newsone

निजामती र प्रहरी प्रशासनको सरुवा, बढुवा, काज तथा पदस्थापना पारदर्शी गरिने

newstwo  निजामती र प्रहरी प्रशासनको सरुवा, बढुवा, काज तथा पदस्थापना पारदर्शी गरिने

 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सोमबार सार्वजनिक गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगरिने स्पष्ट पारेका छन् ।

‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिको लागि शान्तिसुरक्षा र सुशासन’ भन्ने नारासहित ल्याइएको कार्ययोजना कार्यान्वयनमा आएपछि देशबाट भ्रष्टाचार र तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

गृहमन्त्री बादलले पहिले आफ्नो टाउकोमा आगो लगाएर सच्चिएर अनि मात्रै अरुतिर हेर्न गृह प्रशासन मातहतका कर्मचारीलाई निर्देशन दिए ।
उनले व्यंग्यात्मक शैलीमा भने ‘पहिले आफ्नो टाउकोमा आफै आगो लगाउँ, त्यो मुढा भए बलेर खरानी बन्छ, सुन भए झन् चम्किलो बन्छ, त्यसैलै पहिले आफू सुन हो कि मुढा हो पत्ता लगाउनुहोस् ।’

    एक घण्टा भन्दा बढी धाराप्रवाह रुपमा बोलेका गृहमन्त्री बादलले तस्कर, माफिया र दलालहरुले देश बर्बाद पारेको भन्दै उनीहरुलाई अब ठेगान लगाउने चेतावनी दिए ।

    गुण्डागर्दी र अपराधमा केही प्रहरी र कर्मचारीकै संलग्नता हुने गरेको भन्दै एकएक गरेर त्यसको छानविन गरिने स्पष्ट पारे । उनले भने ‘यहाँको यही अवस्था देखेर होला, चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती नै छिराइदिन्छु भनेका थिए रे ।’

अध्यागमनका कर्मचारी मानव तस्करीमा लाग्ने गरेको सुनिएको भन्दै त्यसबारे छानविन हुने उनले बताए । आफूले धेरै पहिले हेरेको ‘सोले’ फिल्मका गब्बर सिंह भन्दा बढी ठूला गुण्डा अहिले नेपालमा रहेको भन्दै तिनको अब दिनगिन्ती सुरु भएको गृहमन्त्री बादलले बताए । उनले भने, ‘नेपालमा त सोलेका गब्बरका बाउहरु रहेछ, उनीहरुलाई ठेगान लगाउनुप¥यो ।’

जेलको रहेका बन्दीहरु प्रहरी र जेलरको संरक्षणमा मस्ती गर्ने गरेकोबारे आफूलाई जानकारी आएको भन्दै त्यस्तालाई कारवाही गरिने गृहमन्त्रीको भनाइ छ । त्यसलाई ध्यानमा राखी आफूले जेलरदेखि नाइके, भाइ नाइकेसम्मको नियमित सरुवा सुरु गर्न निर्देशन दिएको उनले खुलाए ।

    मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन, दलाल, तस्कर र भ्रष्टाचारको अन्त्य गर्न  ‘रेडिकल चेन्ज’ को आवश्यकता रहको उनले बताए ।

उनले भने, सुनारको एक चोट जस्तो होइन लोहारको एक चोट जसरी विकृति विरुद्ध हान्न आवश्यक छ  ।  

    तस्कर र भ्रष्टाचारीसँग केही कर्मचारी, राजनीतिक दलका केही नेताहरुको समेत साथ रहेका भन्दै त्यो नेक्सस तोडेर छाड्ने उहाँले बताउनुभयो ।

के छ ८२ बुँदे कार्ययोजनामा  ?

    गृहमन्त्रीले प्रस्तुत गर्नुभएको कार्ययोजनामा समयसीमा नै तोकेर कुन समयमा के गर्ने भनेर समेत स्पष्ट खुलाइएको छ । 

नीतिगत र कानूनी सुधार, संगठनात्मक सुधार, जनशक्ति व्यवस्थापन, सेवा प्रवाह र सुशासन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित गृह प्रशासन, अध्यागमन र सीमा पशासनको सुदृढीकरण, विपद् जोखिम न्युनीकरणमा क्षमता अभिवृद्धि, अनुशासन र सदाचरिकता प्रवद्र्धनलाई कार्ययोजनामा प्राथमिकता दिइएको छ ।

कार्ययोजनामा गृह मन्त्रालय अन्तर्गतको बिभिन्न ऐनहरु तीन महिनादेखि एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने, राष्ट्रिय सुरक्षा नीतिले मार्गदर्शन गरेअनुरुप आन्तरिक सुरक्षा नीति चालु आवभित्र सम्पन्न गरिसक्ने, विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीको सम्बन्धमा स्पष्ट नीति तयार पार्ने उल्लेख छ ।
यसैगरी सुरक्षा निकायहरुको संयुक्त परिचालन सम्बन्धी कार्यविधि तयार पार्ने, विभुषण वितरणको मापदण्ड तयार पार्ने, अध्यागमन नीति र विदेशी नागरिक अनुगमन सम्बन्धी निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, अपराध विरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न निर्देशिका तर्जुमा गरी लागू गर्ने, औद्योगिक सुरक्षा  सेवा उपलब्ध गराउन नीति परिमार्जन गर्ने, राजमार्गमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि तयार गरी लागू गर्ने, निजामती र प्रहरी प्रशासनको सरुवा, बढुवा, काज तथा पदस्थापना मापदण्ड तर्जुमा गरी लागू गर्ने, आर्थिक सहायता वितरणलाई पारदर्शी बनाउन मापदण्ड तर्जुमा गर्ने रहेको छ ।

यसैगरी सीमा प्रशासन र एकीकृत सेवा केन्द्रलाई इलाका प्रशासन कार्यालयको समग्र जिम्मेवारी दिने, नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठनात्मक संरचना तयार पार्ने, प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्रहरी इकाइ रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने उल्लेख छ ।

पुरस्कार र दण्डको नीति कार्यान्वयनको नियमित अनुगमनका गर्नका लागि मन्त्रालयमा एक संयन्त्र निर्माण गर्ने, विभागीय प्रमुख र कार्यालय प्रमुख निजामती र प्रहरी कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्न कार्य विवरण र सूचकहरु तयार गरिने र कार्यसम्पादन करार गराई विभागीय प्रमुख र प्रजिअ खटाउने कार्ययोजनामा उल्लेख छ ।

उजुरी तथा गुनासो व्यवस्थापन शाखा स्थापना गर्ने, सार्वजनिक यातायातको क्षेत्रमा रहेको एकाधिकारको नियन्त्रण गर्न समन्वयात्मक रुपमा विशेष कार्यक्रम सञ्चालन गर्ने, पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, कैदी बन्दीको सिदा समयानुकूल बढाउने, संगठित अपराधको निगरानी र नियन्त्रण गर्न विशेष सुरक्षा दल गठन गर्ने, राजमार्ग तथा शहरहरुमा घटना घटेको १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्नसक्ने व्यवस्था कार्यान्वयन गर्ने, साइबर अपराध नियन्त्रणका लागि कदम चाल्ने, सबै कारागारमा सीसीटीभी र चौबीसै घण्टा पानीको व्यवस्था गर्ने, सवारी साधनको गतिको अनुगमनका लागि राडारको व्यवस्था गर्ने कार्ययोजनमा उल्लेख छ ।

प्रत्येक प्रदेशमा अध्यागमन कार्यालयको स्थापना गर्ने, २५ हजारभन्दा बढीको आर्थिक कारोबारलाई मन्त्रालयको वेभ साइटबाट सार्वजनिक गर्ने, पर्यटकहरुको बढी आवागमन हुने क्षेत्रमा २४ घण्टा बजार खुला राख्न सुरक्षा व्यवस्था मिलाइने लगायत रहेको छ ।

खासगरी कार्ययोजनाका रणनीतिक उद्देश्यमा गृह प्रशासनका सबै अंगहरुको नतिजामुखी, वैज्ञानिक र राष्ट्रिय उद्देश्यका लागि परिचालन, सुुरक्षा निकायलाई क्षमतावान र प्रविधिमैत्री बनाउने, आपराधिक र अवाञ्छित गतिविधिको नियन्त्रणसँगै आन्तरिक सुरक्षा मजबुत बनाई राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सृदृढ गर्ने लगायत छन् । 

साथै नीतिगत र कानुनी सुधार गर्ने, संगठनात्मक सुधार, जनशक्तिको व्यवस्थापन, सेवा प्रवाहमा सुधार र सुशासन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित गृह प्रशासन, अध्यागमन र सीमा प्रशासनको सृदृढीकरण, विपद् जोखिम न्यूनीकरण, अनुशासन र सदाचारिता कायम र कामको मूल्यांकन गरिने कार्ययोजनामा उल्लेख छ । सबै विषयको समयसीमा र कसरी गर्ने भन्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive