newsone

माओवादीहरुबीचको एकता टाढिएको हो ?

newstwo माओवादीहरुबीचको एकता टाढिएको हो ?

जीवनप्रेम नेपाली

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले वैद्य र विप्लवलाई पार्टी एकतामा आउन आग्रह गरे लगत्तै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले कडा असहमति जनाए । देशीविदेशी दुश्मनहरुसँग आत्मसमर्पण गरेको नेतृत्वसँग उहिल्यै सम्बन्ध विच्छेद गरेको उल्लेख गर्दै केही दिन यता माओवादी केन्द्रको मूल नेतृत्वमा पार्टी एकताको कुरा बाहिर आइरहेकोले यसप्रकारका समाचारबाट भ्रम मात्र पैदा हुने उनले बताए । 

अध्यक्ष वैद्यले वक्तव्य जारी गर्दै माओवादी केन्द्र र त्यसको मूल नेतृत्वले नेपाली जनयुद्ध, जनवादी क्रान्ति र साम्यवादको उदात्त आदर्शप्रति गम्भीर विश्वासघात गरेको बताए । उनले भने, माओवादी केन्द्रको मूल नेतृत्वद्वारा गरिने यसप्रकारको एकताको आह्वान नेपालमा कम्युनिस्टलाई ध्वस्त पार्नका लागि वैदेशिक प्रतिक्रियावादीहरुद्वारा निर्देशित दक्षिणपंथी संधोधनवादीहरुको षड्यन्त्र हो । 

किन आक्रामक किरण ?

माओवादीहरुबीचको एकताप्रति प्रायः सन्तुलित धारणा राख्ने नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ यतिवेला किन यति धेरै आक्रामक भएका होलान ? कतिपयले वैचारिक कारणले भनेका छन् त कतिले भावनामा चोट परेकाले भनेका छन् र कतिपयले आफ्ना कार्यकर्ता र समर्थकलाई अलग देखाएर निर्वाचनमा आक्रामक ढंगले होम्नका लागि भनी तर्क गरेका छन् ।

सो पार्टीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतिक’ भन्छन– ‘एकता भनेको भावनाको कुरामात्र होइन, विचार, कार्यदिशा र योजनाको पक्ष मुख्यतः मिल्नुपर्ने भएकाले प्रचण्डको एकताको कुरा जनता र कार्यकर्तालाई भ्रम दिने खालको भएकाले हामीले विरोध गरेका हौं ।’

‘पहिलो कुरा त, किरण वैचारिक नेता हुन, उनले दैन्दिनको कुरामा भन्दा रणनीतिलाई विश्वास गरेर चल्छन, विचारको भन्दा भावनाको मात्र कुरा गरेको भनेर झोंक चलेको हुनुपर्छ । दोस्रो भनेको, अलि बढी अपेक्षा गरेकाहरुबाट विश्वासघात भएकाले भावनामा चोट परेकाले पनि हो कि,’  क्रान्तिकारी माओवादीमा आवद्ध मजदुर नेता वद्रि बजगाईं बताउँछन् । 
विप्लवले नेतृत्व गरेका नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले किरण एकता र आन्दोलनको गति दिनमा हिच्किचाउने नेता भन्दै आलोचना गरे । ‘किरणले हामीसँग पनि र माओवादी केन्द्रसँग पनि एकता गर्नुहुन्न, परि थापाको नेतृत्वको टोली माओवादी केन्द्रसँगमा अन्ततः एकतामा जान्छ, उहाँसँग रहेका धेरै पूर्व माओवादी पनि माकेसँगको एकतामा जान्छन, अनि उहाँ सानो झुण्ड बनाएर बस्नुहुन्छ’, बास्तोलाको भविस्यवाणी छ ।

क्रान्तिकारी माओवादीका अध्यक्ष किरण आक्रामक देखिए पनि माओवादीहरुबीचको एकता निकट आएको नेकपा (माओवादी केन्द्र) की प्रवक्ता पम्फा भुसाल बताउँछिन– ‘सबैका पछिल्ला प्रयोगहरु असफल भएकाले त्यसको समीक्षा गरेर अगाडि बढ्नुको विकल्प छैन । युगान्तकारी परिवर्तनको मूल प्रवाह रहेको माओवादी आन्दोलनलाई फेरि नयाँ उँचाइमा उठाउन माओवादीहरुबीचको एकता अत्यावश्यक छ ।’

‘यहाँसम्मको अवस्थालाई केलाउँदा हामीले पछिल्लो शान्ति प्रंक्रियामा फरकफरक ढंगले इमान्दारीपूर्वक राजनीतिक÷कार्यनीतिक प्रयोग गर्न खोजेका हौं । प्रचण्ड, किरण, वादल, गौरव, विप्लवसहितको नेतृत्व एउटै स्कूलिङमा आएको, वैचारिक र संगठनात्मक आधार वा जरा र सोंच्ने शैलीमा पनि गुणात्मक भिन्नता नभएकाले अलग बसेर होइन एक ठाउँमा बसेर नै माओवादी आन्दोलनलाई नयाँ शिराबाट लैजानुपर्छ भन्ने निश्कर्षमा पुग्न अब ढिलाइ गर्नैहुन्न’ प्रवक्ता भुसालको ठम्याइ छ । 

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतिक’ एकताप्रति सदासयता राख्नु अनुचित नहुने भन्दै तर एकता अहिलेकै अवस्थामा नहुने बताउँछन । उनी अगाडि भन्छन– ‘विचारधारात्मक रुपमा, योजना र कार्यगत हिसावले सोंचहरु एक ठाउँमा आए भने एकता व्यावहारिक हुन्छ नत्र यो गफमा मात्र सीमित हुन्छ ।’ प्रतिक अगाडि थप्छन– ‘क्रान्तिकारी ध्रुवीकरण आवश्यक छ । हुन्छ पनि । माओवादी केन्द्र र विप्लवका इमान्दारहरुबीच ढीलोचाँडो ध्रुवीकरण हुनसक्छ ।’

तत्कालीन कार्यनीति एक ठाउँमा 

निर्वाचनलाई हेर्ने सन्दर्भमा नेपालका कम्युनिस्ट पार्टीहरुमा फुट हुने गरेको छ । पञ्चायती चुनावलाई उपयोग गर्नुपर्छ भनेर निर्मल लामा समूह ४० को पूर्वाद्र्धमा फुट्यो । २०४८ सालको संसदीय निर्वाचनको उपयोग कि वहिस्कार भन्ने बहस चल्दै गर्दा मोहनबिक्रम सिंहले निर्वाचन वहिस्कार गर्ने योजना बनाउने संकेत गरेपछि हरिबोल गजुरेल र बाबुराम भट्टराईको नेतृत्वमा विद्रोही मसाल जन्मियो । निर्वाचन उपयोग गर्ने नीति बनाएपछि प्रचण्डको नेतृत्वमा रहेको नेकपा (मशाल), निर्मल लामाको नेतृत्वको चौम, रुपलालको नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र विद्रोही मसालका बीच एकता भएर नेकपा (एकता केन्द्र) बन्यो । एकता केन्द्रबाट निर्वाचन लड्ने कि वैधानिक मोर्चा बनाएर लड्ने भन्ने संघर्ष चल्यो । पार्टीको नाममा होइन संयुक्त जनमोर्चा, नेपालको नाममा निर्वाचनमा भाग लिने नीति बन्यो । २०४९ सालको स्थानीय निर्वाचनमा मोहनबिक्रमको नेतृत्वको मसाल पनि मोर्चा बनाएर निर्वाचनमा भाग लियो । त्यतिवेला सानो सुगुर र ठूलो सुगुरको बहस भयो । सानो सुगुर छुन हुने तर ठूलो सुगुर छुन नहुने नीति मोहनविक्रमको भएको भन्दै निकै ठूलो आलोचना भएको थियो । संयुक्त जनमोर्चा नेपालको नाममै स्थानीय निर्वाचन पनि तत्कालीन एकता केन्द्र लड्यो ।

२०५१ सालको मध्यावधि निर्वाचन वहिस्कार गरेर ग्रामीण वर्गसंघर्षमा जाने निर्णय गरेपछि निर्मल लामाको नेतृत्वमा रहेको समूह एकता केन्द्रबाट फुट्यो । रुपलाल समूह पनि निर्मल लामासँगै फुट्यो । २०४३ सालदेखि निर्वाचन उपयोगको नीति लिएको यो समूह, जसको नेतृत्व अहिले नारायणकाजी श्रेष्ठले गर्छन, निरन्तर निर्वाचन उपयोगमा छ । तत्कालीन माले र हालको एमाले पनि २०४३ सालदेखि नै निर्वाचन उपयोगमा छ । निर्वाचनलाई उपयोगमात्र गर्दै आएको यो समूह पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) सँग तालमेल नगरी एक ठाउँमा पनि जित्न सकेन । वैचारिक रुपले त एमाले भन्दा यो समूह पृथक नै थियो तर व्यावहारिक रुपमा यो पक्षले एमालेभन्दा पृथक देखाउन नसकेकाले निकै नै कमजोर बन्यो । अहिलेसम्म अलग्गै रहेको भए यो पार्टीको अस्तित्व संकटमा पर्ने थियो । 

माओवादी केन्द्र भन्दा पृथक देखाउन नसकेकाले क्रान्तिकारी माओवादीको हालत नारायणकाजी श्रेष्ठको एकतापूर्वको हालतमा पुगेको छ । पहिलो स्थानीय तहको निर्वाचनको परिणामले त्यो संकेत गरेको छ । माओवादी केन्द्रसँग नमिली यो पक्षले केन्द्र र प्रदेशको निर्वाचन कतै जित्ने सम्भावना छैन् । यही नीति विप्लवको नेतृत्वको नेकपाको हकमा पनि लागू हुन्छ । 

दोस्रो संविधानसभा किरणको नेतृत्वको माओवादीले वहिस्कार गरेको थियो । निकै प्रभावकारी थियो त्यो वहिस्कार । रोल्पाको वर्गसंघर्षको उद्म मानिएको थवाङमा एक मत नै खसेन । देशका अन्य ठाउँमा पनि वैचारिक रुपले मात्र होइन, संघर्षबाट पनि यो मुद्धा स्थापित भयो । पहिलो संविधानसभामा एक सय वीस ठाउँमा प्रत्यक्ष निर्वाचन जितेको माओवादीले दोस्रो निर्वाचनमा एमाओवादीका नाममा लड्दा २६ सिटमात्र जित्यो । बहिस्कार गर्ने पनि कुहिरोको काग जस्तै अल्मलिए । निर्वाचनमा जाने पनि कमजोर रुपमा संसद्मा गए । किरणको नेतृत्वमा रहेका पार्टीबाट विप्लव अलग भए । प्रचण्डको नेतृत्वको तत्कालीन एमाओवादीबाट बाबुराम कम्युनिस्ट विचार र पार्टीबाट नै अलग भए । 

स्वतन्त्र विचार र संघर्षलाई अगाडि बढाउन कमजोर भएको महसुस गरेर त्यतिवेला वहिस्कार गर्नेको सबैभन्दा ठूलो हिस्सा वादलको नेतृत्वको क्रान्तिकारी माओवादी एकता प्रक्रियामा जोडियो । माओवादी केन्द्रमा आबद्ध छ । किरणको नेतृत्वमा रहेको क्रान्तिकारी माओवादी निर्वाचनलाई उपयोग भन्दै व्यक्तिगत हैसियतमा निर्वाचन लडिरहेको छ । विप्लव नेतृत्वमा अलग्गै पार्टी बनाएको नेकपाले कतै निर्वाचन उपयोग र कतै वहिस्कारको द्वैध कार्यनीति अपनाएको छ । किरणको नेतृत्वमा केही वैचारिक स्पष्टता रहे पनि विप्लवको नेतृत्वको पार्टीमा वैचारिक स्पष्टता देखिएन । ‘साथीहरुले नमानेर निर्वाचनमा गए खोई के गर्ने ?’ नेकपाका नेता धर्मेन्द्र बास्तोला चिन्ता व्यक्त गर्छन् ।

सैद्धान्तिक दृढता, अनुशासन र आदर्शको अभावमा क्रान्ति अगाडि बढ्दैन भन्ने कुरा विप्लव र सो पार्टीका नेताहरुलाई थाहा नहुने कुरै भएन । तर त्यो पार्टीले चाहेर पनि आफ्नो कार्यनीतिमा कार्यकर्ताहरुलाई लान नसकेको हो भने अब उसका लागि सशस्त्र क्रान्तिका लागि स्टेप चाल्नु आत्मघाती हुन्छ । तत्कालीन निर्वाचनको उपयोग र वहिस्कारको विषमात्र यो होइन । भावनात्मक रुपले विप्लवको नेतृत्वमा रहेको भने पनि, एकीकृत क्रान्तिको टी सर्ट लगाएर मत मागे पनि वैचारिक रुपले थबाङमा विप्लवका कार्यकर्ताहरु माके वा क्रामासँग निकट रहेका छन् । तिनले जिते भने विप्लवको नेतृत्वको पार्टीले होइन क्रामा वा माकेको विचारले नै जित्छ ।   

एउटै कार्यनीतिमा आइसकेपछि मिलेर निर्वाचन लडेको भए हुँदैन थियो ? भन्ने प्रश्न गर्दा क्रामाका प्रवक्ता कँडेल भन्छन–‘संसदवादमा फस्ने कि त्यसको भण्डाफोर गर्ने नीतिलाई केन्द्रित गरेर निर्वाचनमा जाने भएकाल एकै ठाउँमा लड्ने कुरै हुँदैन । माके र हाम्रोमा सैद्धान्तिक रुपले नै आनको तान फरक छ ।’

विप्लवको नेतृत्वको नेकपाले पनि केही ठाउँमा निर्वाचन उपयोग गरेको पाइयो, त्यससँग मिलेर लडेको भए पनि हुन्थ्यो नि त भन्ने प्रश्नको जवाफमा प्रतिकको जवाफ छ, ‘विप्लवहरुको द्वैध नीति छ । जित्ने सम्भावना जस्तो भयो भने लडी पनि हाल्ने, जोसँग पनि मिलेर लड्ने । हार्ने भयो भने वहिस्कार गर्ने । हाम्रो त्यो होइन । विप्लवहरुको आठौं महाधिवेशनको दस्तावेज पढ्दा उहाँहरु ढिलोचाँडो माओवादी केन्द्रसँग एकतामा जानुहुन्छ । उहाँहरुको केही प्राविधिक कुरा नमिलेर मात्र अलग बस्नुभएको छ । माकेमा समाहित हुनुको उहाँहरुसँग विकल्प देख्दिन म त ! हामीसँग त सैद्धान्तिक रुपले उहाँहरु टाढा पुगिसक्नुभएको छ ।’

विप्लवको नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला भन्छन– ‘हाम्रो निर्वाचन खारेज गर्ने नीति नै हो । थबाङमा हाम्रा साथीहरुले पार्टीको नीति विपरीत निर्वाचन लडे । संसदवादको आँधीलाई वैचारिक रुपले चिर्न नसकेर साथीहरु फसे । निर्वाचनमा हाम्रो द्वैध नीति होइन । संसदवादमा अब नफस्ने भन्दै विगतमा गरेको गल्तीप्रति माकेको मूल नेतृत्वले आत्मालोचना गर्छ भने हामीबीचमा एकता हुन्छ । एकताको हामी विरोधी होइनौं । तर, एकता केका लागि भन्ने उत्तर भने दिनुपर्छ । तत्काल एकताको सम्भावना छदै छैन् ।’       

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल भन्छिन– ‘कतैकतै कुनाकाप्चामा असहमतिका स्वरहरु हुनु अनौठो होइन । केही वर्ष हामी विभिन्न भङ्गाला बनाएर आआफ्नो स्वत्वमा निरन्तर वगिरह्यौं । तर, हामी कोही पनि सफल त हुन सकेनौं । अलग रहँदा गन्तव्य पुग्ने संकेत देखिएन । जहाँ भए पनि अग्रगमनका यात्री कमजोर नै बन्यौ । विना पूर्वाग्रह हामीले स्वतन्त्र रुपमा विगतप्रति समीक्षा गर्नुपर्छ । गल्ती कमजोरी अवश्य सबैतिर भएका छन् । नियत कसैको नराम्रो होइन भन्ने प्रमाणित भइसकेको छ । माओवादी आन्दोलन एकताबद्ध हुनुपर्दछ भन्ने परिवर्तनकामी जनसमुदायको चाहना हो । शहीद परिवार, वेपत्ता परिवार, पार्टी कार्यकर्ता, शुभचिन्तकको चाहना हो । नेपालमा एउटै शक्तिशाली माओवादी पार्टी होस् भन्ने चाहना हो । कठिन परिस्थितिमा सँगै जनयुद्ध लडेका माओवादी पार्टीहरु अलग हुनुहुन्न भन्ने जताजता भए पनि अधिकांश माओवादीहरुको चाहना हो ।’
पम्फा अगाडि थप्छिन– ‘विगतमा टुटफुट र विभाजनको शृङ्खलाबाट गुज्रिएकाहरु गत वर्षको जेठमा एउटै केन्द्रमा आएका थिए । यसले अधिकांश माओवादीहरुलाई उत्साह सिर्जना गराएको थियो । निराशामा बदलिएको माओवादीलाई आशावादी बनाएको थियो । पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणामले त्यसको संकेत गरिसकेको छ । हामी केन्द्रीय निर्वाचनमा एक हुने लक्ष्यका साथ एकताबद्ध बनौं ! नमिलेका कहाँकहाँ छ मिलाऔं ! हामी फेरि एक नम्बर शक्तिको रुपमा उदाउनेछौं । कमजोर भएको माओवादी शक्तिलाई सुदृढ गर्दै अग्रगमनको यात्रालाई निरन्तर लागौं ! क्रान्ति भनेको मौसमी होइन । बदलिएको परिवेशलाई शुक्ष्म अध्ययन गरेर नयाँ बाटो पहिल्याएर निरन्तर अगाडि बढिरहौं ! माओवादी आन्दोलनलाई अगाडि बढाउनमा किरण जस्ता वैचारिक र विप्लव जस्ता युवा र गतिशील नेतृत्वको आवश्यकता छ । निषेधको बाटोमा हामी धेरै हिंड्यौ । हामी ढल्यौं । लर्बरायौं । एकअर्काका पुरक बनेर फेरि एकपटक हाम्फालौं ! निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात गर्दै जाऔं ! क्रान्ति भन्ने वित्तिकै बन्दुकमात्र बुझ्ने हाम्रो एकांकी सोंच भयो । वन्दुक महत्वपूर्ण हो तर मुख्य कुरा भनेको विचार नै हो । विचार र नयाँ परिवेशअनुसारको संघर्षको बारेमा स्वस्थ र रचनात्मक बहस गरौं !’

वैचारिक बहससहितको एकतामा जोड

निरपेक्ष एकताको कुराले अलगअलग चिरामा विभाजित माओवादीहरुले आफ्नो अस्तित्व लामो समय टिकाइरहन सक्ने देखिएन । एमालेभन्दा अलग बनेर जानसक्ने देखिएन । संख्यात्मक रुपमा, प्राविधिक रुपमा एमाले संसद्मा ठूलो होला तर त्याग, वलिदान र अजेण्डाका हिसावले माओवादी धेरै अगाडि छ । माओवादी अहिले चामल बेच्न नसक्ने ठाउँमा पुगे जस्तो भएको छ ।

समाजको एउटा धारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ र एउटा धारको नेतृत्व माओवादीले गरेको छ । एमाले दुवैको डोलायमान भएर रहेको छ । डोलायमान शक्ति नेपालको नम्बर वान बन्ने दिशामा जान उद्धत रहनु विडम्बनापूर्ण हो । 

फेरि नयाँ राजनीतिक परिवेशको चुनौतीलाई छिचोल्न स्वस्थ, रचनात्मक वैचारिक बहसका साथ अगाडि जाने शर्तमा माओवादीहरुबीचको एकतामा जोड गर्नुपर्ने प्रवक्ता भुसालको मत रहेको छ । क्रान्तिकारी माओवादीका प्रवक्ता प्रतिक र नेकपाको धर्मेन्द्र बास्तोला भने तत्काल माओवादीबीचको एकतालाई स्वीकार गर्दैनन् । 

निर्वाचनलाई मुख्य र विशिष्ट कार्यनीति बनाउने माओवादीहरुले यसलाई सामान्यीकरण बनाएपछि व्यावहारिक रुपमा नभए पनि सैद्धान्तिक रुपमा एकतालाई निकट ल्याएको छ । क्रामाले निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ भने विप्लव नेतृत्वको नेकपाले कतै व्यक्तिगत उपयोग र कतै क्रियात्मक भन्दा पनि सैद्धान्तिक वहिस्कारको द्वैध नीति लिएको छ । 

निर्वाचनप्रति छुवाछुत गर्ने विप्लवको यो नरमपनाले केन्द्रको निर्वाचनसम्म माओवादी केन्द्रका शीर्ष नेतृत्व प्रचण्ड, वादलले पहल बढाउने हो भने माओवादी पार्टीहरुबीचको एकता टाढा छैन । यसमा किरणले पनि एकताका लागि गम्भीरता देखाउनुपर्छ । किरण–गौरव एकतामा गम्भीर भएमा विप्लवलाई पनि एकतामा आउन दवाव बढ्छ । किरण–गौरवको केही सैद्धान्तिक पक्ष भए पनि विप्लवमा विचारमा भन्दा बढी अन्य पक्षमै असन्तुस्टि रहेको अहिलेसम्मका गतिविधि र उसले लिएको विचारले पुस्टि गर्दै गएको छ । बाबुराम भट्टराईले त कम्युनिस्ट विचार र आन्दोलन सँगै सम्बन्ध विच्छेद गरेकाले उनीसँग एकता होइन उनीभित्र रहेका माओवादीलाई सम्मानजनक रुपमा माओवादी आन्दोलनमा भित्र्याउनु पर्छ । वैकल्पिक धार बनाउन कस्सिएका बाबुरामलाई रवीन्द्र मिश्रको नेतृत्वको साझा पार्टी र विवेकशील पार्टीले उछिनेको छ । बाबुराम अब उपेन्द्र यादवलाई सहाराको त्यान्द्रो बनाएर आफ्नो अस्तित्व थेग्ने अन्तिम प्रयासमा छन् । 

माओवादी आन्दोलनभन्दा वाहिर कुनै पनि नेताको भविस्य छैन् भन्ने राम्रो उदाहरण बाबुराम नै भएका छन् । विप्लव माओवादी बन्ने कि नबन्ने भन्ने द्वैध मानसिकतामा रहेको कुरा उनले पार्टीको नाममा माओवादी हटाएबाट देखिन्छ । वदलिएको परिवेश भन्दै विचार र संघर्षलाई छाड्ने वा माओवादीबाट सम्बन्ध विच्छेद गर्ने र त्यतिवेला माओले यसो भनेका थिए भनेर कितावमा टाँसिइरहने दुवै कुरा गलत हुन् । सिर्जनशील ढंगले विचारको विकास गर्दै निरन्तर संघर्षमा जाने कुरा नै सही हो । माओवादी आन्दोलनको पुनरुत्थान र समाजको अग्रगमनको निश्चितता यसैमा छ । छरिएर पनि माओवादीले समाजमा अग्रगमनको यात्रालाई बल नै दिइरहेका छन् । अब अलग भएर भन्दा मिलेर नै थप बल मिल्छ । माओवादीको विकल्प अहिले अरु राजनीतिक शक्ति होइन । माओवादी कमजोर भएको छ, फुटेको छ, यो सत्य हो । तर, देश यसकै अजेण्डामा हिंडिरहेको छ । जसको नीति उसकै नेतृत्व स्थापित गर्न र समाजलाई अग्रगामी यात्रामा लैजान माओवादीहरुबीचको एकता आजको आवश्यकता हो । 

वर्गसंघर्षको जोखिमपूर्ण यात्रामा अंकमाल गर्दै अगाडि बढेका प्रचण्ड, किरण, वादल, गौरव, विप्लवहरु एक ठाउँमा बसेर नयाँ शिराबाट वैचारिक संघर्ष गर्दै समाजलाई अगाडि लैजाने प्रतिबद्धतासहित एकताबद्ध बन्नुको विकल्प छैन् । वैचारिक र परिपक्व नेता किरणले टाढा रहेर होइन नजिक आएर हात मिलाउने साहस गर्नुपर्छ । अलग रहेर संघर्ष गर्न जति कठिन छ, नजिक रहेर संघर्ष गर्न झन् कठिन छ । किरणले नेतृत्व गरेको अलग पार्टीमा अहिले वैचारिक संघर्ष छैन र ? किरण जस्तो वैचारिक  र परिपक्व नेताले कठिन संघर्ष गर्दै अगाडि बढ्ने जोखिम उठाउनु पर्छ । एकतालाई टाढा धकेलेर होइन नजिक ल्याउने गरी अभिव्यक्ति दिने र कदम चाल्ने काम किरणले गर्नुपर्छ । प्रचण्डले एकताका लागि हात बढाउँदा किरणले हात लुकाउने या टाढा लैजानु हुँदैन । 

माओवादी अहिले जुन ठाउँमा आएको छ । हजारौंको त्याग र वलिदानबाट आएको छ । मुख्यतः प्रचण्ड, किरण, वादल, गौरवहरुको वैचारिक र संघर्षको अगुवाइमा नेपालको समाज यहाँ आइपुगेको हो । यसका सकारात्मक पक्षको स्वामित्व लिइरहँदा गलत पक्षको पनि स्वामित्व नेतृत्वले लिनुपर्छ । विभिन्न हाँगामा विभाजित माओवादीभित्र विसंगति र विकृतिहरु छन् । मात्रामा फरक होला । 

साँस्कृतिक क्रान्तिलाई प्रस्थान विन्दु बनाएर जाने नीति जनयुद्धकै बेलामा पारित गरेको माओवादीले यसलाई कार्यान्वयन गर्नुपर्छ । यसको कार्यान्वयनका लागि पहिलो शर्त भनेको वैचारिक तयारी र संघर्षको उद्घोष गर्ने नेतृत्वको एकता नै हो । प्रचण्ड, किरण, वादल र गौरवको वैचारिक र संघर्षको विरासतमा हुर्केका नेता तथा कार्यकर्ताहरुलाई छहारी दिएर माओवादी आन्दोलनलाई नयाँ शिरामा उठाउनका लागि माओवादीहरुबीचको एकताका लागि सबैतिरबाट जोड गरौं !
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive