newsone

पूर्व उपसभामुखकै घरमा ‘बोक्सी’

newstwo पूर्व उपसभामुखकै घरमा ‘बोक्सी’


अमृता मगर

गत बिहीबार अर्थात् ८ मार्चका दिन कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलीकी १८ बर्षीया राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट भएको लज्जास्पद घटना अहिले भाइरल भएर सामाजिक सञ्जालमा छाइरहेको छ । र, यो घटनाले राष्ट्रिय बेइज्जती भएको छ । केन्द्र सरकारदेखि स्थानीय सरकार समेतको यसमा ध्यानाकर्षण भएको छ । घटनामा संलग्न अपराधीहरुको अहिले भागदौड चलेको छ । दोषीहरुलाई कडा कार्वाही हुनुपर्ने आवाज सर्वत्र उठिरहेको छ ।  

सामाजिक सञ्जालमा नछाएको तर झण्डै यस्तै प्रकृतिको घटना ८ मार्चभन्दा ठीक चार दिनअघि ४ मार्च (फागुन २० गते) का दिन बाँकेको कोहलपुर–११ सिर्जनानगरस्थित जनयुद्धका शहीदहरु ईश्वरी सुवेदी र हरि सुवेदीको परिवार बस्दै आएको घरआँगनमा हुन खोज्यो । त्यहाँ आक्रोसित हुँदै एक जना प्रौढ उमेरका मान्छे एक महिलालाई बोक्सी भन्दै झम्टिरहेका थिए भने महिला र एक बच्चा सहारा माग्दै रोइरहेका थिए । एकैछिनमा बाटो हिंड्ने र स्थानीयको भीड लागेको थियो । करिब ४०÷५० जना जति मान्छे जम्मा भएका थिए । तर, कसैले पनि बोक्सी भन्दै गाली गर्नेलाई केही भनेका थिएनन् । बोक्सी भनेर त्यो पुरुषले ती महिलालाई हात हालेको भए पनि सम्भवतः कसैले नछुट्याउने अवस्था थियो त्यहाँ । 

 पछि थाहा भयो माओवादी जनयुद्धकालका शहीदहरुका दाइ प्रकाश सुवेदी भाइबुहारी चुमा सुवेदीलाई भनिरहेका थिए, ‘तँ बोक्सी होस् । तैंले मेरा भाइहरु खाइस् । मेरो छोरो खाइस् । मेरो छोराको सन्तान हुन दिइनस् । त्यो पसल आजैदेखि छोड्दे ।’ घरआँगन र सडकमा मान्छेहरुको भीड थप बढिरहेको थियो । प्रकाश सुवेदी एकोहोरो यस्तै–यस्तै भट्याइरहेका थिए । भीड केवल मुकदर्शक बनिरहेको थियो । छेवैमा प्रकाश सुेवेदीकी भाइबुहारी शहीद हरि सुवेदीकी जीवनसंगी चुमा सुवेदी र उनकी छोरी रुँदै केही भनिरहेजस्तो देखिन्थ्यो । रोएको चित्कारबाहेक उनीहरुले भनेको केही सुनिन्थेन, बुझिन्थेन । वातावरण अलि शान्त हुँदै गएपछि चुमाको कुरा थोरै सुनिन थाल्यो । प्रकाश सुवेदीले एकोहोरो गाली गरिरहे पनि उनी भनिरहेकी थिइन्, ‘दाजी म पसल आजै छोडिदिन्छु । पुख्र्यौली सम्पत्ति के–के भयो थाहा भएन । सगोलमा छँदै जोडिएको मदन चोक र चितवनको कृष्णपुरमा भएको जग्गामा हाम्रो अंश दिलाइदिनुस् ।’ उनी आफ्नी छोरीतिर देखाउँदै भनिरहेकी थिइन्, ‘यो छोरीले केही अपराध गरेकी छैन । उसलाई पढाउनु छ । म हजुरहरुकै घर स्याहारेर बसेकी छु । मैले अरु केही अपराध गरेकी छैन । गरेको भए जुनसुकै सजाय दिनुस्, भोग्न तयार छु ।’

भीडमा रहेका एकजना युवक भन्दै थिए, ‘प्रकाश माओवादीका ठूलै नेता हुन् । उनकी पत्नी पूर्णा सुवेदी उपसभामुख भइसकेकी । उनीहरुको घरको झगडा हामीले के भनेर मिलाउन जानु । आफैलाई लाज लागिरा’छ ।’ उनी तरुण दलका स्थानीय नेता रहेछन् । विजय पुडासैनी नामका ती युवा भन्दै थिए– ‘महिला मुक्तिको कुरा गर्दै हिंड्ने पूर्व सभामुख पूर्णा सुवेदीको घरमा नै यो ज्यादती दुःखलाग्दो हो । माओवादी नेता न परे, बोली पासो हुनसक्छ । के बोल्नु ?’

मानिसहरु निःशब्द र स्तव्ध थिए । जम्मा भएको भीडमा थोरैलाई मात्र चुमाको पीडा थाहा रहेछ । प्रकाश र पूर्णा सुवेदीले एकाघरका शहीदका श्रीमतीहरुप्रति धेरै पहिलेदेखि नै उत्पीडन गर्ने गरेको खासखुस गरिरहेका थिए । तर, प्रकाशको क्रियाकलापको प्रतिवाद गर्ने हिम्मत कसैले गरिरहेको थिएन । प्रकाश र पूर्णा सुवेदीका बारेमा धेरै सुने पनि यो पङ्क्तिकार पनि भीडको त्यही सदस्य बन्न आकस्मिक रुपमा पुगेको थियो, जसले तत्काल प्रकाशको व्यवहारको प्रतिवाद गर्न सकिन । रुढिवाद र अन्धविश्वासविरुद्ध तथा जनताको मुक्तिका लागि लडेका माओवादीका नेताको मुखबाट जनयुद्धकै क्रममा शहीद भएका आफ्नै भाइबुहारीमाथि बोक्सीको आरोप लागिरहँदा बडो अन्यमनस्क बनिरहेको यो पंक्तिकारलाई त्यहाँबाट हिंडेपछि छट्पटी र बेचैनीले सताइरह्यो । त्यो राति निद्रा पनि लागेन । झन् रोइरहेको चुमा, उनले शहीदको छोरी भन्दै देखाएकी कलिली युवतीको तस्वीर र प्रकाशले आफ्नै भाइबुहारीलाई बोक्सी भनिरहँदा चुपचाप भीडमा आफू पनि हराएको पीडाबोध र आत्माग्लानीले २१ गते विहान पाइला कोहलपुर–११, सिर्जनानगरतिर बढायो । विहान कोहलपुर ९ बजेतिर पुग्दा सुवेदी परिवारको घर चकमन्न जस्तै थियो । बाहिर कोही थिएन । उनीहरुका बारेमा केही जानकारी भए पनि नजिकैको चिया पसलमा बसेर सुवेदी परिवारको पारिवारिक विवरण बुझ्ने कोसिस गरें । आफ्नो नाम नबताउने स्थानीय एक महिलाले केही कुरा बताइन् । उनले भनिन्, ‘त्यो चुमे (चुमा) त केही बोल्दिन, हामीले के भन्नु । बोल्नुप¥यो नि ! अनि पो हुन्छ । प्रकाश र पूर्णा भनेका माओवादीका ठूला नेता हुन् । उनीहरु पावरदार नेता हुन् । चुमा, महिमा (प्रकाशका भाइ बुहारी) केही नबोल्ने । अनि बाहिरका हामीले बोलेर मात्रै हुन्छ ?’ कोहलपुर बसपार्कतिर देखाउँदै उनले भनिन्, ‘ऊ त्यो बसपार्कभित्र छिर्ने वित्तिकै दाहिनेतिर एउटा पसल छ । चुमाको पसल त्यही हो । उनार्को कुरा के–के हो त्यहीं गएर बुझ्नुस् ।’

उनले भनेअनुसारको ‘लोकेसन’ सोध्दै जाँदा चुमाको पसल त भेटियो । तर, उनीसँग के भनेर हिजोका घटनाबारे सोध्ने ? कुरा गर्न सजिलो बनाउन उनको पसलमा एउटा चिसो किनें । पसलमा ग्राहकको भिडभाड थियो । नखोतली कुरा ननिस्कने, भिडभाडमा कुरा खोतल्न पनि अप्ठेरो लागिरहेको थियो । बाहिर लामो बेञ्च राखिएको थियो । त्यसको छेउमा बसेर चिसो पिउने बहाना बनाउँदै ग्राहकको भीड कम भएको मौका छोपेर सोधें, ‘दिदी हिजो हजुरको घरमा के निहुँमा विवाद परेको थियो ?’ उनले हकारिन्, ‘हैन तपाईं को हो ? हाम्रो परिवारको कुरा सोध्ने ? केही भएको छैन । तपाईं उठेर गइहाल्नुस् ।’
 
दोस्रो प्रश्न सोध्ने कुनै मौका उनले मलाई दिइनन् । अर्को प्रश्न सोध्नु दुस्साहस मात्र हुने देखेर म त्यहाँबाट निस्कें । तर सुवेदी परिवारको घरआँगनमा घटेको अघिल्लो दिनको घटनाले मेरो बेचैनी बढाइरहेको थियो । २१ गते कोहलपुर बसपार्क, सिर्जनानगर, सब्जीमण्डीमा चिया पिउने र किनमेल गर्ने बहानामा उनीहरुको पारिवारिक विवरण र अघिल्लो दिनको घटनाका बारेमा बुझ्ने कोसिस गरें । सामान्य जानकारीबाहेक मैले लिन खोजेको विषयमा पर्याप्त जानकारी पाउन सकिरहेकी थिइनँ । दिउँसोको चिया–नास्ताको समय भइसकेको थियो । 

कोहलपुरमा पढ्ने मेरी एउटी साथी भेट भई । उसलाई भेटेपछि मलाई अलि सहज महसुस भइरहेको थियो । उसले पनि अघिल्लो दिनको घटनाबारे सुनेकी रहिछे । घटना सुनेर उसलाई पनि मलाईजस्तै लागिरहेको रहेछ । हामीले यसबारे छेउको चिया पसलमा बसेर घटनाबारे आफूले सुनेका कुरा साटासाट ग¥यौं । शायद नारी हुनुको संवेदनाले यो घटनाबारे उसको र मेरो धारणा समान थियो । ऊ कोहलपुर–११ कै बासिन्दा । सुवेदी परिवारको इतिहासबारे ऊ जानकार रहिछ । उसले उनीहरुको इतिहास नै बताइ दिई । तर, उसले लेख्दा कतै नाम उल्लेख नगर्न भनी । माओवादी इतर ती साथीले भोलि पावरफुल माओवादी नेतृत्वको कोपभाजनमा परिएला भन्ने चिन्ताले नाम उल्लेख गर्न नचाहेको बताई । 

 अघिल्लो दिनको घटनाका बेचैन भए पनि घटनाबारे मैले बुझन् चाहेको विवरण र धेरै पहिलादेखि सम्पर्कविहीन साथीलाई भेट्न पाउँदा दोहोरो खुशीले म गद्गद् थिएँ । सुवेदी परिवारबारे बुझे जति जानकारी उसले मलाई बताई । मैले व्यक्तिगत रुपमा नचिने पनि पूर्णा सुवेदीबारे धेरै सुनेकी थिएँ । उनी महिला मुक्ति र जनताको मुक्तिका लागि जनयुद्धमा लागेको सुनेकी थिएँ । माओवादीका तर्फबाट पहिला पनि सांसद भएकी पूर्णा उपसभामुख जस्तो गरिमामय पदमा पुगेको सुनेकी थिएँ । उपसभामुख भएको बेला पूर्णा र उनका पति प्रकाश सुवेदीले भूमाफियासँग मिलेर राप्ती पारिको सरकारी जग्गा कब्जा गर्ने धन्दा गरेको चर्चा बाँकेमा खुबै चलेको थियो । उनै पूर्णाको परिवारभित्र त्यही जनयुद्धमा ज्यान गुमाएका देवरका जीवनसंगीहरुप्रति पूर्णा सुवेदी र उनका पतिले गरेको ज्यादती साथीको मुखबाट सुन्दा र अघिल्लो दिनमात्रै आफैले देखेको प्रत्यक्ष घटनाले केही लेख्नैपर्ने निष्कर्षमा मलाई पु¥याइरहेको थियो । 

यो किन पनि जरुरी थियो भने प्रकाश माओवादीका जिम्मेवार नेता हुन् । पूर्णा सुवेदी त माओवादी नेतृ मात्र होइन, उपसभामुख जस्तो राज्यको गरिमामय पदमा बसिसकेकी महिला हुन् । मेरो साथीले बताई कि प्रकाश सुवेदी वास्तवमा त्यति खराव होइनन्, पूर्णाले भनेका कुरा उनी काट्न सक्दैनन् । पूर्णाले शहीद भइसकेका आफ्ना देवरका जीवनसंगीहरु (चुमा र महिमा) लाई सधैं नोकर जस्तो व्यवहार गर्छिन् । उसले भनेअनुसार केही वर्षअघिदेखि नै उनीहरुको परिवारभित्र असन्तुष्टि बढिरहेको थियो । ०७२ को भूकम्पमा ज्यान गुमाएका पूर्णा र प्रकाश सुवेदीका जेठा छोरा अच्युत सुवेदी अत्यन्तै मिलनसार र व्यावहारिक थिए, उनको सन्तुलित भूमिकाका कारण सुवेदी परिवारभित्रको समस्या सतहमा आएको थिएन । तर पछिल्लो समय प्रकाश र पूर्णाको ज्यादती सहन नसकेर सुवेदी महिमा र चुमा  केही समयअघिदेखि छुट्टै बस्न थालेका रहेछन् । कोहलपुर नबसे पनि आफूले भोग गरिरहेको सिर्जनानगरमा रहेको ३ कट्ठा जग्गा र त्यसमा बनेको घरबाट महिमा र चुमालाई अन्यत्रै पठाउने वातावरण बनाएर त्यो जग्गा र घर एकलौटी बनाउने योजनामा श्रीमानमार्फत् समेत महिमा र चुमालाई दुव्र्यवहार गर्ने गरेको तथा कयौं वर्षदेखि आफ्ना देउरानीहरुसँग पूर्णा सुवेदी नबोलेको कुरा पनि उसले मलाई बताई ।

महिमाका श्रीमान ईश्वरी सुवेदीको ०५८ जेठ १९ गते हत्या गरिएको रहेछ भने चुमाका श्रीमान हरि सुवेदीको सेनाले दिएको यातनाका कारण उपचारकै क्रममा ०६३ सालमा मृत्यु भएको रहेछ । महिमा र ईश्वरीका सन्तान छैनन् । हरि र चुमाका भने एउटी छोरी रहिछन् । फागुन २० गते सिर्जना नगरस्थित सुवेदी निवासमा चुमासँगै रोइरहेकी कलिलो उमेरकी युवती तिनै ‘अभागी’ शहीद हरि सुवेदीकी छोरी रहिछन् । मुक्तिका लागि लडेका र शक्ति र सत्तामा समेत पुगेका माओवादी नेताका घर अझ जनयुद्धका शहीद पत्नीमाथि त महिला हिंसाका यस्ता भयानक घटना भइरहेका छन् भने समाज रुपान्तरण कसरी होला ? जनयुद्ध लडेर नेता भएका प्रकाश र महिला मुक्तिका लागि जनयुद्धमा होमिएर उपसभामुख भइसकेकी हाल संघीय संसदमा समानुपातिकतर्फ माओवादीबाट प्रतिनिधित्व गर्ने पूर्णा सुवेदीको घर यो कथा माओवादीका नेताहरुलाई थाहा छ कि छैन होला ?

समाज रुपान्तरणमा हिंडेका, पार्टीको केन्द्रीय नेतृत्व र अझ राज्यको महत्वपूर्ण पदमा पुगेकी माओवादी नेतृकै घरपरिवारमा ‘बोक्सी’ को आरोपमा महिला हिंसा हुन्छ भने बोक्सीको आरोपमा कैलालीमा राधा चौधरीलाई खुलेआम आक्रमण हुनु, महिला हिंसा हुनु के अनौठो भयो र ? जनयुद्धकालमा शहीद भएकाका परिवारहरुलाई घरबाट नै लखेटेर सबै सम्पत्ति कुम्ल्याउन खोज्ने प्रकाश र पूर्णा सुवेदीबाट माओवादी नेतृत्वले न्याय दिलाउनु पर्दैन ?    समयबद्ध साप्ताहिकबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive