newsone

२०४ औँ भानुजयन्ती: विविध कार्यक्रम गरी भानुभक्तलाई सम्मान

newstwo २०४ औँ भानुजयन्ती: विविध कार्यक्रम गरी भानुभक्तलाई सम्मान

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज बिहीबार विविध कार्यक्रम गरी मनाइँदै छ।

‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्याएका थिए। भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती आज मनाउँदै छन्।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए। भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घर घरमा लय हालेर पढ्न थालेका थिए। पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन्।

‘प्रश्नोत्तर’ कृतिमा मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने ‘वधूशिक्षा’मा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ। उनका फुटकर कवितामा कान्तिपुर र प्रकृतिको वर्णन, ढिलो प्रशासनतन्त्रलाई व्यङ्ग्य गरिनाका साथै समाजका यथार्थपरक घटना र परिवेशलाई चित्रण गरिएको छ।

भानुजयन्तीकै अवसरमा बुधबार साहित्यिक दौड गरिएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर लैनचौर काठमाडौँबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको घर बखुंबहाल, ललितपुरसम्म साहित्यकार लक्ष्मण सापकोटा ‘रामायण’ बोकेर भानुको पहिरनमा दौडिएका थिए। भारतको दार्जिलिङमा पनि हरेक वर्ष भानुजयन्ती भव्य रुपमा मनाउने गरिन्छ। उनको विसं १९२३ असोज ६ गते निधन भएको थियो। 

भानुभक्तको पहिरनमा ‘रामायण’ बोकेर दौड 

भानुजयन्तीका अवसरमा काभ्रेपलाञ्चोकका ५५ वर्षीय साहित्यकार लक्ष्मण सापकोटाले लैनचोरस्थित राष्ट्रकवि माधव घिमिरेको निवासस्थल लैनचौर, काठमाडौँदेखि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवासस्थल बखुंबहाल, ललितपुरसम्म भानुभक्तको पहिरनमा ‘रामायण’ बोकेर दौड पूरा गरेका छन्  

यसअघि हालसम्म एक हजार ४७५ किमी दौड पूरा गरिसक्नुभएका सापकोटा आगामी चैतमा पनि ‘रामायण’ बोकेर सगरमाथाको आरोहण गर्ने तयारीमा हुनुहुन्छ । उहाँले छ हजार मि अग्ला हिमाल आरोहण गरिसेका छन् ।  कार्यक्रममा राष्ट्रकवि घिमिरेले ‘रामायण’का श्लोक वाचन गरी ‘रामायण’लाई सगरमाथामा पु¥याउन सफलताको कामना गरे । दौड लैनचोर, लाजिम्पाट, भानुभक्त मेमोरियल स्कुल, शीतल निवास, बालुवाटार, टङ्गाल हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठान, माइतीघर, कुपण्डोल हुँदै मङ्गलबजार पुगेर समापन गरिएको थियो । 

समापन कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले नेपाली भाषा तथा साहित्यको विकासमा भानुभक्तको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै उनको कामलाई नयाँ पुस्ताले अनुशरण गर्नुपर्ने विचार व्यक्त गरे । भानु प्रतिष्ठानको संयोजनमा भएको उक्त कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशन, मदन पुरस्कार गुठीलगायत साहित्यिक संस्थाले सहयोग गरेको प्रतिष्ठानका महासचिव ऋषभ घिमिरेले जानकारी दिए ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive