newsone

मध्यपूर्व सम्मेलनः नेतृत्वको विवाद सतहमा 

newstwo मध्यपूर्व सम्मेलनः नेतृत्वको विवाद सतहमा 

गैरआवासीय नेपाली संघ एनआरएनएको मध्यपूर्व सम्मेलन संयुक्त अरब इमिरेट्स युएईको दुवईमा शनिवार सम्पन्न भएको छ । एनआरएनएभित्र देखिएको विवाद सुल्झिने आशा गरिए पनि सम्मेलनमा विवाद छताछुल्ल भएको छ । केही हप्ताअघि युरोप क्षेत्रीय बैठकमा चर्को विवाद भएको थियो । मध्यपूर्व सम्मेलनका क्रममा यो विवाद समाधान गर्ने गरी अध्यक्ष भवन भट्टको आग्रहमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र जीवा लामिछानेले प्रयास थाले पनि विवाद सुल्झने भन्दा पनि बल्झिने अवस्थामा पुगेको छ । बिद्रोही समूहको नेतृत्व गरेका कुल आचार्य यूएई आए पनि कार्यक्रम नसकिदैं फर्किएका छन् । उनले यूकेमा नेपाली मेला कार्यक्रम रहेको कारण देखाउँदै सम्मेलनलाई समय दिएनन् । बिद्रोही समूहका सह कोषाध्यक्ष सोम सापकोटा कार्यक्रममा उपस्थित भएनन् भने सचिव जानकी गुरुङ्ग कार्यक्रममा भन्दा पनि भ्रमणमा व्यस्त भइन । उनी ओमन पुगेर बेल्जियम फर्किएकी छन् । पूर्व अध्यक्ष शेष घलेलाई भने यस्ता फोरममा वर्तमान नेतृत्वले वेवास्ता गर्ने गरेको छ । औपचारिकताका लागि बोलाइए पनि उनी कार्यक्रममा सहभागी हुन छाडेका छन् । 

वर्तमान कार्यसमितिको चयनसँगै एनआरएनएभित्र राजनीतिक विवाद शुरु भएको छ । यो विवाद युरोप बैठकमा आइपुग्दा सतहमा आएको थियो । युरोप बैठकमा सत्तारुढ दलका मात्र नेपालबाट अतिथि आएको भनेर आचार्य समूहले बिरोध गरेपछि मध्यपूर्व सम्मेलनमा भागबण्डामै अतिथि बोलाइएको थियो । सत्तारुढ दलबाट खानेपानी तथा सरसफाइ मन्त्री विना मगर कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भइन भने नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक अतिथिको रुपमा कार्यक्रममा सहभागी बने । एनआरएनएभित्र पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस निकट नेताहरुले लविङ्ग तीब्र पारेपछि गुटगत विभाजन भएको छ । सत्तारुढ गुटको नेतृत्व महासचिव डा बद्री केसीले गरेका छन् भने प्रतिपक्षको नेतृत्व उपाध्यक्ष कुल आचार्यले गरेका छन् । यी दुईले व्यक्तिगत स्वार्थका कारण एनआरएनएमा राजनीति घुसाएको आरोप लागेको छ । 

राजनीतिक रुपले एनआरएनए ग्रसित हुन थालेपछि यसपटक सम्मेलनका क्रममा संस्थापक अध्यक्ष महतो र पूर्व अध्यक्ष लामिछानेले विवाद समाधानको पहल थाले । त्यसै अनुसार भागबण्डामा नै अतिथि बोलाइयो । कार्यक्रमको उद्घाटन सत्र र अन्य केही सत्रमा बोल्ने समयका विषयमा सामान्य विवाद भए पनि युरोपमा जस्तो देखिने गरी विवाद भएन । स्रोतका अनुसार आचार्य समूहले सम्मेलनलाई हिडेन बहिष्कार गरेको छ । विवाद समाधानका लागि पूर्व अध्यक्षले गरेको आग्रहलाई आचार्यले अस्वीकार गरेको स्रोतको दावी छ । वर्तमान अध्यक्ष भवन भट्ट र पूर्व अध्यक्षहरु समेत वर्तमान महासचिव केसीको पक्षमा लागेका असन्तुष्ट समूहको बुझाइ छ । त्यसो त वर्तमान अध्यक्ष भट्ट आफ्नो स्वार्थका लागि संस्थालाई कमजोर पार्ने भूमिकामा देखिएका छन् । आफू अध्यक्ष बनेपछि उनले एउटा जलविद्युत आयोजना हात पारेका छन भने आफ्नो एयरलाइन्सलाई अनुमति लिने प्रक्रियाका लागि अन्तिम चरणमा छन् । त्यसैले वर्तमान नेतृत्वले संस्थाको अनुकूल भन्दा पनि व्यावसायिक स्वार्थलाई आत्मसात गरेको आरोप छ । 

विवादको जरो खोज्दै जाँदा आगामी नेतृत्वका विषयमा एनआरएनएका वर्तमान कार्यसमितिका पदाधिकारीबीचको विवाद देखिन्छ । अहिलेका अध्यक्ष भट्टपछि वर्तमान उपाध्यक्ष कुमार पन्तलाई अध्यक्ष बनाउने सहमति पूर्वअध्यक्षहरुले गरेका छन् । त्यसपछिको अध्यक्षका लागि अहिले एनआरएनएमा विवाद देखिएको हो । वर्तमान महासचिव केसी र उपाध्यक्ष आचार्यले पन्तपछिको अध्यक्ष को बन्ने दौडमा आफूलाई अगाडि बढाएका छन् । त्यसैको असर एनआरएनएका बैठक र सम्मेलनहरुमा देखिने गरेको छ । भट्टको कार्यकालपछि कुमार पन्त र त्यसपछि बद्री केसी एनआरएनएको अध्यक्ष हुने गरी चुनाव ताका गठबन्धन बनाइएको थियो । त्यही गठबन्धन कायम गर्ने गरी आफूहरुलाई पेलेर जान खोजिएको विद्रोही पक्षका नेताहरुको दावी छ । पूर्व अध्यक्ष र वर्तमान अध्यक्ष पनि आफ्नो नेपालमा सञ्चालनमा रहेका व्यवसायका लागि सत्तारुढ दलको ढाल बनेको असन्तुष्ट एक एनआरएनएले आरोप लगाए । 

एनआरएनए विभाजनको संघारमा हो ?

संसारभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ एनआरएनए तत्काल त्यस्तो विभाजनको अवस्थामा भने पुगेको छैन  । तर, पछिल्ला गतिविधिलाई हेर्दा संस्थागत ढंगले एनआरएनए चल्नसक्ने अवस्थामा पनि पुगेको देखिदैंन । वर्तमान कार्यसमिति आएपछि पूर्व अध्यक्ष घले र उनको टोलीले आफूहरुलाई कर्नरमा पारिएको बुझेको छ । उपाध्यक्ष आचार्यसहितको नेपाली काँग्रेस निकटहरुले आफूहरुलाई अध्यक्ष र महासचिवसहितले पेलेर अगाडि बढेको आरोप लगाएका छन । पूर्व अध्यक्षहरु पनि वर्तमान नेतृत्वकै पछि लागेको भन्दै असन्तुष्ट समूहले समानान्तर संघ खोल्ने चेतावनी बेलाबेलामा दिने गरेका छन् । अनौपचारिक कुराकानीका क्रममा एनआरएनएका एक पदाधिकारीले असन्तुष्टका कुरालाई सम्बोधन नगरिएको अवस्थामा एनआरएनएपछि विभाजनको अवस्थामा पुग्ने चेतावनी दिए । उनले अहिलेको नेतृत्वले असन्तुष्टलाई सम्बोधन गरेर अगाडि बढ्ने चाहना राखेको देखिदैंन । 

पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले आचार्य समूहलाई फेरि विज्ञप्ति निकाल्न नपर्ने गरी समाधान खोज्न सुझाब दिएका छन । आचार्यको फेसबुक स्टाटसमा कमेन्ट गरेर श्रेष्ठले दुवई सम्मेलनपछि त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गरे पनि तीन दिने सम्मेलनले पनि निकास निकाल्ने भन्दा पनि विवादलाई झन् संस्थागत दिएको छ । एनआरएनए आईसीसीका बैठकहरुमा पनि दुई समूहबीच चर्काचर्की बन्ने गरेको छ । यस्तो अवस्थामा भावी अध्यक्षका उम्मेदवारका रुपमा चर्चामा रहेका अर्का उपाध्यक्ष कुमार पन्त मौन रहेका छन् । उनी पनि विवाद समाधान गर्ने तर्फ अग्रसर छैनन्  । उनले वर्तमान अध्यक्ष र पूर्व अध्यक्षलाई खुसी पार्ने काममा मात्र अग्रसरता देखाउने गरेका छन् । आउँदो कार्यकालका लागि अध्यक्ष दिने सहमति गरेसँगै पन्तले पूर्व अध्यक्ष महतो, लामिछाने र वर्तमान अध्यक्ष भट्टसंग सहमति गरेका थिए । त्यसैले राजनीतिक विवादमा उनी मुछिन चाहिरहेका छैनन् । 

युरोप बैठकपछि के भयो ?

युरोप बैठकमा एनआरएनएका उपाध्यक्ष कुल आचार्य र महासचिव डा बद्री केसीबीचको विवाद सतहमै देखियो । सत्तारुढ नेकपा र प्रतिपक्ष काँग्रेसबीचको विवाद एनआरएनए युरोप बैठकमा देखिएको थियो । सबैजसो कार्यक्रम सकिएपछि मात्र फर्किने सहकोषाध्यक्ष सोम सापकोटा, थर्क सेन, फणिन्द्र पन्थ लगायत दर्जनौंले कार्यक्रम नसकिदैं आफ्नो बाटो लागे । आचार्यसहित १७ जनाले अध्यक्ष भट्ट र महासचिव डा केसीको बिरोधमा पहिलो पटक संगठित रुपमा लिखित बिद्रोह गरे । बैठकपछि असन्तुष्ट समूहले एनआरएनएका संस्थापक, पूर्व अध्यक्ष, सल्लाहकार लगायतलाई विवादका विभिन्न विषयमा अनौपचारिक रुपमा ध्यानाकर्षण गरायो । 

राजनीतिक हिसाबले नेपालबाट अतिथि बोलाइएको, अतिथिका लागि भएको खर्च पारदर्शी नभएको जस्ता गम्भीर आरोप पनि वर्तमान नेतृत्वलाइ लगाइएको छ । त्यस्तै एनआरएनए विधानको प्रस्तावनामा एनआरएनए एक गैर राजनीतिक संस्था भन्ने कुराको उल्लेख भए पनि युरोप बैठकमा वर्तमान नेतृत्वले नेपालको राजनीतिक विचारलाई पक्षपोषण गरेको छ । कार्यक्रममा उपाध्यक्ष कुल आचार्यको नेम प्लेट हटाइएको, आचार्य बोल्दा महासचिव डा केसीले अवरोध गरेको, सचिव जानकी गुरुङ्ग र सहकोषाध्यक्ष सोम सापकोटालाई आसन ग्रहणका लागि नबोलाइएको, कार्यक्रमको आर्थिक पारदर्शितामा समेत प्रश्न उठाइएको छ । त्यस्तै बैठकका दौरान खर्च भएको २४ हजार युरोको खर्च विवरण सार्वजनिक गर्न नसकेको र नेपालबाट आएका को को पाहुँनालाई कस्ले कति खर्च गरेको भन्ने विवरण समेत उपलव्ध नगराइएको र पाहुँना बोलाउँदा समेत राजनीतिक बेइमानी गरिएको आरोप वर्तमान नेतृत्वलाई लागेको थियो ।  

मध्यपूर्व सम्मेलनका निष्कर्ष के ?

विवाद सतहमै आए पनि एनआरएनएले सम्मेलनले औपचारिकता भने सार्वजनिक गरेको छ । १६ बुँदे दुवई घोषणा पत्र सार्वजनिक गरियो । १२ देशको मुख्य प्रतिनिधित्व रहेको सम्मेलनले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषयमा १६ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । सम्मेलनका क्रममा वैदेशिक रोजगारीमा गएका नेपालीका समस्या, नेपाल सरकारले लागू गरेको सन्य लागतमा कामदारलाई वैदेशिक रोजगारमा पठाउने नीतिको कार्यान्वयन, विभिन्न मुलुकसँग हुने भनिएको श्रम सम्झौता लगाएतमा पनि कुराकानी भएको छ । त्यसो त नेपाली कामदारलाई दक्ष बनाउने योजनाका विषयमा समेत छलफल भएको छ । 

कार्यक्रममा सहभागी भएकी मन्त्री मगरले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन योजनावद्ध काम अगाडी बढेको बताइन । उनले वैदेशिक रोजगारमा जाने कामदारले आफूसँग नेपाल सरकारको साथ रहेको अनुभूति रहने गरी काम गर्ने प्रतिवद्धता समेत जनाइन । कोमामा रहेका नेपाली कामदारलाई घर फिर्ताका लागि समेत सरकारले पहल गरेको उनले बताइन । कार्यक्रममा सहभागी भएका पूर्व श्रममन्त्री एवम् काँग्रेस नेता रमेश लेखकले वैदेशिक रोजगार नेपालीको बाध्यात्मक अवस्था भएको बताए । उनले मुलुकमा तत्काल रोजगार सिर्जना गर्नसक्ने अवस्था नभएकाले विदेशमा हुने अवसरलाई अहिले व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive