयर पनि हुन् । साविक शिवनगर गाविस हाल भरतपुर महानगर वडा नम्बर १४ शिवनगरमा २०३३ असारमा जन्मिएकी रेणुुले भरतपुरको महानगरको मेयरमा निर्वाचित भएपछि यो दुई महिना कसरी बिताइन् ? यो अवधिमा उनले के के कामहरु गरिन् ? अबको समय महानगरका कस्ता गतिविधिहरुमा उनको ध्यान केन्द्रित हुन्छ ? मेयर रेणुुको पहलमा साँच्चै भरतपुर महानगरले विकासमा कोल्टे र्फेर्ला त ? यस्तै विषयमा केन्द्रित भएर पत्रकार सुरेशचन्द्र अधिकारीले गरेको कुराकानी :

भरतपुर महानगरको मेयरमा निर्वाचित भएर कार्यभार सम्हाल्नुभएको दुई महिना पुग्नै लागेको छ, यो अवधिमा के के काम गर्नुभयो त ?
– यो दुई महिनाको अवधिमा केही राम्रा कामहरु भएका छन् । सोचेजस्तो दूरगामी महत्वका काम त भएका छैनन्, तर पनि राम्रा कामको सुरुवात भएका छन् । मैले पदभार लिएकै दिन पहिलो काम भरतपुर अस्पतालमा महिला र ६० वर्ष कटेका वृद्धहरुलाई ओपीडी टिकट निशुल्क गर्ने घोषणा गरें । यो कामको प्रभावकारिता देखिएको छ । जसको चौतर्फी प्रशंसा भइरहेको छ । 

त्यस्तै, महानगरलाई प्रविधियुक्त बनाउन नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बसपार्कमा फ्री वाइफाइ जोनको रुपमा विकास गरिएको छ । यसबाट बसपार्कमा प्रतिक्षामा बस्ने यात्रुहरुलाई सुविधा पुगेको छ । महानगरवासीले त्यस क्षेत्रमा फ्री वाइफाइ चलाउन पाएका छन् । 

त्यस्तै, यही दुई महिनाको अवधिमा हामीले अव्यवस्थित नारायणगढ र भरतपुरको पार्किङलाई व्यवस्थित बनाउन विभिन्न ठाउँमा पार्किङ स्थलहरु बनाएका छौँ, जहाँ सवारी धनीहरुले सशुल्क पार्किङ गर्नुपर्छ । यो नियम कार्तिक १ गतेबाट पूर्ण रुपमा लागू हुन्छ । पसल सञ्चालकहरुले सडकको पेटीहरुमा बेच्ने सामान राख्न पाउने छैनन् । यसलाई पनि कार्तिक १ गतेबाटै कार्यान्वयनमा ल्याइन्छ । हर्न निषेध गर्ने, करहरुको दायरा बढाउने लगायतका कामहरु पनि भएका छन् । हामीले महानगरको समग्र विकासका लागि बृहत् गुरुयोजना निर्माण गरेर कामलाई अगाडि बढाउनु छ । यसबीचमा हामीले विज्ञहरुसँग चरणवद्ध रुपमा छलफल तथा अन्तरक्रियाहरु पनि गरिरहेका छौं ।

दीर्घकालीन योजनाका काम त कुनै पनि भएनन् नि, कुनै कामको घोषणा गर्ने योजना छैन  ? 
– हो, यो दुई महिनाको अवधिमा कुनै दीर्घकालीन योजनाका काम भएका छैनन् । थु्रपै दीर्घकालीन योजनाको कामहरु गर्न बाँकी छ । केही दीर्घकालीन योजनाको घोषणा छिट्टै हुने नगरसभाबाट हुन्छ । सायद कार्तिक मसान्तपछि नगरसभा हुने तयारी भइरहेको छ । महानगरवासीको जनअपेक्षा ठूलो छ, केही जनअपेक्षाको हल नगरसभाले गर्ने भएको छ । सभा हलको कुरा छ, रिङरोडको कुरा छ, ल्याण्डफिल साइटको कुरा पनि छ । यस विषयमा नगरसभाबाट नै केही हुनेछ । महानगरको गुरुयोजना बनेपछि दीर्घकालीन कामको घोषणा हुनेछ । हामी सबैभन्दा पहिला महानगरको बृहत् गुरुयोजना निर्माण गर्ने क्रममा छौं । केही दिन धैर्य गर्न म महानगरवासीहरुमा अनुरोध गर्दछु । 

विकासमा भन्दा बढी भरतपुर महानगरपालिकाका मेयरको समय बढी स्वागत सम्मानमै बितेको छ भन्ने गुनासो छ नि ? 
– चुनावको बेला हामीलाई सबैले सहयोग गरेका हुन् । आयोजकहरुले चुनावको बेला सहयोग गरियो, निर्वाचित भएपछि स्वागत पनि गर्नुप¥यो भनेर बोलाउन आउँछन् । कति आयोजकहरुले धर्ना नै कस्छन् । समय छैन भन्दा पनि आयोजकहरुले आधा एक घण्टा भनेर बोलाउँछन् । हामीले हाम्रा समस्या सुनाउन बोलाएका हौँ भन्छन् । यस्तो अवस्थामा कसरी नजाने ? आयोजकहरुले बोलाउँदा नजाँदा उनीहरुको अपमान हुने डर पनि छ । भोलिका दिनमा हामीलाई सबैको सहयोग चाहिएको छ । त्यसैले कति ठाउँमा नगई नहुने अवस्था आउँछ । स्वागत सम्मानको काम पनि फेरि सधैँ त हुँदैन । यो अझै केही समय जाला पनि । तर, स्वागत सम्मानमा जाँदा महानगरका अरु विकासका काम पाखा परेका भने छैनन् । सबै काम भइरहेका छन् । तपाईंजस्ता पत्रकारहरुले स्वागत कार्यक्रममा जाने लहर बढी भयो भन्ने गुनासो गरेपछि हामीले यसलाई कटौती गरेका छौँ । तर, जानैपर्ने काम हुँदा त जान पनि प¥यो । महानगरवासीको गुनासो सुन्ने अवसर पनि हामीलाई यस्ता कार्यक्रमले दिएको छ । कार्यक्रम स्वागत सम्मानकै हुँदा पनि ती कार्यक्रममा नगरवासीहरुले आफ्ना टोल छिमेकका समस्याहरु विकास निर्माणका कुराहरु नै राख्नु भएको छ । यी सुझावहरु महानगरको समग्र विकासको सारथी हुने अपेक्षा गरेको छु । 

भरतपुरलाई स्मार्ट सिटीदेखि मेघा सिटीसम्म बनाउने लक्ष्य छ भनिन्छ, यो सपना हो कि सम्भावना पनि छ ? 
– असम्भव भन्ने कुरा त के नै छ र ? भरतपुर सम्भावना नै सम्भावनाको शहर हो । कृषि,पर्यटन,उद्योग,मेडिकल सिटी, शैक्षिक हबसहितको स्मार्ट सिटी, मेघा सिटीजस्ता सिटीहरु भरतपुरलाई बनाउन सकिन्छ । केवल यसमा इच्छाशक्तिको खाँचो छ । सहयोगको खाँचो छ । हामीले चुनावको बेला पनि यस्ता सिटीहरु बनाउने योजना सारेका थियौँ । भरतपुरलाई पाँच वटा सिटी बनाउनको लागि सहरी विकास मन्त्रालयले २ अर्बको बजेट हामीलाई दिएको छ । यो बजेट पार्नु नै मेरो पहिलो उपलव्धि हो । चरणबद्ध रुपमा ४ वर्षभित्रमा यो बजेट भरतपुर महानगरलाई प्राप्त हुन्छ । यो वर्ष ३० करोड बजेट आएको छ । अहिले सपनाजस्ता लाग्ने दूरगामी योजनाहरुलाई साकार पार्न म लाग्ने छु । यसलाई सम्भावनामा परिणत गर्न मेरो भूमिका सदैव रहनेछ । भरतपुर महानगरपालिकालाई देशकै नमूना महानगर बनाउने उद्देश्य मेरो रहेको छ । यसका लागि सबैभन्दा पहिला अबको महानगर कस्तो बनाउने भन्ने नक्साङ्कन, बृहत् गुरुयोजना निर्माणमार्फत गरिंदैछ । विकास र समृद्धि दृढ इच्छाशक्तिद्वारा प्राप्त गर्न सकिन्छ भन्नेमा म प्रष्ट छु । त्यसै बमोजिम अल्पकालीन, दीर्घकालीन र मध्यकालीन योजना तय गरी अगाडि बढ्ने प्रक्रिया सुरु भइसकेको छ । 

तपाईं गठबन्धनबाट (कांग्रेस र माओवादी केन्द्र) विजयी हुनुभएको हो, तपाईंले आफ्नो पार्टी माओवादी केन्द्रलाई मात्र काखा लिएर हिँड्नु पाउनु हुँदैन । कांग्रेसको कुराहरु पनि तपाईंले सुन्नुपर्छ । यो तालमेलले काम गर्न कति सजिलो अथवा गाह्रो भएको छ ? 
– हो, म गठबन्धनबाटै विजयी भएर आएको हुँ । एउटा पार्टीबाट उठेर विजयी भए पनि म अब सम्पूर्ण महानगरको साझा प्रमुख हुँ । कसैलाई काखा र कसैलाई पाखा म गर्ने छैन् । अझ अहिले त परिवेश फेरिएको छ । म आवद्ध पार्टी माओवादी केन्द्र र नेकपा एमालेका बीच चुनावी तालमेल हुँदै पार्टी एकतासम्म जाने तयारी छ, यसले अझै सहज बनाउने छ । मैले मेरो पार्टीको मात्र कुरा सुन्ने, अथवा कांग्रेसको मात्र कुरा सुन्ने अथवा एमालेलाई माइनस गरेर अगाडि बढ्नेजस्ता काम मबाट हुँदैन । यी मात्र होइन अन्य राजनीतिक दलहरु पनि छन् उनीहरु सबैलाई साझा आँखाले हेर्नछु । विकासको हरेक कुरामा मलाई साथ र सहयोग हुने आशा पनि गरेको छु । 


काठमाडौँ जस्तो भद्रगोल र अव्यवस्थित महानगर हामीलाई चाहिएको छैन । सभ्य, सफा र समृद्ध महानगर हामीलाई चाहिएको छ, के के कुरामा कस्ता नीतिहरु बनाउँदै हुनुहुन्छ ? 
–हो, हामी पनि हाम्रो महानगर सफा, समृद्ध र नमुना महानगर बनाउन खोज्दैछौँ । यसमा सबैको साथ र सहयोगको खाँचो छ । कुरुप र अव्यवस्थित महानगर हुनबाट रोक्न अहिल्यैदेखि हामी चनाखो भएका छौँ । प्रत्येक वडाहरुमा एउटा तरकारी बजार बनाउने योजना छ । नारायणगढ लायन्सचोकमा रहेको सव्जी मण्डीलाई अन्यत्र सार्ने योजना हामीले बनाएका छौँ । त्यहाँ महानगरले मल्टी कम्प्लेक्स निर्माण गर्दैछ । जसमा दुई तला पार्किङ्गको लागि  छुट्टाइने छ । अन्य तला व्यवस्थित बजारका लागि छुट्याइने छ । यसले महानगरको सौन्दर्य, विकास र आयआर्जनमा सहयोग पु¥याउने अपेक्षा लिएको छु । यो अहिले डिजाइन इष्टिमेटको चरणमा छ, छिट्टै निर्माण कार्य सुरु हुन्छ । सडक फराकिलो र पक्की बनाउने, पार्कहरु निर्माण गर्ने, ढलहरुलाई व्यवस्थित बनाउने योजना छ । पक्कै पनि हामी अहिल्यै सचेत भएर भरतपुर महानगरलाई काठमाडौँ जस्तो बनाउने छैनौँ । स्थानीय सरकार भनिएको छ, स्थानीय नीतिहरु बनाउँदा सबैको छलफलबाट बनाइनेछ । यसैका लागि पहिला महानगरको गुरुयोजना बनाउने भनेका हौं । योजनावद्ध दिगो विकासले नमुना महानगर बनाउन सकिन्छ भन्नेमा म विश्वस्त छु । 

नगर परिषद्को तयारी कसरी अगाडि बढिरहेको छ ?
– महानगर, कार्तिक मसान्तसम्ममा नगर परिषद् सम्पन्न गर्ने तयारीमा छ । कार्तिक ७ गतेदेखि १४ गतेसम्म वडा स्तरीय योजना छनौट कार्यक्रम सञ्चालन हुन्छ । महानगरका २९ वटै वडामा हामी पुग्छौं । भरतपुर महानगरपालिकामा माथिबाट योजना थुपारिने काम हुने छैन । वडावासीहरुले आफ्नो आवश्यकताका आधारमा योजनाहरु छनौट गर्नेछन् र वडा कार्यालयमार्फत महानगरमा योजना पठाउने छन् । त्यही योजनाहरु नगर सभाबाट पारित गरी कार्यान्वयनमा जानेछ । 

के छन् त महानगरपालिकाका प्राथमिताहरु ?
– मैले अगाडि पनि भनिसके, महानगरपालिकाको प्राथमिकता भनेको महानगरवासीको चाहना र आवश्यकता नै हो । समृद्धि र विकासका लागि सबैभन्दा ठूलो कुरा व्यवस्थित सडक सञ्जाल नै रहेछ । महानगरको पहिलो प्राथमिकता सडक सञ्जाल, रिङ्गरोड र लिङ्क रोड हो । एकीकृत सहरी विकास, सुविधा सम्पन्न सिटी हल, फोहोर मैला व्यवस्थापन र हरियाली निर्माण, अन्तर्राष्ट्रिय स्तरको एक खेल मैदानका साथै कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य हाम्रा प्राथमिकता हुन । जुन नगर परिषद् र बृहत् गुरुयोजना मार्फत समेटिदै छ । हाम्रो महानगर विविधताले भरिएको छ । महानगरको २९ वडाको धेरैजसो पहाडी भागमा पर्दछ । २८ नं. वडा विशाल नारायणी र राप्तीका साथै राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यसलाई हामीले जोड्ने छौं । गोलाघाट र गाईघाटलाई भरतपुरसँग जोडेर समृद्धि हासिल गर्न सकिन्छ भन्ने मेरो ठम्याइ छ । हामीले समृद्धिलाई सुरक्षासँग जोडेका छौं । विकासलाई सुरक्षासँग जोड्ने योजना तर्जुमा गर्दैछौं । यी सबैको संयोजनबाट भरतपुरलाई देशकै समृद्ध र नमूना महानगर बनाउने भिजन र मिसन लिएर अगाडि बढिरहेको छु ।

यी सबै योजनाहरु महानगर एक्लैले गर्न सक्छ त ?
– त्यसैले त सबैको सहयोग भनेको छु नि । ठूला पूर्वाधार योजना र हामीले औद्योगिक विकासमार्फत् रोजगारी सिर्जना गर्न चाहन्छौं । समृद्धि हासिल गर्न चाहन्छौं, त्यसका लागि महानगरले व्यापक रुपमा लगानी भित्र्याउनु पर्नेछ । म निजी क्षेत्र, गैरसरकारी निकाय तथा अन्तर्राष्ट्रिय समुदायलाई भरतपुर महानगरपालिकामा लगानी गर्न आह्वान गर्दछु । तपाईहरु लगानी गर्न आउनुहोस्, महानगरपालिका सबैखाले सहयोग गर्न तयार छ । भरतपुर महानगरपालिका लगानीमैत्री महानगर बनाउन के के गर्न सकिन्छ ? भनेर अध्ययन गरिरहेका छौं । म आग्रह गर्दछु, आउनुस् बसेर छलफल गरौं ! हाम्रा तमाम योजनाहरुमा हातेमालो गर्दै अगाडि बढ्यौ भने पक्कै पनि सफल भइनेछ ।

अन्त्यमा, चुनावको बेला गरिएका प्रतिबद्धताहरु र घोषणाहरु कति समयसम्म पूरा होला ? 
– हेर्नुहोस् हचुवाको भरमा चुनाव जित्नको लागि हावादारी योजना बनाएर म निर्वाचनमा होमिएको होइन  । जनजीविकाको पक्षपोषण गर्दै समृद्ध महानगरको परिकल्पना गर्दै दृढ इच्छाशक्तिसहित लागिपरेको छु । जनताका अपेक्षा धेरै छन्, चुनावको बेला धेरै प्रतिबद्धताहरु र घोषणाहरु गरिएको छ । त्यो मेरो कार्यकालभरि गर्नसक्ने खालका छन् । ती प्रतिबद्धताहरु मैले ५ वर्षभित्रमा पूरा गर्नेछु । अहिल्यै नै एक वर्ष यो काम गर्छु, अर्को वर्षमा यो गर्छु भन्न सकिने अवस्था छैन । तर, मेरा योजनाहरु मैले मेरो कार्यकालमा सक्छु । महानगरवासीले अनुभव गर्ने गरी दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजनाहरु तर्जुमा गरी अगाडि बढ्नेछु । यसमा सबै राजनीतिक दलहरु, नागरिक समाज, विभिन्न संघसंस्थाहरु, तपाई पत्रकार साथीहरु र सरोकारवाला पक्षहरु सबैको रचनात्मक सहयोग र सुझावको  आवश्यक छ । सबै महानगरवासीको सहयोग चाहिन्छ । सहयोग नपाए एक जना मेयरले मात्र केही गर्न सकिने अवस्था छैन । सबैको साथ र सहयोगको खाँचो छ । यसले मात्र एउटा समृद्ध महानगरको परिकल्पना गर्न सकिन्छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive