newsone

झ्याउमा मन्त्री बस्नेत असफल

newstwo झ्याउमा मन्त्री बस्नेत असफल

२३ असोज, काठमाडौं । सामान्यतः मन्त्रीले दिएको नीतिगत निर्देशन सचिवहरुले मान्छन् । तर वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले दिएको नीतिगत निर्देशन सचिव विश्वनाथ ओलीले अस्वीकार गरेका छन् । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा ओली सचिवमा नियुक्त भएका हुन् ।

ओली सेवा समाजको महासचिव रहेको समयमा सचिवमा नियुक्त भएका ओली प्रधानमन्त्रीको विश्वासपात्रमध्येका एक सचिवको रुपमा परिचित छन् । त्यही कारण सचिव ओलीले मन्त्रीले दिएको निर्देशनलाई कुनै भाउ नदिने गरेको बताइन्छ । पछिल्लो चरणमा मन्त्री बस्नेत कर्णालीको मुख्य आम्दानी हुनसक्ने झ्याउ सङ्कलनमा लगाइएको रोक खारेज गर्ने नीतिगत निर्णय गर्न प्रयासरत छन् ।

कर्णालीका जनताको हितलाई ध्यानमा राखेर मन्त्री बस्नेतले सो प्रयास गरिरहेको दाबी गरिन्छ । तर, सचिव निकट ब्यक्तिहरु भने मन्त्री बस्नेतको यस्तो दाबीलाई देखाउने दाँत र खाने दाँतमा फरक रहेको भन्दै खिसिट्युरी गर्छन् । उनीहरुको तर्क छ, नेपालगञ्ज क्षेत्रका जडिबुटी तस्करहरुको फाइदाका लागि मन्त्री बस्नेतले झ्याउ सङ्कलनमा लगाइएको रोक खारेज गरी खोल्ने नीतिगत निर्णय गर्न लागेका हुन् ।

कर्णालीका गरीव जनताबाट न्यून मूल्य तिरेर दलाल हुँदै मोहम्मद याकुव अन्सारीसहितका नेपालका ठूला जडिबुटी व्यापारीहरुले झ्याउ विभिन्न स्थानमा थुपारेका छन् । त्यो सामान वैध तवरले भारत निकासी गराउनका लागि मन्त्रीले नीतिगत निर्णय गर्न लागेको उनीहरुको दावी छ । अन्सारी दुई बर्षअघि अवैध रुपमा झ्याउ सङ्कलन गरी गोदाममा थुपारेको आरोपमा पक्राउ परेका थिए । अन्सारीजस्ता धेरै ब्यापारीले मन्त्री बस्नेतलाई घेरेको थाहा पाएपछि सचिव ओलीले नीतिगत निर्णय गर्न बाधा सिर्जना गरेको बताइन्छ । 

मनोमानी हिसाबले रुख काटिन्छ भनेर झ्याउ सङ्कलनमा २०६७ पुसमा रोक लगाइएको थियो । सरकारको निर्णय हचुवाको आधारमा भएको भन्दै कतिपय सरोकारवालाहरु झ्याउ सङ्कलनमा रोक लगाउने निर्णयले राज्यले आफ्नो स्रोत गुमाएको तर्क गर्छन् । झ्याउ विशेष गरी भारतमा निर्यात हुने थियो र झ्याउ साइटिसको सूचीमा पनि परेको छैन ।

झ्याउलाई लोठसल्ला, सुगन्धकोकिला, जटामसी, सर्पगन्धाजस्ता जडिबुटीसँग तुलना गरेर प्रतिबन्ध लगाउनु जायज नभएको बताउनेहरु प्रशस्तै छन् । वनस्पति विभाग र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सिफारिसमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी झ्याउ सङ्कलनमा रोक लगाएपछि आमकिसानभन्दा पनि किसानबाट झ्याउ सस्तो मूल्यमा खरीद गरी ठूलो नाफा लिने समूह नीतिगत निर्णय गराउने पक्षमा छ । झ्याउ तस्करहरुले पटकपटक गरेको प्रयास असफल हुँदै आएको छ । कानुन मन्त्रालय पुगेरसमेत फाइल फिर्ता भएका उदाहरण छन् । 

अहिले कर्णालीको नाम लिएर भइरहेको प्रयास पनि सचिव ओलीका कारण असफल भइरहेको छ । मन्त्री बस्नेतले व्यवसायीहरुलाई बचन दिएर झ्याउ सङ्कलनमा लागेको रोक खारेज गर्न खोजे पनि सफल हुन नसकेपछि अन्तिम प्रयास गर्ने भनेर समय मागेको पनि एक महिना बितिसकेको एक व्यवसायीले बताए । उनका अनुसार मन्त्रीसँग सबै कुरा टुङ्गिए पनि नीतिगत निर्णय भएको छैन । व्यवसायीहरुले झ्याउ सङ्कलन गरेको स्थानमा प्रहरीले छापा हान्नसक्ने भयमा छन् व्यवसायीहरु ।

तर गृहमन्त्री भइसकेका वन मन्त्री बस्नेतले पुरानो सम्बन्ध प्रयोग गरेर छापा हान्न भने रोकेका छन् । प्रहरीमा पनि झ्याउको विषयलाई लिएर पटकपटक विवाद हुने गरेको छ । प्रहरीले छापा हान्ने भन्दै व्यवसायीहरुसँग रकम असुल्ने गरेको बताइन्छ । कुरा नमिल्दा छापा हान्ने गरेको छ ।

दुई बर्षअघि अन्सारी पक्राउ पर्नुको कारण पनि यही थियो । झ्याउमा चलिरहेको विवाद तत्कालै टुङ्गिने देखिंदैन । तर जे भए पनि राज्यले झ्याउ सङ्कलन र किनबेचमा रोक लगाएर करीब ६० करोड राजश्व घाटा ब्यहोरिरहेको र अबैध बजारलाई प्रोत्साहन गरिरहेको भने सत्य हो । 

झ्याउ के हो ?
झ्याउ एक प्रकारको वनस्पति हो । ढुसी र लेउ प्रजातिका वनस्पति मिलेर बनेको झ्याउ अमूल्य जडिबुटीको रुपमा परिचित छ । झ्याउ विभिन्न स्वरुप र रङका हुने भए पनि सामान्यतः खरानी, हल्का हरियो, सेतो, पहेंलो रङका हुन्छन् । रुखको एउटै हाँगामा थुप्रै प्रजातिका झ्याउहरु हुन्छन् । जसलाई टिपेर बिक्रीवितरण गरिन्छ । नेपाललगायत संसारभरि झ्याउको कृत्रिम खेती गरिएको छैन ।

बजारमा खपत हुने सबै झ्याउ प्राकृतिक रुपमा सङ्कलन भएर जाने हो । विज्ञहरुका अनुसार सङ्कलन र निर्यात गर्न सरकारले बन्द गरेपछि बार्षिक चार हजार केजी झ्याउ जङ्गलमै कुहिएर गएको बताइए पनि किसानले सङ्कलन गरेर सस्तो बिक्री गर्ने र व्यवसायीहरुले तस्करी गरेर भारतमा निर्यात गर्ने गरेका छन् ।  वि.सं. २०५८ सालमा प्रशोधन गरेर मात्र निकासी गर्न पाउने व्यवस्था गरेको झ्याउ २०६७ सालमा भने पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive