newsone

फेरि कम्युनिस्ट भिडाउने खेल

newstwo फेरि कम्युनिस्ट भिडाउने खेल

बादल–विप्लव आमने सामने ! विप्लव, प्रचण्ड र ओलीको घर खोज्दै ! प्रचण्डको घरमा नेकपाले पुर्जी टाँस्ने ! विप्लवलाई वारेण्ट काटियो ! बादल गृहमन्त्री हुनासाथ नेकपाका कार्यकर्तामाथि निगरानी ! नेकपा भूमिगत सशस्त्र विद्रोहको तयारीमा ! राप्ती पहाडमा नेकपाको सैन्य दस्ता !

यस्तै शिर्षक तथा आसयका समाचार प्रेषित गर्नु केही सञ्चारमाध्यमको आजकल दैनिकी जस्तै भएको छ । ती सञ्चारमाध्यमहरु माओवादीका पूर्व घटकहरुका वर्तमान समूह र व्यक्तिबीचको सम्बन्धलाई उत्तेजित बनाउन लागिपरेका छन् । ती सञ्चारमाध्यमले माओवादीका पूर्व समूहबीचको सम्बन्धलाई उत्तेजित बनाएर मुलुकको स्वाधीनता, स्थिरता र सुशासनमाथि फेरि पनि धावा बोल्ने खेतीपातीको सुरुवात गरेको यहीँबाट बुझ्न सकिन्छ ।

माओवादी पूर्व घटकबीचको असहमति माक्र्सवादसम्मत सैद्धान्तिक प्रश्नहरुमा छन् । यस्तो हुनु सामान्य कुरा हुन् । कम्युनिस्ट आन्दोलनमा देखिने यस्ता राजनैतिक ‘डाइभर्सन’ को छिनोफानो महान बहसबाट हुन्छ नै । तर, माओवादी पूर्व घटकहरुबीचको मतभेद अहिले नै शत्रुतापूर्ण भइसकेको छैन् र हुन्न पनि । पूर्व घटकहरुबीचको मतभेद पटाक्षेप भइसकेको छैन् । यसर्थ अहिले नै शत्रुतापूर्ण भइसकेको आधारमा व्याख्या गर्नुपछिको रहस्य सन्देहास्पद छ । 

गगन थापाको उद्घोष 

नेपाली कांग्रेसका करिस्मेटिक नेता गगन थापाले ‘कम्युनिष्टहरुमध्येको शुद्ध कम्युनिस्ट’ यही भाषाले संसदको रोष्टमबाट नेकपा विप्लव समूहलाई सम्बोधन गरेका थिए । यस्तो सम्बोधनको अर्थलाई सामान्य रुपमा लिनु हुन्न । कांग्रेसको विचारसँग नजिक भएका सञ्चार संस्थाहरुमार्फत् कांग्रेस पूर्व अडानहरुबाट यू टर्न गर्दै जनपक्षीय भएको प्रचारित गरिदैंछ । कतिपय मधेसी मुद्धामा कांग्रेस नै मसिहा हुने प्रकारको आजकालको प्रचारले कांग्रेसले दलीय स्वार्थ पूरा गर्न कुन हदसम्म उत्रदो रहेछ भन्ने बुझ्न जरुरी छ ।

यसर्थ माओवादीका पूर्व घटकहरुको कार्यनीतिक फरक धारलाई उछालेर समाजवादको बाटो रोक्ने यो परम्परागत निरन्तरताकै कडीको रुपमा आएको हो । कांग्रेसले दक्षिणपन्थी बाटो तताउँदा आएको जनमतको विचलन रोक्न उसले संसदीय खेलको हदैसम्म उपयोग गर्दैछ भन्ने यो दृष्टान्त हो । कांग्रेसका नेता गगन थापाले त्यसै समयमा बाम ध्रुवीकरणलाई डोनाल्ड ट्रम्प कथित राष्ट्रवादसँग पनि त्यही रोष्ट्रमबाट उद्घोष गरेका थिए । यसको अर्थ हुन्छ कांग्रेस अझै पनि बाम ध्रुवीकरणलाई अधिनायकवादको बाटोको अर्थमा कुप्रचारमा लागेको छ । अधिनायकवादको हौवा देखाएर संसदवादी फासीवादको राजमार्ग सुनिश्चित गर्न कांग्रेस लागिपरेको देखिन्छ ।

फासीवादविरुद्ध एक होउ 

फासीवाद विरोधीहरु शत्रु कित्ता र मित्र कित्ता छुट्याउनु जरुरी छ । नेपालमा फासीवाद विरोधी शक्तिहरुसँग सैद्धान्तिक शुद्धताका नाममा शत्रु कित्तामा पु¥याउने निर्णयमा पुग्नु आफैलाई घातक हुन्छ । नेपालमा जे जति माओवादी घटकहरु छन्, तिनका बीचमा एउटा गर्भे साइनो छ । जनयुद्धका समयमा भएका बेपत्ता, शहीद आदि समस्याको हल निस्किसकेको छैन् । अदालतमा विचाराधीन मुद्धा, सत्य निरुपण सम्बन्धी जति पनि मुद्धा छन्, तिनको सरोकार माओवादी घटकहरुको साझा समस्या हुन । हुनत यी मुद्धाहरु राज्य सिर्जित मुद्धा नै हो । यद्यपि यी सबै कुरामा पहिलो सम्बेदनशीलता माओवादी घटककै हुनेछ । यसर्थ माओवादी केन्द्रसँग फासीवाद विरोधी, निरंकुशता विरोधी र दक्षिणपन्थी शक्ति विरुद्ध लड्ने मामलामा अझै सहकार्यको गुञ्जाइस छ । यतिमात्र होइन माओवादी घटकहरुबीच देशको स्वाधीनता, स्थिरता, सुशासनका कतिपय मुद्धामा समान धारणा छ । भलै घटकहरुबीच यी कुरा प्राप्त गर्ने साधन, बाटोको बारेमा अलगअलग धारणा हुन सक्छन् । लक्ष्य समाजवाद हुँदै साम्यवादमा पुग्ने नै हो । यसर्थ शत्रु कित्तामा राख्नु अगाडि विश्लेषण गर्नु जरुरी हुन्छ । 

समाजवाद हुँदै साम्यवादमा पुग्ने कार्यनीतिक मामिला अलग हुँदैमा वर्गीय शत्रुको रुपमा हेरियो भने त्यो आत्मघाती हुनेछ । कम्युनिस्ट साहित्यमा ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने कुरा नै अर्थपूर्ण हुन्छ । आत्मगत शक्ति र वस्तुगत परिस्थितिको तालमेल हुन सकेन भने त्यस्तो आन्दोलनको तेजोबध अनिवार्य हुनेछ ।

कित्ताबन्दी 

समान कार्यनीति तथा रणनीति भएका घटकबीच एकता, सहकार्य हुनु राम्रो कुरा हो । समान विचार र धारणाकै आधारमा दर्शन सिद्धान्तको व्याख्या विश्लेषण हुन्छ । नेपालको सन्दर्भमा खोलिएका कम्युनिस्ट पाठशालाहरुमध्ये पुष्पलाल, मोहनविक्रम र झापाली समूह हुन । यसमध्ये माओवादी र झापाली समूहको नेपाली राजनीतिमा अवतरण पनि भिन्न किसिमले भएको छ । व्यक्ति सफायाको चारु मजुमदारबाट दिक्षित झापाली समूह नेकपा मालेमा आइपुग्दा सशस्त्र संघर्ष छाडेर जनसंघर्षमा केन्द्रित भइसकेको हो । माओवादी भीषण सशस्त्र संघर्षमार्फत् स्थापित राजनैतिक दल हो । यी दुवै दलको बीचमा वर्तमान सन्दर्भमा एकीकरणको सवाल अगाडि आएको छ । निर्वाचनमा गठबन्धन गर्दै अगाडि आएका यी दुई समूहको एकीकरणको रुपरेखा अर्को किसिमको कित्तावन्दी हो । यसप्रकारका कित्तावन्दीले भविष्यको दक्षिणपन्थी फासीवादलाई परास्त गर्ने नै हुनेछ । यसरी नै नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा वा अन्य कम्युनिस्ट घटकको एकता, सहकार्य पनि आतंकवादसँग जोडेर हेर्नु गलत हुन्छ । उनीहरु पनि राष्ट्रिय स्वाधीनता, स्थिरता शान्ति, सुशासनको विपक्षमा छैनन् । उनीहरुका कतिपय क्रियाकलापलाई हेरेर जनपक्षधरतामाथिको हमला राजनैतिकवृत्तमा ठीक लाग्दैन । कम्युनिस्टहरुले जहिले पनि शत्रुको घेरालाइ साँघुरो बनाए मात्र विजय हासिल गर्न सक्छन । विश्व कम्युनिस्ट आन्दोलमा आएको मन्दीले यसै विषयलाई विचारणीय विषयमा राख्नु पर्छ ।  

कुनै अमुक कम्युनिष्ट पार्टीको पतन वा विचलनले अर्को कम्युनिष्ट पार्टीको उदय वा फलीफाप हुन्छ भन्नु यो शताब्दीमा सुहाउने कुरा होइन । सूचना प्रविधिको विकाससंगै यो विषयको अन्त्य भइसकेको छ । हिजोको जस्तो सूचना प्रविधिमा आकास जमिनको फरक भइसकेको छ । प्रविधिको विकाससँगै राजनीतिको सार बुझ्न क्षणभर नै प्रयाप्त भइसकेको छ ।

अन्त्यमा नेपालका राजनैतिक समूह दलहरुबीच तिक्तता ल्याएर आफ्नो दुनो सोझ्याउने खेलको अन्त्य भइसकेको छैन् । नेपालको भूराजनैतिक वातावरणले पनि यस्तो फुटाउ र राज गर सिद्धान्तलाई मलजल गरेकै छ ।  जबसम्म यस्तो खेलको अन्त्य हुन्न तबसम्म यस्ता गतिविधि त भइरहन्छन् । तर, यस्तो खेलमा दलहरु कसैको उक्साहटमा चाहिं लाग्नु हुन्न । समयबद्ध साप्ताहिकबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive