newsone

श्रीलङ्काको पछिल्लो राजनीतिक घटना : एसियामा चीनको आक्रामक आगमन

newstwo श्रीलङ्काको पछिल्लो राजनीतिक घटना : एसियामा चीनको आक्रामक आगमन

अञ्जली राई
दक्षिण एसियाको एउटा राष्ट्र श्रीलङ्का यतिबेला अन्तर्राष्ट्रिय रणनीतिक दाउपेजका कारण गम्भीर राजनीतिक सङ्कटमा फसेको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रनिल विक्रमसिंघेलाई प्रधानमन्त्री पदबाट हटाई पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेलाई नियुक्त गरे । त्यहाँका सभामुख करु जयसूर्याले राष्ट्रपति सिरिसेनाको पछिल्लो कदम असंवैधानिक भनी सार्वजनिक रुपमा टिप्पणी गरेपछि त्यहाँ संवैधानिक सङ्कट आइपरेको हो । 

राष्ट्रपति सिरिसेनाले विक्रमसिंघेलाई राष्ट्रपतिको कदमलाई स्वीकार्दै सरकारी निवास खालि गर्न भनेका छन् । तर, विक्रमसिंघेले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै सरकारी निवास खालि नगर्ने भन्दै राष्ट्रपतिलाई ललकारेका छन् । वैधानिक प्रधानमन्त्री को हो भन्ने बहस श्रीलङ्कामा चुलिएको छ । राजापाक्षेका कार्यकर्ताहरु सडकमा निस्किएर हर्षाेल्लास मनाइरहेका छन् ।

राजापाक्षे र विक्रमसिंघेका कार्यकर्ताहरुबीच कुनै पनि बेला झडप हुने सम्भावना भएकोले त्यहाँ सुरक्षा सतर्कता बढाइएको छ । बिदामा बसेका प्रहरी र अर्धसैनिक बलका अधिकारीहरुलाई बिदा दिन बन्द गरिएको छ । बिदामा बसेकाहरुको बिदा रद्द गरी काममा बोलाइएको छ । 

बहुमत कसको छ भनी अब संसदमा सिद्ध गर्नुपर्ने छ । राष्ट्रपति मैत्रीपालाले शुक्रबार नै तीन दिनको लामो संसदलाई निलम्बन गरेका छन् । राजापक्षेको पक्षमा बहुमत सांसद सङ्ख्या पु¥याउनका लागि राष्ट्रपति मैत्रीपालाले संसद निलम्बन गरेको आरोप छ । यही कारण विक्रमसिंघेको पक्षमा बहुमत सांसद सङ्ख्या यथावत राख्न भारतले अदृश्य रुपमा भूमिका खेलिरहेको चर्चा अहिले श्रीलङ्कामा छ । सभामुख करु जयासूर्याका अनुसार अब संसद कार्तिक ३० गते मात्र चल्ने छ । 
राष्ट्रपति मैत्रीपाला र बर्खास्तीमा परेका प्रधानमन्त्री विक्रमसिंघेबीच खटपट त्यतिबेला सुरु भयो, जतिबेला गत महिना बिक्रसिंघे तीनदिने भारत भ्रमणमा गए ।

अक्टोबरको दोस्रो साता भारत भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिक्रमसिंघेबीच उच्चस्तरीय वार्तालाप भयो । वार्तामा भारतीय प्रधानमन्त्री मोदीले श्रीलङ्कामा भारतीय कम्पनीहरुमाथि भेदभाव भएको गुनासो गरे । समाचानुसार बिक्रमसिंघेले त्यस्तो भेदभाव नहुनेमा मोदीलाई आश्वस्त पारेका थिए । विक्रमसिंघेको यो आश्वासनलाई भारतीय अखबारहरुले प्राथमिकताका साथ प्रचार गरेका थिए । 

दुई हप्ता अगाडि राष्ट्रपति मैत्रीपालाले भारतीय गुप्तचर संस्था ‘रअ’ले आफ्नो हत्या गर्न षडयन्त्र बुनिरहेको बताएका थिए । त्यस समाचारलाई भारतीय अखबार ‘द हिन्दू’ले राष्ट्रपति मैत्रीपालाको त्यो गुनासोलाई प्रकाशित गरेपछि श्रीलङ्का र भारतमा हलचल मच्चिएको थियो । 

श्रीलङ्काको राजनीतिक वृत्तमा ‘रअ’को कुख्याती चर्चा हरेक घटनामा भइरहन्छ । चार दिन अगाडि मात्र महिन्द्रा नामक मन्त्री ‘रअ’को एजेन्ट भएको हल्ला चल्यो र सनसनीपूर्वक प्रचार भयो । 

यो अर्थमा राष्ट्रपति मैत्रीपाला चीनप्रति सकारात्मक छन् भन्ने चर्चा छ । उनले नियुक्त गरेका प्रधानमन्त्री राजापाक्षे पनि चीन समर्थक र भारतको कट्टर विरोधी हुन् । राजापाक्षेले सन् २०१५ को आमनिर्वाचनमा ‘रअ’ले बिक्रमसिंघेलाई आर्थिक सहयोग गरेका कारण आफ्नो पार्टीले निर्वाचनमा हारेको र यसबेला टिप्पणी गरेका थिए ।

सन्  २०१४ को अन्त्यसम्म राजापाक्षे श्रीलङ्काको राष्ट्रपति थिए । तामिल सशस्त्र विद्रोहलाई पराजित गरेकोमा राजापाक्षे श्रीलङ्कामा ‘स्ट्रङ्ग म्यान’ भनी परिचित छन् । अहिलेका राष्ट्रपति मैत्रीपाला राजापाक्षे राष्ट्रपति हुँदा स्वास्थ्य मन्त्री थिए । राजापाक्षेको दल त्यागेपछि उनको पतन भयो । २०१५ मा मैत्रीपाला श्रीलङ्काको राष्ट्रपति भए । 

यो अर्थमा अपदस्थ प्रधानमन्त्री विक्रमसिंघे भारत र राष्ट्रपति मैत्रीपाला चीन समर्थक भनी श्रीलङ्का र भारतमा चिनिन्छन् । यही कारण चीन समर्थक राजापाक्षेलाई राष्ट्रपति मैत्रीपालाले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यस्तो सम्बन्धका कारण अमेरिका र युरोपेली राष्ट्रले घुमाउरो ढङ्गमा राष्ट्रपति मैत्रीपालाको पछिल्लो कदमको पनि विरोध गरेका छन् । भारतले चाहिं सावधानीपूर्वक श्रीलङ्काको पछिल्लो राजनीतिक घटना अवलोकन गरिराखेको भनी प्रतिक्रिया दिएको छ ।

श्रीलङ्काका लागि चिनियाँ राजदूत चेङ सुये–युनले प्रधानमन्त्री राजापाक्षेलाई उनको निवासमै भेटेर चिनियाँ प्रधानमन्त्री ली खछियाङको तर्फबाट बधाइ सन्देश सुनाएको श्रीलङ्काका सरकारी सञ्चार माध्यमले जनाएका छन् । उनले श्रीलङ्कामा चिनियाँ सहयोगको निरन्तरता रहने सन्देश दिएको समेत बताइएको छ । 

श्रीलङ्काको हामवानदुरामा चीनको ऋण सहयोगमा बन्दरगाह शहर निर्माण भएको छ । श्रीलङ्काले यसलाई सञ्चालन गर्न नसक्ने भएपछि चीनले गत वर्ष ९९ वर्षका लागि लिजमा लियो । यो बन्दरगाह रणनीतिक दृष्टिले महत्वपूर्ण छ । त्यसैले हिन्द महासागरमा कब्जा जमाउन चीनले यो बन्दरगाह लिजमा लिएको बुझ्न सकिन्छ । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive