newsone

सत्यको खोज र त्यसप्रति निष्ठा

newstwo सत्यको खोज र त्यसप्रति निष्ठा


कृष्णदास श्रेष्ठ
   

सत्यको सवाल वैज्ञानिक चिन्तनको, दार्शनिक चिन्तनको एउटा केन्द्रीय सवाल हो । हाम्रो अवसर के भन्ने गर्छौ भने अन्यायमाथि न्यायको, असत्यमाथि सत्यको विजय अवश्य हुन्छ । यो एउटा ऐतिहासिक सत्य पनि हो, किनभने सत्यलाई सुरुमा मानिसहरुले नसकारे पनि, सत्यले विस्तारै–विस्तारै आफुलाई शक्तिशाली बनाउँदै लैजान्छ र अन्त्यमा गएर त्यसले आफुलाई विजय बनाउँछ । यसबाट  कुन कुरा निस्कन्छ भने जो व्यक्ति इमान्दर र समझदार छ, उसले सत्य पक्षमा आफुलाई लगाउनु पर्छ । र सांचो भन्ने हो भने, सत्यप्रति उसको अडान नै उसको जीवन मूल्य जाँच्ने कसी हो । तसर्थ, सत्यको पक्षमा दृढ रुपमा उभिनु प्रत्येक कलाकार, वैज्ञानिक, विचारक वा क्रान्तिकारीको लागि एउटा अपरिहार्य गुण रहन्छ । यसरी सत्यको सवाल मानिसको जीवनमा एउटा सर्वाधिक महत्वको सवाल हो । महान रुसी विचाइक एन्. जी. चर्निडोब्स्कीले “गोगोल अवधिका रुपरेखा” शीर्षकको आफ्नो लेखमा हेगेलले सत्यको महत्वबारे व्यक्त गरेका निम्न गहन विचारलाई उद्धत गरेका छन् ः 
    
 “सत्य भनेको चिन्तनको सर्वोच्च लक्ष्य हो, सत्यको खोज गर, किनभने सत्यमा भलाई रहेको छ । सत्य जस्तोसुकै होस्, त्यो फट्याइँभन्दा बेस छ । विचारकको पहिलो कर्तव्य भनेको जस्तोसुकै परिणामबाट पछि नहट्नु हो, ऊ सत्यको पक्षमा आफ्नो अत्यधिक प्रिय विचारलाई पनि त्याग्न तयार हुनु पर्छ । गल्ती सारा विनाशको स्रोत हो, सत्य सर्वोच्च भलाई हो र अन्य सारा भलाईको स्रोत हो ।”

अब यहाँ यस्तो प्रश्न स्वाभाविक रुपमा उठ्दछ ः सत्य भनेको के हो ? हामीले करुतो विचारलाई सत्य भन्ने ? सत्यको जाचँ गर्ने कसी के हो ? यी वास्तवमा महत्वपूर्ण सवाल हुन् । भौतिकवादी दृन्द्धवादले हामीलाई के बताउँछ भने सत्य भनेको त्यस्तो विचार हो, जुन यथार्थतासित, यथार्थ जीवनसित मेल खान्छ । भौतिकवाद अनुसार, विचार भनेको वस्तुगत यथार्थताको मानिसको मनमा परेको प्रतिबिम्ब हो , र त्यसैले  त्यस्तो विचार वास्तविक सत्य हो जसको यथार्थतासित मेल खान्छ । यसबाट कुन कुरा निस्कन्छ भने कुनै विचार वा सिद्धान्त सही छ कि छैन भन्ने कुरा सो विचार वा सिद्धान्त वस्तुगत यथार्थतासित कतिसम्म मेल खान्छ भन्ने कुरामाथि निर्भर गर्दछ।

सारांशमा भन्ने हो भने, सत्य भनेको विचार र यथार्थताबीचको मेल हो । तर जस्तो मेल अन्तिम भन्ने कदापि हुदैंन, किनभने यथार्थता र जीवन गतिशील र विकासशालि छ र त्यसको गति र विकाससंगै सत्य पनि विस्तारित हुंदै जान्छ । यस तथ्यलाई कौइवेलले निम्न रुपमा व्यक्त गरेका छन् ः

“.......सत्य विश्वको एउटा हिस्सा हो । तर पनि सत्य यथार्थताका अन्य हिस्साहरुसित मानिसको संर्घषबाट  उत्पन्न हुन्छ र संसार बढी जटिल बन्छ । फलस्वरुप, यथार्थता स्वयं समृद्ध बन्छ, र यथार्थताको जटिलतामा भएको वृद्धिले गर्दा, ‘निरपेक्ष सत्य’ को अन्तिम लक्ष्य अर्को एक चरण अघि बढ्छ । समाज कहिल्यै निरपेक्ष सत्यमा पुग्न सक्दैन.......जसरी निरन्तर रुपले बढ्ने मानिसको उच्चाइले उसको विचारको घेरालाई विस्तारित गर्छ ।”

(कौडवेल, “यथार्थ र भ्रम” पृष्ठ १३९–४०) 

    माथि–उद्धत गरिएको हेगेलको भनाइमा मुख्य जोड हाम्रो सम्पूर्ण अनुसन्धान, चिन्तन–मनन र व्याख्या–विश्लेषणको प्रमुख उद्देश्य सत्य पत्तालाउनुमा दिइएको छ । वास्तवमा, अनुसन्धानको मुख्य केन्द्र सत्यको खोज हुनुपर्छ । माथि भनिए झैं, सत्य भनेको वस्तुगत यथार्थताको प्रतिबिम्ब हुनाले, सत्य मानिसको व्यक्तिगत इच्छा वा चाहनाबाट स्वतन्त्र रहन्छ र यदि हामी सत्यबाट पर नरहने हो र त्यसको पत्ता लाउने हो भने त्यसको खोजमा हाम्रो अनुसन्धानले प्रयोग गर्नुपर्ने तरिका हेगेलद्धारा प्रतिपादित चिन्तनका द्धन्द्धात्मक तरिका हो । द्धन्द्धात्मक तरिकाको मुख्य काम नै यथार्थताको बोध गराउनु हो, सत्यलाई खुलस्त पार्नु हो । यस तरिकाको प्रयोग गर्ने विचारक तथा अनुसन्धाताबाट त्यसले कुन कुराको  अपेक्षा गर्छ भने उसले कुनै विषय वा परिघटनाको जाँच गर्दा त्यसलाई  एकपक्षीय वा पूर्वाग्रही रुपमा लिनु हुन्न, बरु त्यसका सबै पक्षहरुबाट जाँच गनुपर्छ । यसरी त्यसको जाँच गरियो भने उसको सामु सत्य त्यसभित्रका सबै विपरीत विचारहरुको संर्घषको फलको रुपमा देखा पर्न आउँछ । द्धन्द्धवादको सबभन्दा प्रमुख सिद्धान्त के हो भने हरेक कुरा स्थान र समयविशेषको परिस्थितिमाथि निर्भर गर्दछ । यस सिद्धान्तले हामीलाई के सिकाउँछ भने हरेक वस्तु वा परिघटनाको आफ्नै महत्व हुन्छ र त्यसैले, कुन गरिस्थितिमा कस्तो वातावरण र कुन कारणहरुले गर्दा त्यसको उत्पत्ति भएको हो र त्यसमा वास्तविक रुपले कस्ता गुणहरु रहेका छन् ती सबैको जाचँ गरिनु पर्छ । यसरी जाचँ गरिसकेपछि मात्र त्यसबारे निश्चित निर्णय दिइनु पर्छ । दार्शनिक चिन्तनको मुख्य काम भनेको यो हो ।

सत्यमा पुग्ने सम्बन्धमा, द्धन्द्धात्मक तरिकाले निर्देशित गरेको बाटो यथार्थताको धरातलबाट थालेर वास्तविक तथ्यहरुको आधारमा सत्यमा पुग्ने बाटो हो । यसलाई माओ त्सेतुङले “तथ्यहरुबाट सत्य पत्तालाउने ” रुपमा प्रस्थापित गनुभयो । यसको अर्थ के भने अनुसन्धाताले तथ्यहरुको अवलोकन र अनुसन्धान गनुपर्छ र तथ्यहरु उचित विश्लेषणको आधारमा उपयुक्त निष्कर्ष निकाल्नु पर्छ । सत्यको खोजमा दृढ रुपमा अनुसरण गनुपर्ने यो एक महत्वपूर्ण निर्देशन हो । 

सत्यको खोजलाई दार्शनिक चिन्तनको प्रमुख लक्ष्य मान्ने भन्ने हेगेलको भनाइ हेर्दा सामान्य लागे पनि त्यसको निकै ठूलो महत्व छ । भन्नु सजिलै भए पनि त्यसको अनुसरण गर्नु  त्यत्तिकै गाह्रो छ । गाह्रो खास रुपले त्यस्तो चिन्तनको स्थिति र वातावरणमा जसमा चिन्तनले सत्य पत्तालाउन होइन, बरु सत्यमाथि संकीर्णता र अवरोधहरु थोपाने उद्देश्य लिएको हुन्छ । हामी यस्ता धेरै बुद्धिजीवीहरु तथा कथित चिन्तकहरु भेट्टाउँछौैैैैैं जसले आफुलाई मनपर्ने धारणा तथा विश्वासको औचित्य सावित गर्ने उद्देश्यमा आफ्नो अनुसन्धानलाई सीमित राख्छन्, जो सत्यको खोज होइन, बरु आफ्ना पूर्वग्रह  र मनपर्ने आस्थाको लागि टेवा खोजेर हिडन्छन् र यदि कुनै सत्य आफुलाई  मन नपर्ने खालको, आफ्नो स्वार्थ प्रतिकूल वा आफ्नो धारणासित नमिल्दो भएमा त्यसलाई पन्छाउँछन् र त्यसबाट त्यस्ता कुरा मात्र ग्रहण गर्छन् जुन आफुलाई मनपरेको हुन्छ । तिनीहरुका उद्देश्य सत्यको खोज गर्नु नभएर आफ्नो प्यारो पूर्वाग्रहलाई उचित ठह¥याउनु रहेको हुन्छ । सत्यको आवश्यकताको लागि होइन कि आफ्नो स्वार्थ वा खुशीको लागि चिन्तन गर्ने यस्तो व्यवहारलाई नै वास्तवमा मनोगत चिन्तन भनिन्छ ।

सत्यको खोज र त्यसप्रति सम्मान र निष्ठा एउटा महान कुरा हो र सच्चा चिन्तकमा हुनुपर्ने एउटा अपरिहार्य गुण हो । हर व्यक्ति सत्यको पक्षमा उभिनु पर्छ भनेर हामी भन्ने गछौं, र मुखले आफु सत्यको पक्षमा रहेको कुरा सबैजना गर्छन । तर व्यावहारिक जीवनमा हामी कस्तो देख्छौं भने धेरैजना सत्यलाई ठाडो भएर हेर्न डराउने गर्छन् र विभिन्न क्षेत्रहरुमा फट्याइँ, स्वाप्निल कल्पना वा भावुकतामा रमाउने प्रवृत्ति पाइन्छ । आफुलाई मन नपर्ने वा आफ्नो स्वार्थसित बाझिने सत्य जतिसुकै स्पष्ट र सरल भए पनि त्यसलाई ग्रहण नगर्ने, बरु आफुलाई रमाइलो लाग्ने गल्तीमा टाँसेर रहने प्रवृत्ति व्यापक रुपमा पाइन्छ । विभिन्न समयका कैयन् दार्शनिक तथा चिन्तकहरुको सम्बन्धमा कस्तो कुरा देखिएको थियो भने उनीहरु सत्यको समर्थन गर्दा आइपर्ने कठिनाइ देखेर पछिहटेका छन् । कैयनजना महानतम पुरुषहरु पनि आफ्नो सिद्धान्तका स्पष्ट परिणामहरुको सामु दृढ रुपले उभिन नसकेर लरखाराउने गरेको देखिएको छ । तसर्थ, सत्यप्रतिको निष्ठामा दृढ रहनु र त्यसको सुसंगत रुपले अन्सरण गर्नु भनेको निकै  गाह्रो कुरा हो ।

यसरी, सत्यको सामना गर्नु वा सत्यबाट निस्कने परिणामलाई सकार्नु भनेको सजिलो कुरा होइन, र यसको लागि निस्वार्थ तथा आत्म–बलिदानी भावनाको आवश्यकता पर्छ, जुन कुरा धेरैजनामा कम पाइन्छ । सत्यप्रति आत्म–बलिदानी समर्थनको अभाव रहेका चिन्तकहरुको सम्बन्धमा लेखानोवले लेखेका छन् ः

“यदि सत्यको सामना गर्न डराउने व्यक्ति एक तुच्छ चिन्तक रहन्छ भने, त्यो भन्दा खराब त्यस्तो व्यक्ति हो जसले सत्यलाई सीधा भएर हेर्दछ, तर आफुले देखेको कुरा संसारलाई बताउन डराउँछ । सबैभन्दा खराब त त्यस्तो व्यक्ति हो जसले केही व्यावहारिक फइदालाई ध्यानमा राखेर आफ्नो दार्शनिक विश्वासलाई लुकाउँछ । यस्तो चिन्तक स्पष्ट रुपले मोर्चालिनहरुको श्रेणीमा पर्छ ।” (मोचोलिन ग्रिबोयेदोवद्धारा लिखित ''wit works woe" नामक उपन्यासका एक पात्र हुन् जसलाई दास–भाव र चापलुसीको पर्याय मानिन्छ ।) (प्रेखानोव,“चुनिएकी दार्शनिक रचनाहरु” भाग ३, पृष्ठ १९८)

सत्यको पक्षमा दरोसित उभिनु, त्यसको लागि साहसका साथ लड्नु र सुसंगत रहनु प्रत्येक सच्चा वैज्ञानिक, कलाकार वा क्रान्तिकारीको गुण तथा कर्तव्य हो । सर्वहार पार्टीको लागि यो एकदमै आवश्यक गुण हो । लेनिनले कुन कुरामा सधैं जोड दिएका छन् भने पार्टीले आम जनतालाई सत्य कुरा बताउनु पर्छ र त्यसको प्रचार तथा आन्दोलनकारी कार्यमा सत्य एकदमै आवश्यक कुरा हो । उनको दृढ मत के छ भने वास्तविक वस्तुस्थितिलाई ढाकछोप गर्नु वा त्यसको सिंगारपटार गरी प्रस्तुत गर्नु, सपनाको महल खडा गर्नु, काल्पनिक कुरा गर्नु, आदि कदापि पनि जनता तथा क्रान्तिको हितमा छैन, बरु त्यसले त्यसलाई ठूलो हानि पु¥याउँछ । सत्य कुरा प्रकाशमा ल्याउँदा र आत्मालोचना गर्दा विरोधीहरुले फाइदा उठाउन त्यसको प्रयोग गर्लान् । भन्ने धारणाको सम्बन्धमा लेनिनले यस्तो विचार व्यक्त गनुभयो ः “उनीहरुले प्रयोग गरुन्, हामीलाई स्पष्ट तथा सरल सत्यबाट निकै धेरै फाइदा हुनेछ, किनभने हामी कुन कुराप्रति निश्चित छौं भने यो सत्य कठोर भएपनि यदि त्यसलाई स्पष्टसित सुनियो भने प्रत्येक वर्ग सचेत मजदुरले प्रत्येक श्रमिक किसानले त्यसबाट निस्कन सक्ने एकमात्र सही निस्कर्ष निकाल्नेछ ।” (लेनिन, संकलित रचनाहरु भाग २९, पृष्ठ २५६) 

तसर्थ, सत्यलाई उच्चतम मूल्यवान ठानेर, राजनितिक, नैतिक तथा शैक्षिक दृष्टिले त्यसको ठूलो मूल्य रहेको मानेर त्यको समर्थन गनुपर्छ र त्यसको पक्षमा दृढ रुपले संघर्षरत रहनु पर्छ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive