newsone

सपनामा देखिएको चुनावी लड्डु

newstwo सपनामा देखिएको चुनावी लड्डु

दुर्गा पौड्याल

मैले सितिमिती सपना देख्दिन, तर आज निकै राम्रो सपना देखेँ मैले । मंसिर ५ गते एमाले नेता एवं पूर्व प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका वरिस्ठ नेता रामबहादुर थापा बादल, एमालेका अर्का नेता घनश्याम भूषाल, बिष्णु पौडेल, माओवादी केन्द्रका डिलाराम आचार्य, बामदेव क्षेत्रीलगायतका नेताहरुको संयुक्त चुनावी भाषण सुनेकी थिएँ । त्यसैगरी मंसिर ७ गते संयुक्त निर्वाचन परिचालन कमिटीको आयोजनामा माओवादी केन्द्र र एमालेको ‘शान्ति, लोकतन्त्र, स्वाधीनता र स्वाभिमान, सुखी नेपाली, समृद्ध नेपाल हाम्रो अभियान’ भन्ने मूल मन्त्रसहितको साझा प्रतिबद्धतापत्र एमाले नेता क्षेत्र नं २ बाट प्रतिनिधि सभाका उम्मेदवार बिष्णु पौडेलले पत्रकार सम्मेलनमार्फत् ब्यक्त गरेको पनि सुनेकी थिएँ । सबै नेताहरुले गरेका प्रतिबद्धता मेरो मनमा गडेर बसेछन् कि ? सबै नेताहरुका कुरा असाध्यै राम्रा थिए । सायद धेरै मीठा र राम्रा कुरा सुनेर मन धेरै खुशी भएर हो कि ? मैले आज सपना पनि असाध्यै राम्रो देखेँ । 

मैले देखेका सपना यस्ता थिए जो सबैसँग बाँड्न चाहेँ । हाम्रो देशमा भएका सबै वाम पार्टीहरु एक ढिक्का भएर एउटै वाम पार्टी बनेको थियो । जसको नाम नेपाल कम्युनिष्ट पार्टी थियो । टुटे फुटेका सानातिना सबै वाम पार्टी मिलेर एउटा सिंगो पार्टी बनेकोले पार्टी ठूलो हुने नै भयो र पार्टीका कार्यकर्ता पनि धेरै हुने भए । निर्वाचनमा धेरै ठाउँमा वाम पार्टीको जीत भयो । एउटा बलियो सरकार वामपंथीहरुको बन्यो । त्यसो त प्रतिपक्षी पनि थियो र त्यो पनि बलियो थियो कम थिएन । दुबैले जनताकै हितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका पार्टी ।

मेरो सपनामा हाम्रो मुलुक उच्च विकसित मुलुक बनेको थियो । यो देश कुनै पनि बिदेशीको प्रयोगको थलोबाट मुक्त भएको थियो । कसैको कुनै किसिमको हस्तक्षेप हाम्रो देशमाथि थिएन । न साँध सिमाना मिचिएका थिए न त नदी नालाहरुबाट अवैध बाँध र बाटो नहर बनाइएको थियो । नेपालका नदीनालाहरुको पानी नेपाली नहर कुलाहरुबाट नेपालकै खेत खलिहानमा सिंचाइ भएर खेत खलिहान हराभरा भएको थियो । खेत फाँट र टारहरुमा लहलह अन्नका बालीहरु झुलेका थिए । किसानहरु हाँसी खुशी खेती लगाउन त कतै खेती स्याहार्न जुटेका थिए । सरकारले किसानलाई भरपुर सहयोग दिएको थियो । देश माछा मासु, तरकारी र अन्नपातमा आत्मर्निभर बनेको थियो । खेतीयोग्य जमीनमा खेती नै गरिएको थियो भने बन्जर र सुखा खेती नहुने ठाउँमा बस्ती बसालिएको थियो । कोही भोका नाङ्गा थिएनन्, सबै हृष्टपुष्ट देखिन्थे । 

अर्कोतिर देशका सानाठूला नदी नालाबाट विद्युत निकालेर देशका कुना काप्चासम्म झलमल बिजुलीको उज्यालो थियो । बिद्युतबाट नै भान्सामा खाना पकाउनेदेखि ठूला साना उद्योगधन्दा कलकारखाना चलेका थिए । देशका ठूला शहरमा विद्युतीय रेल र विद्युतीय गाडीहरु चलेका थिए । देशको मुस्ताङदेखि तराईको मैदान, शान्तिभूमि गौतमबुद्धको जन्मस्थल लुम्बिनीसम्म रेल चलेका थिए । जसले गर्दा मुस्ताङमा फलेका फलफूल अन्नपात तराईमा सोझै आइरहेका थिए भने तराईका अन्न तरकारी मुस्ताङसम्म सजिलै पुगेका थिए । बढी भएका तरकारी अन्न भण्डारण गर्न कोल्ड स्टोरहरु निर्माण भएका थिए । इन्धनको उस्तै ब्यवस्था थियो । विदेशबाट आयात गर्ने ग्यास सिलिण्डर विस्थापित गरिएका थिए भने देश भित्रै ठाउँ ठाउँमा पाइएका प्राकृतिक ग्यासका खानीबाट ग्यास निकालेर हरेकका चुलोमा ग्यासका पाइप जडान भएका थिए । दूरदराजका गाउँ पनि गोवरका गुइँठा र दाउराको धुवाँबाट मुक्त थिए । प्रसस्त विद्युत उत्पादन भएकोले ठूला उद्योगहरु संचालनमा थिए, जसले गर्दा देशको युवाशक्ति देशभित्रै खपत थियो । कतै कोही बेरोजगार भेटिँदैनथे । सबै कुनै न कुनै काममा ब्यस्त देखिन्थे । बाटोघाटो र कार्यालयहरु अपाङ्गमैत्री बनेका थिए । बूढाबूढी सबैको लागि राम्रो खानपान स्याहार सुसारको ब्यवस्था थियो । बालबालिकाका लागि त झन् नहुने कुरै भएन । कुनै बालबालिका कुपोषणका शिकार थिएनन्, सबै हृष्टपुष्ट खाइलाग्दा थिए । कहीँ कतै कसैले पनि बालबालिकाहरुलाई काममा जोताएको देखिँदैनथ्यो । बाल अधिकार सुनिश्चित थियो ।

त्यस्तै गाउँका कुनाकुनासम्म शिक्षाका लागि स्कूल कलेज र स्वास्थ्य संस्थाहरु खुलेका थिए । सबैका छोराछोरीहरुले देशभित्रै गुणस्तरीय शिक्षा र स्वास्थ्य प्राप्त गर्न पाएका थिए । शुल्क लिए पनि न्युनतम शुल्क मात्र थियो । सबै शिक्षित र सभ्य थिए मानिसहरु । फोहरको नाम निसाना थिएन । फोहर सबै ब्यवस्थित गरिएको थियो । देशका हरेक गाउँगाउँमा बाटो पुगेको थियो । बाटो पनि कमसल होइन, एकदम मजबुत र चिल्लो बाटो बनेको थियो । हरेक पटक ओहर दोहर गर्दा  मान्छेको ज्यान लिने कुइरे भीरको बाटोबाट हिँड्नु नपर्ने भएको थियो । बुटवलको गोलपार्कभन्दा माथि दोभानसम्म खोलामाथि पक्की बाटो बनेको थियो । पाल्पा पुग्न त्योमात्र नभएर अनेक विकल्पका स्तरीय बाटाहरु बनेका थिए । उता केन्द्रीय राजधानी काठमाण्डौ पुग्ने अनेक बाटाहरु चिल्ला र स्तरीय बनेका थिए । कतै सुरुङमार्ग समेत बनेका थिए । सडकका दायाँबायाँ पेटीहरु बनेका थिए । जसबाट पैदल यात्रीहरु सजिलै ओहरदोहर गर्न मिल्थ्यो । राजधानीले धुलो र गाडीको जामबाट छुट्कारा पाएको थियो । सडकका किनाराहरु फलफूलका बिरुवादेखि फूलहरुले रमणीय देखिन्थ्योे । ठाउँठाउँमा बिश्रामका लागि बेन्चहरु बनाइएको थियो । गाउँ शहरका बीचबीचमा बच्चाहरुको खेल्ने मैदान, पार्कहरु बनेका थिए । पार्कहरुमा बालबालिकाहरुका लागि खेल्ने साधनहरु राखिएको थियो । युवा तन्नेरीहरुका लागि खेलकूदका बिभिन्न शहरमा ठूला साना स्टेडियमहरु बनाइएको थियो । त्यस्तै सभा सम्मेलनका लागि ठूलठूला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रहरु बनाइएको थियो । बुढाबुढीहरु घुमफिर गरेर सुस्ताउने ठाउँ बनाइएको थियो । ती ठाउँमा शौचालय र पानीको ब्यवस्था पनि थियो । पानीको लागि धनी देशमा पिउने पानीको समस्या हुने कुरै भएन । जुनसुकै गाउँ शहरमा पुग्दा स्वच्छ पिउने पानी उपलब्ध थियो । कहीँ कतै धुलो धुवाँ र प्लाष्टिकजन्य फोहरको नामो निसान थिएन । सार्वजनिक शौचालय र पानीको ब्यवस्था बाटो घाटो जहाँ पनि थियो । देशभित्र गासबास र कपासको समस्या नै थिएन । सुकुम्बासी कोही थिएन । सबैका हातहातमा जग्गाधनी पुर्जा थियो । नागरिकहरु निकै सुखी र खुशी थिए ।  

अर्कोतिर जुनसुकै सरकारी कार्यालय मालपोत होस् वा भन्सारमा होस, कुनै काममा ढिलासुस्ती पटक्कै थिएन । जुनसुकै कार्यालयमा पनि जनताका काम फटाफट हुन्थे । काम गरेवापत कसैले नागरिकबाट घुस लिने र घुस दिने काम पटक्कै हुँदैनथ्यो । देश भ्रष्टाचारमुक्त देशमा दर्ज भएको थियो । सिमानाकाहरु दुरुस्त थिए । तोकिएका नाका बाहेक अन्य खुला सिमानामा तारबार गरिएको थियो । जसले गर्दा अबैध धन्दादेखि अपराधीहरु देशभित्र सजिलै छिर्न सक्दैनथे । देश अपराध मुक्त थियो । देशका चेलीबेटीहरु निकै सुरक्षित थिए । एक्लै दुक्लै बाटोघाटो हिँड्दा पनि कसैले आँखा उठाएर उनीहरुलाई हेर्दैनथ्यो बरु सहयोग नै गथ्र्यो । तराईमा चेलीबेटीको विहेको चिन्ता थिएन । दाइजो प्रथा उन्मुलन नै भएको थियो । कसैले तोकेर दाइजो लिन पाउँदैनथ्यो । र, दाइजोका नाममा छोरीहरुलाई जलाएर मार्ने, मारेर झुण्डाउने, छोरीलाई गर्भमै मार्ने प्रथाको अन्त्य भएको थियो । सबै छोरीहरु पढालेखा थिए र छोरीहरुको जीवन खुशहाल थियो । यस्तो देशमा जन्मन पाएकोमा म दङ्ग थिएँ । हाम्रा देशका सबै नेताहरुले निकै राम्रो काम गरेकोमा उनीहरुलाई धन्यवाद दिएकी थिएँ । धन्यवाद दिनको लागि हात उठाउनलाग्दा ओढेको सिरक ज्यानबाट खस्केछ, चिसो महशुस भयो । म झल्याँस्स ब्युझेँ । ए म त उही संसारमापो रहेछु भन्ने लागेर निरास भएँ । सोंचेँ मेरो सपना विपनामा परिणत भए कस्तो हुन्थ्यो ? नेताहरुले बेला बेलामा पहिल्यै भनेको सुनेकी थिएँ, नेपाललाई स्वीजरल्याण्ड बनाइदिन्छाँै । अहिले लाग्छ ती सबै चुनावी लड्डुमात्र थिए । नेपाललाई स्वीजरल्याण्ड होइन समुन्नत नेपाल बनाए हुन्थ्यो । बिकसित नेपाल बनाउन कुनै एक पार्टीको बहुमतको पाँचवर्षे स्थायी र काम गर्ने इच्छाशक्ति भएको सरकार चाहिन्छ त्यो बने हुन्थ्यो । काम गर्नेलाई खुट्टा तान्ने होइन सहयोग पु¥याउने प्रतिपक्ष चाहिन्छ त्यो आए हुन्थ्यो । पात फेरिएजस्तो फेरिरहने सरकारबाट विकास र सुशासनको आशा राख्नु बेकारै हुन्छ । जो हामीले धेरै वर्षदेखि देखिसकेका छौं । अहिले एमाले र माआवादीको संयुक्त गठबन्धन गरेर केन्द्र र प्रदेश सभाको निर्वाचनमा गएका छन् । यो सकारात्मक पक्ष हो । अन्य वाम पार्टीहरु पनि मिलेर निर्वाचनमा गएको भए पक्कै वाम पार्टीको स्थायी सरकार बन्थ्यो । अहिले अन्य पार्टीहरु पनि तालमेल गरेर चुनावमा गएका छन् । कसको पल्ला भारी हुन्छ भन्न त सकिन्न । यसैगरी आगामी दिनमा धेरै समूहमा विभाजित वाम पार्टीहरु मिलेर एउटा बृहत् वाम पार्टी बनाउन सफल होउन् । साथै फुट्न जान्नेले जुट्न पनि जान्दछन् भन्ने सन्देश देउन् । अहिले केन्द्र र प्रदेशमा वाम गठबन्धनको तालमेल छ निर्वाचन छ । वामहरुको बहुमत आएमा एउटा बलियो र स्थायी सरकार बन्ने आशा गर्न सकिन्छ । जसरी तालमेल भएको छ, त्यसरी बहुमत आउन सफल होस् शुभकामना !                  तिलोत्तमा- ३, शंकरनगर
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive