newsone

नेपालमा पञ्चायत, राणा शासनदेखि नै प्रधानमन्त्री पद अस्थिर 

newstwo नेपालमा पञ्चायत, राणा शासनदेखि नै प्रधानमन्त्री पद अस्थिर 

२७ वर्षमा २६ प्रधानमन्त्री

नेपालमा प्रधानमन्त्री पद सुरु भएको दुई सय १८ वर्ष पुगेको छ । नेपालमा सन् १७९९ देखि मुलकाजी दामोदर पाण्डेले तत्कालीन श्री ५ रणबहादुर शाहको अनुपस्थितिमा मुलकाजी भई एकलौटी शासन चलाएपछि उनलाई नै पहिलो प्रधानमन्त्रीका रुपमा मान्न थालिएको हो । मुलकाजी पदमा रहेका पाण्डेको मृत्यु भएपछि त्यो पदलाई मुख्तियार पद भन्न थालियो । पाण्डेले सन् १८०४ सम्म पदमा बसेर शासन गरेका थिए । 

त्यसबीचको दुई वर्ष भने पुनः राजा रणबहादुर शाहले नै कार्यकारी शासन गरे । त्यसपछि नेपालको मुख्तियार भीमसेन थापा बनेका इतिहासकारहरुको भनाइ रहेको छ । थापापछिका सबैलाई मुख्तियारको रुपमा सम्बोधन गरियो । मुख्तियार थापाले झण्डै ३१ वर्ष अर्थात स्न १८०६ देखि १८३७ सम्म नेपालमा शासन गरे । दामोदर पाण्डेभन्दा अगाडि भने मुख्य प्रशासक कुलकाजीको उपाधिले कार्यसम्पादन गर्ने चलन रहेको थियो । त्यसैले पाण्डे नै नेपालका प्रथम प्रधानमन्त्री सरहका व्यक्ति हुन । त्यसो त त्यसअघि पनि नेपालमा नेपाल एकीकरण पश्चात काजी अभिमानसिंह बस्नेतले मुख्य प्रशासक मुलकाजीको उपाधिले काम गरेका थिए । 

नेपालमा सन् १८३७ मा झण्डै एक वर्ष रणजङ्ग पाण्डेले कार्यकारी काम सम्पादन गरे भने सन् १८३७ देखि १८३८ सम्म पण्डित रंगनाथ पौडेलले शासन गरेका थिए । त्यसपछि सन् १८३८ देखि ३९ सम्मको समयमा चौतरिया पुष्कर शाहले कार्यकारी जिम्मेवारी लिए । त्यस लगत्तै नेपालमा पहिलो पटक रणजंग पाण्डेले प्रधानमन्त्री सरहको पद दोस्रो पटक सम्हाले । उनले सन् १८३९ देखि ४० सम्मको कार्यकालमा दोस्रो पटक प्रधानमन्त्री बने । त्यतिबेलामा पनि राजनीतिक अस्थिरता झनझन अप्ठयारो अवस्थामा थियो । पाण्डेले एक वर्षसम्म काम गर्दासाथ पण्डित रंगनाथ पौडेलले उनलाई विस्थापित गर्दै दोस्रो पटक प्रधानमन्त्री बने ।

पौडेलले पनि मुस्किलले एकवर्ष काम गर्न पाए । उनलाई चौतारिया फत्तेजंग शाहले बिस्थापित गरे । शाहले आफ्नो पहिलो कार्यकाल सन् १८४० को नोभेम्बरबाट १८४३ को जनवरीसम्म बिताए । उनीपछि सन् १८४५ देखि १८४६ सम्म एकवर्ष कार्यकारी भूमिकामा प्रधानमन्त्री बनेका थिए । चौतरिया फत्तेजंग शाहको पहिलो कार्यकाल सकिँदासाथ मुख्तियार बनेका माथवरसिंह थापालाई पहिलो पटक प्रधानमन्त्रीका रुपमा सम्बोधन गरिएको थियो । त्यसैले केही इतिहासविद्हरुले थापालाई नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा पनि सम्बोधन गर्ने गरेका छन् । थापाले पहिलो पटक प्रधानमन्त्रीको श्रीपेच लगाउने काम समेत गरेका थिए ।

नेपालमा चौतरिया फत्तेजंग शाहको प्रधानमन्त्रीत्व कार्यकालपछि जहानियाँ राणा शासन शुरु भएको थियो । श्री ३ जंगबहादुर कुँवर राणाले पहिलो पटक सन् १८४६ को सेप्टेम्बर १५ देखि झण्डै दशवर्ष अर्थात १ अगष्ट १८५६ सम्म कार्यसम्पादन गरे । उनले दोस्रो पटक सन् १८५७ देखि १८७७ सम्म दोस्रो पटक प्रधानमन्त्री बनेर काम गरेका थिए । उनीने प्रधानमन्त्रीका रुपमा धेरै शासन गर्नेमा पर्छन । नेपालमा राणाहरुले सन् १८४६ देखि एक सय वर्षभन्दा बढी समय शासन गरेका थिए । राणाहरुले नेपालमा १८४६ देखि १९५० सम्ममा जहानियाँ व्यवस्था लादेका थिए । राणा शासनमा नेपालमा कोत पर्वदेखि विभिन्न प्रकारका घटनाहरु भएको थियो । भण्डारखाल  पर्व प्रश्चात उनी नेपालमा राजसंस्था भन्दा शक्तिशाली भएका थिए ।

पछिल्ला १० वर्षका १० प्रधानमन्त्री

बोर्लाङ्ग गोरखामा विक्रम संवत १८७४ मा जन्मिएका जंगबहादुरको पत्थरघट्ट रौतहटमा विक्रम संवत १९३३ मृत्यु भएको थियो । यिनको कार्यकालमा तत्कालीन ब्रिटिस भारतले निकै नै परिवर्तन तथा विकास गरे पनि नेपालको विकास यहींबाट गति लिन नसकेको भन्दै केहीले यिनको आलोचना गर्ने गरेका छन् । त्यसो त जंगबहादुरले अंग्रेजसँगको लडाईमा गुमेकोमध्ये यिनले अंग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको तराई अहिलेको बाँके बर्दिया, कैलाली र कंचनपुर पुनः नेपालमा फर्काएका थिए । नेपालमा विकासको बाटो देखाउने प्रधानमन्त्रीका रुपमा पनि उनलाई केहीले सम्झने गरेका छन् । 

जंगबहादुरको पहिलो कार्यकालपछि नेपालमा बमबहादुर कुँवर राणा प्रधानमन्त्री बने । उनले सन् १८५६ को १ अगष्टकै दिनदेखि सन् १८५७ को मे २५ सम्ममा शासन गरे । त्यस लगत्तै एक महिनाका लागि कृष्णबहादुर कुँवर राणा प्रधानमन्त्री बनेका थिए । 

त्यस लगत्तै नेपालमा जंगबहादुर राणाको दोस्रो इनिङ्ग शुरु भयो । उनले सन् १८५७ को जुन २८ देखि सन् १८७७ फेबु्रअरी २५ सम्म दोस्रो पटक लामो समयसम्म प्रधानमन्त्री पद सम्हाले । उनीपछि रणोद्दिप सिंह कुँवर राणा सन् १८७७ देखि २२ नोभेम्बर १८८५ सम्म प्रधानमन्त्री बनेका थिए । नेपालमा वीर शमशेरको पालादेखि नामको पछाडि जंगबहादुर राणा जोड्न थालिएको थियो । राणाकालमा १७ औं प्रधानमन्त्री बनेका मोहन शमशेर जंगबहादुर राणापछि नेपालमा राणा शासनको अन्त्य भएको थियो । उनले सन् १९४८ अप्रिल ३० देखि १२ नोभेम्बर १९५१ सम्म शासन गरेका थिए । 

नेपालमा राणा शासनका बेला केही विकासका काम भए पनि आमनागरिकको व्यक्तित्व विकास तथा सामाजिक आर्थिक हिसावले परिवर्तन आउन सकेन । एकतन्त्रीय जहानियाँ शासनको रुपमा राणाहरुले शासन गरेका थिए । उनीहरुको कार्यकालमा नेपालमा राज्यबाट शोषण, दमन र अत्याचार भएको थियो । 

विक्रम संवत २००७ सालपछि नेपालमा राजनीतिक व्यवस्थामा परिवर्तन आयो । जहाँनिया राणा शासनको अन्त्यसंगै मातृकाप्रसाद कोइराला सन् १९५१ नोभेम्बर १६ मा गैरराणा प्रधानमन्त्री बने । उनले अगष्ट १४ सन् १९५२  सम्म प्रधानमन्त्री पद सम्हाले तर तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहले उनलाई हटाएर शासन आफ्नो हातमा लिए । पछि फेरि मातृकाप्रसाद कोइरालालाई नै त्रिभुवनले प्रधानमन्त्री बनाए । यो बीचमा टंकप्रसाद आचार्य, डाक्टर केआई सिंह, सुवर्ण शमशेर राणा र विश्वेश्वर प्रसाद कोइराला नेपालको प्रधानमन्त्री बनेका थिए ।

विक्रम संवत २००७ सालपछि पनि नेपालमा प्रधानमन्त्री पटकपटक फेरिएका छन । तत्कालीन राजा महेन्द्र विरविक्रम शाहले शासन सत्ता आफ्नो हातमा लिएको पञ्चायतकालीन समयमा पनि नेपालमा प्रधानमन्त्रीहरु पटकपटक फेरिएका छन् । तत्कालीन राजा महेन्द्रले पञ्चायतकालीन पहिलो प्रधानमन्त्रीका रुपमा डाक्टर तुलसी गिरीलाई बनाएका थिए । उनी पहिलो पटक २६ डिसेम्बर १९६० देखि सन् १९६३ डिसेम्बर २३ सम्म प्रधानमन्त्री बनेका थिए । त्यसपछि गिरी दुई पटक मन्त्रीपरिषद्को उपाध्यक्षको हैसियतमा सक्रिय भएर प्रधानमन्त्री बने । त्यसपछि नेपालमा सूर्यबहादुर थापा, कीर्तिनीधि विष्ट, लोकेन्द्रबहादुर चन्द, नगेन्द्रप्रसाद रिजाल पटकपटक प्रधानमन्त्री बने । गेहेन्द्रबहादुर राजभण्डारी पनि एक वर्ष मुलुकको प्रधानमन्त्री बनेका थिए । मरिचमानसिंह श्रेष्ठले भने पञ्चालतकालमा चार वर्ष प्रधानमन्त्री बनेर काम गरेका थिए । 

पञ्चालय र राणा शासनदेखि नै प्रधानमन्त्री पद अस्थिर रहेको देखिएको छ । विक्रम संवत २०४६ सालको राजनीतिक व्यवस्था परिवर्तनपछि नेपालमा अहिलेसम्म २७ वर्षको अवधिमा २६ प्रधानमन्त्री बनेका छन ।

सन् १९९० अप्रिल १९ देखि १९९१ मेसम्म नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने भने काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाले ०४६ सालपछि ५ पटक प्रधानमन्त्री बन्ने मौका पाएका छन । तर, यसबीचमा कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षसम्म आफ्नो कार्यकाल बचाउन सकेनन् । गिरिजाप्रसाद कोइरालापछि मनमोहन अधिकारी,शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा लगातार प्रधानमन्त्री बने । त्यस लगत्तै नेपालमा तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहसहित परिवारको हत्यापछि नेपालमा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिए । त्यसपछि फेरि लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, शेरबहादुर देउवा र फेरि तत्कालीन राजा ज्ञानेन्द्रको शासन प्रारम्भ भयो । 

माओवादी जनयुद्ध र तत्कालीन सात राजनीतिक दलको संयुक्त जनआन्दोलनले विक्रम संवत २०६२÷०६३ सालमा नेपालमा राजनीतिक व्यवस्था परिवर्तन ग¥यो । अन्तरिम सरकारको जिम्मेवारी भने गिरिजाप्रसाद कोइरालाको काँधमा आयो । उनले नेपालमा पहिलो संविधानसभाको चुनाव समेत गराएका थिए । उनको यो कार्यकाल दुई भागमा विभाजन गरिएको छ । 

संविधानसभाको पहिलो निर्वाचनपछि नेपालमा गणतन्त्रले औपचारिकता पाएको थियो । विक्रम संवत २०६५ सालमा तत्कालीन नेकपा माअ‍ोवादीका नेता पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । त्यसपछिको ९ वर्षको समयमा नेपालमा माधवकुमार नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।  

नेपालको राजनीतिक इतिहास हेर्दा तुलनात्मक रुपमा जहाँनिया राणा शासनकालमा नेपालमा प्रधानमन्त्री पदमा स्थायित्व भएको देखिएको छ । त्यसपछि विभिन्न प्रकारका स्वार्थहरु जुट्ने भएकाले नेपालमा प्रधानमन्त्री पद स्थिर हुन सकेको छैन । ०४६ सालको राजनीतिक व्यवस्था परिवर्तनपछि झन् यो समस्याका रुपमा देखापरेको छ । नेपालमा आमूल परिवर्तन भएको मानिने गणतन्त्र स्थापनापछि यो अवस्थाको अन्त्य हुने र मुलुक विकास तथा समृद्धिको यात्रामा अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर दुर्भाग्य २ सय ३७ वर्ष लामो राजतन्त्रको अन्त्य भए पनि नेपालमा राजनीतिक अस्थिरताको अन्त्य हुन सकेको छैन । झन्झन् संसदीय फोहोरी खेल चलिरहेको छ ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा प्रचण्ड स्थापित भए लगत्तै शुरु भएको सरकार बनाउने र ढाल्ने खेल अहिलेसम्म पनि चलिरहेको छ । त्यसैको निरन्तरताका रुपमा काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री बनेका छन् । नेपालको योजनावद्ध बिकासका लागि शासकीय स्वरुपमै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ । जुन कुराले नेपालमा राजनीतिक स्थायित्व कायम गर्न सजिलो हुनेछ । मुलुकमा भएको स्थानीय तहको चुनावको नतिजालाई हेर्दा अबका केही वर्ष कुनै पार्टीको बहुमत पुग्ने अवस्था नहुँदा झन्झन् राजनीतिक आरोहअवरोह हुने निश्चित छ । त्यसैले बेलैमा यसको सही निकासका लागि स्वयम् राजनीतिक दलहरु क्रियाशील हुन आवश्यक छ । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive