newsone

संयोजकबाट बर्खास्तीपछि विवाद खोज्दै यादव

newstwo संयोजकबाट बर्खास्तीपछि विवाद खोज्दै यादव

काठमाडौं । नेपालको राजनीतिमा आश्चर्यजनक ढँगले उदाएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र विवाद एक अर्काका पर्यायबाची जस्तै बनेका छन । विवादबाट र विवादास्पद भूमिकाबाट उदाएका अध्यक्ष यादवले आफै बिबाद सिर्जना गराउने र त्यसको राजनीतिक फाइदा लिने प्रयास गर्ने गरेका छन । ‘विवादपछि राजनीतिक उचाई हांसिल गर्नुभएका हाम्रो अध्यक्षले जति विवाद हुन्छ, त्यति फाइदा हुन्छ भनेर योजना बनाउनु हुन्छ ।’ अध्यक्ष यादवका एक सहयोगीले भने ।

गौर नरसंहार, अन्तरिम संविधान जलाउने, पार्टी गठन गर्दा अन्य पार्टीका मान्छेहरुलाई नेता बनाउने, भारत र चीनबीच पटकपटक खेल्ने, राष्ट्रिय सहमति हुँदा फरक कुरा गर्दै हिंड्ने लगायतका दर्जनौं विवादमा फसेका अध्यक्ष यादव पछिल्लो चरणमा मधेसमा एक्लो बनेर बिबादमा परेका छन । सरकार र मुख्य राजनीतिक दलहरुलाई झुकाई मधेसको एजेण्डामा ल्याउने भनेर आन्दोलनको लागि गठन गरिएको मधेसी मोर्चामा विवाद देखिएपछि मधेसवादी कार्यकर्ताहरु भन्न थालेका छन, ‘उपेन्द्रले अर्को विवाद खडा गरेर फाइदा लिन खोजिरहेका छन । तर मोर्चाले उनीमाथि कारबाही गरेपछि उनको विवाद रोज्ने चाहना साँच्चिकै विवादमा परेको छ ।’

मधेस र अन्यत्र पनि भाषणमा निर्वाचन बहिष्कारको नारा उराल्ने अध्यक्ष यादवले भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको र उम्मेदवारी दिन सम्भव भएका ठाउँमा नयाँ शक्तिसँग मिलेर उम्मेदवारी दिनेछन भन्ने समयबद्धले यसअघि नै समाचार प्रकाशित गरिसकेको थियो । त्यो कुराको पुष्टि गर्दै यादवले सङ्घीय समाजवादी फोरमलाई निर्वाचनमा होमेका छन । अन्य मधेसवादी दलहरुलाई निर्वाचन बहिष्कारको लागि भनेर निर्वाचन आयोग र जिल्लाजिल्लामा दल दर्ता गर्न समेत निरुत्साहित गर्ने यादवले सङ्घीय समाजवादी फोरमलाई भने सबै जिल्लामा दल दर्ता गरेर कानुनी हिसावले आफ्नो दललाई अद्याबधिक गराएका थिए । अन्य दललाई निर्वाचनमा भाग लिने नदिने षडयन्त्र गरी यादवले आफ्नो दललाई राष्ट्रिय दल बनाउने योजना अनुरुप पहिलो चरणको निर्वाचनमा नै सम्भव भएसम्मको स्थानमा उम्मेदवारी दिन लगाएका छन ।

नयाँ शक्तिलाई पनि सङ्घीय समाजवादी फोरमकै निर्वाचन चिन्हमा उम्मेदवारी दिन लगाएपछि यादव हौसिएका छन । यादवले पार्टी नेताहरुलाई आफू नयाँ शक्तिसँग एकतापछि पनि अध्यक्ष बन्ने दाबी गर्दै मधेसमा जनाधार भएको फोरम र नयाँ शक्तिबीच एकता भएपछि क्षेत्री बाहुनको क्लष्टरमा डा. बाबुराम भट्टराईलाई, जनजातिको क्लष्टरमा अशोक राइलाई र नेवार क्लष्टरमा राजेन्द्र श्रेष्ठलाई नेता बनाउने बताउने गरेका थिए । काठमाडौं र पोखरा महानगरपालिकामा नै सङ्घीय समाजवादी फोरमले मेयर र नयाँ शक्तिले उपमेयर मात्र लिएपछि सो कुरा पनि पुष्टि भएको छ । अर्थात नयाँ शक्तिका डा. भट्टराईले सङ्घीय समाजवादी फोरमभन्दा आफ्नो दल सानो र कमजोर जनाधार भएको स्वीकार्दै सङ्घीय समाजवादी फोरम बलियो नरहेको भनिएको स्थानमा नै उसको नेतृत्व स्वीकार गरेका छन् ।

सङ्घीय समाजवादी फोरमका अध्यक्ष यादवले नयाँ शक्तिले आफ्नो नेतृत्व स्वीकार्दै ठूला नगरपालिकामा समेत उपमेयरमा चित्त बुझाएपछि सङ्घीय समाजवादी फोरमलाई निर्वाचनमा होमेका हुन । तर उनलाई त्यो महंगो प¥यो । एकलौटी तवरले सङ्घीय समाजवादी फोरम निर्वाचनमा गएपछि मधेसी मोर्चाले मोर्चाको संयोजकबाट यादवलाई हटाई महन्थ ठाकुरलाई संयोजक चयन गरेको छ ।

अध्यक्ष यादवले पहाडी क्षेत्रमा निर्वाचन नजिते पनि मत ल्याउन र आफ्नो उपस्थिति देखाउन तथा नयाँ शक्तिसँगको एकता प्रक्रियालाई अझ मजबुत बनाउन निर्वाचनमा उपस्थिति देखाएका हुन । तर उनले बाहिर भने हालसम्म प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले निर्वाचनमा सहभागिता जनाएको भनेका छन । उनले जे भने पनि र जे कारण देखाए पनि निर्वाचनमा सहभागी हुने निर्णयले सङ्घीय समाजवादी फोरम मधेसमा भने एक्लो भएको छ । अहिले फोरमका कुनै पनि कार्यक्रममा अन्य दलका नेता कार्यकर्ताको उपस्थिति रहन छोडेको छ । अध्यक्ष यादवलाई मोर्चाको संयोजकबाट हटाएपछि कुनै पनि कार्यक्रम गरिएको छैन । तर आगामी दिनमा हुने कार्यक्रम तथा आन्दोलनमा फोरमबाहेकको गठबन्धनलाई अघि बढाइने राष्ट्रिय जनता पार्टीका एक नेताले बताए ।

उपेन्द्रको बल्छीले काम गरेन

पहाड र हिमालमा नयाँ शक्तिसँग एकता र कार्यगत सहकार्य गरेर बलियो बन्ने योजना बनाएका अध्यक्ष यादवले मधेसमा भने अन्य पार्टीका कार्यकर्ताहरुलाई सङ्घीय समाजवादी फोरममा तान्ने योजना बनाएका थिए । पाँच वटा मधेसवादी दलबीच एकता भई राष्ट्रिय जनता पार्टी बनेपछि नेतृत्वको बिषयलाई लिएर जिल्लाजिल्लामा विवाद बढ्ने र त्यसको फाइदा उठाउने मौकाको पर्खाइमा रहेका यादवलाई पछिल्लो चरणमा मधेसबिरोधीको रुपमा चित्रण गर्न थालिएको छ । मधेसको समस्या हल नभई निर्वाचनमा होमिएपछि उनीमाथि सो आरोप लागेको हो । जसको कारण उनी अहिले मधेसमा कमजोर बन्दै जान थालेका छन । ‘अन्य पार्टीका नेता कार्यकर्तालाई बल्छी थापेर झन ठूलो हुने योजनामा रहेका यादव आफैं निर्वाचनको बल्छीमा परेर कमजोर भए ।’ एक मधेसवादी नेताले भने ।

यादवले सिरहादेखि पर्सासम्म राजपा बनेपछिको बिबादको फाइदा उठाउने योजना बनाई केही नेताहरुलाई जिल्ला जिल्लामा खटाएका थिए । तर ती जिल्लामा राजपामा खासै विवाद देखिएन । बरु यादव नै मधेसबिरोधी हुन भन्दै उनकै नेता कार्यकर्ताहरुलाई जनतामा जान समस्या देखिएको छ । यादवले पहाडमा निर्वाचन नजिते पनि उपस्थिति देखाउन र मधेससहितको मतको आधारमा सङ्घीय समाजवादी फोरम नै ठूलो हो भन्ने प्रमाणित गर्न खोजे पनि महगों परेको छ । उनी अहिले मधेसको समस्यालाई नयाँ ढँगले बल्झाई नयाँ बिबादको खोजीमा छन ।

नयाँ बिबाद जन्माएपछि पार्टीको माहौल बनाउन सहज हुने निश्कर्ष निकालेका यादवले कुनै बिषय निकालेर कुनै पनि समयमा नयाँ विवाद ल्याउने निश्चित छ । त्यसले सङ्घीय समाजवादी फोरमलाई बलियो बनाउने उनी निकट स्रोतको दाबी छ ।

भारतद्वारा द्वैधको आरोप सङ्घीय समाजवादी फोरम बनाउनु अघिदेखि नै आफ्नो स्वार्थ अनुसार मात्र आन्दोलन र कार्यक्रम गर्ने गरेका यादवलाई भारतले पनि द्वैध नीति बोक्ने ब्यक्तिको रुपमा चित्रण गर्ने गरेको छ । कहिलेकाँही नेपालस्थित भारतीय दुतावासका कार्यक्रमहरुलाई बिबादमा पार्ने यादव जे गर्दा माथि पुग्न सकिन्छ त्यही गर्ने ब्यक्तिको रुपमा परिचित छन । उनले भारतलाई काउण्टर दिन बेलाबेला चीनको कुरा गर्ने र चिनियाँ दूताबाससँग पनि गोप्य छलफल गर्ने गरेको कारण भारतीय दूतावासले उनलाई द्वैध नीति अपनाउने पार्टीको रुपमा लिने गरेको दाबी समाचार स्रोतको छ ।

सङ्घीय समाजवादी फोरम बनेपछि पश्चिमाहरुको आईएनजीओ र एनजीओबाट फाइदा लिने ब्यक्तिहरुलाई पार्टी नेता बनाएपछि भारतीय नेता र दूताबास अध्यक्ष यादवबाट सशंकित बनेको बताइन्छ । पश्चिमाहरुको पार्टी भनेर सङ्घीय समाजवादी फोरमलाई पश्चिमाहरुको पार्टी भन्न थालेपछि यादवको अबस्था मधेसमा कमजोर बन्न थालेको हो । भारतले यादवको प्रतिक्रिया लिनकै लागि केही एजेण्टहरुलाई प्रयोग गरेर गत बर्ष चीनको झण्डा जलाउन लगाएको थियो । जसले ठूलो हलचल मच्चाएको थियो । सो समयमा यादवले भारतको बिरोध गरेका थिए ।

पश्चिमा र चीनसँग सङ्घीय समाजवादी फोरमको सुमधुर सम्बन्ध भएको कारणले अध्यक्ष यादवलाई कमजोर बनाउनकै लागि राजपा गठन गरिएको हो । तर यादवले भारतीय नेताहरुसँगको आफ्नो ब्यक्तिगत सम्बन्धदेखि डा. भट्टराईसम्मको सम्बन्ध भजाएर भारतीय सहानुभूति लिन खोजिरहेका छन । राजनीतिक स्तरमा उनको सम्बन्ध सुमधुर भए पनि दूताबास भने उनीसँग सशंकित रहेकोले भारतसँगको सम्बन्ध सुधारमा केही मेहनेत गर्नुपर्ने अबस्था देखिएको जानकारी दिदै समाचार स्रोतले भन्यो, ‘भारतले कुनै बिषयमा फसाएर उनलाई आफ्नो विश्वासपात्रको रुपमा प्रयोग गर्ने निश्चित छ ।’

भारतले महन्थ ठाकुरलाई सबैभन्दा विश्वासपात्र मान्ने गरेको छ भने भारतीय चाहना र बोली बोल्ने आधिकारिक ब्यक्तिको रुपमा राजेन्द्र महतोलाई लिने गरेको छ । अध्यक्ष यादवले ठाकुर र महतोको नाम लिदै भारतलाई देखाउनकै लागि अन्य देश र शक्तिसँग छलफल गरेर भारतलाई आफ्नो लाइनमा ल्याउन खोजेको केही बर्ष बितिसकेको छ । तर, उनी र भारतबीचको सम्बन्ध अत्यन्त उतारचढाव हुने गरेको बताइएको छ । अन्यसँग छलफल गरे पनि त्यो बार्गेनिङको लागि मात्र हो भन्दै उनी निकट ब्यक्तिहरु अध्यक्ष यादव र डा. भट्टराई भारतीय चाहना बाहिर जानै नसक्ने दाबी गर्छन । जे भए पनि प्रयोग र बिबादको राजनीतिलाई मुख्य सिद्दान्त बनाएका यादव माथि पुग्न र बलियो हुन जे पनि गर्न पछि पर्दैनन् । अहिले देखिएको बिबाद पनि त्यसैको निरन्तरता मात्र हो ।
समयबद्धबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive