newsone

विद्युत प्रशारणले नछोएका शहरिया

newstwo विद्युत प्रशारणले नछोएका शहरिया

 

    मानवको आधारभूत आवश्यतामा ऊर्जाको हिस्सा महत्वपूर्ण भएकाले यसलाई केन्द्रमा राखेर विकासका आधार तयार गर्न थालिएको छ । देशको आर्थिक वृद्धिदर र मानव विकास सूचकांकमा समेत ऊर्जाको खपतले योगदान महत्वपूर्ण हुने भएकाले सबै मुलुकले ऊर्जाको विकास र खपतमा विशेष ध्यान दिएका हुन् । 


    त्यसैले आर्थिक समृद्धिको मानक ऊर्जा उत्पादनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । यो बास्तविकतामा हामी कहाँ छौं भन्ने विषयलाई विश्लेषण गर्ने हो भने देशको अवस्था अत्यन्त कमजोर छ । तर पनि हामी जलविद्युत् ऊर्जा क्षमतामा विश्वकै अब्बल देशका रुपमा दावी गरिदै आएको छ ।


    तेह्रौ त्रीवर्षीय योजनामा प्रतिव्यक्ति ऊर्जा खपत एक सय ४० किलोवाट घण्टा प्रतिवर्ष पु¥याउने लक्ष्य राखिएको थियो । त्यतिखेर प्रतिव्यक्ति ऊर्जा खपत एक सय ३२ किलोवाट प्रतिवर्ष रहेको थियो । जुन दक्षिण एसियाकै अन्य मुलुकको दाजोमा निकै कम हो । अर्थात् जनसंख्याको ५८ प्रतिशत मात्र ग्रीड प्रणालीमा आबद्ध विद्युत् ऊर्जाको उपभोक्ता रहेको अवस्था हो ।


    पछिल्लो आँकडा हेर्ने हो भने सार्क क्षेत्रमा औसतमा सात सय ७१ किलोवाट प्रतिघण्टा प्रतिव्यक्ति विद्युत् खपत दर रहेको छ । अफगानिस्तानको प्रतिव्यक्ति विद्युत् खपत दर एक सय एक किलोवाट प्रतिघण्टा रहेको छ । नेपालको भने एक सय ६० किलोवाट प्रतिघण्टा मात्रै रहेको छ । चौधौ त्रीवर्षीय योजना सकिँदै गर्दा तेह्रौ त्रीवर्षीय आयोजनाको लक्ष्यभन्दा केहीमात्र बढी देखिएको छ । तर सार्कको दाँजोमा अत्यन्त कमजोर अवस्थामा छौं ।
 

    चीनको प्रतिव्यक्ति विद्युत् खपत दर तीन हजार चार सय ९३ किलोवाट प्रतिघण्टा छ भने भारतको नौ सय १७ किलोवाट, भुटानको एक हजार छ सय १९, बंगलादेशको तीन सय १० भन्दा बढी, श्रीलंकाको चार सय ९० र माल्दिभ्सको सात सय ५२ किलोवाट प्रतिघण्टा रहेको छ । दक्षिण कोरियाको १२ हजार नौ सय र नर्वेको २३ हजार एक सय ७४ किलोवाट प्रतिघण्टा रहेको छ । विश्वमै ऊर्जाको अपार सम्भावना रहेको देशको खपत एक सय ६० मात्रै छ । यो दःुखद अवस्थामा पनि विद्युत् निर्यात गरेर समृद्धि ल्याउने गफ दिन बारम्बार लागिपरेका छौ ।

 
    त्यतिमात्र होइन, देशभित्रको अर्को अँध्यारो पाटो झन डरलाग्दो छ । देशका धेरै भागमा अझै टुकी बत्तीको सहारामा बाँचिरहेका छन् । उनीहरुले विद्युत्को उज्यालो देख्न पाएका छैनन् । ग्रामीण भेगका जनताका कुरै छाडौ नेपालका ३१ प्रतिशत जनता जो शहरमा बसोबास गर्दै आएका छन्, उनीहरुले नै पर्याप्त विजुली बाल्न पाएका छैनन् । उनीहरुको खपत क्षमता अत्यन्त न्युन छ । विद्युत् प्राधिकारणको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि दुई तिहाई ग्राहकले १० युनिट विद्युत् मात्र खपत गरेका छन् ।  


     प्रत्येक वर्ष सात प्रतिशतले काठमाडौँ उपत्यकाको जनसंख्या बृद्धि भइरहेको छ । नयाँ अवसर, रोजगारी, शिक्षा एवम् आर्थिक आर्जनका लागि शहरी क्षेत्रमा बसाइले तीब्र गति लिएको हो । तर, शहरमा बस्नेले पनि विद्युत प्रयोग गर्न पाएका छैनन् । उदाहरणका लागि न्यून आय भएका जनताको बसोबास,  अनौपचारिक बस्ती, घरबारबिहीन सुकुम्बासी बस्ती र कृषि मजदुरको बसोबास स्थल कमैया बस्तीमा विद्युत छैन । उनीहरु शहरी क्षेत्रमै बसे पनि अध्यारैमा बस्नुपर्ने बाध्यता छ । बत्ती मुनिको अँध्यारो छ । 


    हालै बिन क्याम्बेल, समृद्धि खरेल र नवराज लामाले गरेको अध्ययन अनुसार शहरी क्षेत्रमा बस्नेलाई पनि उज्यालो छैन, उनीहरुको अन्य आवश्यकता पूरा गर्ने त कुरौ छोडौ । विभिन्न तथ्यहरु हेर्ने हो भने तीन लाखभन्दा बढी व्यक्तिहरु सुकुम्बासी छन् । १५ हजार घरपरिबार कमैया छन् । उनीहरुको बसोबास देशका ठूला शहरभित्रै छ । तर, उनीहरुमा मानवले पाउने आधारभूत सेवा पनि पुगेको छैन । किनकि उनीहरुसँग घरजग्गाको लालपुर्जा छैन । उनीहरुको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ । यहाँका बालबालिका विद्यालय जाने अवसर पाउँदैनन्, विद्यालय जान पाए पनि विद्यालयको फी तिर्न सक्दैनन् ।
 

    अधिकांश अनौपचारिक क्षेत्र एलपी ग्यासले खाना पकाउने गर्दछन् । त्यसका अलवा केहीले पनि बायोग्यास प्रयोग गर्दै आएको पाइएको छ । त्यसैगरी केहीले मात्र सोलारबाट खाना पकाउँदै आएका छन् । शहरी क्षेत्रमा सौर्य प्रणाली जोड्नका लागि सरकारको कुनै सहयोग हुँदैन । सरकारले ग्रामीण क्षेत्रलाई मात्र सोलारका लागि अनुदान दिँदै आएको छ । राष्ट्रिय प्रशारण लाइन उनीहरुलाई छोएकै छैन । देशका विभिन्न स्थानबाट काठमाडौ आएर बसेका न्यून आय भएकाको अवस्था त्यस्तै नाजुक छ । घरबेटीलाई भाडा तिर्न नसकेकै कारणले खोला किनार र भिरालो जग्गामा बस्दै आएका सुकुम्बासी झनै समस्यामा छन् । त्यस्ता बस्तीलाई राज्यले गैर कानुनी भन्ने गरेको छ । उनीहरु खोलाका किनार तथा अन्य क्षेत्रमा बस्दै आएका छन् । उनीहरुले त्यस्ता समुदायलाई अन्य जस्तै समान व्यबहार नगरेको उनीहरुको भनाइ छ । उनीहरु राज्यको अधिकारबाट बाहिर पारिएका सीमान्तकृत जनताका रुपमा रहनुपरेको छ ।


    शहरका सुकुम्बासी बस्तीमा विद्युत् प्रशारण लाइन नजोडिँदाका समस्या अमानवीय छ । त्यस्ता स्थानमा बसोबास गर्नेले नजिकैको घरबाट विद्युत् लाइन लिने गरेको स्पष्ट देखिन्छ । जहाँबाट विद्युत जोडिन्छ, त्यहाँ उनीहरुले सरकारलाई बुझाउनुपर्ने रकमको दोब्बर शुल्क तिर्नुपर्छ । यहाँ बसोबास गर्ने युवाले ल्यपटप, कम्प्युटरजस्ता आधुनिक संचारका सामग्री प्रयोग गर्न पाएका छैनन् । विद्युतकै कारण कयौं विषयमा पछि परेका यी समुदाय गर्मी र वर्षात्का समयमा मुन्टो लुकाउने आधारभूत आवश्यकताबाट बञ्चित छन् । 


    मानव विकास सूचकांकमा पनि विद्युतको भूमिका महत्वपूर्ण हुने, विश्वमै स्वीकारिएको सूचकबाट बञ्चित गराइनु पीडित नागरिकका लागि दिएको दःुख त छँदैछ, त्यसको साथै विश्वमा मानव विकास सूचकांकमा पनि नेपाल धैरै पछि पर्दैछ । राजधानी काठमाडौं उपत्यकामा नै बत्ती पु¥याउन नसकिरहेको अवस्थामा विश्वबजारमा विद्युत बिक्री गर्ने स्वप्नमा रमाएर हस्सीको पात्र बनेका छौं । देवी प्रसाद किसानको गीत जस्तै– ‘भित्र खाना छैन वाहिर भिर्छौं घडी, नेपालको चाला देख्दा विदेशका मान्छे हाँस्छन लडी लडी ।’ 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive