newsone

सानो चित्तले बोसो पाक्दैन कामरेड !

newstwo सानो चित्तले बोसो पाक्दैन कामरेड !

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच चर्चित पार्टी एकीकरणको प्रस्ताव छलफलमै रहेको बेला एमालेभित्रकै सांगठानिक संकीर्णताले पार्टी एकीकरणमा बग्रेल्ती प्रश्नहरु उब्जाएको छ । भर्खरै सम्पन्न प्रदेशको चुनाव र प्रदेशको नेतृत्व चयनमा देखिएको गुटीय प्रतिस्पर्धाले एमाले र माओवादीबीचका एकता प्रक्रियालार्ई पनि झस्काइ दिएको छ  । प्रदेश नं १ र ३ प्रदेशमा देखिएको एमालेभित्रको नेतृत्व चयन यस्तै एउटा परिघटना वा दुर्घटना मात्रै होइन । 

एमाले नेतृत्वको गुटबन्दीको चरम नमूना पनि हो । प्रदेश नं १ मा पार्टीका सचिव तथा १ नं प्रदेशका इन्चार्जलार्ई हराउनेसम्मको खेल खेल्नु गुटको हिसावमा राम्रो मान्न सकिएला तर पार्टीको हितमा भने छदैं छैन् । यसरी नै प्रदेश नं. ३ मा अर्का पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराउने कर्म पनि गर्नु हुन्थेन । 

पार्टीले प्रदेशको सांगठानिक इन्चार्ज बनाउने अनि सत्ताबाट प्राविधिक रुपले विस्थापित गराउने शोभनीय लाग्दैन । पार्टीको केन्द्रीय उपाध्यक्षलाई यसरी नै मानमर्दन गर्दै जाने हो भने नेतृत्वको विस्थापन सुरु हुन्छ । पहिलो कुरा त सात प्रदेशमध्ये एउटामात्र प्रदेशमा महिला मुख्यमन्त्री हुने कुरा समावेशीताको सिद्धान्त अनुसार पनि देखिन्थ्यो । त्यतिमात्र पनि होइन, शाक्य कुनै कोमल ओली पनि होइनन् एमालेका लागि । २०२८ सालदेखि नै कोअर्डिनेशन केन्द्र, नेकपा माले हुँदै एमालेमा निरन्तर रहेकी निष्ठावान कार्यकर्ता पनि हुन । ३ नं प्रदेशको नेतृत्व गर्ने सिलसिलामा उनलाई प्रदेशको उम्मेदवार बनाइयो । मुख्यमन्त्रीको प्रचार गरेर अन्ततः उनलाई पाखा लगाउनु नितान्त नैतिक प्रश्न हुन सक्तैन । 

उनले ३ नं प्रदेशका नेवार जातिको समुदायलाई पनि प्रतिनिधित्व गर्थिन । उनी एमालेमा स्वच्छ छवि भएकी नेताहरुमध्येकी एक थिइन । तर, उनलाई कुनै गुट नजिक रहेको आधारमा पराजयको शिकार बनाउने जुन काम गरिएको छ, त्यसले एमालेमा लागेका निष्ठावान कार्यकर्ताको हुर्मत लिने काम गरेको छ । भविष्यमा यस्तै संस्कृतिको निरन्तरता रहे के होला ?

नेकपा एमालेको नेतृत्व गरेर केन्द्रीय मन्त्रीपरिषदको कार्यभार सम्हालिसकेका यी दुई मुख्यमन्त्रीका पराजीत उम्मेद्वार हुन । दुईमध्ये भीम आचार्य केन्द्रीय मन्त्रीमा रहँदा विवादित भए पनि शाक्य विवादरहित हुन् । आचार्यलाई उनकै प्रदेश सहसंयोजकले हराए भने शाक्यलाई कनिष्ठ कार्यकर्ताले पराजीत गरे । 

यसरी नै संस्थापन पक्षले प्रदेश नं ४ र ५ मा पनि आफ्नै नेतृत्वलाई स्थापित गरेको छ । यी दुई प्रदेशमा अघिल्लो दुई प्रदेशको झैं अस्वस्थ्य प्रतिस्पर्धा नदेखिएको भए पनि संस्थापनको बर्चस्वलाई जसरी पनि स्वीकार्नु पर्ने बाध्यता एमालेमा आइलागेको भान हुँदैछ । 

यसरी एउटा महान् एकता प्रक्रियामा गइरहेको बेला एमालेभित्रको पक्ष र विपक्षको खेलले यो एकतालाई पनि पूरै झस्काउने काम गरेको छ । यसप्रकारका सूत्रको प्रयोगले एकता प्रक्रियालाई डिरेल गर्नसक्ने सम्भावना रहन्छ ।

माक्र्सवादी माले एकता 

पार्टी एकीकरण सवालको नमूना माक्र्सवादी माले एकीकरणबाट सिक्नु जायज हुन्छ । हुनत माले माक्र्सवादी एकतामा बैचारिक प्रश्न थिएन भन्दा पनि हुन्छ । दुवै कम्युनिस्ट पार्टीहरुको विश्व कम्युनिष्ट आन्दोलनलाई हेर्ने दृष्टिकोण समान थियो । 

रुस, चीन, हिन्द चीन या पूर्व युरोपलाई हेर्ने दृष्टिकोण समान थियो । मालेले ०४६ साल भदौमै चौथो महाधिवेशनमार्फत् माओ विचारधारालाई ड्रप गरिसकेको थियो । अर्थात्, सैद्धान्तिक रुपमा दुवै पार्टीले माथापच्ची गरिरहनु पर्ने विषय थिएन । दुवै माक्र्सवादी लेनिनवादी पार्टी थिए । तर, सांगठानिक एकताको सवाल हल गर्नुपर्ने विषय प्रमुख बन्न पुग्यो । तत्कालीन समयमा माक्र्सवादीहरुको केन्द्रीय संगठन बाहेक एकाध जिल्लामा मात्र संगठन थियो । मालेका केही नेताले त्यस समयमा माक्र्सवादीलाई विलय गराउने कोसिस पनि गरेका थिए । मनमोहन अधिकारीलाई नै कुनै सानोतिनो भूमिका दिएर पार्टीमा लैजाने सोंचका साथ छलफल गरेका थिए । तर, मदन भण्डारीलगायतका नेताले मनमोहन अधिकारीको अन्तर्राष्ट्रिय छविलाई उपयोग गर्ने गरी लैजान अध्यक्ष नै दिनुपर्ने प्रस्ताव अगाडि ल्याए । जबकि मनमोहनले पनि मालेले अध्यक्षको भूमिका देलान भनेर सोंचेका थिएनन् भनिन्छ । उनलाई कुनै बरिष्ठ नेताको सम्मान दिएर लैजालान भन्नेमा माक्र्सवादीहरुले सोंचेको र स्वयम् मनमोहनले केही पनि आश नगरेको आज पनि एमालेका उपल्ला नेताहरुले चर्चा गर्ने गरेका छन् । तत्कालीन समयमा केन्द्रीय संगठन समिति पनि कुनै प्रतिशतको हिसाव नराखी नै एकता गरिएको थियो । यसले यो एकताको नमूना बढी फलदायी मानिन्छ । सांगठानिक र नेतृत्वको एकीकरणको सवालमा यो नमूना आज पनि उत्तिकै जरुरी छ । भलै यो नमूनाले सैद्धान्तिक एकीकरणको सवालमा कुनै सूत्र नदेला तर सांगठानिक एकताको सवालमा यो सूत्र काफी छ । त्यसबखत मालेले कुनै कन्जुस्याँइ नगरीकन नै माक्र्सवादीहरुलाई संगठनमा दिएको मूल्यले पार्टीलाई ठीक ठाउँमा ल्यायो ।

वर्तमानको एकता 

वर्तमानको एकताको दुई सूत्र खोज्नु जरुरी छ । एउटा सैद्धान्तिक एकताको सूत्र । दोस्रो सांगठानिक एकताको सूत्र । पहिलो सूत्रमा विचारको बहस गराउँदै महाधिवेसनमार्फत् हल गर्न सकिन्छ । दोस्रो सूत्रको तात्कालिक हल खोज्नु जरुरी हुन्छ । यसका लागि माले माक्र्सवादी एकताको सूत्र लाभकारी हुन्छ । यसको मतलव यो होइन कि हुबहु त्यही सूत्र लागू गर्नुपर्छ । त्यसो गरियो भने एमाले र माओवादीको केन्द्रीय समिति मिलान गर्दा अर्को जात्रा हुनेछ । नेतृत्वको हकमा यो मोडेल उचित हुन्छ । जसरी हिजो मनमोहनको छवि उपयोग गर्न एमालेले मनमोहनलाई नेतृत्वमा ल्यायो । त्यसभन्दा पनि बढी गणतन्त्र, संघीयता, धर्म निरपेक्षता आदि मुद्धाको नेतृत्व गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको नेतृत्व एकीकृत पार्टीमा जरुरी हुन्छ । यसले नीति र नेतृत्वलाई एक ठाउँमा ल्याउँछ । तर, अहिले हलो यहीँनेर आएर अड्किएको महसुस हुन्छ । 

पार्टी एकीकरणका मोडेलहरु पनि सैद्धान्तिक आधारमा निश्चित गरिनु पर्छ । विगतका थुप्रै एकीकरणका नमूनाबाट शिक्षा लिदंै नयाँ आधारमा यस्ता नमूनाको विकास गर्न सकिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा माओवादी र एमाले बिल्कुल विपरीत धारबाट आएका माक्र्सवादी भंगालाहरु हुन । हुनत दुवैको पृष्ठभूमिमा सशस्त्र आन्दोलन छ । तर, पछिल्लो पटक एमाले सशस्त्र आन्दोलन भन्दा पनि बढी शान्तिपूर्ण राजनैतिक आन्दोलनमार्फत् आएको हो । माओवादी सोझै सशस्त्र आन्दोलनमार्फत् मूल धारमा केही सहमति गर्दै आएको संगठन हो । यी दुई पार्टीबीचको एकीकरणको सवाल पनि त्यत्तिकै पेचिलो छ । तर, पछिल्लो पटक माथि उल्लेख गरिए झैं एमालेभित्र नै संस्थापन र गैरसंस्थापन पक्षको दुरी हेर्दा एमालेभित्र ३÷४ वटा पार्टी हुने र माओवादीभित्र पनि कमसेकम दुई वटा पार्टी त होला । यसरी यो एकता भइहाल्दा पनि छ वटा पार्टीको मोर्चा जस्तो पो हुने हो कि ? कामना गरौं त्यसो नहोस !

अन्त्यमा, एकता यान्त्रिक हुनुहुन्न । सिद्धान्तको सार र संगठन रुपको आधारमा एकता गर्नु जरुरी छ । माओवादीको विगतका सैद्धान्तिक बहस खरीपाटी, पालुङ्टारको प्रतिवेदनले दिशा निर्देश गरेको थियो । विचारको बहस नटुंगिदै नारायणकाजी श्रेष्ठको नेतृत्वको पार्टीसँग एकता गर्दा गुट उपगुटको संघर्ष चर्कियो, झांगियो । विचारको भन्दा बढी भावनात्मक पक्षले प्राथमिकता पायो । गुटउपगुट विस्तारित भएर धोवीघाट प्रकरणले बुम्¥याङ बनायो । पछिल्लो पटक एमाले मालेको पुनः एकीकरणपछि एमालेभित्र अर्को–अर्को एमाले पनि थपिएको छ । थुप्रै एमाले बन्दै गएको जस्तो देखिएको छ । यस्तो अवस्थामा पार्टी एकीकरणको सवाल चिया गफको तुफान हुन सक्तैन । छोरी कुटेर बुहारी तर्साए जस्तो पनि होइन । सानो तिनो चित्तले बोसो पनि पाक्दैन । यो ठूलो र ऐतिहासिक परिघटना हो । समयबद्ध साप्ताहिकबाट


 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive