newsone

मधेस मुद्धा तुहिएकै हो ?

newstwo मधेस मुद्धा तुहिएकै हो ?

मधेससम्बद्ध पार्टीको लामो सहकार्यसँगै गठित मोर्चाको विघटनसँगै मधेसको माग/मुद्धा के हुने हो वैचारिक विश्लेषणको खाँचो छ । मधेसको माग/मुद्धा मोर्चाको विघटनसँगै यसले दार्शनिक दृष्टिकोणको माग गरेको अनुभूति हुन्छ । संसारलाइ हेर्ने दुई विश्व दृष्टिकोणमध्ये कुन विश्व दृष्टिकोणले मधेसको मुद्धालाइ सम्बोधन गर्ने हो त्यसैको अन्तर्गत मधेस आन्दोलनको भविष्यको खोजी हुनेछ । आजसम्म मधेस आन्दोलन निश्चित राजनैतिक दृष्टिकोण अनुसार निर्देशित नभएकोले नै आन्दोलनको गतिमा बारम्बार प्रभाव परेको तीतो यथार्थ मधेसको हकमा लागू हुन्छ ।

मधेसको माग/मुद्धाको सन्दर्भ वा आन्दोलनलाई सुगौली सन्धिको पेट बोलीदेखि नै खोज्नु पर्छ । सुगौली सन्धिका कतिपय धाराले मधेसको सवाललाई अल्मल्याउने भाषा प्रयोग गरेकोले यो आन्दोलनलाई हेर्ने दृष्टिकोणमै फरक पर्न गयो । मधेसको राष्ट्रियताको सन्दर्भलाई वैज्ञानिक राजनैतिक दृष्टिकोणको शक्तिशाली आँखाले हेरेपछि मात्र मधेसको अन्तरविरोधको हल हुनेछ भन्ने विषय मधेस आन्दोलनको पतनले बारम्बार देखाएको छ । सात सालपछि बनेको तराई कांग्रेस र त्यसका नेताहरु वेदानन्द झा तथा भद्रकाली मिश्रहरुले उठाएको आन्दोलनको रुपरेखा यो भन्दा कमजोर थिएन ।

तत्कालीन अवस्थामा उनीहरुले उठाएको माग/मुद्धा र आन्दोलनलाइ मापन गरेर हेर्ने हो भने त्यसको आयतन खुम्चेको अर्थमा लिन सकिन्न । तर उनीहरुले मधेस आन्दोलनलाई पञ्चायती शासकका आँगनमा विसर्जन गरिदिए । उनीहरुले मधेस आन्दोलनलाई दुई विश्व दृष्टिकोण भएका राजनैतिक दलहरुको नजिकमा पु¥याउनु भन्दा वेवारिसे छोड्ने वा हुकुमी शासनमा समर्पण गराउन किन चाहे यो मूल्यांकन गर्नु जरुरी छ । तब मात्र मधेस आन्दोलनको रुपरेखा, माग/मुद्धाको असलियत थाहा हुन्छ । मधेस आन्दोलनको ऐतिहासिक पहलुको समीक्षा नै नगरी र मधेसको वास्तविक अन्तरविरोधको ख्याल नगरी भावनाका भरमा उठाइने मुद्धाहरु यसरी नै विचलित हुन जानेछन् । अहिले मधेस मोर्चाको विघटन पनि यही विश्व दृष्टिकोणको अभावमा विचलित भएको हो ।

पछिल्लो पटक वा पञ्चायतको अन्तिम अवस्थामा गजेन्द्र नारायण सिंहको नेतृत्वमा आएको सद्भावना परिषद वा पहिलो जनान्दोलनपछि बनेको सद्भावना पार्टीको राजनैतिक दृष्टिकोण पनि प्रस्ट थिएन । हुनत गजेन्द्र नारायण सिंह स्वयम् लोकतान्त्रिक धारबाट वा नेपाली कांग्रेसकै पाठशालाबाट दीक्षित कार्यकर्ता हुन । तर उनले काँग्रेस छोडेर मधेसको राजनीति गर्न आइपुग्दा केवल मधेसको भावनालाई मात्र राजनीतिको स्तोत्र बनाए । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि उनको पार्टी राष्ट्रिय पार्टीको मान्यतासाथ संसदमा प्रवेश त ग¥यो तर उनले मधेसको मुद्धालाई धोती र हिन्दी भाषाको आन्दोलनमा सीमित गरिदिए । पछिल्लो पटक त उनको पार्टी आपूर्ति मन्त्रालय चलाउने पार्टी नै बन्यो । उनको देहावसानपछि सद्भावनाको हालत हेर्दा राजनैतिक दृष्टिकोणको अभावमा कुनै पनि मुद्धालाई किनार लगाउन सकिन्न भन्ने विषय संश्लेषण हुन्छ ।

पछिल्लो पटक वा दोस्रो जनआन्दोलनपछि अन्तरिम संविधानमा ठ्याक्कै संघीयता शब्द नपर्दा उठेको मधेस आन्दोलनको गुरुत्वपछिको गणित पनि राजनैतिक दृष्टिकोणमा निर्भर रह्यो । मधेस आन्दोलनले माग गरेजस्तो संघीय संरचना बनेर त्यसको पाठ्यक्रम पूरा भएको भए यतिखेर मधेसको मुद्धा अर्कै विषयमा केन्द्रित हुने थियो । तर त्यो पाठ्यक्रम नबढ्दा अहिले पनि मधेस आन्दोलन त्यही पाठ्यक्रमको यताउता नै खेलिरहेको छ । तर यसको पनि हदम्याद हुने रहेछ । उतिखेर वेदानन्द झाहरुले मधेस आन्दोलन त्यही वैचारिक राजनैतिक दृष्टिकोणको अभावमा मधेस आन्दोलनलाई विसर्जन गरिदिएका हुन भन्ने निश्कर्षमा पुग्न सकिन्छ । मधेसबाटै उठेका बरिष्ठ राजनीतिज्ञ रामराजाप्रसाद सिंहले यसैकारण मधेसको भावनाको राजनीति गर्न नरुचाएको हुनसक्छ । नत्र उनको जत्तिको उचाइ भएको नेता मधेसमा थिएन ।

यतिखेर फेरि पनि मधेस आन्दोलनको भविष्यको रुपरेखा के हुनेमा मोर्चा विघटित भएको छ । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपाल मधेस आन्दोलनको परम्परागत धारबाट अलग हुनु यसैकारण अर्थपूर्ण छ । फोरमले संघीय समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्नुको अर्थ लहडमात्र होइन । मधेस केन्द्रित आन्दोलन र त्यसको विचाररहित अभ्यासले केही हुन्न भन्ने कुरा बारम्बार प्रमाणित भएकै हो । यसैले क्षेत्रीयतावादी राजनीतिले लामो समय धान्ने सम्भावना नदेखेरै यादवले ऐन मौकामा स्थानीय निकायको चुनाव उपयोग गर्ने नीति लिएका हुन ।

स्थानीय तहको निर्वाचन फोरमको लागि ढुङ्गा खोज्दा देउता मिले जस्तो भएको छ । यो कार्यनीतिक सवाललाई उपयोग गर्नुपर्छ भन्ने सूत्र उनले साम्यवादी विश्व दृष्टिकोणबाट सायद प्राप्त गरे र उनले आफ्नो संगठनलाइ चुस्त दुरुस्त राख्ने र प्राप्त उपलब्धिको रक्षा गर्ने मौका पाएका छन् । तर यतिकैमा राष्ट्रिय जनता पार्टी भने विचार विना कुहिरोको काग हुँदै कथित मधेस आन्दोलको भावनात्मक भूमरीमा फसेका छन् । तिनको अगाडि त्यही भावनात्मक भूमरीको वरपरी घुम्नु बाहेक फिलहाल कुनै चाल हुने वाला छैन् ।

इतिहासलाई हेरेर वर्तमानमा टेकेर भविष्य निर्माण नगर्ने हो भने त्यसले व्यक्तिलाई त फाइदा गर्दैन भने संस्थालाई फाइदा गर्ने कुरा होइन । राजनैतिक दृष्टिकोणविनाको राजनैतिक संगठन हटियाको भीड भन्दा केही हुन्न । प्रत्येक राष्ट्रिय राजनीतिमा भूमिका नखोजी निरपेक्ष बस्नाले त्यसले मधेसी मोर्चालाई फाइदा गर्दैन । तर मोर्चालाई यो दीक्षा अहिले यथास्थितिवादी लाग्नसक्छ । तर, भविष्यमा फेरि पनि उनीहरु हुने वेदानन्द नै हुन । यो दीक्षा अहिले अनीहरुलाई तीतो लाग्नसक्छ ।
        
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive