newsone

विकासको नयाँ मोडल खौज्दै खोकना

newstwo विकासको नयाँ मोडल खौज्दै खोकना

काठमाडौं । ‘विकास पुगेन, बाटो भएन, विद्युत सेवा पुगेन, यो पनि भएन, त्यो पनि भएन ।’ नेपालका अधिकांश गाउँमा यस्तै गुनासा सुनिन्छन् । तर नेपालमै यस्तो पनि ठाउँ छ, जहाँका जनता विकासको नाममा हुने बिनाशले त्रस्त छन् । नेपालकै ऐतिहासिक र साँस्कृतिक स्थान खोकना अहिले विकासको नाममा हुन लागेको ‘जक्सन प्वाइन्ट’ बाट त्रस्त छ । हुन पनि हो, खोकनामा अहिले फास्ट ट्रयाक, बाहिरी चक्रपथ, बागमती करिडोर, १३२ हाइ एक्सटेन्सन लाइन, सुरुङ मार्ग, रेल मार्ग विकास निर्माणको चर्चा छ ।

राष्ट्रिय गौरव र महत्वका सबै आयोजना खोकनाकेन्द्रित छन् अर्थात् खोकना केन्द्रबिन्दुमा छ । यी आयोजनामध्ये केही निर्माणको चरणमा र केही अध्ययनको चरणमा छन् । निर्माण होस् या अध्ययन केन्द्रबिन्दुमा छ– खोकना । इतिहासदेखि नै उपत्यकाका लागि रणनीतिक महत्व बोकेको खोकना अहिले विकास सुरु गर्ने कामको पनि महत्वमै छ । त्यस अर्थमा खुशी भए पनि विकासको ‘जक्सन प्वाइन्ट’ बनाउँदा सबै जमिन चाहिं  सकिन्छ कि भन्ने त्रासमा छन्– स्थानीय जनता । 

ललितपुरको जावलाखेलबाट ८ किमी दक्षिणमा अवस्थित खोकनाका बारेमा धेरैले सुनेका छन् । नेपालमा पहिलो पटक विद्युत बलेको, पहिलो पटक बस्तीका सबै घरमा खानेपानी पुगेको (कलधारा पानी नामाकरण गरिएको), जति बाक्लो बस्ती भए पनि जहाँ पनि सवारी साधन पुग्ने कारण पहिलो व्यवस्थित बस्ती, कहीं पनि सहकारी नभएको बेला सहकारीको अवधारणामा सञ्चालन भएका तेल मिलजस्ता धेरै इतिहास बोकेको छ– खोकनाले । साँस्कृतिक महत्वका धेरै चाडपर्वका कारण पनि खोकना चर्चामा रहन्छ । अहिले पनि ९६ प्रतिशत नेवारी समुदायको बसोबास रहेको खोकना एउटै संस्कृति, एउटै भाषा, एउटै धर्म, एउटै पेशा व्यवसाय, एकै प्रकारका घरको बस्ती जस्ता कुराले पनि प्रख्यात छ ।

उपत्यकाको नेवारी धर्म, संस्कृतिका लागि साँच्चिकै अनुपम स्थान रहेको खोकनाका जनता विकास गर्ने नाममा आफ्नो गाउँ बिनाश हुन नहुने पक्षमा छन् । उनीहरु राष्ट्रिय महत्वका सबै विकास खोकनामा थोपरेर अन्यत्र विकास तर खोकनाको संस्कृति, पेशा र जमिनको बिनास हेर्न नहुने आवाज उठाइरहेका छन् । फास्ट ट्रयाक, बाहिरी चक्रपथ, बागमती करिडोर, १३२ हाई एक्सटेन्सन लाइन, सुरुङ मार्ग, रेल मार्ग सबैको केन्द्रबिन्दु खोकनालाई नबनाई केही काम मात्रको केन्द्रबिन्दु बनाउनु पर्ने पक्षमा छन्– खोकनाबासी ।

ललितपुर महानगरपालिका २१ (खोकना) का वडा अध्यक्ष रविन्द्र महर्जन अहिले जनताका यिनै गुनासो लिएर सम्बन्धित निकाय धाइरहेका छन् । र, खोकनाबासीको आवाज सुनाइरहेका छन् । अहिले पनि खोकना तोरीको तेल, संस्कृति र संस्कारका लागि नेपालमै चर्चित छ । परम्परागत शैलीको व्यवसायबाट आधुनिक र साँस्कृतिक शहरमा रुपान्तरण हुँदैछ– खोकना । बोलीको भरमा सञ्चालन भएका समूह अर्थात् सहकारीहरु अहिले कानुनी रुपमा दर्ता भएका छन् । आमजनता कृषि, पेशा र व्यवसायमा आबद्ध छन् । उनीहरु त्यसलाई आधुनिकीकरण गरेर खोकनालाई साँस्कृतिक शहरमा परिणत गर्न लागि परेका छन् । तर राष्ट्रिय महत्व र गौरवका आयोजनाको नाममा हुन लागेका निर्माण कार्यले स्थानीय जनताको त्यो चाहना भने पूरा गर्ने छैन । स्थानीय जनता विस्थापित हुनुपर्ने अवस्था सिर्जना हुँदैछ । त्यही भएर आत्तिएका छन्– खोकनाबासी । 

करिब ६ हजार जनसङ्ख्या भएको खोकना आधुनिक प्रविधि अपनाई साँस्कृतिक शहरमा रुपान्तरण गर्ने अभियानमा सहभागी हुन सबैको सहयोग खोजिरहेको छ । फर्पिङ हुँदै राजा महाराजाकोमा लान खोजिएको विजुली बत्ती पहिलो पटक यहीं बालेर परीक्षण गरी सफल भएपछि उपत्यका लगिएको थियो । खोकनाको तेल औषधीको रुपमा प्रयोग गर्नुपर्छ भन्नेहरु अहिले पनि उत्तिकै भेटिन्छन् । खोकनाको जत्तिको संस्कृति र सम्पदा यति सानो स्थानमा यति धेरै अन्यत्र शायदै होला । यिनै कुरालाई बचाउन वडा कार्यालयले विभिन्न कार्यक्रम ल्याउन खोजिरहेको छ । ‘संस्कृति, सम्पदा र संस्कारलाई बचाएर कसरी विकास गर्न सकिन्छ भन्ने नमूना शहर देखाउन सक्छौं । तर सबै विकासको केन्द्रविन्दु खोकनालाई बनाउँदा खोकना समाप्त हुन्छ भन्ने आमजनताको मतमा म पनि सहमत छु’, ललितपुर महानगपालिका २१ नं. वडाका अध्यक्ष महर्जनले भने । वडा कार्यालयले खोकनालाई साँच्चिकै उदाहरणीय बनाउने प्रयास गर्ने जनाएको छ । 

संस्कृति र सम्पदा विकासको नमूना बनाउँछौं

रवीन्द्र महर्जन, २१ नं. वडाध्यक्ष तथा आर्थिक समिति संयोजक,

ललितपुर महानगरपालिका 

खोकना धेरै दृष्टिकोणबाट ऐतिहासिक बस्ती हो । के कारण होइन ? सबै कारणले खोकना ऐतिहासिक छ । खोकनामा जे–जे संस्कार, संस्कृति, पेशा, व्यवसाय र जमिन छ, ती सबैले ऐतिहासिक महत्व बोकेका छन् । अहिले यहाँको पेशा र व्यवसायलाई आधुनिकीकरण गर्ने तयारी भइरहेको छ । जसले ऐतिहासिक र परम्परागत झल्को दिंदै उत्पादन र सेवामा आधुनिकीकरण गर्छ । भूकम्पले विनास गरेको खोकनामा भग्नावशेष हटाउने र सफाइको काम अन्तिम चरणमा पुगेको छ । १ हजार ४४ पुराना घरमध्ये ८ सय ३७ घर भूकम्पका बेला भत्किए । अहिले ती घर निर्माणको चरणमा छन् । घरहरु निर्माण गर्दा बाहिरी फेस ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउने गरी निर्माण भइरहेका छन् । वडा कार्यालयले माटो र नक्सा डिजाइनमा सहयोग गरिरहेको छ । 

वडामा पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई र भौतिक पूर्वाधारमा केन्द्रित गरेर काम भइरहेको छ । खोकनामा होमस्टे सञ्चालनको तयारी भइरहेको छ । कोर नेवारी बस्तीमा होम स्टे सञ्चालन भएको छैन । नेवारी संस्कार, संस्कृति र खानपान उपलब्ध हुने गरी होमस्टे सञ्चालन गर्नेछौं । विभिन्न समूह र सहकारी बनाएर काम गर्ने यहाँको प्रचलनलाई होम स्टे सञ्चालन गर्दा पनि प्रयोग गरिनेछ । खोकनाको कोर एरियाका सबै स्थानमा गाडीका लागि सहज बाटो बनाइनेछ । खोकनालाई ऐतिहासिक र आधुनिक कामको संगमस्थल बनाइनेछ । कृषिलाई आधुनिक बनाइनेछ । यहाँको उब्जाउयोग्य उर्वर भूमिलाई कंक्रिटमा रुपान्तरण हुन दिंदैनौं । विकासलाई संस्कृति र भूमिसँग जोडेर लानका लागि नेपालकै नमूना बस्ती बनाउनेछौं– खोकनालाई ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive